कलाको डुंगामा सवार जोडी
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।
ईशान परियार र सविता डंगोलका धेरै कुरा अमिल्दा छन् या धेरै मिल्दा पनि । ईशान पोखराजस्तो प्राकृतिक रमणीय ठाउँमा हुर्किए भने सविता प्राचीन कलाले समृद्ध काठमाडौँमा । ईशानको चित्रकौशलबाट प्रभावित सविता उनैबाट धेरै कुरा सिक्न सक्ने सोच्थिन् रे । ईशान सविताको जिज्ञासु र सिक्ने चाहना देखेर प्रभावित हुन्थे ।
काठमाडौँको नेवार समुदायमा हुर्केकी सविता सानैदेखि पढाकु र प्रतिभाशाली थिइन् । ०५८ मा एसएलसी गरेपछि उनी डाक्टर बन्ने सपनाले त्रिचन्द्र क्याम्पसमा विज्ञान पढ्न थालिन् । तर भौतिक विज्ञानमा अनुत्तीर्ण भएपछि खाली समय सदुपयोग गर्न विश्वभाषा क्याम्पस भर्ना भइन् । सरकारी स्कुल पढेकाले उनको अंग्रेजी राम्रो थिएन । भन्छिन्, “त्यही अंग्रेजीका कारण फिजिक्समा फेल भएँ । अंग्रेजी सिकेरै छाड्छु भन्ने हुटहुटी थियो ।”
क्याम्पसमा उनको भेट ज्ञानु भन्ने साथीसँग भयो । साथीले ललितकलामा चित्र पढ्ने भनेपछि सविताले त्यहाँ संगीतमा भर्ना हुने सोचिन् । उनी सानैदेखि चित्र बनाउँथिन् । गिलासमा चित्र कोर्थिन् । ट्रकमा टाँसेका पहाड, झरनाका चित्र हुबहु उतार्थिन् । विज्ञान विषयमा धेरै चित्र कोर्नुपर्थ्याे । त्यसमा उनी अब्बल थिइन् । भन्छिन्, “सबै कुरा बुझ्दा संगीतभन्दा चित्रै राम्रो लाग्यो र भर्ना भएँ । सँगै गएकी साथीले भने चित्र बनाउन छाडिसकिन् ।”
जब ईशान ललितकला क्याम्पसमा चित्र बनाउन बस्थे, अन्य विद्यार्थी उनको वरिपरि झुम्मिन्थे । यसरी झुम्मिनेमा पत्नी सविता पनि हुन्थिन् । कला पढेर यसमै जीवन बिताएका यी जोडी अहिलेको पुस्तामा अब्बल कलाकारका रुपमा दरिन्छन् ।
भर्खरै यो जोडीको संयुक्त चित्रकला प्रदर्शनी ‘आत्मीयता’ ले धेरैलाई मन्त्रमुग्ध पार्यो । दोस्रो पटक संयुक्त चित्र प्रदर्शनी गरेका उनीहरु आफूलाई कलाको डुंगामा सवार गरेको ठान्छन् ।
०७२ मा बिहेपछि हरेक वर्ष चित्र प्रदर्शनी गर्ने सोच थियो । २१ माघ उनीहरुको बिहेको दिन । कलाकारको बिहे वार्षिकोत्सव फरक शैलीले मनाउनुपर्छ भन्दै उनीहरुले चित्र प्रदर्शनी गर्ने सोच बनाए । तर ३ वर्षअगाडि उनीहरुले पहिलो प्रदर्शनी गरेका थिए । लभ सिरिजको आत्मीयता त्यसैको दोस्रो शृंखला हो ।
ईशानलाई विद्यालय छँदै चित्रमा पुरस्कृत भएपछि चित्र बनाउने हौसला मिल्यो । ईशानले बुद्धि गुरुङसंग पानी रङमा चित्र बनाउन सिके र एकल चित्र प्रदर्शनी गरे । आर्ट ग्यालरीमा कार्यालय सचिवको रुपमा काम गरे । काठमाडौँमा उनले चिनेका मान्छे कोही नभएकाले पोखराबाट आएर पढ्ने हौसला भएन । तर साथी फिरोजले काठमाडौँमा पढ्ने थाहा पाएपछि सँगै बसेर पढ्न थाले । पढाइ र कोठाभाडा खर्चका लागि ठमेलको आर्ट ग्यालरीमा चित्र बेच्थे उनी ।
