बोजुबजै, वर्ष ४
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फी विमर्शभन्दा बिलकुलै भिन्न छ ।
हाई इतिशा ।
हाई भृकुटी ।
प्रत्येक नयाँ पोडकास्ट उनीहरू यसरी नै हाँस्दै, हसाउँदै, आफैंलाई समेत उडाउँदै सुरु गर्छन् । आफैंलाई व्यंग्य गर्न सक्नेले अरुलाई के बाकी राख्थ्यो होला ?
बोजुबजै पोडकास्टको भर्खरैको शृंखलामा नेपाल सरकारको हर्कतलाई भारतीय चलचित्र रेससँग दाँजिन्, प्रस्तोता भृकुटी राईले । हास्य व्यंग्यकार भैरव अर्याल लिखित निबन्धजस्तै सांसद अपहरण आरोपको मुद्दामा सरकारलाई उडाउँदा युवा पुस्ताले वर्तमान राजनीतिलाई कसरी हेर्दै छ भन्ने छनक पनि देखिन्थ्यो ।
हुन त नेपाल सरकार हाइड्रोजन ग्यासले बनेको होइन, जुन उडोस् ।
अर्की प्रस्तोता इतिशा गिरि पनि कम छैनन् । कवि इतिशा भृकुटीको व्यंग्यमा तालमा ताल मिलाई लकडाउन, क्वारेनटाइन र घरबाट अफिस जानेबारे आफ्नो अनुभव सुनाउँदै थिइन् ।
दुई महिला कुरा गर्नेबित्तिकै गसिप, गनगन सम्झिने, कुनै समस्याबारे महिलाले छलफल गर्दा ट्याउट्याउ गरेको बुझ्ने वर्तमान नेपाली समाजमा यी दुई युवा महिलाका कुरा किन सुनिँदै छ ? तिनले गरेका कुरा किन महत्त्वपूर्ण छन् त ?
महिलाले कुना पसेर गर्ने कुरालाई सार्वजनिक छलफल गर्ने प्लेटफर्मको रूपमा बुझ्छिन् इतिशा, बोजुबजैलाई । कार्यक्रमको शैली पनि त्यस्तै छ, अनौपचारिक शैलीमा । गफगाफ । दुई साथी कुरा गरेजस्तो । यौनदेखि राजनीतिसम्म दबाइएका शब्द र विचारमाथि हुने खुला छलफलले बोजुबजै परम्परागत मिडियाभन्दा भिन्न छ ।
नेपालीमाझ नयाँ अनुभव रहेको पोडकास्ट अडियोको स्वरूपमा इन्टरनेटमा पाइन्छ । जसरी युट्युबमा खोज्नेबित्तिकै भिडियो पाइन्छ, पोडकास्ट पनि त्यस्तै हो । विभिन्न विषयमा बनाइएको अडियो सामग्री साउन्ड क्लाउडलगायत ठाउँमा राखिएको हुन्छ । नारीवादी कोणबाट हुने यी छलफललाई कुनै पनि बेला अडियोलाई अनलाइन वा अफलाइन डाउनलोड गरेरै सुन्न सकिन्छ ।
तपाईंले बोजुबजैको पहिलादेखि अहिलेसम्मका सबै अंक एकैसाथ सुन्न सक्नुहुन्छ । त्यो पनि घरमा बसिरहेका बेला होस् या लामो यात्रामा निस्केको समय । “पोडकास्टको रमाइलो पनि यही हो”, भृकुटी थप्छिन्, “कति नयाँ श्रोता थपिएका छन्, एकै पटक ६/७ एपीसोड सुनेँ भन्छन् । रमाइलो लाग्छ ।”
पोडकास्ट बोजुबजैको बिउ इतिशा र भृकुटीले ०७३ मा रोपेका थिए ।
रेडियो खुबै सुन्न मन पराउने भृकुटी बीबीसी वर्ल्ड सर्भिसलगायत अडियो डकुमेन्ट्री धेरै सुन्थिन् । बीबीसीमा लामो फर्म्याटमा फिचर स्टोरी पोडकास्टमार्फत सुन्दा रमाइलो लागे पनि त्यो के हो भन्ने अधिकांश नेपाली जमातजस्तै उनी अनभिज्ञ थिइन् ।
०७२ को विध्वंसकारी भूकम्पपछि उनले रेडियो ल्याबका लागि रिपोर्टिङ गर्ने अवसर पाइन् । इजरायली पुरुष समलिंगी जोडीले नेपालबाट सरोगेसीको माध्यमबाट बच्चा लैजाँदाको यात्राकथामा केन्द्रित पोडकास्टमा उनले नेपाली महिलाहरूको अन्तर्वार्ता लिएकी थिइन् । सधैँ मोबाइल फोनबाट रेकर्ड गराइरहेकी उनले यसका लागि भाडामा रेकर्डर लिएकी थिइन् ।
