टाउका जोड्दैमा तेस्रो शक्ति बनिन्छ र ?

  • आवरण टिप्पणी

समाजवादी र राजपाका नेताहरुको राजनीतिक जीवनदृष्टि र कार्यशैली मिल्दैन । नयाँ संगठनभित्र केही समयपछि यो ठूलै चुनौती बन्नेछ ।

- भास्कर गौतम

नेपालमा चीन र भारतलाई एकअर्कासँग बझाएर हेर्ने दृष्टिकोणले घर बनाएको छ । यो शीतयुद्धकालीन दृष्टिकोणले नेपाललाई कहीँ पुर्‍याउँदैन । एकै प्रकारको भूमरीमा मात्र घुमाइराख्छ । हिजो पनि कतै पुर्‍याएको थिएन, अलमल्याएको मात्र थियो । तथापि नेपालको कूटनीतिवृत्त त्यसैमा रुमल्लिन तयार मात्र होइन, आतुर छ । 

पछिल्लो समय नेपालको विदेश सम्बन्धलाई लिएर धेरै टिप्पणी सार्वजनिक भएका छन् । ती टिप्पणी मूलत: दुइटा दृष्टिकोणबाट निर्देशित छन् । एक– ठूलो तप्का चीन, अमेरिका, पछिल्लो समय भारत, र अन्य मुलुकहरू नेपालमा के–कसरी सलबलाइरहेका छन् भनेर जान्न चाहन्छ । दोस्रो– सानो तप्का भन्दै छ, यो सबै त ठीकै छ तर सबैभन्दा पहिले हामीले चीनको ‘साम्राज्यिक चरित्र,’ भारतको ‘औपनिवेशिक मनोवृत्ति’ र अमेरिकाको ‘नवऔपनिवेशिक चरित्र’ बुझ्नुपर्छ । यो सबै त ठीकै हो । नेपालमा प्रभाव जमाएका र त्यसलाई विस्तार गर्न थप सक्रिय बनेका देशहरूको स्वार्थलाई चिन्न ती राष्ट्रको आधारभूत चरित्र थाहा पाउनैपर्‍यो । तिनले के गरिरहेका छन्, त्यसको भेउसमेत पाउनुपर्‍यो । 

तर यहाँ एउटा महत्त्वपूर्ण दृष्टिकोण अपुग छ । अन्य देशको चरित्र र चलखेल थाहा पाउनुपूर्व आफ्नो देशको चरित्र, प्राथमिकता र सामूहिक क्षमताबारे राम्रो हेक्का हुनुपर्‍यो । नेपालको साझा भविष्यबारे निर्देशित गरिएको लक्ष्य र कार्य प्राथमिकता सही छ भन्ने विश्वास हुनुपर्‍यो । अन्यथा, अरू राष्ट्रले जे गरे पनि नेपालीको ध्येय तिनले यसो गरे, उसो गरे भन्दै सके रिझाउने, नसके फलाक्नै कार्यमा सीमित हुने भयो । यस्तै अवस्थालाई मुलुकको नियति मान्ने कार्यमा सबै अभिशप्त हुने सम्भावना बढ्यो । यस्तो मनोदशाबाट निस्कन जरुरी छ । 

सुनिन्छ, हिजो नेकपालाई एक ठाउँमा ल्याउन चीनले भूमिका खेलेको थियो, मूलत: लगानीमैत्री वातावरणका लागि राजनीतिक स्थायित्वको माग गर्दै । पूर्वएमाले र पूर्वमाओवादीलाई तताए पनि एकीकृत कम्युनिस्ट पार्टीको कल्पना चीनको एजेन्डा थिएन । त्यो यदाकदा वामवृत्तमा हाबी हुने, शुषुप्त रहे पनि बलशाली विचार थियो । चुनावपूर्वको ऐनमौकामा यी दुई दलबीच सहकार्य भयो । धेरै कुरा नमिल्दानमिल्दै पनि सत्तासीन हुने लालसा, द्रव्य बटुल्ने आकांक्षा र माओवादीको हकमा चर्मरक्षाको लाभमा दुई दल एक भए । तत्कालीन स्वार्थले दुवै दललाई एक ठाउँ ल्याए पनि तिनको पृष्ठभूमि र आधारभूत चरित्र फरक थियो । त्यसैले यत्तिका समयपछि समेत एकै दलमा रूपान्तरित हुने कार्य कतै पुगेको छैन । तथापि नेकपा सत्तासीन भएकाले फुटिहालेको छैन । 

यहीबीच बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी बनेको छ । उनीहरूसँग त्यही बेला राष्ट्रिय जनता पार्टी (राजपा) समेत मिल्ने तरखरमा थियो । तर उपेन्द्रले तत्कालै सरकारबाट राजीनामा नदिएकाले राजपाका नेताहरू टाढिए । फेरि राजपा छिट्टै सामेल भएर तेस्रो शक्तिको रूपमा उदाउने चर्चा चुलिएको छ । यी दललाई एकै ठाउँ ल्याउन भारतले समेत सघाएको सुन्न पाइन्छ । 

जसरी कम्युनिस्ट घटक फुटिरहनुभन्दा एकै ठाउँमा आउनु सकारात्मक कदम थियो, त्यसरी नै पुराना कम्युनिस्ट र कांग्रेसभन्दा फरक किसिमले राजनीति गर्ने दल उदाउनु आवश्यक छ । हिजो साझा र विवेकशील एकआपसमा मिल्दा त्यो सम्भावना देखिएन । आज संघीय पार्टीमा महन्थ ठाकुर, राजेन्द्र महतो र अन्य नेताहरू होमिँदा त्यस्तो सम्भावना बनिहाल्ने देखिँदैन । 

