जसलाई हुटहुटीले व्यवसायी बनायो

  • उद्यम

- सुनिता लोहनी

टुटल र पठाओ, दराज अनलाइन, खाली सिसी केही सफल स्टार्टअप व्यापार हुन् । यिनै व्यवसायको सफलता देखेर वा केही नयाँ गर्ने होडमा सयौँ युवा स्टार्टअपमा लागिरहेका छन् । तर सरकारी झन्झटिलो नीति नियम, सोचमा लगानी नहुँदा कैयौँ स्टार्टअप कागजमै मात्र सीमित हुन पुगेको छ । तैपनि केही युवा जोशलाई भने यी समस्याले पनि रोक्न सकेका छैनन् ।

कसरी सुरु हुन्छ एउटा स्टार्टअप ?

शिवजन चौलागाईँ, ३३, सिन्धुलीको विकट गाउँका पहिलो इन्जिनियर हुन् । गाउँ यति विकट कि अहिलेसम्म बिजुलीबत्ती पुगेको छैन । शिवजनसँग गाउँका समस्या पनि ठूला र गाउँलेका अपेक्षा पनि ठूलै । यसलाई सबै थाहा छ भन्दै बिरामी बाख्रा नै डोर्‍याएर ल्याउने गाउँले । तर उनी थिए, इलेक्ट्रोनिक इन्जिनियर ।

तारविहीन प्रविधिबाट दुर्गम गाउँमा सञ्चार प्रवाह गरेका महावीर पुनबाट प्रभावित शिवजनलाई ०६७ मा इलेक्ट्रोनिक इन्जिनियरिङ उत्तीर्ण गरेपछि जागिर खानेभन्दा पनि केही गर्ने हुटहुटीले आफ्नै गाउँ डोर्‍यायो । गाउँका अरू विद्यार्थीले गुणस्तरीय शिक्षा पाऊन् भन्ने मनसाय बोकेर उनले सोलार पावर कम्प्युटर ल्याब बनाए । उनले बनाएको सोलार ल्याब ७ भन्दा बढी विद्यालयमा प्रयोगमा आयो । गाउँकै विद्यालयमा अंग्रेजी, विज्ञान र कम्प्युटर पढाउन थाले । तर कृषिप्रधान देशका नागरिकले कृषिमै यति धेरै अन्याय र सास्ती भोगेको प्रत्यक्ष देखेपछि शिवजनले कृषिमा केही गर्ने सोचे । यही सोचले जन्म दियो, कृषि गुरु एप । भन्छन्, "व्यावसायिक खेतीपाती तथा पशुपालन गर्न, बिक्री वितरण गर्न, कृषि मन्त्रालयले दिने गरेका अनुदान र सहयोग तथा कृषिसम्बन्धी समस्या समाधान गर्न विज्ञसँग परामर्श लिन कुनै प्लेटर्फम थिएन ।"

कृषिमा सूचना अभाव थियो । उनी यही कमी पूरा गर्न चाहन्थे । अन्ततः ०७० मा उनले आईसीटी फर एग्री नामको एप बनाए । पछि त्यही एपलाई परिमार्जन गरेर कृषि गुरु एप बनाए । पहिलेको एपबाट एसएमएस गर्ने कृषकले मात्र फाइदा लिन सक्थे । तर अहिलेको एपले नेपालभरि जता रहे पनि कृषकले निःशुल्क फाइदा लिन सक्छन् ।

व्यावसायिक तालिम लिन एक साता या एक महिनाको सब्सक्राइब गर्न सकिन्छ । पहिलो महिना निःशुल्क हुन्छ भने दोस्रो महिनादेखि केही शुल्क लाग्छ । १२ जना कृषि विशेषज्ञसँग कुनै पनि बेला कुरा गर्न सकिन्छ । तर सरकार र सरकारी निकायबाट भने उनी सधैँ रित्तो हात र्फकनुपर्दा कृषि गुरुको प्रयोग जुन अनुपातमा देशभर फैलनुपर्ने हो, त्यो हुन सकेको छैन ।

समुद्रराज अर्याल, २५, ले साउथ इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट बीबीए गरे, ०७२ मा । कलेजमा अन्टरपि्रनियर विषय पढ्थे । साथी-साथीबीच छलफल चल्थ्यो । के व्यापार गर्ने भनेर राम्रा उपाय पनि सिर्जना हुन्थ्यो । जस्तो, मोबाइल फुड ट्रक । स्याङ्जा घर भएका समुद्रको गाउँमा सरकारी जागिर आकर्षणको  पद हो । त्यसमा रुचि नभए पनि उनी  १ वर्ष लोकसेवामा डुले । पछि साथीसँग मिलेर कपडा रेन्ट प्राइभेट लिमिटेड दर्ता गरे । ०७४ बाट काम सुरु गरे । उनी आफ्नो व्यवसायलाई परिचयको चरणमै रहेको मान्छन् ।

समुद्रराजलाई अरू व्यापारिक योजनाभन्दा कपडा रेन्टमा चाहिँ थोरै लगानीमा काम गर्न सकिन्छ कि भन्ने लाग्यो । भारतमा कपडा भाडामा लिने र दिने ठूलो व्यापार छ । नेपालमा भने पार्टीवेयर कपडा भाडामा दिने र लिने चलन दर्ता गर्ने कपडा रेन्ट पहिलो हो । तर महँगा कपडा भाडामा दिने उपाय कसरी फुर्‍यो त ?

