१३ औँ साग : ५० स्वर्ण जित्ने लक्ष्य पूरा गर्ला नेपालले ?

- पवन आचार्य

अंग्रेजीमा अंक १३ लाई त्यति शुभ मानिन्न । तर नेपालको हकमा यो अंक शुभ र फलदायी हुने छाँट देखिएको छ । कारण, आफ्नै भूमिमा नेपालले दुई दशकपछि दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करण आयोजना गर्दै छ । यसलाई यादगार बनाउन अहिलेसम्मकै सर्वाधिक ५० स्वर्ण जित्ने लक्ष्य लिएको छ । हुन पनि नेपालले सागको एउटै संस्करणमा सबैभन्दा बढी पदक जितेको पनि घरेलु भूमिमै हो । सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टुबर ४ सम्म काठमाडौँमा भएको आठौँ साग गेम्समा नेपालले अहिलेसम्मकै सर्वाधिक ३२ स्वर्णसहित कुल ६६ पदक जितेको थियो । उक्त संस्करणमा तेक्वान्दो र कराँतेले डेब्यु गरेका थिए । मार्सल आर्ट्समा जितेको स्वर्णकै कारण नेपाल सो संस्करणको पदक तालिकामा दोस्रो भएको थियो । आठौँ सागमा जम्मा १२ खेलबाट ३२ स्वर्ण जितेको नेपालले यस पटक २७ खेलमा ५० स्वर्णको आश गर्नु नौलो नभएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालको तर्क छ । 

सागको इतिहासमा नेपालले अहिलेसम्म जम्मा ७९ स्वर्ण मात्रै जित्न सकेको छ । त्यसैले पनि ५० स्वर्ण आकाशको फल हुने हो कि भन्ने संशय छ । तर नेपालले पदकको आश गरेको कराँते र उसुमा भारतको सहभागिता नहुने भएकाले ५० स्वर्णको लक्ष्य कठिन नरहेको सिलवाल बताउँछन् । अन्तिम समय आएर भारतले तेक्वान्दोमा आफ्ना खेलाडी दर्ता गराएको छ । यस पटक तेक्वान्दोमा २९ स्वर्ण, उसुमा २२ र कराँतेमा १९ स्वर्णका लागि भिडन्त हुँदै छ । 

सागको पहिलो संस्करणमा ६२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा नेपालले ४ स्वर्णसहित २४ पदक जितेको थियो । ४४ स्वर्ण जितेको भारत कुल ८८ पदकसहित पहिलो स्थान हासिल गर्दा नेपाल चौथो भएको थियो । श्रीलंकाले ७, पाकिस्तानले ५, बंगलादेशले २ स्वर्ण पदक जिते । नेपालका लागि बैकुण्ठ मानन्धरले एथलेटिक्सको म्याराथन दौड, दलबहादुर राना र पुष्करध्वज शाहीले बक्सिङबाट स्वर्ण दिलाए । अर्को स्वर्ण फुटबलबाट प्राप्त भएको थियो । रूपकराज शर्माको कप्तानीमा रहेको फुटबल टोलीले स्वर्ण जित्ने सौभाग्य पाएको थियो । 

सन् २०१६ मा भारतको गुवाहटी र सिलोङमा भएको १२ औँ संस्करणको सागको नतिजालाई आधार मान्ने हो भने ५० स्वर्ण निकै कठिन लक्ष्य हो । २३ खेलका २ सय २८ इभेन्ट्समा प्रतिस्पर्धा हुँदा नेपालले जम्मा ३ स्वर्ण जितेको थियो । कुल ६० पदक जितेको नेपाल तालिकाको छैटौँ स्थानमा रह्यो । एउटै पनि स्वर्ण नजित्ने भुटान र मालदिभ्स मात्रै नेपालभन्दा मुनि थिए, पदक तालिकामा । तर यस पटक अफगानिस्तानको सहभागिता नभएकाले त्यसको फाइदा नेपालले उठाउन सक्ने आकलन गरिएको छ । गएको संस्करणमा चौथो भएको अफगानिस्तानले ७ स्वर्णसहित ३५ पदक जितेको थियो । 

गत संस्करणमा नेपाली पुरुष फुटबल टोलीले २३ वर्षपछि सागमा स्वर्ण जितेको थियो । उसुमा निमा घर्ती मगर र जुडोमा फुपुल्हामु खत्रीले स्वर्ण दिलाए, नेपाललाई । पहिलो पटक तेक्वान्दो स्वर्णविहीन भएको थियो १२ औँ सागमा । कुनै समय स्वर्णको आश गरिएका एथलेटिक्स र भारोत्तोलनसहित मार्सल आर्ट्सका सबै खेलमा अहिले नेपालको प्रदर्शन खस्कँदो रहेकाले पनि ५० स्वर्णको लक्ष्य कठिन हुन्छ कि ? 

