‘क्लाउड नाइन’ मा बसिरहन नरुचाउने न्युयोर्क नगरीका फेसन डिजाइनर

- सुनिता लोहनी

अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका अर्बपति डोनाल्ड ट्रम्प विजयी भएसँगै कैयौँ नीति फेरिए । त्यसको चपेटामा आप्रवासी, सीमान्तकृत पिल्सिएका छन् भने महिला हिंसाका विषय सतहमा आएका छन् । मी टु मुभमेन्ट त्यसैको एउटा कडी थियो । 

अमेरिका अर्थात् स्वप्नधर्ती, जो स्वतन्त्रताको पर्यायवाची थियो, अहिले आफैँ रंगभेद र निरंकुशतातिर ढल्किरहेको छ । यस्तो माहोलमा फेसन डिजाइनर प्रबल गुरुङ, ४२, ले ‘हु गेट्स टु बी अमेरिकन’ शीर्षकमा स्प्रिङ–२०२० कलेक्सन न्युयोर्क फेसन विकमा प्रदर्शन गरे । अमेरिकामा भइरहेको राजनीतिक मुद्दालाई प्रबलले पोसाकका माध्यमबाट दर्शाए । उनको कलेक्सनले अमेरिकी समाजको सुरुआत र त्यसको जरालाई पुनर्मूल्यांकन गर्‍यो । 

प्रबलले यसरी महिला र सीमान्तकृतबारे कुरा उठाउँदा फेसन डिजाइनरलाई महिला अधिकारबारे किन चासो भनेर प्रश्न उठाइएको थियो । भन्छन्, “महिलाकै लागि पोसाक डिजाइन गर्छु । मलाई मेरी आमाले हुर्काउनुभयो । फेसन डिजाइनको क्षेत्रमा सहयोग गर्ने पनि महिला छन् । त्यही महिलाका अधिकार खोसिँदा म चुप लागेर बस्ने ?”

तस्बिरः नेसनल पोट्रेट ग्यालरी१० वर्षयता प्रबलले महिला र सीमान्तकृतका अधिकारबारे बोल्दै आएका छन् । उनी बोल्ने मात्र होइन, व्यवहारमा पनि उतार्न माहिर छन् । महिलावाद विचारधारा भएकै कारण उनी कपडा डिजाइन गर्दा पाइन्टमा खल्ती हाल्ने, कम्मर अलि खुकुलो गरी बनाउने गरेको बताउँछन् । सुरु–सुरुमा फेसन उद्योगमा काम गर्दा काला जाति र एसियाली मूलका मोडललाई डिजाइनरले हेपेर सम्बोधन गरेको देख्दा उनलाई नराम्रो लाग्थ्यो रे । भन्छन्, “जब मैले आफ्नो ठाउँ बनाएँ, ती कुरामा परिवर्तन ल्याएँ । अहिले धेरै परिवर्तन भएको पनि छ ।”

प्रबल आफूलाई सर्वप्रथम छोरा र भाइका रूपमा चिनाउन चाहन्छन् । प्रबलको सबैभन्दा ठूलो प्रेरणाको स्रोत नै उनकी आमा हुन् । राणाकी छोरी उनकी आमाले अन्तरजातीय विवाह गरेकी थिइन् । छोडपत्र गरेपछि २ छोरा र १ छोरीलाई एक्लै हुर्काएर सबल बनाउनुलाई ठूलो संघर्ष मान्छन्, प्रबल । 

सबैको संघर्षको आयाम फरक–फरक हुन्छ । कान्छो छोराका रूपमा जन्मिएका प्रबल सानो छँदादेखि नै भिन्न स्वभावका थिए । कक्षाका अन्य केटाजस्तो उफ्रने, कुद्ने, फुटबल नखेल्ने हुँदा मजाक उडाइन्थ्यो र उनी एक्लै स्केच गर्दै बस्थे । पछि दाजु प्रवेश, दिदी कुमुदिनीको सहयोग र आमाको मायाले उनी आत्मविश्वासी बन्दै गए । आमा आफैँ पनि कविता र चित्र कोर्थिन् । आफूमा कलाप्रतिको अनुराग आमाकै कारण आएको ठान्छन्, प्रबल । 

भारतमा हाइस्कुल पढेका प्रबल अलि फिल्मी लाग्छन् । पुराना हिन्दी गीत सुन्न मन पराउँछन् । स–साना क्षणमा पाएको खुसीले सबैभन्दा आनन्दित बनाउँछ, उनलाई । भन्छन्, “मलाई पोलेको गोलभेँडाको अचार मन पर्छ । चिकेन म:म मेरो फेबरेट हो । काठमाडौँ आउनेबित्तिकै त्यही खान मन पराउँछु । दु:खी हुँदा संगीत सुन्छु ।” संगीतमा निश्चित जनरा छैन । तर उनलाई नारायणगोपालका मेलोडियस गीत खुब मन पर्दो रहेछ । गुनगुनाए, पर्खी बसेँ आउँला भनी ...

