हिरा बिजुली, जसले कर्णालीमा व्यावसायिक नाटकघर जन्माए
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए, हिराले ।
१२ वर्षअघि काठमाडौँमा कर्णाली दख्खिन बग्दो छले वर्षौंदेखिको कर्णालीको न्यारेटिभ भत्काइदियो । गाउँगाउँमा चामलको रक्सी पाउने तर पेट भर्न चामल नपाउने, तुइनमा झुन्डिदै विद्यालय जानुपर्ने, जागिरका लागि मुग्लान पस्नुपर्ने । नाटकमा हास्य र व्यंग्य शैलीमा कर्णालीबासीका दिनानुदिनका बाध्यता देखाइएका थिए । कर्णालीबाट आएका कलाकारले तत्कालीन गुरुकुल नाटकघरसँग मिलेर प्रस्तुत गरेको नाटकले धेरैलाई रुवाएको थियो ।
आँसु रचनामा आधारित सो नाटकका मुख्य कलाकार थिए, हिरा बिजुली नेपाली, ३० । ०४६ सालमा गाउँमा बिजुली उद्घाटन हुँदा जन्मेकाले बिजुली नाम रहन गएका उनी नाटक यात्राबारे सम्झिँदै भन्छन्, “खासमा नाटक कक्षा गृहकार्य थियो । संवाद सबै हामी विद्यार्थीले लेखेको ।” सुरुमा एक दिन मात्र देखाउने भनेको नाटक पछि ३ महिनासम्म चल्यो । हिरा भन्छन्, “सफल भएपछि भने धेरैले नाटकको श्रेय लिन खोजे ।”
हिरा मुगुको भामवाडामा हुर्के । ०६१ सालमा एसएलसी गरेपछि लहडमा काठमाडौँ आए । कक्षाका साथीजस्तै उनको पनि ठूलो सपना थियो, राजधानीमा गएर पढ्ने, ठूलो मान्छे हुने । उनी सानै छँदा बुबा बिते । आमा एक्लैले हुर्काइन् । काठमाडौँमा निजी क्याम्पस भर्ना भए । संघर्षका दिन सम्झन्छन्, ”मैले ल्याएको पैसा ३० हजार त ३ महिनामै सकियो ।“ पछि सरस्वती क्याम्पसमा व्यवस्थापनमा भर्ना भए । सहरमा टिक्न बागबजारमा वेटरको काम गरे । तर सहरबजारमा विकृति देखेपछि बस्न मन भएन ।
काठमाडौँमा बस्ने कि मुगु फर्कने भनेर गम खाइरहेका बेला उनले मीन भामलाई सम्पर्क गरे । गाउँकै चिनेका अंकल मीन भाम नाटकमा काम गर्छन् भन्ने उनलाई हेक्का थिएन । भामले जमलको नाटकघरमा काम गर्न बोलाए, जुम्लेली नाटक लछाल कीर्ति पैक्यालका लागि । थोरै पैसा पाउने आशमा उनी जमल पुगे । मञ्चमा अरुले संवाद बोलेको देखेर छक्क परे । बोल्न अप्ठेरो लागे पनि मुगु फर्कनुपर्ने डरले उनलाई संवाद बोल्न साहस दिलायो ।
पहिलोपल्ट नाटक खेल्दा उनलाई रमाइलो पनि लाग्यो रे । अरुका दु:खले सजिलै मन छुने भएकाले उनले नाटक आफ्ना लागि भएको पाए । सुरुआती समय गुरुकुलमा नाटक हेर्न उनीसँग पैसा हुँदैनथ्यो । कलाकार सरिता गिरीलाई फकाएर बिनाटिकट छिर्थे ।
गुरुकुलले संविधानसभाको जागरण गर्न देशभर सडक नाटक गर्ने भयो, ०६४ सालमा । हिराले पनि भाग लिए । जुम्ला र मुगुमा नाटक देखाए । अर्को वर्ष गुरुकुलमा विद्यार्थीको रुपमा भर्ना भए र नाटकमै लाग्ने सोच बनाए । प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरु कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए, हिराले । उनी पनि नाटकको प्रभाव आफ्नो गाउँमा लैजान चाहन्थे ।