उसु 

सागमा उसुको सहभागिता श्रीलंकाको कोलम्बोमा सन् २००६ मा सम्पन्न दसौँ संस्करणबाट भएको हो । त्यसयता नेपालले उसुको सान्सौ र थाउलो दुवै विधामा सहभागिता जनाउँदै आएको छ । उसुबाट नेपालले १० औँमा २ स्वर्ण, ११ औँमा २ स्वर्ण र १२ औँमा १ स्वर्ण जितेको छ । यस पटक उसुमा २२ स्वर्णका लागि स्पर्धा हुँदा नेपालको तयारी सन्तोषजनक छैन । उसुका खेलाडीले साग सुरु हुनअघिसम्म पनि कराँतेको म्याटमा प्रशिक्षण गर्नु परेको छ । नेपाली खेलाडीको बलियो पक्ष मानिएको थाउलोको प्रशिक्षण कराँतेको पुरानो म्याटमा भइरहेको छ । 

तेक्वान्दो र बक्सिङका गियर र प्याड लगाएर खेलाडीहरू प्रशिक्षणरत छन् । थाउलोका प्रशिक्षक प्रकाश लामाका अनुसार ट्रेनिङ म्याट र गियरबारे राखेपलाई धेरै अघि सूची बुझाइएको थियो । तर सामान खरिद भएर आइनसकेको भन्दै राखेपले उसुको खेल सामग्री उपलब्ध गराउन सकेको छैन । उसु संघका उपाध्यक्ष रञ्जित महर्जन खेलाडीलाई खान र बस्नबाहेक अन्य केही सुविधा उपलब्ध नभएको गुनासो गर्छन् । उसुमा नेपालको मुख्य प्रतिस्पर्धी भारत र श्रीलंका हुन् । यस पटक भारतको सहभागिता नरहने भएकाले पनि नेपालले बढी पदकको आश गरेको छ । उसुमा कम्तीमा ८ स्वर्णको आश गरेको नेपालले थाउलोतर्फ ८ र सान्सौतर्फ १४ खेलाडी उतार्दै छ । 

तेक्वान्दो

स्वर्णको हिसाब गर्ने हो भने नेपाली खेलकुद इतिहासमै सर्वाधिक सफल तेक्वान्दो खेल हो । सन् १९९९ को आठौँ सागबाट प्रवेश पाएको तेक्वान्दोले हालसम्म २४ स्वर्ण, १४ रजत र ८ कास्य दिलाएको छ, नेपाललाई । तर गत संस्करणको सागमा ७ वटा फाइनल खेले पनि नेपालको खातामा तेक्वान्दोले स्वर्ण दिलाउन सकेन । तेक्वान्दो खेलाडी दीपक विष्टले सागमा लगातार ४ स्वर्ण जितेर कीर्तिमान बनाएका छन् । यिनै कीर्तिमानी खेलाडीको प्रशिक्षणमा रहेको तेक्वान्दो टोलीले २९ स्वर्णका लागि स्पर्धा गर्दै छ । यस पटक तेक्वान्दोकै पुम्से विधा थपिएको छ । ग्योरोगी (फाइट) र पुम्से (काता) मा यसअघिको भन्दा झन्डै दोब्बर संख्यामा पदक भएकाले पनि नेपालले आठौँको इतिहासलाई तोड्ने अपेक्षा गरिएको छ ।

मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ यस पटकको तयारी सन्तोषजनक रहेको बताउँछन् । भन्छन्, “ग्योरोगी टोलीले चीन र पुम्से टोलीले मलेसिया पुगेर प्रशिक्षण गरेकाले पनि पदकको आश गर्नु स्वाभाविक हो ।” यस पटकको अभ्यासले खेलाडीको मनोबल उच्च भएकाले पनि आधाभन्दा बढी स्वर्ण नेपालको पोल्टामा पर्ने अपेक्षा तेक्वान्दोको छ । 

