क्यामेराको बाटो
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पमा खण्डहर बनेका सम्पदा, अस्ट्रेलियन ओपनदेखि ग्रान्डस्लाम, चीनको जी–ट्वान्टी बैठक, बाराक ओबामा, भ्लादिमिर पुटिन आदि महारथीलाई उनले आफ्नो क्यामेरामा समेटे ।
फ्र्यांकफर्ट, जर्मनीमा मुख्यालय रहेको युरोपियन प्रेसफोटो एजेन्सी (ईपीए) मा आबद्ध नरेन्द्र श्रेष्ठको क्यामेराभन्दा पहिले संगीतसित साइनो जोडिएको थियो । क्रसरोड, निमा रुम्बा, बबिन प्रधान, नवीन के भट्टराईलाई सुन्दासुन्दै चार सदस्यीय ब्यान्ड नै खडा गरे । नरेन्द्र ड्रम र भोकलमा थिए भने लिड गितार र बासमा अरु ।
२५ वर्षपहिले एउटा गीत लेखेका थिए, उनले । कम्पोज पनि भइसकेको थियो । गीत रेकर्ड गर्न १५ हजार रुपैयाँ लाग्थ्यो । उनको भागमा परेको थियो, ५ हजार । दसैँका बेला पैसा लिन विराटनगर गएको एउटा साथी नफर्कंदा संगीतको यात्रा बिथोलियो । जसै गीत रेकर्ड हुन सकेन, ब्यान्ड पनि बिलायो । विराटनगरका साथी कहाँ हराए, अहिलेसम्म अत्तोपत्तो छैन । अरु साथी पनि भेटिँदैनन् । तर ठमेलको ठिटोलाई गीतको बोल अझै हेक्का छ ।
हर दिन आउँछ याद कसैको
हर रात आउँछ सपना कसैको
सायद त्यो तिमी नै हौ
त्यतिबेला भारतीय बजारमा क्यामेरा र लिभाइज जिन्स पेन्ट प्राय: नेपालबाटै जान्थ्यो । “म काठमाडौँबाट क्यामेरा लगेर दिल्लीमा बेच्थेँ अनि उताबाट मोटर पार्टस् ल्याएर यता बेच्थेँ,” उनी व्यापारी किस्सा सुनाउँछन्, “ममा त्यो क्षमता रहेनछ । ठूलो नोक्सान भयो । दुई वर्षमै छाडिदिएँ ।”
‘म्युजिक अफेयर’ अझै सकिएको थिएन । ड्रमसेटको आवाजका कारण एक दिन छिमेकीले बुबालाई ‘कम्प्लेन’ गरे । त्यही झोकमा नरेन्द्रले साढे ६ हजार रुपैयाँमा ड्रमसेट बेचे र कमलपोखरीमा तीन महिने फोटोग्राफी कोर्स गरे, साढे ५ हजार तिरेर ।
०५२ छेक थुप्रै ब्रोडसिट अखबार आए, हिमालय टाइम्स, श्री सगरमाथा, लोकपत्र, समाचारपत्र आदि । उनले ‘डेब्यु’ गरे समाचारपत्रमा । अझ भनौँ, कामना पब्लिकेसन्सका महानगर, साधना, कामना र समाचारपत्रमा उनी एक्ला न्युज फोटोग्राफर थिए ।
निकोनको एफई एनालग चलाउँथे, नरेन्द्र । एउटा लेन्स नै १६ हजार रुपैयाँमा किनेका थिए । “मसित बाइक थिएन । पैदल हिँडेर या सार्वजनिक यातायात चढेर दिनमा चार–पाँच वटा कार्यक्रम भ्याउनुपथ्र्यो, राती ८ बजे लखतरान भएर अफिस फर्कन्थेँ,” उनी स्मरण गर्छन्, “डार्करुम छिर्दा केमिकल सिद्धिसकेको हुन्थ्यो । माग फारम भरेर व्यवस्थापन प्रमुखको घरमा टेलिफोन गर्नुपथ्र्यो । उनले अनुमति दिएपछि गेटपालेलाई गुहार्नुपर्थ्याे ।”
स्टोभमा दम दिँदै तातोपानी तताएर केमिकल बनाउनुपर्थ्याे । दुइटा नेगेटिभ डेभलप गरीकन राती साढे १०–११ बजेतिर फोटो पछाडि हातले क्याप्सन लेखेर सम्पादकको टेबलमा हाजिर गर्नुपथ्र्यो । सम्पादकले पृष्ठको तोक लगाउँथे । भोलिपल्ट तिनै फोटा अखबारमा छापिँदा कालो मसी लतपतिएर केही नबुझिने ।
