शून्यमा पलाएकी सन्तोषी

- पवन आचार्य

०६२ तिर स्वयम्भूस्थित गीतमाता स्कुलमा ६ कक्षामा पढ्ने बेला सन्तोषी श्रेष्ठ खेलकुदबाहेक अन्य सबै अतिरिक्त क्रियाकलापमा भाग लिन्थिन् । वादविवाद, कथा, कविता र निबन्ध प्रतियोगितामा उनका सहपाठी छेउसम्म पनि आउँदैनथे । तर उनलाई खेलकुदमा भने फिटिक्कै रुचि थिएन । 

साथीहरूले १५ सय मिटर दौडमा भाग लिऔँ भन्दा उनले नाक खुम्चाइन् । तर उनीहरूकै आग्रहलाई नकार्न नसकेर दौडिनेको सूचीमा उनको नाम पनि चढ्यो । पछि धेरैले नाम फिर्ता लिए । छुट्टै जुत्ता लगाएर दौडिनुपर्ने भएकाले नाम काट्ने वा फिर्ता लिनेको लर्को लाग्यो । दौडिने छात्राहरू कम भएपछि स्कुलले नयाँ नियम लगायो । जसले नाम फिर्ता लिन्छ, उसले २ सय रुपैयाँ जरिवाना तिर्छ । 

सन्तोषीसँग त्यतिबेला खल्तीमा ५ रुपैयाँ पनि हुन मुस्किल थियो । जेपर्ला पर्ला भनेर दौडिने निर्णयमा पुगिन्, उनी । बुबाले दसैँमा किनिदिएका चप्पल लगाएर उनले विष्णुमती किनारमा डेढ किलोमिटर दूरी पहिलो स्थानमा पूरा गरिन् । पहिलोचोटि दौडमा प्रथम हुँदा पनि उनलाई दौडिने पनि खेल हुन्छ भन्ने थाहा थिएन । 

यिनै सन्तोषीले आफ्नै आँगनमा भएको १३ औँ संस्करणको दक्षिण एसियाली खेलकुद सागमा कीर्तिमानी स्वर्ण जितेकी छन् । एथ्लेटिक्सको १० हजार मिटरमा उनले जितेको स्वर्ण छोटो दूरीमा नेपालले जितेको पहिलो स्वर्ण हो, महिलाको नाममा । यो विधामा कोलम्बो सागमा सन् २००६ मा कान्छीमाया कोजुले रजत पदक जितेकी थिइन् । त्यही बेला कान्छीमायाले निकालेको ३५ मिनेट ०३ दशमलव ४३ सेकेन्डको टाइमिङ अझै पनि राष्ट्रिय कीर्तिमानका रूपमा कायम छ । आठौँ राष्ट्रिय खेलकुदकी ५ हजार मिटर दौडकी विजेता सन्तोषीले नेपाली एथ्लेटिक्सको सात दशकको इतिहासमा महिलातर्फ पहिलो स्वर्ण दिलाएर राष्ट्रलाई ठूलै गुन लगाएकी छन् । 

१७ मंसिर बिहान दशरथ रंगशालाको ट्रयाकमा दौडिँदा सन्तोषीले सुरुबाटै अग्रता बनाएकी थिइन् । भारतीय खेलाडी कविता र उनीबीच तीव्र प्रतिस्पर्धा थियो । १० हजार मिटर पूरा गर्न रंगशालाको २५ फन्को मार्नुपथ्र्यो । अन्तिम ल्यापको ५० मिटर बाँकी हुँदा लेनको देब्रेपट्टि रहेकी सन्तोषी हठात् स्थान परिवर्तन गर्दै दाहिनेतिर आइन् । र, आफ्नो गतिलाई अघि बढाइन् । 

तस्बिरः केशव थापा

भारतीय खेलाडी कविता आफूले दौड पूरा गर्नेमा विश्वस्त थिइन् । तर सन्तोषीले फुटपावर यसरी बढाइन् कि कविताले जीतको खुसी मनाउँदै गर्दा उनलाई पछि छाडिन् । सन्तोषीको टाइमिङ ३५ मिनेट ०७ दशमलव ९४ सेकेन्ड रह्यो । कविताको टाइमिङ ३५ मिनेट ०७ दशमलव ९५ सेकेन्ड रहन गयो । खेलमा जीतको खुसीयाली मनाउन हतार गर्नुहुन्न भन्ने नमीठो पाठ कविताले सिकिरहँदा नेपालकी सन्तोषी भने अन्तिम समयसम्म पनि हार मान्नुहुन्न भन्नेमा अडिग रहिन् । आखिर जीत सन्तोषीकै आत्मविश्वासको भयो । 

