यतीमा रमेको मन

- सुनिता लोहनी

अग्ला हिमाल वा शान्तिका दूत गौतम बुद्धको जन्मस्थल या रोमाञ्चकारी ट्रेकिङ रुट । नेपालको परिचयमा हिममानव यती बनाएर अर्को एउटा विशेषण थप्न चाहन्छन्, मूर्तिकार विजय महर्जन, ३७ । भिजिट नेपाल–२०२० लाई लक्ष्य गरेर उनले १ सय ८ वटा यतीका मूर्ति बनाएका छन् । राज्य स्तरबाट यति ठूलो परिमाणमा कलाको काम पहिलोपल्ट भएको हो ।

लोककथाअनुसार यती अग्ला र सुन्दर हिमालमा बस्छन् । मिथक पात्र यतीलाई हिमपुत्र शेर्पाले जंगली मान्छेका रुपमा चिन्छन् । शेर्पा समुदायमा यतीका थुप्रै किंवदन्ती छन् । वास्तवमै यती छ भनेर प्रमाणित गर्न बेलाबखत केही हिमाल आरोहणकर्ताले कोसिस पनि गरेका छन् । यती : द इकोलोजी अफ द मिस्ट्रिका लेखक ड्यानिएल टेइलरले बरुण उपत्यकामा यतीको खुट्टाको छाप भेटेको दाबी गरेका थिए । यस्ता दाबी बेलाबखत आइरहे पनि कसैले यतीलाई भेटेको छैन । मिथ नै भए पनि हिमालको देश नेपालको प्रवद्र्धन गर्न यती बनाएको सुनाउँछन्, विजय महर्जन । भन्छन्, “सबैको दिमागमा यती कस्तो होला भनी चलेको हुन सक्छ । कसैले बाँदरजस्तो बनाउलान् । प्राय:ले बाँदरकै निकट रहेको बनाएको भेटेको छु । मिथ भएकाले यस्तै थियो भन्न कसैले सक्दैन ।” 

यती भिजिट नेपाल–२०२० को मस्कट पनि हो । कलाकार आङछिरिङ शेर्पाले यतीको मस्कट डिजाइन गरे । त्यसपछि महर्जनले यसलाई मूर्तिको आकारमा ढाले । यसका लागि कलाकारको टिम नै रहेको उनी बताउँछन् । मिथ भएकाले यतीको स्वरुपको खासै चर्चा नहुने महर्जनको बुझाइ छ । भन्छन्, “मिथमा थोरै काल्पनिकता थपेर मायालाग्दो, देख्नेबित्तिकै अँगालो हालौँजस्तो यती बनाएको छु ।” हुन पनि उनले बनाएको सात फुट अग्लो यती मायालु देखिन्छ । पछाडिपट्टि हेर्दा शिर बुद्धजस्तै देखिन्छ ।

सेतो रङमा सजिएको यतीलाई अन्य १ सय ८ चित्रकारले चित्र कोर्दै छन् । सुरुमा अग्रज १० कलाकारले यतीको मूर्तिमा चित्र कुँदेका थिए । करिब ४० वटा यती विदेश जानेछन्, नेपालको पर्यटन प्रवद्र्धन गर्न । महर्जनले यतीको शरीरलाई क्यानभास बनाएका छन्, जहाँ चित्रकारले यतीलाई विभिन्न रङमा रंग्याउन सकून् । हिमालको यती एससी सुमनको मिथिला कलामा मुस्कुराइरहेको छ । समुद्रमान चित्रकारको पौभामा यती रमिरहेको छ । थान्का, आधुनिक चित्रमा पनि यती बुलन्द देखिन्छ । 

परिवारमा ५ छोरामध्ये महर्जन साहिँला हुन् । परिवारमा एक मात्र कलाकार हुन् । सानैदेखि आफ्नै कल्पनाको संसारमा रमाउने बानीले मूर्तिकार बन्न प्रेरित गरेको बताउँछन्, उनी । सानोमा माटाका मूर्ति बनाई त्यसैसँग आफ्ना सारा सपना बुनेको उनी सम्झन्छन् । भन्छन्, “स्कुलमा हुँदा कतिखेर घरमा गएर मूर्तिसँग कुरा गरौँजस्तो लाग्थ्यो । अरुले भाँच्देलान् भनेर मूर्ति खाटमुनि लुकाउँथेँ ।” उनी अझै मूर्तिसँग एक्लै बसेर संवाद गर्छन् । उनको यो व्यवहार देखेर पत्नी सुरु–सुरुमा छक्क परेकी थिइन् रे ।

