लाइक, लभ र रिट्‍वीटको चक्करमा छटपटिएका हामी 

- गोकर्ण गौतम

केही समयअघि एक शिक्षित  वयस्क मनोविद् मधुविलाश खनालकहाँ पुगे । उनले ‘सामान्य’ भन्दै पोखेको समस्याको सार थियो, ‘मलाई फेसबुकमा फोटो हाल्न मन लाग्छ । फोटो खिच्छु, सम्पादन गर्छु, राम्रो क्याप्सन लेखेर पोस्ट गर्छु । तर सोचेजस्तो लाइक, कमेन्ट आउँदैन । मजस्तै साथीहरूको चाहिँ टन्नै आउँछ । त्यस्तो बेला मलाई तनाव र छटपटी हुन्छ । किन होला ?’

सामाजिक सञ्जालका कारण मानसिक उल्झनमा फसेकाहरूलाई खनालले रोजै परामर्श दिन्छन् तर ठ्याक्कै त्यस्तो पीडा कसैले व्यक्त गरेका थिएनन् । त्यसैले खनालले उनको फेसबुक हेरे, नयाँ–नयाँ पहिरनमा चाखलाग्दा कुरा लेखेर फोटो हाल्दा रहेछन्, हरेक कमेन्टमा रिप्लाइ गर्दा रहेछन् । निष्कर्ष निकाले, आम फेसबुक प्रयोगकर्ताझैँ उनलाई पनि लोकप्रिय हुने लत बसिसकेको रहेछ ।

“सोचेजस्तो लाइक आएन भने अलोकप्रिय भएँ, अरूले वास्ता गरेनन् भन्ने चिन्ता हुन्छ,” खनाल भन्छन्, “मान्छेले आफ्नो अस्तित्व र लोकप्रियताको मानक सामाजिक सञ्जाललाई मान्न थालेको छ । सबैलाई यहीँ र यसैमार्फत अरूको ध्यान खिच्नु परेको छ । जबकि यो पूरापूर भ्रम र नक्कली दुनियाँ हो ।” ‘डिजिटल एडिक्सन’ अर्थात् विद्युतीय दुव्र्यसनकै एउटा रूप हो, यो । 

धन्न ! ती व्यक्तिले समयमै समस्या पहिल्याए, परामर्श लिइहाले तर उनीजस्तै ‘भर्चुअल वल्र्ड’ मा अरूको ध्यान तान्न मरिहत्ते गर्ने र अपेक्षा पूरा नहुँदा भित्रभित्रै तड्पिने कति होलान् ? यो प्रश्न अरूप्रति तेस्र्याउनुभन्दा हरेक व्यक्तिले आफैँलाई सोध्न र मनन गर्नु आवश्यक छ । हाम्रा हरेक गतिविधि ‘एटेन्सन’ पाउने नियत र उद्देश्यबाट प्रेरित हुन थालेका छन् । झट्ट हेर्दा लाग्छ, लोकप्रिय हुने यो प्यास मेटाउन सामाजिक सञ्जाल प्रभावकारी बनेको छ तर होइन । खासमा यसले घाँटी अझ सुकाएको छ । मानवशास्त्री सञ्जीव पोखरेल भन्छन्, “एटेन्सन खोज्ने मान्छेको केन्द्रीय विशेषता हो । सामाजिक सञ्जालले थप बढावा दिएको छ । बिहानदेखि रातीसम्म अरूको ध्यान खिच्न लाइक, कमेन्ट, ट्वीट, रिट्युट, भ्युज बटुल्ने ध्याउन्न हुन्छ ।” 

फरक यत्ति हो, कोही जानेरै चर्चा खोजिरहेका हुन्छन्, कोही थाहै नपाई यो दलदलमा भासिन्छन् । अघिल्लो वर्ष गार्जियनले लेखेको थियो, ‘फेसबुक एक्लैले दैनिक १ अर्ब ४० करोड मान्छेको एटेन्सन फलाउँछ र बेच्छ,  जुन संसारको पाँचमध्ये एक हिस्सा हो ।’