त्यस पछाडिका कारण पनि छन् । अहिले तेक्वादो टोलीमध्येका ५ खेलाडीले ग्योरोगी र पुम्सेमा सागमा पदक जितिसकेका छन् । मनिता शाहीले सागमा १ स्वर्णसहित २ पदक जितिसकेकी छिन् । त्यस्तै, सागकी स्वर्ण पदक विजेता आयशा यस पटक पुम्सेमा प्रतिस्पर्धा गर्दै छिन् । मनिता र आयशा तिनै खेलाडी हुन्, जसले २००६ को दोहा एसियाडमा कास्य जितेका थिए ।

कराँते

सागमा नेपाललाई पदक दिलाउने खेलमध्येको एक हो, कराँते । अघिल्लो संस्करणमा समावेश नभएको कराँतेले आठौँयता २१ स्वर्ण दिलाइसकेको छ । आठौँमा १४ स्वर्ण, नवौँमा २, दसौँमा २ र एघारौँमा कराँतेबाट नेपालले ३ स्वर्ण प्राप्त गरेको थियो, सागमा । कराँतेको स्पर्धामा नेपालले ६ देखि ८ वटा स्वर्ण जित्ने लक्ष्य लिएको छ । १९ इभेन्ट्समा ३२ खेलाडी सहभागी हुने कराँतेमा आठौँ सागपछि ऐतिहासिक उपलब्धि हासिल गर्ने प्रमुख प्रशिक्षक मदन उप्रेती बताउँछन् । खेलाडीको तयारी, उनीहरूको मनोबल र पछिल्ला प्रतियोगितामा प्राप्त नतिजाका आधारमा आफूहरूले ६ देखि ८ स्वर्णको लक्ष्य राखेको उनले सुनाए । कराँतेमा महिलातर्फ श्रीलंका र बंगलादेश तथा पुरुषतर्फ पाकिस्तानलाई मुख्य प्रतिद्वन्द्वी मानिएको छ । भारतको सहभागिता कराँतेमा नहुने भएकाले पनि यस पटक नेपाल फाइदामा छ । काता स्पर्धा र महिला इभेन्ट्समा नेपालले बढी पदकको आश गरेको छ ।

नेपाली टोलीका प्रशिक्षक एवं सुपरीवेक्षक दीपक श्रेष्ठका अनुसार बंगलादेशमा हालै सम्पन्न पाँचौँ संस्करणको दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा ८ स्वर्ण, ४ रजत र ७ कास्य जितेको नेपाली टोलीले भारतीय खेलाडीलाई पराजित गरेकाले पनि मनोबल उच्च छ । उक्त प्रतियोगितामा पाकिस्तानले सहभागिता जनाएको थिएन । कराँतेमा भारतीय खेलाडी नेपालको तुलनामा निकै अब्बल मानिन्छन् । 

भारोत्तोलन 

सागमा सबैभन्दा पुरानो खेल भारोत्तोलन पनि हो । पहिलो संस्करणबाटै समावेश भएको प्रतियोगितामा नेपालले छैटौँबाहेक अन्यमा सहभागिता जनाएको छ । तर नेपालले स्वर्ण जित्न भने दसौँ संस्करणसम्म कुर्नुपर्‍यो । सागमा भारोत्तोलनबाट नेपाललाई स्वर्ण दिलाउने एक मात्र खेलाडी कमलबहादुर अधिकारी हुन् । कमलबहादुरले सन् २००६ कोलम्बो सागमै भारोत्तोलनका लागि पहिलो स्वर्ण जितेका थिए  । त्यसयता उनी लगातार खेलिरहेका छन् र यसपल्ट पनि प्रतिस्पर्धामा उत्रँदै छन् । सागका लागि भारोत्तोलनमा सर्वाधिक पदक जित्ने खेलाडी भने सुनीललाल जोशी हुन् । पहिलोदेखि सातौँसम्म उनले ५ रजत र ९ कास्य जितेका थिए । 