भन्छिन्, “जब पोडकास्ट बन्यो र सुनेँ । आफैँ दंग परेँ– यस्तो पनि पत्रकारिता हुँदो रहेछ भन्ने लाग्यो ।”
इजरायली जोडीबाट सुरु भएको कथा नेपालको भूकम्पले त्यसमा पारेको प्रभावबारे थियो । “समलिंगी जोडीले सरोगेसीबाट बच्चा लिन लाग्दा तिनका आमाहरूको अवस्था कस्तो छ ?,” भृकृटी भन्छिन्, “उनीहरूका पक्षको कथा मैले रिपोर्टिङ गरेकी थिएँ ।”
सो पोडकास्टमा भारत, इजरायल, अमेरिका र नेपालका पत्रकारले संयुक्त रूपमा काम गरेका थिए । देश/विदेश बसेका नेपालीले उनको कामको प्रशंसा गरेपछि भृकुटी दंग परेकी थिइन् । मानिसले पोडकास्ट सुन्दा रहेछन् भन्ने उनले त्यसैबाट चाल पाएकी थिइन् ।
एक वर्षपछि योनीका कथाहरू (भजाइना मनोलग) मा नाटक गर्न जाँदा भृकुटी र इतिशाको भेट भयो । इतिशाले उनले लेखेको समाचार पढेकी थिइन् भने भृकुटीले उनका केही कविता । दुवैलाई रेडियो सुन्न मन पर्थ्यो भने मूलधारे मिडियामा महिलाबारे लेखिने समाचार चित्त बुझ्दैनथ्यो ।
यसै क्रममा एक पटक पूर्वमिस नेपाल माल्भिका सुब्बाले गर्भवतीका बेला इन्स्टाग्राममा फोटाहरू राखिन् । त्यसमा सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै अभद्र टिप्पणी गरे । यस्ता दुर्व्यवहारका समाचार मूलधारे मिडियाले लेख्दैनथे, न त त्यसबारे चिन्तन र बहसै हुन्थ्यो ।
समस्याबारे गनगन गर्नुभन्दा यसलाई रचनात्मक भई प्रस्तुत गर्न पोडकास्ट बनाउन सुरिए, उनीहरू । रेकर्डका लागि भृकुटीले पुन: रेकर्डर भाडामा लिइन् र बिहानै आफ्नो अफिसमा रेकर्ड गर्न इतिशालाई बोलाइन् ।
नेपाललगायत बलिउड र हलिउडका अभिनेत्री सबैलाई सामाजिक सञ्जालमा उस्तै अभद्र टीकाटिप्पणी गरेको पाएपछि उनीहरूले बडी सेमिङबारे पोडकास्ट बनाएका थिए । शीर्षक थियो– बेयर्स एन्ड होर्स (भालुहरू र वेश्याहरू) । यसमा अंग्रेजीको बेयरले दुई अर्थ दिन्थे । पहिलो, कुनै कुरा आत्मसात गर्नु । दोस्रो, जनावर भालु हुन्थ्यो, जुन नेपालमा महिलाका लागि गाली गरिने अपमानजनक शब्द पनि हो ।
भृकुटीले पहिल्यै ठमेलमा बाटो काट्दै गरेका बूढी आमाहरूको फोटो खिचेकी थिइन् । अनि इतिशाले त्यो फोटोलाई हेर्दै पोडकास्टलाई बोजुबजै नामकरण गरिदिइन् । त्यसपछि दुवैले पोडकास्टलाई साउन्ड क्लाउडमा अपलोड गरे । भृकुटी भन्छिन्, “हजारौँ मानिसले त्यतिबेला सुने । धेरैले प्रतिक्रिया पनि दिए ।” त्यसपछि उनीहरूले बोजुबजैको दुई–तीन एपीसोड गरे । अनि ट्वीटर, फेसबुक र इन्स्टामा अकाउन्ट खोले ।
इतिशा र भृकुटीलाई धेरै समस्या भने नेपाली मिडियामा छापिने कार्टुन र ग्राफिक्समा लाग्दो रहेछ । बलात्कारको समाचार छाप्दा पीडितलाई झन् कमजोर रूपमा प्रस्तुत गरिने, कालो छायाले पीडितलाई छोपेको आकृति बनाउने, डराएको, रोएको बनाउने । बलात्कार र भ्रष्टाचारका मुद्दा सँगै आए, बलात्कारलाई भ्रष्टाचारसँग जोड्ने ।