सबैको संघर्षको आयाम फरक–फरक हुन्छ । मूलधार र व्यावसायिक कला दुवैमा सफल रहेका महर्जन सानोमा डिस्लेसिया (अक्षर नचिन्ने) रोगबाट ग्रसित थिए । ५ कक्षासम्म पढाइमा निकै सास्ती भोगेको उनी सुनाउँछन् । क्याम्पस पुगेपछि उत्कृष्ट विद्यार्थी बनेको सुखद अनुभूति पनि छ, उनीसँग । हिन्दी चलचित्र तारे जमिन पर हेरेपछि मात्र आफू सो रोगबाट ग्रसित भएको उनले थाहा पाएका थिए । तर जोडिएका शब्द पढ्न अझै पनि गाह्रो हुने उनी बताउँछन् । क्याम्पसपछि उनले लिंकन स्कुलमा पढाउने अवसर पाएका थिए । अंग्रेजी राम्रो नहुँदा जागिर पाएपछि विद्यार्थीको कल्पनाशीलता बढाउन दिमागको अभ्यास गराएका थिए । उनी आफू पनि दिमागको अभ्यास गरिरहन्छन् । भन्छन्, “मेरो कल्पनाशीलता बाल्यकालदेखि नै बलियो थियो । अरुलाई शब्द भन्नेबित्तिकै दिमागमा चित्र घुम्ला तर मलाई थ्री डी नै घुम्छ, पूरै मोसनमा ।” 

महर्जनको कला परिभाषा पनि फरक छ । उनी काठमाडौँलाई तान्त्रिक ठाउँ मान्छन् । उनका अनुसार इजिप्टका पिरामिडमा ममी बनाई शक्ति सञ्चय गरी राखिएको छ, हाम्रा मन्दिरमा पनि शक्ति सञ्चय गरी राखिएको छ । हामी शक्तिको पूजा गर्छौं । ३३ कोटि देवता भनेको ३३ कोटि शक्ति हो । भगवान् शिवलाई पूजाआराधना गर्नु भनेको शिवको शक्ति आफूभित्र आओस् भन्ने हो । त्यो शक्ति हामीभित्रै हुन्छ, त्यसलाई जगाउने मात्र हो । उनका अनुसार त्यसका लागि मन, वचन, कर्मले चाहेको शक्तिलाई सम्झनुपर्छ । हाम्रा मन्त्र शक्तिसम्म पुग्ने माध्यम हुन् । त्यसो त मान्छे पनि एक ‘इनर्जी’ भएको विश्वास गर्छन् उनी । भन्छन्, “हामीले जस्तो इनर्जी फाल्यौँ, नजिकैको मान्छेले सोही इनर्जी लिने हो । त्यसैले आफूलाई मन पर्ने इनर्जी सँगाल्नुपर्छ । मान्छे एक्लै बस्न सक्दैन । अनकन्टार ठाउँमा एउटा रुख मात्र छ भने मानिस त्यहीँ नजिक गएर बस्छ । रुखको इनर्जीमा मान्छेले आड महसुस गरेको हुन्छ ।” 

महर्जनका अनुसार अचेल नेपाली कलाकारिता समस्याकेन्द्रित, सिर्जना बढी भए । कलाको माध्यमबाट समस्या सम्बोधन गर्नु त राम्रो हो तर कला हेर्दा मान्छेलाई आनन्द आउँछ, त्यस्तो कला भने सिर्जना भइरहेको छैन । समस्याकेन्द्रित सिर्जनाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि नकारात्मक भइरहेको उनी ठान्छन् । भन्छन्, “समस्या देखाएर त्यसको समाधान भए त ठीकै हो, होइन भने के अर्थ ?” 

हुन पनि हो, समस्याकेन्द्रित सिर्जनाले त्यो समयको वर्तमानलाई त सम्बोधन गर्ला । तर समय सधैँ एउटै रहँदैन । फेरिएको समयलाई त्यसले सम्बोधन गर्ला त ? फेरिएको समयलाई सम्बोधन गर्ने त स्वतन्त्र मस्तिष्कबाट जन्मिएको कला नै हो । रामेशले जनवादी गीत गाउँदा नारायणगोपालले माया, पिरती र विरहका गीत गाए । आजपर्यन्त तनाव हुँदा या आराम गर्न मन लाग्दा श्रोताको रोजाइमा नारायणगोपाल नै छन् । यस्तै, अंग्रेजी आधुनिक कवि डब्लुएच अडेनले समकालीन साथी डब्लु बी यिट्सबारे भनेका थिए, ‘म राजनीतिक कवितामा रम्दा यिट्स बैजानटियनको रोमान्समा रमे । यिट्सको बैजानटियन कविता कालजयी बने । मेरा राजनीतिक कविता कता सेलाए कता ।’

कला स्वतन्त्र हुनुपर्छ भन्ने भनाइमा सबैको एकमत छ । तर स्वतन्त्र दबाबबिना सिर्जना गर्न सम्भव होला ? महर्जनलाई मूर्ति बनाउने काम साधनाजस्तै लाग्छ । उनी हरेक मूर्ति बनाउनुअघि आफ्नो मनमस्तिष्क खाली राख्ने गरेको बताउँछन् । भन्छन्, “जानेको छु या यो बनाएँ भन्ने कुरा दिमागमा रहे घमन्ड बढ्छ । घमन्डी हुँदा काम गर्न सकिँदैन । मान्छेको पूर्ण सिर्जनशीलता र शक्ति बाहिर आउँदैन ।” 

प्रकाशित: मंसिर १०, २०७६

ट्याग: रङ
×