समुद्रसँग १० हजार खर्च गरी किनेको सुट थियो । भोजभतेरमा एक-दुई पटक लगाएपछि ती सुट थन्किथे । यसरी ३ वटा सुट थन्किसकेपछि उनलाई यो सोच फुरेको हो । सेवा दिने व्यापार भएकाले यो फरक छ । भन्छन्, "होटलमा आएर मःम खाएजस्तो होइन । भाडामा दिएपछि कपडा पुनः फिर्ता पनि लिनु छ ।" व्यापार सोच राम्रो भए पनि सञ्चालनमा भने समस्या हुने समुद्रको बुझाइ छ । कपडा च्यातिने, बिगि्रने, बटन फुस्कने, धागो निस्कने आदि यो व्यापारका लागि ठूला चुनौती हुन् ।

त्यसो त सामाजिक सन्जालको जेनेरेसनले कपडा रेन्टजस्ता व्यापारलाई सजिलो पनि तुल्याइदिएको छ । फेसबुक, इन्स्टा, टिकटकजस्ता सामाजिक सन्जालमा फोटो अपलोड गर्ने चलन छ । युवतीहरू एकपल्ट भोजमा पहिरेको लुगा अर्को ठाउँमा लगाउँदैनन् । यसले व्यापार गर्न सहज भएको समुद्रराज बताउँछन् । भन्छन्, "पार्टीवेयर महँगा हुन्छन् । सबै पार्टीका लागि नयाँ-नयाँ किन्न सकिँदैन । त्यहाँ हाम्रा लागि ठूलो अवसर हो ।"

५ लाख रकमबाट व्यापार सुरु भएको कपडा रेन्टमा कपडा लिँदा १० प्रतिशत भाडा लिन्छन् । कपडा बिगारे हेरेर थप जरिवाना लिइन्छ । कपडा फिर्ता नदिने केसबाट बच्न, समयै कपडा फिर्ता ल्याउन ग्राहकलाई उत्प्रेरित गर्नुपर्छ । भन्छन्, "१० हजारको कपडालाई १५ सयमा दिन्छौँ । कपडा घरमा राखे के हुन्छ भन्नेजस्ता नकारात्मक कुरातिर ग्राहकको ध्यान जानै दिदैनौँ । उनीहरूलाई समस्याभन्दा पनि केही गल्ती भए समाधान के हुन्छ, त्यो बताउँछौँ ।" सुरक्षाका लागि ग्राहकको परिचय कार्डपछि व्यापार गर्न सजिलो हुन्छ भन्दै फोटो खिचेर राख्ने गरिन्छ ।

कपडा रेन्टमा गाउन, सारी, ककटेल पहिरन राखिएका छन् । यसको फेसबुक पेज र वेबसाइटसमेत छ । समुद्रका अनुसार संसारमै कपडाबाट निस्कने प्रदूषण दोस्रो ठूलो हो । यस कारण पनि कपडा रेन्ट उत्तम व्यवसाय हो । कपडा रेन्ट राम्रो व्यवसाय भए पनि कतिपय ग्राहकमा चर्म रोग लाग्न सक्ने कारण अरूले लगाएको कपडा लगाउनुहुन्न भन्ने अवधारणा छ । तर समुद्र भन्छन्, "हामीले कपडा दिनुअगाडि र्फम भराउँछौँ । कपडा ल्याइसकेपछि ड्राईक्लिनिङमा दिन्छौँ । यो सुरक्षित हुन्छ । अहिलेसम्म यस्तो कम्प्लेन कसैले गरेको छैन ।"

हाम्रो ध्यान कुहिने चीजमा मात्र जान्छ । तर नकुहिने सामानजस्तो सिसाका बोतल, गिलासको के हुन्छ ? व्यापारी हेम भण्डारी, ३२, लाई यो कुराले निकै रुचि जाग्यो । यसबारे खोज्दै जाँदा उनले सिसाका केही बोतल फोहोरमैलाकै भाँडामा फालिने थाहा पाए । राम्रा र महँगा बोतल भारतमा लगेर बेचिने गरेको बुझे । ती बोतल सरदरमा करिब ७ रुपैयाँ किलोमा नेपालबाट जाँदो रहेछ, भारत । तर अचार कम्पनीले भारतबाट एउटा बोतललाई २५ देखि ३० रुपैयाँमा किन्दा रहेछन् । उनलाई लाग्यो, यसलाई कम गर्न सकिन्छ ।

सिसाका गुण-अवगुणबारे बुझ्ने क्रममा उनले बोतल ३ थरीका हुने थाहा पाए- सेतो, नीलो र खैरो रङ । रङअनुसार बोतल विभाजन गरेपछि त्यसलाई मेसिनले पिसेर धुलो (कलेक्ट) बनाइन्छ । यस्ता कलेक्टको माग भारतमा उच्च छ । सो कलेक्टको मूल्य पनि बढी पर्छ । हेमका अनुसार ८० प्रतिशत त्यो कलेक्ट पुनः सिसाका बोतल बनाउनै प्रयोग हुन्छ । भन्छन्, "त्यो कलेक्ट सडक निर्माणदेखि खेलकुद चौरसम्म बनाउन प्रयोग गर्न सकिन्छ । यसले बालुवाको काम गर्छ र बालुवाभन्दा सस्तो पर्छ ।"

हेमले ग्लासको नेपाल नाम दिएको यस व्यापार योजना काठमाडौँ महानगरपालिकाले गरेको स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्जको उत्कृष्ट २५ मा पर्न सफल भएको थियो । तर धुलो बनाउने मेसिन महँगो भएकाले उनले 'प्रोटो टाइप' वस्तु बनाएरै भने देखाउन सकेका छैनन् । तर यत्तिकैमा हेम हार मान्नेवाला छैनन् । भन्छन्, "केही वर्षभित्रै आफ्नो योजनालाई जसरी पनि साकार पार्नेछु ।"

प्रकाशित: कार्तिक २६, २०७६

×