पोखरेलका अनुसार मानव सभ्यताको सुरुआतबाटै ‘म’ लाई स्थापित गर्न खोजिएको देखिन्छ । जंगलबाट सिकार गरेर ल्याउँदा अरूलाई बोलाएर आफ्नो बहादुरी देखाउने, रूखको बोक्रा–ढुंगामा आफ्नो नाम खोपाउने, नयाँ ठाउँको नामकरण गर्दा भव्य महल, मठमन्दिर बनाउँदा वा अरूभन्दा केही विशेष काम गर्नासाथ आफूलाई अघि सारिहाल्ने गरिन्थ्यो । तर उबेला ‘एटेन्सन’ पाउने स्रोत सीमित थियो । 

धेरै पनि होइन, सामाजिक सञ्जालको उदय हुनुअगाडि पनि मान्छेलाई आफ्नो चर्चा गराउने सुविधा र पहुँच थिएन । शासक र सम्पन्नशालीले मात्रै आफ्नो अस्तित्व ठूलो समुदायसम्म स्थापित गर्न सक्थे । तर सामाजिक सञ्जालले हरेक व्यक्तिलाई समान हैसियत दियो । यो आफैँमा लोकतान्त्रिक पद्धति थियो । यसका यावत् फाइदा थिए/छन् तर दुर्भाग्य ! प्रयोगकर्ताको मोह ‘आत्मप्रचार’ मा केन्द्रित हुन थाल्यो । मानवशास्त्री पोखरेलकै शब्दमा सामाजिक सञ्जालका हरेक गतिविधि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ‘एटेन्सन’ पाउनकै खातिर हुन्छन् । जसरी हुन्छ, अरूमाझ आफू ‘नोटिस’ हुनुपर्‍यो । बस् ।

आधारभूत आवश्यकता !

मानवीय जीवनका नभई नहुने आवश्यकता के–के हुन् ? जवाफ साझा हुन्छ– गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्य । विज्ञहरू भन्छन्, मान्छेले हेक्का नराखेको वा नस्वीकारेको वास्तविकता के हो भने ‘एटेन्सन’ पनि यस्तै खाँचो पर्छ । मान्छेलाई खानेकुराको जत्ति खोजी हुन्छ, चर्चा कमाउने लालसा पनि उत्तिकै हुन्छ । मुखले फ्याट्टै व्यक्त नगरे पनि दिमागमा सधैँ अरूको ध्यान जित्ने लोभले राज गरिरहेको हुन्छ । कतिपय त फेसबुकतिर ठाडै लेखिदिन्छन्, ‘लाइक गर्न पैसा तिर्नु पर्दैन, किन कन्जुस्याइँ गर्नुहुन्छ ?,’ ‘यो फोटोलाई यति जनाले लाइक गर्नुस् कि नयाँ रेकर्ड बनोस् । तपाईँको टएक लाइकको प्रतीक्षामा...’ आदि–आदि । 

यसरी मागिएको र देखावटी प्रेमले जीवनमा कत्ति पनि फाइदा हुँदैन भन्ने जान्दाजान्दै किन मरिहत्ते गरिन्छ ? वरिष्ठ मनोचिकित्सक कपिलदेव उपाध्यायसँग यसको उत्तर छ, “मान्छेलाई निन्दा र आलोचना मन पर्दैन, चाहे त्यो वस्तुगत किन नहोस् । प्रशंसा मात्र खोज्छ । त्यो स्वाभाविक रूपमा पाएन भने घुक्र्याएर, धम्काएर र याचनामार्फत पूरा गर्न खोज्छ ।” त्यस्ता प्रवृत्ति हुनेका लागि सामाजिक सञ्जाल ‘वरदान’ बनेको छ किनभने एकैपल्ट हजारौँमाझ आफ्नो उपस्थिति जनाउन सम्भव हुन्छ । उपाध्यायका अनुसार हरेक व्यक्तिमा गुण र अवगुण दुई पाटा हुन्छन् तर सबैले आफूमा गुणै–गुण देख्छन्, अवगुणजति अरूमा । यसरी आफूलाई राम्रो छु भनेर पुष्टि गर्न प्रशंसा, चर्चा र अरूको ध्यान तान्ने लहड हुन्छ । उपाध्याय भन्छन्, “आत्मरतिको चरम रूप हो, यो ।”

