के त्यो म्याच फिक्सिङ थियो ?
नाइट क्लब प्रकरणमा चार खेलाडी बर्खास्तीको भित्री पाटो

भुटानको चाङ्लिमिथान रंगशालामा कुवेतविरुद्धको खेलमा नेपाली फुटबल टोलीमा पहिलो रोजाइका स्ट्राइकरद्वय विमल घर्ती मगर र अञ्जन विष्टबिनै मैदान उत्रियो । ३० कात्तिकमा टोलीको औपचारिक बिदाइ गर्ने बेलासम्म पनि उनीहरूसहित सन्तोष तामाङ र दिनेश राजवंशी टोलीमा पर्नेमा ढुक्क थिए । कारण, त्यसअघि घोषणा गरिएको अन्तिम टोलीमा चारै जना अटाएका थिए । तर बिदाइको दिन एक्कासि उनीहरू चारै जनाको नाम काटियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष कृष्ण थापा, महासचिव इन्द्रमान तुलाधरलगायतका पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले उनीहरूमाथि अनुशासनको कारबाही गर्ने निर्णय गर्यो । कारण थियो– ती चारै जना खेलाडी २९ कात्तिक राती अबेरसम्म ठमेलको रेस्टुराँ चहार्दै मादक पदार्थ सेवन गरी मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा परी दिनेशको आँखामा चोट लागेको छ ।
खेलाडीहरू नाइट क्लबमा भेटिएको यो पहिलो घटना नभए पनि अनुशासनको कारबाहीस्वरूप उनीहरूलाई टिमबाटै बर्खास्त गरिएको घटना नौलो हो । ०७५ साउनमा पनि विमल, अन्जन, विशाल राई र हेमन्त थापा मगर पनि यसैगरी होस्टलबाट भागेर नाइट क्लब पुगेका थिए । एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेका बेला राती–राती क्लब धाउने खेलाडीलाई चोख्याउने काम एन्फाबाटै भयो । त्यतिबेला एन्फाले उनीहरूसँग सामान्य सोधपुछ मात्रै गरेको थियो । स्पष्टीकरण सोधेर खेलाडीलाई उन्मुक्ति दिएको भन्दै त्यतिबेला एन्फाभित्र विवाद भएको थियो । केहीले उनीहरूलाई कारबाही हुनुपर्ने तर्क गरे पनि खेलाडीको मनोबल नगिरोस् भनेर एन्फा नेतृत्व लचक भएको थियो ।
तर यस पटक भने अनुशासनको कारबाही भनिए पनि त्यसभित्र अर्कै पाटो रहेको धेरैको शंका छ ।
अनुशासनको डन्डा
नेपालले विश्वकप–२०२२ को दोस्रो चरणको छनोटमा कुवेतविरुद्ध उसकै गृहमैदानमा ७–० को हार बेहोरेको थियो । त्यसपछि अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले हारेको नेपालले चाइनिज ताइपेईलाई भने २–० ले हराएको थियो । अवे म्याचको नतिजालाई आधार बनाएर फिफाले एन्फाका इन्टिग्रिटी अफिसर पूर्वडीआईजी सुदीप आचार्यलाई इमेल पठाएर खेलमा कैफियतको आशंका गर्दै अनुसन्धान गर्न सुझाएको थियो ।
त्यसबारे एन्फाको अनुशासन समितिमा पनि छलफल भयो । तर समिति संयोजक विजय मानन्धर राजीनामा दिएर बसेकाले त्यसबारे कुनै निर्णय हुने सकेको थिएन । पछिल्लो घटनाक्रमबारे निर्णय लिन एन्फा पदाधिकारीले अनुशासन समितिका सहसंयोजक पूर्वएसएसपी सुरेश बस्नेतसँग छलफल गर्दै खेलाडीलाई कारबाहीको निर्णय गरेको थियो । फिफाको इमेलपछि एन्फाले म्याच फिक्सिङबारे प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको थियो । एन्फाका एक पदाधिकारी भन्छन्, “चार खेलाडीको गतिविधि शंकास्पद देखिएको थियो । बिदाइको अघिल्लो दिन अनुशासनहीन काम गर्दा टिममा परिन्न भन्ने थाहा हुँदाहुँदै त्यस्तो गर्दा कतै उनीहरू भुटान जाने टोलीमा पर्न चाहन्नथे कि भन्ने शंका उत्पन्न भएको छ ।”