हारपछि कविताले भनिन्, “अन्तिम समयसम्म म नै विजेता हुन्छुजस्तो लागेको थियो । अन्तिम ५० मिटरमा आउँदा त मेरो आत्मविश्वास पनि ह्वात्तै बढेको थियो । तर सन्तोषीले लेन परिवर्तन गरेपछि म आत्तिएँ । किन यस्तो गर्दै छिन् भनेर मैले सोच्न नभ्याउँदै उनले रेस पूरा गरिन् । म माइन्ड गेममा उनीसँग हार्न पुगेँ ।” 

प्रतियोगितामा दौडिनुअघि सन्तोषीले सेन्थिटिक ट्रयाकमा राम्ररी अभ्यास गर्न पनि पाएकी थिइनन् । विनाशकारी भूकम्पपछि पुन:निर्माण गरिएको दशरथ रंगशाला यही सागका लागि तयार पारिएको हो । तर उद्घाटनअघि खेलाडीको अभ्यासका लागि त्यो खुला थिएन । उनलाई पनि स्वर्ण जित्छु भन्ने कहीँ–कतै लागेको थिएन । भन्छिन्, “दौड सकिएपछि के म पहिलो भएँ त भन्ने जिज्ञासा र कुतूहल मनमा उब्जिरह्यो । आँखा खुला राखेर पनि कैयौँ पटक मैले स्वर्ण जितेको सपना देखेकी थिएँ । तर त्यही सपना साकार भएको क्षण म आफैँलाई विश्वास गर्न सक्ने अवस्थामा थिइनँ ।” 

२५ ल्यापसम्म लिड गरेर दौड पूरा गर्नु पनि अविस्मरणीय हो । यसअघि एउटै पनि औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग नलिएकी सन्तोषीसँग आमन्त्रण प्रतियोगिता खेलेको अनुभव छ । त्यस हिसाबले उनी शून्यबाट पलाएकी प्रतिभा हुन् । “सपना देख्न छाड्नु हुन्न रहेछ,” गलामा पहिरिएको स्वर्ण पदक सुमसुम्याउँदै भावुक मुद्रामा उनले भनिन्, “सपना नै देखिएन भने त्यसलाई पूरा गर्ने आत्मविश्वास पनि पलाउँदो रहेनछ ।” 

सन्तोषी परिस्थितिजन्य घटनाक्रमले डोर्‍याएर एथ्लेटिक्समा होमिएकी हुन् । धादिङको ज्वालामुखी गाउँपालिका सुनखानीमा जन्मिएकी उनी माओवादी सशस्त्र द्वन्द्व सुरु नभएको भए सायदै काठमाडौँ आउँथिन् । काठमाडौँ नआएको भए सायदै एथ्लेटिक्समा लाग्थिन् । र, एथ्लेटिक्समा नलागेको भए देशका लागि पदक जित्ने कुरा पनि हुन्थेन ।

ससाना बालबालिकालाई समेत जबर्जस्ती माओवादी सैनिकमा भर्ती गराउन थालेपछि आत्तिएका बुबा विष्णुकुमार श्रेष्ठले जेठा छोरा केदारलाई काठमाडौँमा एक भाइ र बहिनीको जिम्मा लगाए । गाउँमा हुँदा हजुरआमा उनलाई चरी भनेर बोलाउँथिन् । घर मास्तिरको पसलबाट केही सामान किन्न नातिनीलाई पठाउँदा उनी सन्तोषीलाई फुर्क्याउन त्यसो गर्थिन् । सन्तोषीलाई पनि आफू चराजत्तिकै छिटो लाग्थ्यो । दौडिएर गयो, सामान किन्यो अनि दौडिएरै आयो । यस्तो गर्दा सानैमा दौडिने बानी भयो । 

पछि काठमाडौँ आएपछि पनि धारामा पानी लिन र मट्टीतेलको लाइन छल्न उनी दौडिएर जाने गर्थिन् । दाइ केदार श्रेष्ठले पनि सामान किन्न उनलाई नै पठाउँथे । पढाइ र दौड मात्र होइन, जीवन जिउनलाई पनि उनले खुबै मिहिनेत गरिन् । बुबाले बिदामा आउँदा दिएको खर्चवर्चले नधान्दा र बारीमा रोपेको साग बढी हुँदा सडकमा पसल थापेर पनि यिनले खर्चको जोहो गर्थिन् । 

