साताका ७ तस्बिर

- नेपाल संवाददाता

तस्बिरमा हामी जीवन खोज्छौँ । जीवनसँग जोडिएका संस्कृति, कलाशैली र मनोविज्ञान हामी तपाईँलाई देखाउँछौँ । नेपाल म्यागजिनले अबदेखि हरेक साता छानिएका ७ तस्बिर प्रस्तुत गर्नेछ । हेर्नुस् यो साताका तस्बिरहरूः

खोटाङको रावाबेँसी गाउँपालिका-३ स्थित डाँडागाउँमा दशकौँदेखि दसैँ र तिहारमा रोहटे पिङ लगाउने चलन छ । यहाँका अन्य गाउँमा पनि पहिला पिङ लगाइन्थ्यो । कोही युवा विदेश त केही सहर पलायन हुन थालेपछि पिङ लगाउने जनशक्ति कमी हुँदै गएको छ । तर डाँडागाउँमा पिङ लगाउने चलन हटेन । पाका उमेरकाहरू चाडवाड आउनु महिना दिनअघि पिङ लगाउन जुट्थे । अहिले यो काम युवा पुस्ताको काँधमा सरेको छ । विस्तृत पढ्नुस्ः पुर्ख्यौली पिङ । तस्बिरः विमल खतिवडा

काठमाडौं नागार्जुनकी सानुमैया तामाङ (६०) बिहानदेखि रातिसम्म फूलसँग रमाउँछिन् । बितेका ४० वर्ष फूलखेतीमा बिताएकी उनले मानिसहरूका खिसीदेखि खुसीसम्म भेटेकी छन् । बरु पहिले फूल बेच्दा खिसी भोगेकी उनले अहिले आर्थिक उपार्जन गरेर खुसी सँगालेकी छन् । सरोज बैजुले उनको कथा भिडियोमा कैद गरेका छन् । तस्बिरः सरोज/नेपाल

३१ अक्टोबरमा क्रिस्चियन धर्मावलम्बीले हलोविन मनाए । हलोविन अर्थात् मृतात्मालाई सम्झने दिन । पर्यटकीय केन्द्र ठमेलमा हलोविनमा उत्सव नै थियो । तस्बिरमा देखिएका युवा अुनुहारमा डर पोतेर हलोविन सेलिब्रेसनमा सहभागी हुन जान लागेका हुन् । तस्बिर : सरोज बैजु

‘कमिक कोन’ भनिने यो उत्सवको अन्तर्राष्ट्रिय प्रभाव छ । नेपालमा पनि यसमा रमाउने युवायुवती धेरै छन् । कमिक पुस्तकहरूका कार्टुन क्यारेक्टरका मन पर्ने पोशाक लगाएर उनीहरू जम्मा हुन्छन् । ललितपुरको लबिम मलमा जम्मा भएर उनीहरूले अनेक भाव भंगिमा देखाए । नेपालमा यो उत्सव ओटाकु नेक्स्टले गर्ने गर्छ । तस्बिरः सरोज बैजु/नेपाल

मेडिकल कलेजहरुले अवैध रुपमा उठाएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित राजधानीको माइतीघर मण्डलामा गत बुधवार विरोध प्रदर्शन गर्दै मेडिकल कलेजका विद्यार्थीहरू ।  तस्बिर : सरोज बैजु/नेपाल

काठमाडौं मुलपानी सडक धुलाम्मे छ । यहाँ स्वास फेर्न गाह्रो छ । तर बाटोमा नहिँडी हुँदैन । गत बुधबार यही सडकमा नानी च्यापेर गन्तव्यतर्फ लाग्दै गरेकी गर्भवती महिला । तस्बिरः सरोज बैजु/नेपाल

सडकमात्र होइन, धुलोले आकाशलाई पनि छोडेको छैन । आकाश धुम्म छ, धुलाम्मे छ । उड्दै आकाशमा कावा खाँदै गरेको काग । तस्बिरः सरोज बैजु/नेपाल

र, यो पनि

समीर घिसिङ अर्थात् र्‍यापर भिटेन । आफूले गाएको गीतकै कारण प्रहरी हिरासतमा पुगेका उनी पहिलोपटक मिडियामा आएका छन् । नेपाल म्यागजिनसँग उनले हिरासतमा भोगेका अनुभूति बाँडेका छन् । उनको प्रश्न छ- "कसैलाई ‘हर्ट’ गर्ने चाहना थिएन तर प्रहरीलाई त्यही निहुँ भयो । अहिले सोच्दा, त्यो फोटो त्यसरी सार्वजनिक नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । तर त्यो पिटाइ खानुपर्ने, दुर्व्यवहार सहनुपर्ने र पक्राउ नै गर्नुपर्ने अपराध थियो र ?" विस्तृतमा पढ्नुस् उनको अनुभूति

प्रकाशित: कार्तिक २२, २०७६