पाँच वर्षपछि कान्तिपुर पब्लिकेसनमा जोडिए, नरेन्द्र । चन्द्रशेखर कार्कीको असिस्टेन्ट भए, नेपाल म्यागजिनमा । २९ साउन ०५७ मा अफिसबाट निस्कँदा उनको मुड ठीक थिएन । फोटोग्राफीमा सम्पादकले नमीठो प्रतिक्रिया दिएका थिए ।
ठमेलको सार्क–भवन नजिक पुग्दा उनका नजर शाही सुरक्षाकर्मीमा अडिए । केशरमहलको फुटपाथमा सर्वसाधारणसँगै क्याप, चेक सर्ट र हाफ ज्याकेट लगाएका राजा र ब्याग भिरेकी रानीलाई ठम्याए । र, मोटरसाइकल बत्ताउँदै हिमालयन बैँक अगाडि रोके ।
अगाडि गएर खिच्दा सुरक्षाकर्मीले रोक्न सक्थ्यो । त्यसैले सञ्चयकोष भवन अगाडि एउटा रिक्साको पर्दाभित्र बसेर बीचमा क्यामेराको लेन्स छिराए । तर लाइटमिटरले केही देखाएन । साँझ लाइट कम भइसकेको थियो । क्यामेराको एपेचर २.८ र सटरस्पिड ६० मा राखे र तीन सट लिन भ्याए । फोटो आउँछ/आउँदैन भन्ने धुकचुक छँदै थियो ।
“कलर ल्याबमा गएर प्रिन्ट गरेँ, तीन वटामध्ये दुइटा हल्लिएर नचिनिने भएछन् । अलिअलि बुझिने हो किजस्तो,” उनी भन्छन्, “त्यसबेला नेगेटिभ क्यामेरा थियो ।” फोटो छाप्ने हुटहुटीले अफिस फर्कंदा कान्तिपुरका समाचार सम्पादक नारायण वाग्ले भेटिए, भर्याङमा । उनले त्यही धमिलो फोटोलाई छोटोमीठो प्रतिक्रिया दिए, ‘ब्युटिफुल’ । भोलिपल्ट कान्तिपुर र काठमान्डु पोस्टको अग्रपृष्ठमा छोरी भेट्न गइरहेका राजारानी भनी ‘ब्रेकिङ’ फोटो आउँदा नरेन्द्र सेलेब्रिटी भए ।
“समाचारपत्रमा पाँच वर्ष काम गर्दा मेरो एउटै फोटो नोटिस भएन । त्यो पनि त्यहीँ छापिएको भए सायद वास्ता हुँदैनथ्यो,” उनी भन्छन्, “बल्ल मैले प्लेटफर्म कति महत्त्वपूर्ण हुन्छ भन्ने थाहा पाएँ ।”
२० वर्षपछि पनि त्यो फोटोको किन चर्चा हुन्छ भने राजालाई प्राय: राष्ट्रिय पोसाक दौरासुरुवालमै देखिन्थ्यो । त्यो थियो, अनौपचारिक पोसाक । “मसित अनुभव थिएन भने खिच्ने आँटै गर्ने थिइनँ,” उनी भन्छन्, “घर फर्कंदा राजारानीलाई देखेँ । खिच्नैपर्थयाे । मेरो कामै त्यही होइन र ?”
नरेन्द्र सामान्य फोटो पत्रकार थिएनन्, उनी हरेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारमा अपडेट हुन्थे । “मैले दुई–तीन दिन अगाडि अधिराजकुमारी श्रुति गर्भवती भएको समाचार पढेको थिएँ,” उनी भन्छन्, “त्यो थाहा भएकाले नै मैले राजारानीलाई केशरमहल चोकदेखि पछ्याएँ ।” श्रुतिको घर ठमेलमै थियो ।
त्यो फोटो छापिएपछि खुसी भएको दरबारले कपी मगायो । गोरखा दक्षिणबाहु दिइने खबर पनि सुनेका थिए, नरेन्द्रले । तर १० महिना पुग्दा नपुग्दै १९ जेठ ०५८ मा दरबार हत्याकाण्ड भइहाल्यो । विजयकुमारलाई उनी फोटो बुझ्ने सम्पादकको क्रेडिट दिन्छन् । “उनी रिपोर्टरसँग भन्दा फोटोग्राफरसँग हरेक फोटोमा आर्गुमेन्ट गर्थे,” उनी भन्छन्, “नबुझ्ने मान्छेले के तर्क–वितर्क गर्छ र !”