नेपालमा ‘एटेन्सन’ खोज्ने प्रवृत्तिबारे अध्ययन भएको पाइन्न । राज्य वा सरोकारवाला निकायले पनि गम्भीर ढंगले लिएको देखिँदैन । विकसित मुलुकमा भने यसलाई मानव जीवनको गम्भीर चुनौतीका रूपमा स्वीकार्दै अध्ययन भएका छन्, जसले हामीलाई पनि ‘एटेन्सन’ को महामारी आकलन गर्न सघाउ पुग्छ । बेलायतमा गरिएको एक अनुसन्धानको निष्कर्ष छ, ‘जसलाई अरूमाझ आफ्नो महत्त्व छैन भन्ने लाग्छ, उनीहरू धूमपान वा मोटोपना भएकाहरूले भोग्नेभन्दा डरलाग्दो स्वास्थ्य समस्याबाट ग्रसित हुन्छन् ।’ 

वयस्कमाझ गरिएको अर्को एक अध्ययनले कार्यस्थलमा शारीरिक दुव्र्यवहारभन्दा अरूले चासो नदिएको चिन्ताले ज्यादा मनोवैज्ञानिक तनाव हुन्छ । ‘सामाजिक प्राणीको अस्तित्वका लागि अरूको ध्यान तान्नु एकदमै मूल्यवान स्रोत हो,’ टोरन्टो विश्वविद्यालयका मनोविज्ञ जिओफ म्याकडोनाल्ड भन्छन्, ‘यो साँच्चै मृत्यु र जीवनको कुरा हो । अरूको नजिक हुँदा राम्रो नमान्ने अथवा छुट्टिँदा नराम्रो नमान्नेहरूसँग अर्को पुस्तालाई वंशाणुगत गुण हस्तान्तरणका लागि केही कुरा गर्नसमेत उत्प्रेरणा हुँदैन ।’ यही कारण भनिएको हुनुपर्छ, आयतन र शैली फरक होला तर अरूको ध्यान तान्ने मोहबाट सायदै कोही मुक्त छन् ।

“एटेन्सन” का अनेक रूप

कतिपय मान्छे ठान्छन्, फेसबुकमा प्राय: किशोर–किशोरी सक्रिय हुन्छन् । त्यसैले उनीहरूमै चर्चाको भोक हुन्छ र अनेक हत्कन्डा गर्छन् । तर तथ्यहरूले देखाउँछन् कि सामाजिक सञ्जालमा सक्रिय हरेक उमेर समूह, पेसा–व्यवसायका मानिस आत्मरतिमा रमाउँछन् । रूप फरक होला, सार उही छ । समाज अध्येता उज्ज्वल प्रसाई भन्छन्, “घुर्की, धम्की, रोदन, कुन्ठा, इष्र्या, आक्रोश, चाकडी जेजति फेसबुक–ट्वीटरमा व्यक्त हुन्छन्, तिनको प्रधान उद्देश्य एटेन्सन कमाउने हुन्छ ।” 

कोही चाकडी गरेर शक्तिशाली र सम्पन्नको प्यारो हुन खोज्छन्, कोही आक्रोश पोखेर विरोधी खेमासँग । सम्बन्धमा हल्का चिसोपना आउँदा होस् वा सामान्य उत्सव मनाउँदा फेसबुकमा लेखिहाल्नुपर्छ । नितान्त व्यक्तिगत भोगाइ सार्वजनिक गर्नुको फाइदा के ? ‘एटेन्सन’ कमाउने होडकै कारण हाम्रा मानवीय संवेदना र सम्बन्ध पुन: परिभाषित भएको बुझाइ छ, प्रसाईको । जसमा नकारात्मकता ज्यादा छ, प्राकृतिक नभई देखावटी सामीप्यले अर्थ राख्न थालेको छ । 

उदाहरणका लागि, पतिपत्नी सँगै बस्छन्, सम्बन्ध सुमधुर छ, जन्मदिनजस्ता उत्सव सँगै मनाउँछन् । तर यत्तिले मात्र पुग्दैन, उनीहरूले फेसबुकमा फोटो अपलोड गरेनन् भने समाजले अनेक शंका–उपशंका गर्न थालिहाल्छ । त्यसपछि मन छैन भने पनि बाध्य भएर फोटो हाल्नैपर्छ । मनोविद् खनाल भन्छन्, “हाम्रो सामाजिक व्यवहारले कहिलेकाहीँ ‘एटेन्सन’ खोज्न बाध्य बनाइदिन्छ । त्यसैले नचाहेरै फेसबुक चलाउन सुरु गर्नेसमेत बिस्तारै लोकप्रिय हुने कुलतमा फस्छन् ।” अरू त अरू, आफ्नै आँसु र पीडाको प्रचार गरेर भए पनि अरूलाई आकर्षित गर्न खोजिन्छ । 