संख्याको हिसाबले भारोत्तोलन सागमा सबैभन्दा बढी पदक दिलाउने खेल हो । ४२ रजत र ६७ कास्य भारोत्तोलनबाट जितेको छ, नेपालले सागमा । २० खेलाडी उतार्न लागेको नेपालले ८ जनालाई दक्षिण कोरिया र १२ जनालाई उज्वेकिस्तानमा प्रशिक्षण दिलाएको थियो । अन्तर्राष्ट्रिय सहभागिता अत्यन्तै न्यून भएको खेलको रूपमा रहेको भारोत्तोलनले यस पटक स्वर्णको आश गरेको छैन । दक्षिण एसियाली देशका खेलाडी शारीरिक रूपमा नेपालभन्दा बलिया भएकाले पनि पदकको आश नगरिएको हो । 

एथ्लेटिक्स

नेपालले सागका सबै संस्करणमा सहभागिता जनाएको खेल हो, एथ्लेटिक्स । लामो दूरीको स्पर्धामा नेपालले राम्रो गरे पनि एथ्लेटिक्सको छोटो दूरीमा भने सधैँ असफल रहँदै आएको छ । त्यसैले यस पटक पनि नेपालले लामो दूरीबाटै स्वर्णको आश गरेको छ । नेपालका बैकुण्ठ मानन्धरले पहिलोदेखि तेस्रो सागसम्म म्याराथनमा लगातार स्वर्ण जिते । म्याराथनमा उनले बनाएको २ घन्टा १५ मिनेट ३ सेकेन्डको दक्षिण एसियाली कीर्तिमान कसैले भंग गर्न सकेको छैन । सातौँ संस्करणको सागमा गणेश राईले म्याराथनमा स्वर्ण जिते । ११ औँ सागमा राजेन्द्र भण्डारीले रोड रेसमा जितेको स्वर्ण नै एथ्लेटिक्सले प्राप्त गरेको पछिल्लो पदक हो । सातौँ सागमा खुर्सिद अहमद खानले ज्याबलिन थ्रोमा रजत र दसौँमा कान्छीमाया कोजुले १० हजार मिटर दौडमा जितेको रजत पदकलाई छाड्ने हो भने खेलकुदको राजा मानिने एथ्लेटिक्समा नेपालको प्रभाव नगन्य छ । कम वैदेशिक सहभागिता हुने एथ्लेटिक्समा आवश्यक मात्रामा प्रशिक्षण सामग्री उपलब्ध हुन नसक्दा पदक जित्ने सम्भावना पनि क्षीण हुँदै गएको छ । 

बक्सिङ

सागको सबै संस्करणमा सहभागी भए पनि बक्सिङबाट नेपालले हालसम्म ६ वटा मात्र स्वर्ण जितेको छ । सन् १९८४ को पहिलो सागमा २ स्वर्णसहित कुल ९ पदक जितेको बक्सिङले कोलकातामा भएको तेस्रो र पाकिस्तानमा सम्पन्न चौथो सागमा १–१ स्वर्ण दिलाएको थियो । त्यसपछि एकैचोटि आठौँमा २ स्वर्ण जितेको बक्सिङले त्यसयता स्वर्ण पदकको मुख देखेको छैन । पहिलो सागमा दलबहादुर राना मगर र पुष्करध्वज शाहीले स्वर्ण दिलाएको बक्सिङबाट पछिल्लो पटक प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जिते । विदेशी प्रशिक्षक उज्वेकिस्तानका अलिशेर रहीमुभ र वैदेशिक प्रशिक्षणमा अनुभव हासिल गरेको नेपाली टोलीबाट यस पटक पुरुषतर्फ २ र महिलातर्फ १ स्वर्ण जित्ने आशा गरिएको छ । बक्सिङमा नेपालले ६ महिला र १० पुरुष खेलाडी उतार्दै छ । 

फुटबल

सागको टिम गेममा नेपाललाई सर्वाधिक स्वर्ण दिलाउने खेल हो, फुटबल । पुरुष फुटबलमा सागको सबै संस्करणमा सहभागिता जनाएको नेपालले सन् १९८४, १९९३ र २०१६ मा स्वर्ण जितेको छ । सन् १९८७ र १९९९ मा दोस्रो भएको नेपालले सन् १९८५ र २००७ मा कास्यमा चित्त बुझायो । 