भारतमै पढ्दा फेसन डिजाइनबारे प्रबलको चासो बढ्यो । जहाँ अधिकांश परिवार छोराछोरीलाई डाक्टर, इञ्जिनियर बनाउन लागिपर्दा उनले फेसन डिजाइन पढ्न पाए । यसको श्रेय पनि उनी आमालाई नै दिन चाहन्छन् ।

उनले बनाएको पहिरन अमेरिकाकी फस्ट लेडी मिसेल ओबामादेखि डचेस अफ क्याम्ब्रिज केट मिडलटन, बलिउड नायिका प्रियंका चोपडा, आलिया भट्ट, दीपिका पादुकोणलगायतले लगाइसकेका छन् । 

कुनै बेला ओपरा विन्फ्रीको टेलिभिजन कार्यक्रमबाट प्रेरित भएर सपना पूरा गर्न न्युयोर्क गएका प्रबलले बनाएका पोसाक ओपराले पनि लगाएकी छन् । बलिउड अभिनेता शाहरूख खानका शब्दमा उनी शाहरूख खान भन्ने मान्छेका लागि काम गर्छन् । उनलाई आफैँलाई पनि विश्वास लाग्दैन रे आफू शाहरूख खान हुँ भनेर । यस्तै प्रतिक्रिया छ, प्रबलको आफ्नो सफलतालाई लिएर । भन्छन्, “प्रबल गुरुङ भन्ने कोही अरू पो हो कि जस्तो लाग्छ । विश्वास नै लाग्दैन ।” 

प्रबल आफ्नो सफलतालाई लिएर ‘क्लाउड नाइन’ मै रहन रुचाउँदैनन् । उनका अनुसार हरेक कुराको समय हुन्छ । सफलताको पनि समय हुन्छ । जसरी आयो, पछि त्यसरी नै जान्छ । मरेर जाँदा हामीसँग केही हुँदैन । जति शक्तिशाली र चर्चित भने पनि मर्दा सबैको हालत उस्तै हुने प्रबल ठान्छन् । यस्तै, सफलता पनि ठाउँअनुसार प्रतिकूल हुने उनको बुझाइ छ । भन्छन्, “ग्लोबल हिरो ब्राड पिट काठमाडाैँ आउँदा धेरैले चिन्लान् । तर नेपालका कुनाकाप्चामा जाँदा कसले चिन्ला ?” 

हुन पनि केही वर्ष अगाडि लियोनार्दो डि क्याप्रियो नेपाल आए, डब्लुडब्लुएफको बाघ संरक्षण कार्यक्रम लिएर । उनी सीधै चितवन गए । बाघका लागि चाहिने सामान पुर्‍याए । निकुञ्जका कर्मचारीले उनलाई खासै चिनेनन् । हाल हलिउडका अर्का चर्चित कलाकार एड्रियन ब्रोडी नेपालमा ट्रेकिङ गरिरहेका छन् । उनलाई चिन्ने दर्शक नेपालका गाउँठाउँमा खासै छैनन् । भन्छन्, “त्यसैले छाडेर जाने भनेको लिगेसी मात्रै हो । फेसन डिजाइन मेरो प्यासन थियो, यसले मलाई खुसी दियो तर जीवनको उद्देश्य भने बनेन ।” 

तस्बिरः indiawest.com


प्रबल शिक्षा फाउन्डेसन नेपाललाई आफ्नो जीवनको उद्देश्य ठान्छन् । ०६७ बाट गरिबीको रेखामुनि रहेका केही बालबालिकालाई नि:शुल्क शिक्षा दिइरहेको फाउन्डेसनमा हाल ३ सय बालबालिका छन् । प्रबलको आफ्नै फेसन लाइन छ, जसलाई प्रबल गुरुङ भनिन्छ । अन्य सिर्जनात्मक व्यक्तिजस्तै उनी चित्र, किताब, संगीत र आँखाले देखेका हरेक कुराबाट प्रभावित हुने गर्छन् । भन्छन्, “ममा सिर्जनात्मक सोच आइरहन्छन् । आएपछि तिनलाई संक्षिप्तमा कापीमै कोर्छु । अन्य स्टाफलाई त्यसमा काम गर्न लगाउँछु ।” 

अक्सर सिकारु फेसन डिजाइनरले सफल हुने टिप्स माग्दा रहेछन्, प्रबलसँग । थ्री इडियट्समा आमिर खानले भनेजस्तै उनी बताउँछन्, “सफलताको पछाडि दौडने होइन, आफ्नो काममा मोह राख्ने हो ।” 

कापीमा डिजाइन स्केच गर्नेदेखि डिजाइन प्रवर्द्धन र स्टेजमा मोडलले प्रस्तुत गर्दासम्म सबै क्षेत्रम प्रबल उत्तिकै घोटिन्छन् । उनका अनुसार आठ मिनेटको एउटा रनवे फेसन शो गर्न ६ महिना खटिनुपर्छ । बिहान ५ बजे उठेर दिनको सुरुआत गरेपछि रातीको खाना खाने समय टुंगो हुन्न । नेपालको छोरो प्रबल गुरुङ भाग्यले चर्चित बनेको होइन, मिहिनतले हो भन्ने आशय उनको छ । त्यसो हो भने उनी सही दिशामा छन् ।

प्रकाशित: मंसिर १८, २०७६

×