गीतामाता स्कुल खेलकुदका लागि चिनिएको थिएन । तर पनि अन्तिम समय विभिन्न प्रतियोगितामा भाग लिन निम्तो आउँदा पठाउने छात्रा एउटै हुन्थिन्, सन्तोषी । ७ कक्षामा पढ्दा रेडक्रसले आयोजना गरेको दौडका लागि उनी पनि छानिइन् । प्रतियोगितामा भाग लिने अघिल्लो दिन शिक्षकले भनेको उनी झलझली सम्झिन्छिन्, आजै साँझ स्वयम्भूको एक–दुई चक्कर लगाएर बस्नू । भोलि दौडिन सजिलो हुन्छ ।’

कसरी दौडिने ? दौड पनि विज्ञानभित्र पर्छ । यो पनि खेलकुदको विधा हो भन्ने नजानीकनै दौडिन सुरु गरेको पल सम्झिँदा सन्तोषीको खिरिलो ज्यानमा अहिले पनि छुट्टै फूर्ति र अनुहारमा चमक देखिन्छ । विभिन्न प्रतियोगितामा मध्यम दूरीमा स्कूललाई अनेकन पुरस्कार दिलाएपछि उनलाई छनोट खेलिरहने झन्झट भएन । एउटा मात्रै कोटा आए पनि सन्तोषी स्वत: सहभागी हुन्थिन् । धेरै कोटा आए मात्र अरूले मौका पाउँथे । यसै क्रममा उनले पहिलो राष्ट्रपति रनिङ सिल्डको पनि अनुभव बटुलिन् । 

एसएलसी सकाएर प्लस टु साइन्समा भर्ना हुने बेलासम्म पनि उनी नियमित दौडिरहेकी हुन्थिन् । विभिन्न प्रतियोगितामा फारम भर्ने कामचाहिँ दाजु केदार र उनका साथी लक्ष्मण मल्लले गरिदिन्थे । हुन त प्लस टु पढ्ने बेला यिनले ट्युसन पढाएर अतिरिक्त आम्दानी सुरु गरिसकेकी थिइन् । तर दाजु केदारले यिनको ट्युसन छुटाइदिए । ‘शिक्षक बन्ने भए पो ट्युसनलाई जारी राख्ने । लक्ष्य अर्कै छ भने किन यसमा समय खेर फाल्ने ?’ दाजुको यही कुराले उनको मन छोयो । त्यतिबेलासम्म भविष्यमा के बन्ने भन्ने योजना सन्तोषीको दिमागमा आइसकेको थिएन । दौडिने कामले चाहिँ निरन्तरता पाइरहेकै थियो । 

पब्लिक हेल्थमा स्नातक अध्ययन गर्ने बेला पनि यिनी फुर्सदमा दौडिरहेकै हुन्थिन् । मंगलबार कलेज बिदा हुँदा यिनी दौडिएरै धेरै परपरसम्म पुग्थिन् । अर्को साता सोही स्थानभन्दा पर पुग्नुपर्छ भनेर सन्तोषीले आफू दौडिएको स्थानमा चित्र कोरेर या अन्य चिनो छाड्ने गर्थिन् । 

यिनको भाग्य बदलिएको चाहिँ एडिडास रनपछि हो । कलेजमा प्रि–बोर्डको जाँच र एडिडास रन एकै दिन पर्‍यो । जाँच छाड्ने या दौड, दोधारमा थिइन् सन्तोषी । दुईमध्ये एक रोज्न निकै अप्ठेरो पर्‍यो, यिनलाई । तर पछि कलेजले यिनका लागि जाँच ३ घन्टा पर सार्‍यो । सो प्रतियोगितामा सन्तोषी तेस्रो भइन् । पहिलो स्थान कान्छीमाया कोजु र दोस्रोमा विश्वरूपा बुढा आइन् । अहिलेकी नामी अल्ट्रारनर मीरा राई सन्तोषीभन्दा पछि चौथो भइन् ।

एथ्लेटिक्सका पूर्वराष्ट्रिय प्रशिक्षक रघुराज वन्तको नजर सन्तोषीमा पर्‍यो । मध्यम दूरीको धावकमा हुनुपर्ने शारीरिक बनोट र मिहिनेत गर्ने सन्तोषीको बानीले वन्तलाई तान्यो । धेरै पटक उनले सन्तोषीलाई फोन सम्पर्क गरेर दौडिन प्रेरणा दिइरहे । सन्तोषी पढाइ छाड्ने पक्षमा थिइनन् । पढाइ सकिन दुई सेमेस्टर बाँकी हुँदा सन्तोषी प्रशिक्षण लिन राजी भइन् । तर वन्तले परिवार त्यसमा पनि बाआमाको मन्जुरीबिना उनलाई प्रशिक्षण नगराउने अड्डी लिए । त्यसपछि वन्तप्रति सन्तोषीको श्रद्धा झनै बढेर आयो । पछि तिनै गुरुको प्रशिक्षणमा आफूलाई समर्पित गरिन् । भन्छिन्, “यदि मैले रघु गुरुजस्तो प्रशिक्षक नपाएको भए आज यो अवस्थामा आइपुग्न हम्मेहम्मे पथ्र्यो होला । पछि थाहा भयो, उहाँ त नातामा मेरो हजुरबुबा पर्नु हुँदो रहेछ ।” 

