बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् ।
कलाकार मदनकृष्ण श्रेष्ठ गायक बन्न चाहन्थे । परिस्थितिले उनलाई हास्य कलाकार बनायो । हास्य कलाकार बने पनि उनले थुप्रै गीत गाए । र, ती चर्चित पनि भए । हिजोआज पानी छाया बोलको गीत निकै चर्चामा छ । यसमा स्वर छ, सराना श्रेष्ठ र अग्रज कलाकार मदनकृष्णको । मदनकृष्ण र सराना बाबुछोरी हुन् । तर सरानाको आफ्नै परिचय पनि छ ।
सानैदेखि नै गुनगुनाउन मन पराउने सराना गाउने बानी सायद पारिवारिक गुण भएको मान्छिन् । बाजेको गीतमण्डली नै थियो । उनी मन्दिरमा गीत गाउँथे र बाजा बजाउँथे । बुबा मदनकृष्ण त भर्सटायल कलाकार नै भए । सानोमा उनी डबलीमा केटीको स्वरमा गीत गाउँथे रे । उनले गाएका अर्बौं मान्छेहरूमा.., खोलावारि खोलापारि पीपलु र बर... जस्ता गीत अहिले पनि सदाबहार छन् । तर सराना पनि कम छैनन् ।
उनले ५ वर्षकै उमेरमा रेडियो जिंगलमा स्वर दिइन्, होम प्रोडक्सनमा । जिंगल रेडियोमा बजिरहेको सुन्दा रमाइलो लाग्थ्यो रे उनलाई । पछि बालगीत पनि गाइन् । उतिबेला गीत गाउन अहिलेजस्तो सजिलो थिएन । प्रविधिको कमी भएका कारण संगीतको धुनसँगै गायकको सुर मिल्नुपर्थ्यो, एक टेकमै । गीतको बोल भने उनलाई याद छ, आज एउटा मुसा घरमा फसेछ । सो गीत हिट पनि भयो । दाजु यमनको संगीतमा बनेको गीत गाउन घरमै पूरा तयारी गरेकी थिइन् । तर कति टेकमा सो गीत गाइन्, उनलाई याद छैन ।
१८ वर्षदेखि अमेरिका बसे पनि उनको लबजमा अंग्रेजीपन रत्ति आउँदैन । सरानाको नम्र स्वभाव देखेर सायद मानिस छक्कै पर्छन् । भन्छिन्, "बुबाले भन्नुहुन्छ– गानाचाहिँ आफ्नो पुरानो घरजस्तो लाग्छ रे अनि कमेडी नयाँ घरजस्तो । म आफ्नै ड्याडीबाट प्रेरित भएँ ।”
उनले मह सञ्चारका लागि पर्दापछाडि बसेर थुप्रै काम गरेकी छन् । बीबीसी र युनिसेफका कार्यक्रममा भ्वाइस ओभर गरिन् । अमेरिका जानुअघि थुप्रै नेपाली चलचित्रमा गीत गाइन्, उनले । मिस्टर रामकृष्णेको किसुनजी किसुनजी बोलको गीत निकै चर्चित भएको थियो । शम्भुजित बाँस्कोटाले ‘तिमी चुलबुल स्वभावकी छौ’ भनेर यो गीत दिएको उनी सम्झिन्छिन् । तर केही सातापछि नै विवाद भएपछि गीत बन्द भएको खबर उनैले सुनाए ।
स्वभावले आफू चुलबुले भए पनि सिरियस टाइपका गीत सुन्न र गुनगुनाउन मन पर्ने बताउँछिन् । सरानाको स्वभाव बाह्यमुखी छ । तनाव नलिने, ससाना कुरामा खुसी हुने । उनलाई धेरै मान्छेमाझ रमाइलो लाग्दो रहेछ । भन्छिन्, "मलाई सेन्टर अफ अट्रयाक्सन हुन मन पर्ने । सायद यही बानीले आत्मविश्वासी बनायो ।”
गायक बन्न सजिलो छैन । स्वर मात्र भएर हुन्न, सुर पनि चाहिन्छ । सरानाले संगीतको औपचारिक कक्षा ३ महिना मात्र लिइन्, शास्त्रीय संगीतको । त्यो पनि करिब २२ वर्षअगाडि डोरेमीमा । त्यसैले रियाजको अभाव भने उनलाई खट्किँदो रहेछ । भन्छिन्, ”गड गिफ्टेड हो भनेर फुर्किनु राम्रो होइन । आफूले आफैँलाई तिखार्नु पर्दो रहेछ । स्वर भनेको सबैले पाउँदैनन् । पाएको स्वरलाई खुक्र्याउनु पर्दो रहेछ । त्यसका लागि रियाज गर्नुपर्दो रहेछ ।”