०६४ सालमै मुगुमा मीन भामको सक्रियतामा कर्णाली थिएटर खोल्ने कुरा थियो । नाटक चल्यो, दान बाकसमा हिरा आफैँ बसेकाले पैसा थुप्रै खसेको देखेका थिए । दिनको ३ पटकसम्म देखाइएको नाटकको पैसा अन्तत: कहाँ गयो, उनलाई थाहा भएन । कर्णाली थिएटर अलपत्र पर्यो । सुदूरपश्चिममा रंगमञ्चको ढोका खोल्न स्थापना भएको थियो, कर्णाली थिएटर ।
हिरा मुगु फर्किए, ०६७ सालमा । काठमाडौँमा संस्कृतिको व्यापार देखेपछि उनलाई चित्त बुझेन । उनका लागि संस्कृति भनेको भावना थियो । चित्त नबुझेसम्म प्रश्न गरिरहने स्वभावले सहकर्मी र गुरुहरुले अरठ्ठो भन्ने गरेको उनी सुनाउँछन् । चाहेका भए कर्णालीको चर्चालाई क्यास गर्न सक्थे तर उनको बाटो त्यो थिएन । भन्छन्, ”मुख्य पत्रपत्रिकाले हाम्राबारे समाचार लेखेका थिए । खस भाषालाई काठमाडौँमा ल्यायौँ । चर्चाभन्दा पनि काम ठूलो कुरा हो । त्यही काम गर्न मुगु लागेँ ।“
कर्णालीमा व्यावसायिक नाटक सुरु गर्न हिराले त्यहाँका परम्परागत स्थानीय कथा, बाजा, गीत, भाषामा आफूलाई ढाले । कर्णालीको कथालाई उनले पुन: एक पटक गर्भछिटामा देखाए, ०७५ मा । ठकुरी समाजको रुढीवादी परम्परालाई पस्किएका उनले मानवको अस्तित्वकरणलाई उठाएका थिए । हिराकै लेखन र निर्देशनमा तयार भएको नाटकमा प्रमुख भूमिका उनकै पत्नी विष्णुमायाको थियो । कर्णाली आर्ट सेन्टरको प्रस्तुति रहेको नाटकले तहल्कै मच्चाएको थियो ।
कर्णालीमा नाटकबाहेक उनले लोकबाजा महोत्सव, फोटो प्रदर्शनी र चित्रकला कार्यशाला गर्दै आएका छन् । हिरालाई ‘के कुराको महत्त्व रहेछ’ भन्ने विषयले सधैँ घच्घच्याइरह्यो । उनका लागि नाटकको मुख्य तत्त्व भनेको त्यो ठाउँको संस्कृति हो । रंगमञ्च भनेको व्यावसायिक ठाउँ होइन, समाज र देशलाई प्रतिविम्बित गर्ने दार्शनिक स्थल हो । भन्छन्, ”सत्यमोहन जोशीजस्ता अन्वेषक ०२६ सालमा जुम्ला गए । भाषा र संस्कृतिको महफ्व उहाँलाई थियो । मलाई त्यसैको महफ्व लाग्यो र आफ्नो समुदायलाई बुझाउन खोजेको छु ।“
रङमञ्चले सिकाउने भनेको जिन्दगी हो । उनी आफ्नो जीवन ‘इम्प्रोभाइज’ गरिरहेका छन् रे । मुगु फर्कंदा उनी सय प्रतिशत ढुक्क थिए, सही बाटोमा छु भनेर । नभन्दै त्यसले रङ देखाएको उनको दाबी छ । अहिले हुम्ला, जुम्ला र मुगुमा रङमञ्चमा विकास भएको छ । नाटक संस्था खुलेका छन् र सबै चल्तीमै छन् । नाटक हेर्ने प्रचलन बढेको छ । उनी यसलाई आफ्नो उपलब्धि मान्छन् ।
१० वर्ष माहोल बनाउने र त्यसपछि व्यावसायिकता सुरु गर्ने योजना छ, हिराको । व्यावसायिक कलाकार भने कर्णालीमा बनिसकेका छैनन् । कलाकार आउने–जाने क्रम पहिलेभन्दा बढी भएकाले केही तनाव भएको उनी सुनाउँछन् । तर माहोल परिवर्तन हुनेमा आशावादी छन् । भन्छन्, ”रंगमञ्च सबै कलाको सम्मिश्रण हो । यसले नृत्य, भाषा, साहित्य, संगीत र कला सबै समेट्छ । एक दिन सबैले यो कुरा बुझ्नेछन् ।”
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...