नेपालमा फाट्टफुट्ट युट्युब चलाउनेले पनि ‘अघोरी बाबा’ को अन्तर्वार्ता छुटाएका हुँदैनन् । जो सम्पूर्ण मायामोह, लोभ, क्रोध त्यागेर जोगी बनेको छ, उसैलाई चर्चा चाहिएको छ, युट्युब च्यानलमा अन्तर्वार्ता दिन भ्याई–नभ्याई हुन्छ । अर्को डरलाग्दो उदाहरण, अघिल्लो वर्ष चितवनका एक युवकले फेसबुकमा लाइभ आत्महत्या गरे, त्यो पनि दुई घन्टाअगाडि ‘आत्महत्या गर्दै छु’ भन्ने आशयको स्ट्याटस लेखेर । २५ वर्षीय निश्चल तामाङले मदिरा पिउँदै क्यामेरा अगाडि राखेर मध्यरातमा आफ्नो जीवन समाप्त पारे । 

मनोविद्हरूका अनुसार मर्ने निर्णय गरिसक्दा पनि अरूको ध्यान तान्ने चाह हुने उदाहरण हो, यो । बिसन्चो हुँदा फेसबुकमा लेखेर ‘गेट वेल सुन’ पाउन लालायित हुने मात्र होइन, दुर्घटनामा पर्दा आफ्नै वीभत्स फोटो पोस्ट गरेर अरूको नजर आफूतिर तान्ने प्रवृत्ति सामान्य भइसक्यो । मनोविद् खनाल भन्छन्, “आफ्नो बच्चा रोएको भिडियो फेसबुकमा हाल्ने अनि लाइक र भ्युज देखेर बच्चा हिट भयो भनेर दंग पर्ने अभिभावकसमेत छन् । तर त्यसले बच्चामा कति मनोवैज्ञानिक असर पर्छ, हेक्कै हुँदैन । चर्चाको लोभमा बच्चालाई दिइएको यातना हो, त्यो ।” 

केही महिनाअगाडि क्षेत्रीय श्रम कार्यालय, विराटनगरका प्रमुख प्रेम सञ्जेलको भिडियो फेसबुकमा भाइरल भयो । भ्रष्टाचारविरोधी भनेर चिनिएका यी उपसचिवले आफ्नो कार्यकक्षामा सेवाग्राहीलाई ‘स्याल’, ‘थुक्क’, ‘तँ’ भन्छन् । अरू फोहोरी शब्द बोल्छन्, हप्कीदप्की गर्छन् । क्यामेरासामु नियोजित रूपमा यसो गरेको प्रस्टै देखिन्छ । नागरिकको करबाट सेवा–सुविधा लिइरहेका सरकारी अधिकारीको यस्तो व्यवहार पूर्णत: आपत्तिजनक छ । तर यही भिडियो ‘सरकारी कर्मचारी भनेको यस्तो हुनुपर्छ’ शीर्षकमा अपलोड गरियो, हजारौँ लाइक र कमेन्ट पायो । यसबाट ‘एटेन्सन’ कै लागि उपल्ला तहका व्यक्तिले गर्ने हर्कत र त्यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हुने प्रशंसासहितको अनुमोदनको वास्तविकता झल्किन्छ ।

“सोसल मिडियामा तार्किक बहस र व्यवहारभन्दा आवेगपूर्ण अभिव्यक्तिले छिट्टै चर्चा पाउँछ,” लेखक अर्चना थापा भन्छिन्, “बलात्कारीको लिंग काट्नुपर्छ भने छिनमै सयौँ लाइक, कमेन्ट र सेयर हुन्छ । तर कोही किन बलात्कारी हुन्छ, त्यसको अध्ययन गरेर कारण पहिल्याउनुपर्छ भन्यो भने वास्तै हुन्न ।” यसो हुँदा तथ्यपरक संवाद गर्नेहरू पनि बिकाउ अभिव्यक्तिमा रमाउने खतरा देख्छिन्, थापा । थप्छिन्, “कतिपयको नियत नै जसरीतसरी अरूप्रति ‘नोटिस’ हुने हुन्छ, त्यसका लागि जे पनि बोल्छन्, गर्छन् । त्यसलाई फिल्टर गर्न प्रयोगकर्ता नै सचेत हुनुपर्छ ।” तर हालसम्मको प्रवृत्ति नियाल्ने हो भने फेक र उत्तेजक कन्टेन्ट नै भाइरल हुन्छन् । धेरैलाई त्यही भ्युज र कमेन्टले ‘म छु’ भन्ने भ्रम दिइरहेको हुन्छ ।