बलिउड शैलीमा सामूहिक बलात्कारको समाचार आउँदा पढ्नै नमज्जा लाग्ने गरेको भृकुटीले सुनाइन् । “हाम्रा सम्पादकहरूलाई यस्ता विषयमा संवेदनशील हुनुपर्छ भन्ने सोच नै आउँदैनजस्तो लाग्छ,” उनले ठट्यौली टिप्पणी गरिन् ।
बीचमा केही महिना बोजुबजै रोकिए पनि दुई वर्षदेखि कार्यक्रम निरन्तर चलिरहेको छ । चार वर्षे लामो सहकार्यका बीच भृकृटी र इतिशाले स्नातकोत्तर भ्याइसके । अहिले भृकुटी काठमाडौँ बस्छिन् भने इतिशा स्पेन ।
सुरुका केही अंकपछि उनीहरूले प्राय: छुट्टाछुट्टै ठाउँमा बसेर पोडकास्ट बनाउँदै आएका छन् । सुरुआती चरणमा इतिशाको आवाज कम्प्युटरमा रेकर्ड गरेको सम्झिन्छिन्, भृकुटी । यसो गर्दा पोडकास्टको गुणस्तर निकै खस्केको थियो । श्रोताहरूले पनि सुन्न असहज भएको प्रतिक्रिया दिए ।
पोडकास्ट सुन्ने सामग्री भएकाले ध्वनि गुणस्तरीय हुन जरुरी छ । यसमा दुइटा ट्रयाक हुन्छ । दुवैले आ–आफ्नो ट्रयाकमा भरेपछि एकै ठाउँ राखेर सम्पादन गरेर बजाउन थाले । भर्खरै यी बोजुबजैले रेकर्डर पनि किनेका छन् ।
यस्तै, ह्वाट्सएपबाट म्यासेज आदानप्रदान गर्दै उनीहरू कार्यक्रमको योजना बुन्छन् । दुवैलाई इच्छा लागेका शीर्षक पहिल्यै तयार पारिसकेका हुन्छन् । रुचाइएको शीर्षकमा अनुसन्धान गर्छन् । मिडियामा आएका सूचना, अनुसन्धानका विषय गुगल डक फोल्डरमा राख्छन् । सातामा कम्तीमा एक पटक छलफल गर्छन् । यसरी भृकुटी आफ्नो फ्ल्याटमा त इतिशा स्पेनमै बसेर बोजुबजै रेकर्ड गर्छन् ।
पोडकास्ट युट्युबभन्दा भिन्न छ । मोबाइलअनुसार पोडकास्टको प्लेटफर्म फरक–फरक छ । जस्तो, एप्पल र एन्ड्रोइड मोबाइलमा हुने पोडकास्ट फरक छ । म्युजिकल प्लेटफर्ममा पनि पोडकास्ट सुन्न सकिन्छ ।
पोडकास्टका प्लेटफर्म विभिन्न प्रकारका हुँदा कहाँ राख्ने भन्ने पनि समस्या छ । त्यस कारण श्रोताको लिस्ट राख्न पनि असहज भएको उनीहरूको बुझाइ छ ।
त्यसो त बोजुबजैले गरेका कतिपय कार्यक्रम नेपाली पत्रकारिताका लागि उदाहरण पनि बनेका छन् । हलिउडबाट सुरु भएको ‘मी टू मुभमेन्ट’ भारतसम्म आइसक्दा केही रिपोर्टिङ र छिटफुट बहसबाहेक नेपालमा त्यसको उस्तो प्रभाव देखिएन । त्यसबेला भृकुटी अमेरिकामा पत्रकारिता पढिरहेकी थिइन् । बोजुबजैबाट उनीहरूले सार्वजनिक स्थल र घरपरिवारमा हुने दुर्व्यवहारबारे आफ्ना अनुभूति राख्न सामाजिक सञ्जालमा आह्वान गरे ।
उक्त एपीसोडमा श्रोताहरूले आफूले भोगेको यौन दुर्व्यवहारका घटना सुनाएका थिए । त्यहाँ आएका कतिपय घटना सार्वजनिक स्थलभन्दा पनि निजी अनुभव रहेको भृकुटीले सुनाइन् । भन्छिन्, “कतिपय घटना उनीहरूले आफ्ना परिवार र आफन्तलाई समेत भनेका थिएनन् । बोजु बजैमाथि उनीहरूको विश्वासले हामीलाई हौसला दियो ।”