 

स्वर्ण जित्नेहरू ।

प्रशिक्षक वन्त पनि सन्तोषीमार्फत आफ्नो सपना साकार पार्ने यत्नमा रहेछन् । आफ्नो जमानामा दौडमा भाग लिए पनि उल्लेख्य सफलता नपाएका वन्तले कान्छा छोरालाई छोटो दूरीमा दौडाउने प्रयास गरे । स्प्रिन्टमा राम्रो भए पनि उनका छोराले राष्ट्रिय प्रतियोगिता जितेनन् । सन्तोषीमा लुकेको अद्भुत प्रतिभा देखेपछि उनको सपनाले झन् ठूलो आकार लिएको रहेछ । त्यसैले त उनी आफ्ना चेलाचेलीलाई घरमै खाना पकाएर टिफिन बक्समा हालेर प्रशिक्षण स्थलमा खुवाउने गर्दा रहेछन् । भन्छन्, “आफ्नो पालामा दौडिएर पदक जित्न सकिएन । अब यिनीहरूले जितेको हेरेर खुसी हुन्छु ।”

१० हजार मिटर दौडमा स्वर्ण जिते पनि २० मंसिरको ५ हजार मिटर स्पर्धामा भने सन्तोषी चौथो भइन् । ५ हजार मिटरमा पनि सुरुबाटै अग्रता बनाएकी सन्तोषी अन्तिम २ ल्यापमा भने निकै पछाडि परिन् । ‘१० हजारमा दौडिने म एक्ली थिएँ । अन्य प्रतिस्पर्धी पावर रिजर्भ गरेर बसेका रहेछन् । मैले ट्याक्टिकल मिस्टेक गरेँ,” उनी भन्छिन्, “सुरुबाटै लिड गर्ने मनसाय नबोकेको भए सायद राष्ट्रलाई दोस्रो स्वर्ण दिलाउँथेँ होला । तर सोचेका र देखेका सबै सपना पूरा नहुने रहेछन् ।” 

१३ औँ सागको व्यवस्थापन फितलो र खेलाडीको मनोबल बढाउने काममा खर्च नगरिएको एवं खेल सामग्री समयमै नल्याइएको भन्दै आलोचना भइरहँदा पनि २६ वर्षीया सन्तोषी गुनासो गर्ने मुडमा छैनन् । “खेलाडीका लागि क्याम्प राखिएको छ, प्रशिक्षण गराइएको छ । १३ औँ साग घरमै आयोजना भएको छ । राज्यले केही दिएन भन्न मिल्दैन,” उनी थप्छिन्, “खेलकुदले केही पाएन भन्नुभन्दा अन्य क्षेत्रले के–कति पाएको छ ? त्यो हेर्नुपर्छ । अर्को देशसँग होइन, आफ्नै देशको अन्य क्षेत्रसित खेलकुदको तुलना गर्नुपर्छ ।”

आफूमा विश्वास गर्ने र अरूलाई पराजित गर्ने नभई आफैँलाई उछिन्ने प्रयास गरिए सफलता मिल्ने उनको तर्क छ । “अरूलाई हराउँछु भन्न थालियो भने त नकारात्मक भइन्छ । आफूले सकेको गर्ने हो । जित्नका लागि त ‘स्काई इज द लिमिट’ सोच राख्नुपर्छ,” उनले भनिन्, “मनमा सकारात्मक भावना आएन भने अन्तिम समय सही निर्णय लिन सकिन्न ।” 

हुन पनि १० हजार मिटरको अन्तिम ५० मिटरमा लेन परिवर्तन गर्ने र आफ्नो किक पावरमा विश्वास नगरेको भए उनले कीर्तिमानी स्वर्ण जित्ने थिइनन् । राष्ट्रले आफ्ना लागि १३ औँ साग आयोजना गरिदिएको ठान्ने सन्तोषी साँच्चै नामजस्तै सन्तोषी छन् । 

प्रकाशित: मंसिर २०, २०७६

×