आवरणमा मुस्कान, भित्र बेचैनी

द्विविधा रहेन कि सामाजिक सञ्जालका अधिकतम क्रियाकलाप ‘एटेन्सन’ आर्जन गर्ने खातिर हुन्छन् । दुई–चार दिन सञ्जालमा निस्क्रिय हुँदा आफू हराइएला भन्ने भय हुन्छ । त्यसो हो भने सञ्जालले दिने चर्चाले हामीलाई खुसी बनाएको छ त ? विज्ञहरूको एउटै जवाफ हुन्छ, खुसी होइन, झन् तनाव दिएको छ र मानसिक रूपमा अस्थिर र विचलित गरेको छ । कारण हो, चर्चा जति भए पनि पुग्दैन, लालसा बढ्दै जान्छ । कहिलेकाहीँ घट्छ, त्यसो हुँदा व्यक्तिको दैनिकी र पारिवारिक सम्बन्धमै संकट निम्ताइदिन्छ, निराशाका स्रोत बढाइदिन्छ । मनोविद् खनाल भन्छन्, “नाम सामाजिक सञ्जाल भए पनि यसले व्यक्ति स्वयं र व्यक्ति–व्यक्तिमा विग्रह ल्याएको छ, सम्बन्धहरूलाई कृत्रिम बनाएको छ ।”

अस्पतालको बेडमा सुतेको फोटो हाल्दा सयौँले स्वास्थ्यलाभको कामना गर्छन्, भलै बेडमा एक्लै किन हुनु नपरोस्, तैपनि बिरामीले त्यही फेसबुकको भ्रमपूर्ण प्रेममै आनन्द लिन्छ । वास्तविकताभन्दा इन्टरनेटले निर्माण गरेको समाज र सम्बन्धप्रति मग्न हुनु घातक मान्छन्, विज्ञहरू । हातमा मोबाइल चलाइन्जेल त मान्छेले असली दुनियाँ भुल्छन् नै, नचलाउँदा पनि त्यसको धङधङीबाट बाहिर निस्कन सक्दैनन् । यसलाई पुष्टि गर्छिन्, मनोविद् नन्दिता शर्मा । केही समयअघि शर्माले नेपालसँग भनेकी थिइन्, “फेसबुकमा दैनिक तीनभन्दा धेरै व्यक्तिगत फोटो अपलोड गर्नेलाई मानसिक समस्या हुन सक्छ ।” 

त्यसको कारण छ । पहिले फोटो खिच्नुपर्‍यो, सबै हाल्न मिलेन, त्यसमध्ये राम्रो छान्नुपर्‍यो, त्यसलाई सम्पादन गर्नुपर्‍यो, त्यत्तिकै हाल्नुभएन, रोचक क्याप्सन चाहियो । बल्लतल्ल फोटो पोस्ट हुन्छ, त्यसपछि छिनछिनमा कसले लाइक गर्‍यो, के–के कमेन्ट गर्‍यो, चासो हुन्छ । मोबाइल पर राख्दा पनि कति लाइक र कमेन्ट आयो, कसैले नराम्रो पो लेख्यो कि भन्ने चिन्ताले सताउन थाल्छ । हिजोआज त लाइक मात्र आएर भएन, लभ, वाउ रियाक्ट पनि चाहिन थालेको छ । शर्माले भनेकी थिइन्, “हेर्नुस् त, एउटा फोटो हाल्दा कति कुरा दिमागमा खेलिरहेको हुन्छ ? तर फोटो जति मन पराइए पनि आत्मरतिबाहेक पाउनु त केही छैन । यो बोध नभइन्जेल मानिस शान्त हुनै सक्दैन ।” अझ आफूलाई असाध्यै मन परेको पोस्ट हिट भएन भने त तनावको ग्राफ उकालो लाग्छ ।