नरेन्द्रलाई रहर थियो, कान्तिपुरमा काम गर्ने । सरुवा मागेको पाँच वर्षपछि नारायण वाग्लेले बोलाए । ०७२ मा कान्तिपुर छाड्दा उनी फोटो सम्पादक थिए । मातहत १४–१५ जना सहकर्मी थिए । “म आफ्नाे द्वैध कामले गर्दा दुई वर्षदेखि सोचमग्न थिएँ,” उनी भन्छन्, “कान्तिपुर कि ईपीए ? एउटा बाटो रोज्नैपर्थ्याे ।” काठमान्डु पोस्टका तत्कालीन सम्पादक श्याम केसीको सिफारिसमा उनी ईपीएमा जोडिएका थिए ।
कान्तिपुरको स्मरणीय घटना के भने माओवादीले ९ असोज ०५७ मा डोल्पाको सदरमुकाम दुनै आक्रमण गर्यो । विकास रौनियार र चन्द्रशेखर कार्कीसित सम्पर्क नभएको भन्दै नरेन्द्रलाई फोन आयो, अफिसबाट । उनी त्रिपुरेश्वरबाट सीधै एयरपोर्ट पुगे । एयरपोर्टमा पर्खिरहेका रहेछन्, सुमन प्रधान, नारायण वाग्ले र सम्पादक युवराज घिमिरे ।
पहिलोपल्ट चार्टर्ड हेलिकप्टरमा सवार नरेन्द्रले एरियल भ्यू खिचेको खिच्यै गरे । १ घन्टा १० मिनेटपछि क्यामेरा झ्याप्प ‘लक’ भयो । मरिगए ‘अन’ भएन । अर्को क्यामेरा छैन, भएकोले काम गर्दैन ।‘मेरो क्यामेरा बिग्रियो,’ उनले नारायणसँग भने । ‘जोक नगर त,’ नारायणले पत्याएनन् । सम्पादकलाई त भन्ने आँटै गरेनन् ।
नरेन्द्रले क्यामेरा ‘स्वीच अफ’ गरे । पुरानो ब्याट्री निकाले । नयाँ हाले । पशुपतिनाथलाई सम्झे । क्यामेरा फ्याट्ट ‘अन’ भयो । एक सट पनि नखिची हेलिप्याडबाट घटनास्थल पुगे । “कान्तिपुरले लाखौँ तिरेर हेलिकप्टर हायर गरेकाले समाचारको गम्भीर्य मलाई थाहा थियो, क्यामेरा अन नभएको भए के हुन्थ्यो ?” उनी सम्झन्छन्, “त्यही पाठ लिएर हिजोआज सिरियस असाइन्मेन्टमा जाँदा दुइटा क्यामेरा बोक्छु । ”
ईपीएमा जोडिएपछि उनले मन हुँडलिने फोटो खिचेर विश्व हल्लाए । २९ साउन ०७४ को बिहान सप्तरीको कुलारी गाउँमा फुदन सदाका आठ वर्षे छोरा कमलको इहलीला सकियो । संस्कारअनुसार माटोमा गाड्नुपर्ने थियो, शव । तर जलमग्न ठाउँमा माटो कहाँ पाउनु ? कम्बलमा बेरिएको शव धमिलो कोसीमा छाड्न विवश बन्यो, परिवार ।
नरेन्द्रले कम्मरसम्म पानीमा डुबेर त्यो दर्दनाक फोटो खिचे अनि क्यामेरा प्याक गरे । उनलाई थाहा भयो, लास त पानीमै तैरँदो रहेछ । “त्यो फोटोले मलाई यति हल्लाइदियो कि क्यामेराबाट निकालेर कम्प्युटरमा राख्नै सकिनँ,” उनी भन्छन्, “२४ घन्टापछि रियालिटी बुझेर फोटो फाइल गरेँ ।”
ईपीएको त्यो फोटो कान्तिपुरको प्रथम पृष्ठमा छापिएपछि त्यसले सबैलाई रुवाइदियो । वैश्विक चर्चा भएको त्यो फोटो हेरेर लेखिएको विवश पोखरेलको कविता ‘बग्दै बग्दै जाने छोरासँग’ हजारौँ सेयर भयो । “फोटो खिच्दा मैले नौ वर्षकी छोरी सान्बीलाई सम्झेको थिएँ, पछि उनकै प्रेरणाले पीजे क्लबको प्रतिस्पर्धामा सामेल गराएँ,” उनी भन्छन्, “वर्ष तस्बिर त्यही भयो ।”
२४ साउन ०७५ मा १ लाख रुपैयाँ पाएपछि नरेन्द्रले फुदन सदालाई काठमाडौँ झिकाए । र, पुरस्कार रकम सुम्पिए । “त्यो सहयोग सदा परिवारका निम्ति होइन, मेरा लागि थियो,” उनी भन्छन्, “छोरीका कारण मनको खिल निस्किएजस्तो भयो ।”