यसबारे आधिकारिक रूपमा भने कोही बोल्न चाहन्नन् । प्रवक्ता किरण राई भन्छन्, “अध्यक्षको अनुपस्थितिमा हामीले निर्णय गर्यौँ । यसलाई आधिकारिकता दिन पनि सकिएको छैन । खेलाडीलाई अनुशासनको कारबाही मात्रै गरेका हौँ । कति खेलसम्म यो कारबाही लम्बिने भन्ने पनि छैन ।”
हुन पनि खेलभन्दा खेलाडी कहिल्यै ठूलो र महत्त्वपूर्ण होइन । अनुशासन नभए जतिसुकै चर्चित वा सफल भए पनि खेलाडीको काम हुँदैन किनभने खेलाडीको सफलताको न्यूनतम सर्त नै अनुशासन हो । अघिल्लो वर्ष सोही प्रकृतिको घटनामा कारबाही नगरेको एन्फाले यस पटक खुट्टा नकमाएर दह्रो रूपमा प्रस्तुत हुनुलाई पनि अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ ।
युवा पुस्ताका आशालाग्दा विमल घर्ती मगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीजस्ता खेलाडीलाई कारबाही गर्दा भोग्नुपर्ने परिणाम र त्यसले टिमको प्रदर्शनमा पार्ने असरबारे पनि एन्फा नेतृत्व यस पटक कठोर बन्यो । एन्फा पदाधिकारीमध्ये केहीले यो घटनालाई फेरि गुपचुप राख्ने प्रयास नगरेका होइनन् । तर चारै खेलाडीलाई अलग–अलग राखेर गरिएको सोधपुछपछि उनीहरू कारबाहीको मुडमा पुगे । फलस्वरूप सुवास गुरुङलाई टोलीमा थप्दै फुटबल टिम भुटान उड्यो ।
अन्जन विष्ट । फाइल तस्बिरः नेपाल
कारबाहीमा परेका चारै खेलाडी पहिलो रोजाइका हुन् । विमल नेपाली टिमका प्रमुख स्ट्राइकर हुन् भने अञ्जन मिडफिल्डका प्रभावशाली खेलाडी हुन् । विश्वकप छनोटमा नेपालले जितेको एक मात्र खेलमा अञ्जनले चाइनिज ताइपेईविरुद्ध २ गोल हानेका थिए । दिनेश पनि नेपालको रक्षापंक्तिका भरपर्दा खेलाडी हुन् । चार खेलाडीको अनुपस्थितिमा नेपाली टिम कमजोर हुनेमा कुनै शंका थिएन । तर नतिजा उल्टो आयो । यी चार खेलाडी भएको भन्दा कम अन्तरमा गोल खाएर टोली स्वदेश फर्किएको छ ।
व्यवस्थापक र प्रशिक्षक पनि जिम्मेवार
सागको बन्द प्रशिक्षणमा समेत रहेका खेलाडी रातभर बाहिर रहनुमा टिम व्यवस्थापन पक्ष कति कमजोर छ भन्ने जगजाहेर भएको छ । खेलाडीलाई बन्द प्रशिक्षणमा नराखेर घरमै रहन दिने परिपाटी भएकाले पनि यसको जिम्मेवारी प्रशिक्षक र टिम व्यवस्थापकले समेत लिनुपर्ने आवाज एन्फाभित्रै उठेको छ । एन्फाका एक कर्मचारी भन्छन्, “खेलाडीले अनुशासन पालना नगर्दा जिम्मेवारी उनीहरूमा बढी होला । तर टिम प्रशिक्षक र व्यवस्थापकले पनि उनीहरूको दैनिक कामबारे प्रशस्त जानकारी राख्न जरुरी छ । खेलाडी हेर्ने जिम्मेवारी पाएको मान्छेलाई पनि जिम्मेवारीबाट च्युत भएपछि किन कारबाही नगर्ने ?”