मनोचिकित्सक उपाध्यायका अनुसार प्रशंसा मात्र चाहने र अरूसँग तुलना गर्ने बानीले व्यक्तिलाई अस्थिर बनाउँछ । सुखमा मात्तिने र दु:खमा आत्तिने प्रवृत्ति विकास हुन्छ । खाने, घुम्ने, नयाँ कपडा लगाउने, उत्सव मनाउनेजस्ता हरेक गतिविधि फेसबुकउन्मुख हुन्छ । प्राकृतिक खुसीभन्दा ‘भर्चुअल इन्गेजमेन्ट’ प्यारो हुन्छ । उपाध्याय भन्छन्, “अरूको आफूप्रतिको वास्ता, चासो वा देखावटी प्रेमले खुसीको मापन गर्न थाल्यो भने त्यसको परिणाम दर्दनाक हुन्छ । हामी त्यतैतिर अग्रसर हुँदै छौँ ।” 

भनिहालियो, जानेबुझेकै मान्छेसमेत हिट हुने चक्करमा साखलाई धूमिल पार्दै छन् । आफ्नो बोलीले समाजमा प्रभाव पर्न छाडेको उनीहरूलाई हेक्कै हुँदैन । प्राध्यापक सुरेन्द्र केसीलाई यस्तै आरोप लाग्ने गर्छ । युट्युबमा उनका आक्रोशपूर्ण शब्द र हाउभाउसहितका सयौँ अन्तर्वार्ता भेटिन्छन् । तर चर्चाका लागि नभई सामाजिक भावनाबाट प्रेरित भएर आफ्नो भनाइ राख्ने गरेको केसीको जिकिर छ । भन्छन्, “मूलधारका मिडियाले निषेध गर्‍यो । ममाथिको यो अन्याय समाजले हेरिरहेको थियो । त्यसैले सामाजिक सञ्जालले स्थान दिएको छ ।” पहिले दिनको आठ वटासम्म अन्तर्वार्ता दिएको तर ‘सस्तो भइन्छ’ भनेर केही समययता तीन वटामा झारेको गर्वसाथ सुनाउँछन् । अनर्गल प्रचार नगरेको दाबी गर्दै भन्छन्, “नेता र मिडियाले मलाई दुव्र्यवहार गरेकाले ममा कुन्ठा होला तर भाइरल हुने लालसा छैन । प्रोफेसर भइसकेको मान्छेलाई एन्टेसनको लोभ हुन्छ र ?”

चाहे बिकाउ र उत्तेजक अभिव्यक्ति दिएर होस्, आफ्नो दु:ख र रोदन बिसाएर । चाहे आफ्नो तस्बिर हालेको हाल्यै गरेर होस् वा कसैको गालीबेइजती गरेर । कुन्ठा पोखेर होस् वा प्रेम । सामाजिक सञ्जालमार्फत चर्चामा रहिराख्ने ध्येयले ग्रसित बनाइरहेको छ । बेवास्ता गर्नै नसकिने तीतो सत्य हो, यो । दु:खलाग्दो कुराचाहिँ यो प्रवृत्तिलाई केलाउने र सही मार्गतिर अगाडि बढ्ने संकेत देखिन्न । तर यसका बहुआयामिक असरले हामीलाई गाँज्न थालेको छ । अध्येता प्रसाई भन्छन्, “एकोहोरो एटेन्सन खोज्ने प्रवृत्तिले जे बिक्छ, त्यही बोल्नेहरूको जमात बढ्छ । वस्तुपरक बहस हुन्न । विश्लेष्णात्मक र सूचित संवादले कम महत्त्व पाउँछ ।” उता मनोविद् खनालचाहिँ यसो भन्छन्, “भनेजति चर्चा नपाएपछि मान्छेले अनेक हत्कन्डा अपनाउँछ तर त्यसरी पनि सधैँ चर्चा पाउँदैन । महत्त्वाकांक्षा र उपलब्धिको सन्तुलन नमिलेपछि डिप्रेसन सुरु हुन्छ । धेरै प्रयोगकर्ता अहिल्यै डिप्रेसनको सिकार भइसकेका छन्, भलै उनीहरू स्वयंलाई यसको हेक्का छैन ।” 

अरूको ध्यान आफूतिर तान्ने होडमा हामीले आफैँलाई मासिरहेका त छैनौँ ? 