४३ वर्षीय नरेन्द्र साढे दुई दशकदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पमा खण्डहर बनेका सम्पदा, अस्ट्रेलियन ओपनदेखि ग्रान्डस्लाम, चीनको जी–ट्वान्टीको बैठक, बाराक ओबामा, भ्लादिमिर पुटिन आदि महारथीलाई आफ्नो क्यामेरामा समेटे । “मेरो यात्रा भनेको राजारानीदेखि कमल सदासम्मका तिनै फोटो हुन्,” उनी भन्छन्, “मलाई स्तब्ध पारिदिने फोटो भने कमल सदाकै हो । तर मैले विशेष काम गरेको होइन, गर्नैपर्ने काम गरेको हुँ ।”
इन्टरनेसनल इन्स्टिच्युट अफ जर्नालिजमदेखि कोलम्बिया युनिभर्सिटीको फेलोसिप पाएका यी फोटोशिल्पी हरेक फोटोमा मानवीय संवेदनासहित जीवन्तता दिने कोसिस गर्छन् । “कला र संगीत परिपक्व बन्न लामो समय लाग्छ,” उनी भन्छन्, “तर फोटोग्राफीले तत्क्षण आनन्द दिन्छ । यसको खास उमेरै २४ घन्टा हो । त्यसमा जादू देखाएन भने काम लाग्दैन ।”
एक पटक विजयकुमार अन्तर्वार्ता लिँदै थिए, नरेन्द्र फोटो खिच्दै । अन्तर्वार्ता दिनेले अप्ठेरो मानेपछि विजयले सम्झाए, ‘क्यामेरा चलाउँदा उसको कान बन्द हुन्छ ।’ तर फोटो खिच्दा कान मात्र होइन, नरेन्द्रका कुनै पनि इन्द्रियले काम गर्दैनन् रे ।
फोटोग्राफीमा नरेन्द्रलाई अमेरिकाका जेम्स नाच्टवे र स्टिभ म्याकवरी अनि नेपालका चन्द्रशेखर कार्की र गोपाल चित्रकारले ‘कनेक्ट’ गराएका छन् । उनको शब्दमा जेम्सको न्युज फोटोग्राफी ‘लाइभ्ली’ हुन्छ, विषय बलियो । स्टिभको ट्राभल फोटोग्राफीको ‘फ्रेमिङ’ अद्भुत हुन्छ । नरेन्द्रलाई करेन्ट अफेयर्सबाहेक प्राकृतिक छटाले तानिहाल्छ । उनको इन्स्टाग्राम हेर्दा त्यो स्वभाव थाहा हुन्छ ।
ठमेलको व्यापारिक घरानामा जन्मेका नरेन्द्र ‘काजी साब’ भनिने भीमकाजी श्रेष्ठका पाँच छोरामध्ये कान्छा हुन् । रोचक के भने पिताको ‘काजी’ पनि कसैले लिएनन् र पेसा पनि पछ्याएनन् । दाजुहरु सरकारी सेवा, कम्पनी र विज्ञापन एजेन्सीमा काम गर्छन् ।
शान्ति विद्यागृह लैनचौरबाट स्कुले जीवन छिचोलेका उनले त्रिचन्द्र कलेजबाट समाजशास्त्र र इतिहासमा स्नातक गरे । १३ वर्षअघि चावहिलकी सविनासित मागीबिहे गरेका उनकी छोरी सान्बी १२ वर्षकी भइसकिन् । सेन्ट जेभियर्स स्कुलमा ७ कक्षामा पढ्ने सान्बी नै उनको फोटोको पहिलो दर्शक हुन्छिन् । “इन्स्टाग्राममा फोटो फाइल गर्ने बेला कन्फ्युज हुन्छ, सान्बीले छनोट गरिदिन्छिन्,” नरेन्द्र भन्छन्, “उनी मेरी इन बिट्विन एडिटर हुन् ।”
जिन्दगीको ५० वर्षपछि फरक मार्ग लिने सोचमा छन्, नरेन्द्र । यसको अर्थ उनी व्यापार र संगीतमा ‘कमब्याक’ हुने छैनन् । “म कुनै संस्थामा प्रत्यक्ष संलग्न नभईकन इच्छाएको काम गर्न चाहन्छु,” उनी भन्छन्, “के गर्ने भन्ने होमवर्क जारी छ ।” उनी यस्तो काम गर्न चाहन्छन्, जहाँ आफ्नो कोही बोस नहोस् ।
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...