सागमा सन् २०१० बाट महिला फुटबल  समावेश गरिएको हो । सहभागिताको दुवै संस्करणमा उपविजेता बनेको नेपाली महिला टोलीको तगारो नै भारतीय टिम हो । फुटबलमा २३ वर्षमुनिका टोलीले सहभागिता जनाउने भए पनि नेपालको टिममा अधिकांश राष्ट्रिय टोलीका खेलाडी छन् । विश्वकप फुटबल २०२२ को छनोट एएफसी एसियन कप २०२३ को छनोटमा व्यस्त पुरुष फुटबल टोलीको मनोबल उच्च छ । त्यसैले स्वर्णको आश गरिएको छ । यस्तोमा पुरुष फुटबलतर्फ भारतको सहभागिता नहुँदा त्यसको प्रत्यक्ष फाइदा नेपाललाई हुन्छ । महिलातर्फ भारतको तगारो पन्छाउन सके नेपालले पहिलो पटक स्वर्ण जित्नेमा कुनै द्विविधा छैन । 

जुडो

पाँचाँै सागदेखि निरन्तर सहभागी हुँदै आएको खेल हो, जुडो । सातौँ संस्करणको सागमा जितेको ३ स्वर्ण नै जुडोले नेपाललाई दिलाएको अहिलेसम्मकै धेरै पदक हो । त्यतिबेला वीरबहादुर थापा मगर, रमेश बस्नेत र जीतबहादुर चौधरीले जुडोबाट नेपाललाई स्वर्ण दिलाए । त्यसपछि भने पदकको खडेरी लाग्यो । अघिल्लो संस्करणमा फुपुल्हामु खत्रीले नेपाललाई जुडोबाट स्वर्ण दिलाएकी थिइन् । उनी अहिले राष्ट्रिय टोलीमा छैनन् । तर यस पटक मनिता श्रेष्ठ र सोनिया भट्टबाट राम्रो प्रदर्शनको आश गरेको छ, नेपालले । २० मध्ये १४ खेलाडीलाई मंगोलिया र ४ लाई जापानमा प्रशिक्षणका लागि पठाएकाले ४ स्वर्णको अपेक्षा गरिएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य बताउँछन् । मार्सल आर्ट्सका खेलाडी धेरैजसो विभागीय टोलीमा आबद्ध भएकाले पनि उनीहरू नियमित प्रशिक्षणमा रहने गरेका छन् । त्यसैको फाइदा उठाउने योजना रहेको संघ अध्यक्ष वज्राचार्यले सुनाए । तर अन्तर्राष्ट्रिय एक्सपोजरको कमी र प्राविधिक स्रोत–साधन अभावले नेपालको लक्ष्यमा धक्का पुर्‍याउन सक्छ । 

आर्चरी 

श्रीलंकाको कोलम्बोमा भएको दसौँ सागबाट सहभागिता जनाएको आर्चरीले त्यसपछिका २ संस्करणमा १–१ कास्य दिलाएको छ । बंगलादेशमा सम्पन्न इन्डिभिज्युअल रिकर्भ इभेन्ट्समा कास्य र भारतमा भएको १२ औँ सागमा टिम इभेन्ट्समा आर्चरीबाट नेपालले कास्य जितेको छ । यस पटक आर्चरीमा भारत सहभागी नहुने भएकाले पनि नेपालको स्वर्णको आश थप बलियो भएको छ । भारतको आर्चरी संघ निलम्बनमा परेकाले उसको सहभागिता नरहने भएको हो । रिकर्भ, कम्पाउन्डमा गरी ८ महिला र ८ पुरुष खेलाडीले यस पटक सहभागिता जनाउँदै छन् । पोखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीले अन्तर्राष्ट्रिय प्रशिक्षण नपाए पनि उत्कृष्ट प्रदर्शन गर्ने आर्चरी संघका अध्यक्ष दीपक गुरुङ बताउँछन् । टिम इभेन्ट्समा ४ राष्ट्रको मात्रै सहभागिता हुने भएकाले पनि नेपाल फाइदामा छ । कम्तीमा २ स्वर्ण जित्ने लक्ष्य संघको छ, १३ औँ सागमा । 

