बुद्धस्थल नै प्रदूषणको सिकार

- मनोज पौडेल

एक साताका लागि लुम्बिनी घुम्न आएका जर्मन पर्यटक वेर्न्ड भोइगटेइन्डर दुई दिनमै फर्किए । ६ जनाको समूहमा आएका उनी फर्कनुअघि भन्दै थिए, “अत्यधिक प्रदूषणले बिरामी पर्न थालेपछि फर्किएँ ।” 

जापानको नागोयाबाट लुम्बिनी घुम्न आएका टासीबाना केसुईले कपडामा लागेको धुलो टकटकाउँदै भने, “श्वास लिनै सकस भयो ।” जापानमा मजदुरलाई वर्षको एक पटक १० दिनको ‘गोल्डेन होली डे प्याकेज’ प्रदान गरिन्छ । त्यही प्याकेजअन्तर्गत नेपालको आईटिनरी बनाएर उनी लुम्बिनी पुगेका थिए । “अन्य साथी विभिन्न मुलुक गए । म लुम्बिनीमा शान्तिको ऊर्जा सञ्चय गर्न आएको हुँ,” सोचेभन्दा ठीक उल्टो पाएपछि उनी भन्छन्, “धुलो र धुवाँले बिरामी पर्न थालेपछि बसाइ छोट्याएर फर्कंदै छु ।” 

भैरहवा–लुम्बिनी–तौलिहवा सडक खण्ड निर्माण भइरहेकाले धुलोको सास्ती खेप्नु परेको छ । अर्कोतर्फ लुम्बिनी भैरहवा खण्डमा सञ्चालित उद्योगबाट निस्कने धुवाँ र फोहोरका कारण विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी अत्यधिक प्रदूषणको चपेटामा छ । तर नियन्त्रण प्रयास शून्य छ । सिद्धार्थ होटल व्यवसायी एसोसिएसन लुम्बिनीका महासचिव लीलामणि शर्मा भन्छन्, “प्रदूषणका कारण पर्यटकको बसाइ छोट्टिन थालेको छ । यसले लुम्बिनीबारे नराम्रो सन्देश गइरहेको छ ।”

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले २०१३ मा गरेको एउटा अध्ययनमा लुम्बिनी प्रदूषणको सवालमा खतरनाक स्तरमा पुगेको उल्लेख छ । रिपोर्टमा भनिएको छ, ‘संरक्षित क्षेत्र लुम्बिनीमा कार्बन उत्सर्जन गर्ने उद्योगधन्दाको व्यापक वृद्धिले अनेकौँ समस्या पैदा हुने डर छ । यसले यस क्षेत्रको जैविक विविधता, स्थानीय जनताको स्वास्थ्यसँग जोडिएका समस्या र पुरातात्त्विक सम्पदालाई नोक्सान पुग्नुका साथै सामाजिक र सांस्कृतिक मूल्यमा नराम्ररी गिरावट आउन सक्ने सम्भावना छ ।’ 

वातावरण विभागले काठमाडौँभन्दा डेढ गुणा बढी प्रदूषित लुम्बिनीमा ०७४ मा अध्ययन गर्दा तीव्र औद्योगिकीकरण, भारतीय सीमाबाट बहने प्रदूषित वायु प्रदूषण र लुम्बिनी आसपासमा बढी मात्रामा रहेका सिमेन्ट उद्योगलाई कारकका रूपमा औँल्याएको थियो । लुम्बिनीको प्रदूषणको कारणबारे अध्ययनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका प्रा रामप्रसाद रेग्मी लुम्बिनीको बढ्दो प्रदूषणमा त्यहाँका उद्योगबाट निस्कने धुलोधुँवाको हिस्सा ४८ प्रतिशत देखिएको बताउँछन् । घरायसी प्रयोजन निम्ति बालिने दाउरा, गुइँठाबाट हुने प्रदूषणको हिस्सा ३८ प्रतिशत छ ।

लुम्बिनी प्रदूषित हुनुमा नजिकै सञ्चालित उद्योगबाट निस्कने धुवाँ र धुलोलाई मुख्य कारण मानिन्छ भने हिउँदको समय सीमावर्ती क्षेत्रमा रहेका इँटाभट्टाको धुवाँसमेत लुम्बिनी पुग्ने हुँदा त्यसले प्रदूषण बढाउने गरेको मानिन्छ । लुम्बिनीमा सञ्चालित सिमेन्ट उद्योगले लुम्बिनी, भैरहवा, बुटवल, बर्दघाटदेखि तानसेनसम्मलाई प्रत्यक्ष असर गरेको देखिन्छ । 

सर्वाेच्च अदालतले लुम्बिनी विकास कोष वरपर १५ किलोमिटर क्षेत्रमा उद्योग, कलकारखाना सञ्चालनमा रोक लगाउन अन्तिम आदेश जारी गर्‍यो, १५ असारमा । प्रदूषणका कारण लुम्बिनीको ऐतिहासिक, पुरातात्त्विक क्षेत्रमा प्रतिकूल असर परेको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले दायर गरेको रिटमा माग गरिएको थियो, ‘बढी कार्बन उत्सर्जन गर्ने उद्योग लुम्बिनीको १५ किमि दूरीभित्र खोल्न रोक लगाइयोस् ।’ 

हुन त औद्योगिक प्रवद्र्धन बोर्डले मायादेवी मन्दिरदेखि १५ किलोमिटर एरियल दूरीमा उद्योग स्थापना गर्न रोक लगाएको थियो, ०६६/६७ मा  । औद्योगिक प्रवर्द्धन बोर्डको १९० औँ बैठकले उद्योग विस्तार र पुँजी वृद्धि गर्न पनि नपाउने व्यवस्था गरेको थियो । तर उद्योग खुल्ने क्रम रोकिएन । लुम्बिनीस्थित चिनियाँ बौद्ध बिहारका प्रमुख सी चुङ युुङ सर्वाेच्चको आदेश कार्यान्वयन नहुनु विडम्बना ठान्छन् । भन्छन्, “धेरै चिनियाँ उपासक–उपासिका प्रदूषणकै कारण लुम्बिनी बस्न गाह्रो मान्थे । सर्वाेच्चको आदेशसँगै प्रदूषण हट्ने ठानेका थियौँ तर अवस्था उस्तै छ ।”

पश्चिमाञ्चल सिमेन्ट उद्योग संघका सचिव विदुर ढुंगाना स्थापित उद्योगमा ७० अर्बभन्दा बढी लगानी भइसकेकाले अब ‘कुनै पनि निर्णयको दूरगामी असर केलाउनु जरुरी हुने’ ठान्छन् । एक दशकअघि लुम्बिनी आसपास भैरहवा–लुम्बिनी सडक खण्डसँगै उद्योग, कारखाना खुल्न थालेपछि यस क्षेत्रमा प्रदूषणको मुद्दा उठेको हो । ३ वर्षयता भैरहवा–तौलिहवा सडक स्तरोन्नतिका कारण धुलाम्य छ । प्रदेशसभा सदस्य फकरुद्दिन खान राज्यले मुलुकको अर्थव्यवस्थालाई नै असर नहुने गरी व्यवसायीलाई चित्त बुझाएर उद्योग स्थानान्तरण गर्नुपर्ने बताउँछन् ।

प्रकाशित: मंसिर १८, २०७६

×