परिवारमा ६ दाजुभाइ र ३ दिदीबहिनीमा कान्छा थिए ईशान । त्यसको विपरीत ६ दिदीबहिनी र २ दाजुभाइमा दोस्रो कान्छी थिइन्, सविता । दुवैलाई गायक नवीन के भट्टराईको गीत खुब मन पर्छ । सधैँ सुन्ने गर्छन्, गुनगुनाउँछन् पनि । यस्तै, ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिहेका छन् भने सविता काइँयोलाई । ईशानले ०६८ देखि नै डुंगा–चित्र बनाउन थालेका हुन् । वस्तुको रुपमा मात्र बनाइरहेको डुंगालाई उनी जीवनसँग दाँज्छन् । उनका चित्र बौद्ध धर्मबाट प्रेरितजस्ता लाग्छन् ।
ईशानको डुंगामा नेवारी पहिरनमा सजिएकी मोनालिसादेखि बुद्धको अवतार अवलोकेतेश्वरसम्म चढिसकेका छन् । रेमिनिसेन्स शीर्षकको पेन्टिङका लागि उनले राष्ट्रिय पुरस्कार पनि जितेका थिए ।
सविताले काइँयोलाई विम्बका रुपमा प्रयोग गरेकी छन्, चित्रहरुमा । उनी काइँयोलाई समस्या समाधानका रुपमा बुझ्छिन् । उनका चित्रमा कल्पनाशीलता र यथार्थको मिश्रण अद्भुत लाग्छ । रङसँग बढी खेलेका उनका पेन्टिङ मिथिला कलाबाट प्रभावित भएजस्तो लागे पनि शैली भने भिन्न छ । उनी कन्सेप्ट सोचेर भने खासै चित्र बनाउँदिनन् । पर्फर्मेन्स आर्ट गर्दा भने कन्सेप्ट महफ्वपूर्ण रहेको सविताको बुझाइ छ ।
ईशान पनि पर्फर्मेन्स आर्ट गर्छन् । शरीरलाई क्यानभासको रुपमा प्रयोग गरिने पर्फर्मेन्स आर्ट गर्दा सवितालाई भने थेरापिटिक थेरापी गरेजस्तो हुन्छ । ०६९ मा पहिलो पटक पर्फर्मेन्स आर्ट थालेकी सविता सामाजिक र व्यक्तिगत दुवै विषयमा प्रस्तुति दिन्छिन् । अहिलेसम्म २० भन्दा बढी पर्फर्मेन्स आर्ट गरिसकेकी सविता भन्छिन्, “कलाकारले आफ्नो क्षेत्र फराकिलो बनाउँदै लैजानुपर्छ । पर्फर्मेन्स आर्टमा अवसर पनि बढी छ ।”
कला क्षेत्र सिद्धान्तत: स्वतन्त्र भए पनि व्यावहारिक रुपमा त्यस्तो नभएको यी दुवै कलाकारको बुझाइ छ । गुट–उपगुट धेरै हुनाले स्वतन्त्र अभिव्यक्ति दिन नपाएको उनीहरु बताउँछन् । एउटाको कार्यक्रममा भाग लियो भने अर्कोमा नलियोस् भन्ने अभिलाषा राख्छन् । त्यसैको विरोधस्वरुप उनले पानीमा फरक–फरक रङ घोली शरीरमा खन्याएर प्रस्तुति दिएकी थिइन् ।
ईशान सविताका लागि मालीजस्तै हुन् । भन्छन्, ”सविता प्रतिभाशाली छिन् । उनको प्रतिभालाई मलजल गर्नुपर्छ । मैले जस्तो सहयोग अरुले गर्न सक्दैन भन्ने लाग्थ्यो ।” त्यसो त सविता पनि पति ईशानलाई प्रवर्द्धन गर्न पछि परेकी छैनन् । कमर्सियल पेन्टिङमै रमिरहेका ईशानलाई चित्र प्रदर्शनी गर्न सविताले नै प्रेरित गरिन् ।
आफूहरुलाई कलाकारभन्दा पनि पतिपत्नीमा सीमित गरेर अवसर र पुरस्कारबाट वञ्चित गर्न खोजिएको सविता र ईशानको अनुभव छ । राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिँदा पतिले पुरस्कार पाउने भएपछि पत्नीलाई किन जिताउने भन्ने व्यवहार भोग्नुपर्दा नमीठो लागेको उनीहरु सुनाउँछन् ।
अझ पत्रकारले अन्तरजातीय विवाहको कुरा खोतलेर दिक्कलाग्दो बनाउने गरेको उनीहरुको दु:खेसो छ । ईशान भन्छन्, “हामी साथमा छौँ किनकि दुवै कलानुरागी हौँ र मिहिनेती पनि छौँ । अन्तरजातीय विवाह गर्दैमा होइन ।”
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...