टेबलटेनिस

तेस्रो संस्करणको सागबाट प्रवेश पाएको टेबलटेनिसले नेपाललाई पाँचाँै संस्करणमा स्वर्ण दिलाएको थियो । सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा भएको स्पर्धा यस कारण पनि ऐतिहासिक थियो कि त्यतिबेला स्वर्ण जित्दा नेपालले भारतलाई हराएको थियो । तर त्यसपछि भने टेबलटेनिसमा नेपालले कुनै पदक जित्न सकेको छैन । दक्षिण एसियाली राष्ट्रमध्ये नेपाली खेलाडीको खेल्ने शैली फरक छ । अन्य देशका खेलाडीले र्‍याली फर्मुलामा खेल्छन् भने नेपाली खेलाडीको सबल पक्ष ३ बल एट्याक हो । अन्तर्राष्ट्रिय अनुभवको कमी भएकाले पनि धेरै पदकको आश गर्नु अस्वाभाविक छ । थाइल्यान्डको बैंककमा प्रशिक्षणमा रहेका १० खेलाडीबाट १ स्वर्ण र टिम तथा मिक्स्ड डबलमा २ स्वर्णको अपेक्षा गरिएको छ । 

त्यसबाहेक नेपालले पदकको आश गरेको खेल ट्रायथलन हो । अघिल्लो संस्करणबाट सुरु भएको यो स्पर्धामा नेपालले टिम रिलेतर्फ रजत र महिलातर्फको व्यक्तिगत स्पर्धामा कास्य जितेको थियो । दक्षिण एसियाली राष्ट्रमध्ये ट्रायथलनका नेपाली प्रशिक्षक अब्बल मानिन्छन् । तर खेलप्रतिको घट्दो आकर्षण, खेल सामग्री र उपकरण महँगो पर्ने हुँदा प्रशिक्षणमा उत्पन्न हुने बाधा पदक प्राप्तिका तगारा हुन् । ५ मध्ये २ स्वर्ण जित्ने लक्ष्य ट्रायथलनको छ । त्यसबाहेक बास्केटबल, क्रिकेट र महिला भलिबलबाट नेपालले पदकको आश गरेको छ । पछिल्लो समय महिला भलिबले हासिल गरेको सफलताका कारण पनि नेपालले सो स्पर्धामा स्वर्णको अपेक्षा गरेको हो । नेपालले लक्ष्य बनाएको ५० स्वर्णमा टिम गेममा कप र व्यक्तिगत स्पर्धामा बढी पदक जित्ने योजना छ । 



भारतले नखेलेको फुटबल

दक्षिण एसियाको फुटबल पावर हाउस मानिएको भारतको १३ औँ सागमा सहभागिता नहुने भएको छ । महिला र पुरुष दुवैमा सहभागिता जनाउने निश्चित भए पनि अन्तिम समय आएर भारतले पुरुष फुटबलबाट हात झिकेको हो । 

प्रतियोगिताको ड्र सार्वजनिक भइसकेपछि भारतले पुरुष फुटबलको टिम नपठाउने निर्णय गरेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले फुटबलमा स्वर्ण जितेको थियो ।

भारतीय फुटबल संघले घरेलु फुटबलको व्यस्त तालिकालाई ध्यानमा राखेर साग नखेल्ने निर्णय गरेको जनाएको छ । फुटबलको सर्वोच्च निकाय फिफाको क्यालेन्डरमा साग नपरेकाले सहभागिता नजनाउने निर्णयमा पुगिएको भन्ने भारतीय तर्कमा कुनै दम छैन । राष्ट्रिय टोलीका खेलाडी विभिन्न क्लबमा आबद्ध भएका र उनीहरूले फिफाको क्यालेन्डरमा समावेश प्रतियोगिताका लागि मात्रै खेलाडी रिलिज गर्ने भएकाले पनि भारतलाई बलियो टिम निर्माणमा समस्या परेको थियो । अघिल्लो संस्करणमा पराजित भारत कमजोर टोलीसहित नेपाल आउने पक्षमा थिएन । त्यसैले पनि उसले अन्तिम समय नाम फिर्ता लिएको हो । 

दुइटा शीर्ष डिभिजनको लिग खेल्ने भारतीय क्लबले सिजनभरका लागि खेलाडीलाई मोटो रकम खर्चिएर अनुबन्ध गरेका छन् । भारतमा अहिले फुटबलको लिग चलिरहेको छ । वर्षभरि व्यस्त तालिकामा रहने भारतीय फुटबल क्लबले सागका लागि खेलाडी छाड्न नमानेपछि भारतले फुटबलमा सहभागिता नजनाउने भएको हो । पुरुष फुटबलमा अब राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित: मंसिर १६, २०७६

×