पछिल्लो केही वर्षलाई हेर्ने हो भने फुटबलमा एकपछि अर्को अनुशासनहीन घटना भइरहेका छन् । तत्कालीन कप्तान सागर थापासहित ५ खेलाडी खेल मिलेमतोको अभियोगमा फुटबलबाट आजीवन प्रतिबन्धमा परे । केही महिनाअघि फुटबल टोलीका कप्तान किरण चेम्जोङ र फिजियो विवेकविक्रान्त अधिकारीबीच विवाद भयो, जसमा एन्फाले फिजियोलाई निकाल्यो भने किरणलाई सचेत मात्र गर्ने निर्णय गर्यो । खेलाडीलाई च्याप्ने एन्फाको नीतिप्रति उसकै पदाधिकारी नै सन्तुष्ट छैनन् ।
सन्तोष र दिनेश । फाइल तस्बिरः नेपाल
राष्ट्रिय टिमका पूर्वकप्तान एवं महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्का अहिले अनुशासनको मामिलामा खेलाडीहरू चुकेको स्वीकार्छन् । तर अनुशासन कायम गर्ने निकाय पनि उत्तिकै चनाखो हुनुपर्ने उनको तर्क छ, “हाम्रो पालामा यति धेरै नाइट क्लब थिएनन् । मिडिया पनि थोरै थिए । अचेल केही कुरा पनि लुक्दैन तर खेलाडीलाई मात्रै अनुशासनको कारबाही गर्दा अन्यले उन्मुक्ति पाए कि भन्ने हेर्न जरुरी छ ।”
खड्काका अनुसार एन्फाले फुटबल मात्रै सिकाउने नभएर आचरणमा पनि जोड दिनुपर्छ । युवा टोलीबाट आएका खेलाडी सिनिएर टोलीमा छिर्नासाथ रातारात स्टार बन्छन् । त्यही स्टारडम धान्न पनि उनीहरूलाई गाह्रो हुने खड्काको कथन छ । यस्तोमा टिम प्रशिक्षक र व्यवस्थापकको भूमिका बढी हुने भएकाले त्यतातर्फ एन्फा नेतृत्वको ध्यान जानुपर्ने उनी सुनाउँछन् ।
कारबाही बढ्न सक्छ
विदेश भ्रमणको अघिल्लो दिन नाइट क्लबमा रातभर मात्दा र मोटरसाइकल दुर्घटना गराउँदासमेत कारबाही नगरिए अन्य खेलाडीको मनोभावमा समेत असर गर्ने हुँदा तत्कालका लागि कुवेतविरुद्धको खेलमा उनीहरूलाई ड्रप गरिए पनि कारबाही थपिन सक्ने जानकार बताउँछन् । प्रवक्ता राई भन्छन्, “तत्कालीन अवस्थामा हामीले उपलब्ध पदाधिकारी बसेर एउटा निर्णय लियौँ । अध्यक्ष कर्माछिरिङ शेर्पा आएपछि यसबारे थप निर्णय हुन्छ ।” भुटानमा रहेका अध्यक्ष शेर्पा ५ मंसिरमा काठमाडौँ ओर्लिसकेका छन् । अध्यक्षसँग टेलिफोनमा सल्लाह गरेरै निलम्बनको निर्णय लिइएको र अनुसन्धान गरी खेलाडीमाथि थप कारबाही हुन सक्ने उनले सुनाए ।
खेलाडीको व्यवहार र आचरणअनुसार नै प्रदर्शन हुने भएकाले राती–राती क्लब धाउने गतिविधिले खेलमै असर गर्ने हरि खड्काको तर्क छ । खेलपूर्व उनीहरूलाई शारीरिक र मानसिक रूपमा आरामको आवश्यकता हुने भएकाले एकाग्रताका लागि पनि बन्द प्रशिक्षण आवश्यक पर्छ । यसका विरुद्ध जानेलाई अनुशासनको कारबाही जरुरी रहेको उनी बताउँछन् । तर कारबाही गरेर मात्रै नभई खेलाडीलाई जिम्मेवार बनाउनेतर्फ पनि एन्फाले सोच्ने बेला आइसकेको छ ।