मह सञ्चारको पहिलो फिचर फिल्म फिलिमका लागि उनले 'स्याड’ गीत गाइन् । दैव हरे के गर्नु बोलको गीत गाएर घर आउँदा बुबाआमा रोएको उनी अझै सम्झिन्छिन् । सो गीत गाउँदा सुरुमा उनी गीतमा डुब्न सकेकी थिइनन् । ’जब बुबाले म मरेको ठान, बुबाआमा कोही छैनन् भनी सोचेर गाऊ भने’, उनले सहनै नसकी गीत गाइन् ।
त्यसबेला कलाको बजार ठीकै थियो । मह सञ्चार चले पनि संगीतको भने खासै बजार थिएन । सबै कुरा सजिलो थियो । र, सरनालाई सजिलो बाटो चाहिएको थिएन । सोखका रुपमा उनले गीत गाउन पाएकै थिइन् । त्यसैले बैंकिङ क्षेत्रमा करिअर बनाउने सोचले उनी उच्च शिक्षाका लागि अमेरिका उडिन् । त्यहाँ कर्पोरेट फाइनान्समा स्नातकोत्तर गरेपछि विश्व बैंकमा जागिरे भइन् ।
विश्व बैंकमा जागिर पाउनु सजिलो थिएन । आमा बिरामी भएपछि नेपाल फर्कने निर्णय गरिन्, उनले । तर राजीनामा दिएको केही दिनपछि ०७२ मा ठूलो भूकम्प गयो । बुबाआमा नै घर छाडेर गाडीमा बसिरहेका थिए । भन्छिन्, ”बुबाले यस्तो बेलामा नेपाल नफर्कन सल्लाह दिनुभयो । आमाले आउनै दिनुभएन ।”
नेपाल आउने दिन कुर्दाकुर्दै सात महिना बितेपछि फेरि विश्व बैंकमा पुन: जागिर खाइन् । त्यसको केही महिनापछि साइन्स एन्ड टेक्नोलोजी कम्पनीमा काम थालिन् । २ वर्षअगाडि रेक्टमको क्यान्सरले आमा बितिन् भने बुबालाई पार्किन्सन लागेको छ ।
एक दिन आमाले सरानालाई फोन गरिन् । ”छोरा र पतिसँग हवाई घुम्न जान तयार थिएँ । ममी रुनुभएपछि एक्कासि डर लाग्यो र सबै छाडेर नेपाल आएँ,” उनी एयरपोर्टबाट सीधै अस्पताल गइन् । १६ दिन आमासँगै अस्पतालमा बिताइन् ।
आमा बितेको १ वर्ष निकै कठिन भयो । आमाको नम्बरमै बारम्बार फोन गरेको उनी सम्झिन्छिन् । भन्छिन्, ”आफू आमा बनेपछि आमाको माया झन् बुझिँदो रहेछ ।” यस्तो पीडामा पनि सरानाको साथी भने गीतसंगीत नै थियो । धेरै दु:ख र खुसीको पलमा उनी गीत नै गुनगुनाइरहन्छिन् ।
केही महिनाअघि घरमा बसिरहेका बेला दराजमा बुबाको डायरी भेटिन्, सरनाले । त्यसमा एकतर्फी माया न हो मेरो दिल टुट्यो त टुट्यो भन्ने करिब २५ वर्षअगाडि लेखिएको गीत थियो । उनलाई गीत पढ्नेबित्तिकै खुबै मन परेछ । गाइन् । अहिले यसै गीतको भिडियोका लागि प्रि–प्रोडक्सनको तयारी गर्दै छिन् ।
गीत गाउने मात्र नभई भिडियोको कन्सेप्टमा पनि रमाइरहेकी छन्, सराना । बुबाको प्रेरणाले पलाएको संगीतको मायालाई उनी निरन्तरता दिन चाहन्छिन् । गीतको कलात्मक पक्ष मात्र नभई व्यावसायिकतामा पनि जोड दिने सरानाले भविष्यमा कस्तो सिर्जना लिएर आउँछिन् ! त्यो भने हेर्नै बाँकी छ ।
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...