जसरी बाबुराम र महन्थलाई केही नीतिगत रुझानले सँगै ल्याउँछ, त्यसरी नै उपेन्द्र, महन्थ र अन्यलाई सत्तालिप्साले सँगै ल्याउँछ । हिजो महन्थ परिस्थितिजन्य बाध्यताले राजपाका अन्य नेताहरूसँग एकै ठाउँमा पुगे । बाबुरामलाई पनि त्यस्तै परिस्थितिजन्य आवश्यकताले उपेन्द्रसँग पुर्‍याएको छ । अब सबै घटक एकै ठाउँ आउँदा धेरै किसिमले उनीहरूबीच तालमाल नमिल्ने देखिन्छ । 


पढ्नुस् नेपालको कभर स्टोरीः ध्रुवीकरणको दक्षिणी डिजाइन


यी नेताहरूमध्ये एक थरी कम्युनिस्ट पाठशाला र अर्का थरी कांग्रेसी स्कुलिङबाट आएका छन् । त्यसैले यी नेताहरूको राजनीतिक जीवनदृष्टि मिल्दैन । नयाँ संगठनभित्र केही समयपछि यो ठूलै चुनौती बन्नेछ । यी नेताका कार्यकता भिन्नभिन्न सांगठनिक संस्कारबाट दीक्षित छन् । नयाँ संगठनमा कार्यकर्ताबीचको अभ्यास र कार्यशैली सुल्झाउन नसकिने समस्या बन्नेछ । यस्तो समस्या हिजोको नयाँ शक्ति र फोरमले भोगिसकेका छन् । त्यसबाट कसरी निस्कनेबारे भने अनभिज्ञ छन् । राजपा आफैँ राजनीतिक दलको रूपमा रूपान्तरित नभएको घटक हो । परिस्थितिजन्य बाध्यताले आज राजपाका नेताहरूलाई संघीय पार्टीमा धकेले पनि उनीहरूमा तेस्रो शक्तिको रूपमा रूपान्तरित हुने कुनै दीर्घकालीन प्रतिबद्धता र राजनीतिक दूरदृष्टि छैन । 

कुनै पनि दल तेस्रो शक्ति हुन सांगठनिक विकल्पको रूपमा मात्र उदाएर पुग्दैन । त्यसमा नौलो राजनीतिक जीवनदृष्टि चाहिन्छ । त्यस्तो जीवनदृष्टि कार्यशैली र उनीहरूले उठाउने राजनीतिक सवालमा झल्किनुपर्छ । त्यतिले मात्र पुग्दैन । नेपालको परिप्रेक्ष्यमा दलहरूको उदय कि त संघर्ष गरेर कि संघर्षका लागि आधार तयार गरेर मात्र भएको छ । संघर्षका लागि आधार तयार गरेपछि समेत यदि परिवर्तनकारी संघर्षमा सो दलले आधारभूत भूमिका नखेलेको वा संघर्ष वरिपरि आफ्नो वैधानिकता स्थापित गर्न नसकेको अवस्थामा दलहरू हराएर गएका छन् । नेपाल प्रजा परिषद्, नेपाल तराई कांग्रेस, धेरै कम्युनिस्ट घटक र राप्रपाका विभिन्न झुन्डको कथा यस्तै छ । त्यसैले नयाँ अभियान वा संघर्षको नेतृत्व नगरी र पुराना संघर्षको विरासतमाथि आधिकारिकता स्थापित नगरी टाउका मात्र मिल्ने र बिछोडिने कार्यले सशक्त तेस्रो शक्तिको उदय हुन सक्दैन । 

जहाँसम्म भारतको सवाल छ, अन्य छिमेकी र मित्र राष्ट्रको तुलनामा उसलाई ठूलो फाइदा छ । जनस्तरमा भारतसँगको सम्बन्ध ऐतिहासिक, आर्थिक र सांस्कृतिक रूपमा अन्योन्याश्रित भएकाले नेपाल–भारत सम्बन्ध कदाचित राजनीतिक वृत्तमा मात्र खुम्चिन सक्दैन । विगतमा भारतले यसलाई राजनीति वृत्तमा खुम्च्याउन खोज्दा ऐतिहासिक त्रुटि गरिरह्यो । तर ऐतिहासिक भूलबाट भारतले तत्त्वज्ञान लिएको देखिँदैन । त्यस्तो ज्ञान लिन सबैभन्दा पहिले ‘नियन्त्रित अस्थायित्व’ को सिद्धान्त र क्षणिक राजनीतिक लाभबाट बाहिर निस्कन सक्नुपर्छ । तर जबसम्म भारतीय विश्वविद्यालयहरूमा नेपाल अध्ययनका विभाग गतिशील रूपमा सक्रिय हुँदैनन् र नेपाल मामला केवल सीमित नेता, कूटनीतिज्ञ र गुप्तचरको भरमा चल्छ, एउटा गल्तीलाई सच्याउन अर्को मिसन सञ्चालन गर्ने कार्यमा भारत अल्झिरहन्छ । उसको सिकाइ केवल अर्को गल्ती गर्ने कार्यमा सीमित रहन्छ ।

चीन नेपालमा धेरै सक्रिय भयो भनेर शीतयुद्धकालीन शैलीमा सशंकित हुने र प्रतिउत्तरमा केही गरिहाल्ने कार्यको साटो भारतीय नीति निर्माताले नेपाल बुझ्न दीर्घकालीन हिसाबले लगानी गर्न उत्तम हुन्न र ? तर ‘नेपाल पनि के बुझ्न आवश्यक छ, बुझेकै त हो नि’ भन्ने मानसिकताबाट बाहिर ननिस्की यो प्रश्नको उत्तर खोज्न सम्भव छैन । 

प्रकाशित: कार्तिक २०, २०७६