द काठमान्डु पोस्टमा त्रिभुवन विश्वविद्यालयका छात्राहरूमाथि हुने गरेका यौन दुर्व्यवहारको घटना प्रकाशित भयो । त्यसको रिपोर्टिङ भृकृटीले नै गरेकी थिइन् । तर त्यो रिपोर्टिङ गर्न बोजुबजैको सोही संस्करणले सहयोग पुर्याएको उनले सुनाइन् । क्राउड सोर्सिङ प्रक्रियाबाट गरेका यस्ता रिपोर्टिङ गर्न नेपाली मिडिया उदासीन भएको देख्दा उनी खिन्न हुन्छिन् ।
बोजुबजैको अर्थ, हजुरआमा हो । राजनीति होस् या संस्कृति । सबै विषयलाई बोजुबजैले नारीवादी कोणबाट हेर्छ । त्यसैले बोजुबजैका गफगाफ मननयोग्य र बोल्ड लाग्छन् । हिजोको चस्माले आजका नेपाली नारीलाई हेर्न मिल्दैन ।
बोजुबजैलाई सशक्त बनाउन भृकुटी र इतिशा पूर्णकालीन रूपमा लागेका छन् । मिडिया स्टार्टअप र इनोभेटिभ रूपमा विकास गर्न अहिले उनीहरू लागेका छन् । यसबीच पोडकास्टलाई उनीहरूले प्राइभेट कम्पनीको रूपमा दर्ता गराइसकेका छन् । कम्पनीमा केही नयाँ साथीहरू पनि थप्दै छन् । अमेरिकामा जस्तो पोडकास्टबाट अर्थोपार्जन नभए पनि पछि हुन सक्ने अपेक्षा राखेका छन् ।
अहिले पोडकास्टले पेट्रन (श्रोताहरूले सुनेअनुसार दिने आर्थिक सहायता) र आफ्नै खर्चबाट चलिरहेको छ । यस्तै, बेलाबेला लाइभ कार्यक्रम गर्छन् । ती कार्यक्रम हेर्न पैसा तिरेर दर्शक आउने गरेका छन् । काउन्टर कल्चर नेपालसँग सहकार्य गर्दै छन् ।
बोजुबजैले ओपन सोसाइटी फाउन्डेसनबाट हालै 'अडियन्स बिल्डिङ' तथा 'नयाँ रिभेन्यु च्यानल विकास गर्न' ग्रान्टसमेत प्राप्त गरेको छ ।*
मूलधारे मिडियामा नआएका कुराबारे बहस हुने सो कार्यक्रममा प्रस्तुत गरिने अधिकांश शृंखला प्रसारण भइसकेकाले तिनैलाई भिडियो या अन्य कुनै माध्यममा लैजाने सोच आएको भृकुटीले सुनाइन् ।
बोजुबजैको ‘ब्रान्ड भ्यालु’ मात्र छैन । यसको माध्यमबाट सामाजिक सञ्जालमा लैगिक समानता र दुर्व्यवहारका विषयमा बहस तथा छलफल भइरहेका छन् भने महिलाहरू खुलेर आफ्ना कुरा राख्न थालेका छन् । सेलिब्रिटी पाहुना बर्तिका राईलगायतले कार्यक्रममा बेलाबेला शोभा पनि बढाइरहेका हुन्छन् ।
समाचार कक्षमा बसेर आफ्नो हिसाबले गर्न नसकिएको काम बोजुबजैमार्फत गरिरहेको र पत्रकारका रूपमा अघि बढ्न यसले सहयोग गरेको भृकुटी सुनाउँछिन् । भन्छिन्, “बोजुबजैको माध्यमबाट धेरै कुरा गर्न मन छ । पैसा पनि कमाउन मन छ ।” ।
तर बोजुबजैको अझै आफ्नै अफिस छैन । “को–वर्किड स्पेस खोज्दै छौँ । ममीले जिस्काउनुहुन्छ,” भृकृटी भन्छिन्, “छोरी तिम्रो अफिस कहाँ हुन्छ, विराटनगर कि काठमाडौँ ? म भन्छु, जहाँ ल्यापटप, त्यही अफिस ।”
वरपरको समाज, लैंगिक समानता, मिडिया सम्बन्धमा समालोचनात्मक चेत कसरी राख्नेबारे अवसर हो, बोजुबजै । अबको २० वर्षपछि अहिलेका नेपालीले कस्ता गीत सुन्थे, किताब पढ्थे, कस्तो समाचार सुन्थे, त्योबारे जानकारी दिन बोजुबजै अलग्गै स्थानमा होओस् भन्ने चाह छ, उनीहरूको । हेरौँ के हुन्छ ?
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...