टिकटक झन् भयावह

टिकटकबारे ज्यादै चर्चा भएपछि मानवशास्त्री सञ्जीव पोखरेलले तीन साताअगाडि टिकटक खाता खोले । प्रयोगकर्तालाई नियालेपछि पोखरेल थप चिन्तित भएछन् । कतिपय त दैनिक १५ वटा भिडियो हाल्दा रहेछन् । सामान्य युवतीदेखि सेलिब्रिटीसम्म पर्छन्, यसमा । लाइक, सेयर र फलो माग्छन् । पोखरेल भन्छन्, “अरूले आफूलाई हेरिदिऊन् भन्नेबाहेक अर्को ध्याउन्न र फाइदा हुँदो रहेनछ ।”

टिकटक भिडियो १५ सेकेन्डको हुन्छ । एउटा बनाउन औसत आधा घन्टा लाग्छ । अरू ‘इफेक्ट्स’ राख्ने हो भने तीन–चार घन्टा नै लाग्छ । दिनमा चार–पाँच टिकटक बनाउनेको समय कति खर्च होला ? हरेक भिडियोमा नयाँ कपडा र ठाउँ जुटाउने रन्को अर्कै हुन्छ । भ्युज धेरै भएन भने अनेक चर्तिकला गर्छन् । केटाहरू केटीको कपडा, मेकअप लगाएर केटीझैँ स्वर निकाल्छन् भने केटीहरू केटाको । 

कतिपय युवती कामुक शैलीमा प्रस्तुत हुन्छन्, ‘क्लिभेज’ देखाउँछन् । भल्गर शब्द प्रयोग गर्न केटाहरू अगाडि हुन्छन् । उद्देश्य अर्को हुन्न, अरूले हेरिदियोस् भन्नेबाहेक । “कतिपय साथीहरू टिकटकलाई जीवन नै ठान्छन् । भ्युज कम आयो भने गुनासो पोख्छन्, तनाव लिन्छन्,” कहिलेकाहीँ टिकटक भिडियो बनाउने सञ्चारकर्मी वर्षा बस्नेत भन्छिन्, “यही कारण कतिपय त थाहै नपाई डिप्रेसनतिर फस्छन् । जबकि जति नै भ्युज आए पनि फाइदा केही हुने होइन ।” नेपालमा वर्षा राउत, प्रियंका कार्की, कुञ्जना घिमिरेजस्ता सेलिब्रिटी टिकटकमा सक्रिय छन् ।



सेलिब्रिटीमा आत्मरति

केही समयअगाडि गायक प्रमोद खरेलले दुई महिला र एउटा सानो बच्चासँगको सेल्फी खिचेर ट्वीट गरे, ‘एयरपोर्टमा पछिपछि हस्याङफस्याङ गरेर उहाँ आउनुभयो र भन्नुभयो, मेरो छोरो आमाले ल्याउँदै हुनुहुन्छ, म तपाईंलाई भेट्न दौडेकी, मेरो दुई महिने बाबु तपाईंको गीत सुनेर रुन बन्द गर्छ । प्लिज, एउटा फोटो खिचिदिनू न । म नि:शब्द भएँ । उहाँको फोन ह्याङ भयो, मैले नै सेल्फी खिचेँ र भनेँ ट्वीटमा राख्छु नि ल ?’

खरेलको यो ट्वीट ‘भाइरल’ भयो र सस्तो ढंगले आफ्नो प्रचार गरेको भन्दै आलोचना खेप्नुपर्‍यो । हुन पनि उनको लेखनशैली र प्रस्तुतिबाट पूरापूर आत्मरति नै झल्कन्थ्यो । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीले नयाँ उपन्यास सखीका एक पाठकले हातमा किताब र आँखामा आँसु भरिएको फोटो पोस्ट गरे । त्यसलाई सेयर गर्दै जोशीले लेखे, ‘मान्छे रुवाउनुलाई पापै मानिन्छ...तर म यति बैगुनी कसरी भएँ, यी रुँदा पनि खुसी नै लागिरहेको छ ।’ यसलाई जोशीको सस्तो लोकप्रियता र आत्मप्रशंसा आर्जन गर्ने शैलीका रूपमा अथ्र्याइनु सामान्य भइहाल्यो । 

मनोरञ्जनको दुनियाँमा एउटा भनाइ खुब जपिन्छ, ‘नाम होस्, बदनाम होस्, गुमनाम नहोस् ।’ यसको आशय हो, जसरी हुन्छ, चर्चामै रहनु, ओझेल पर्दै–नपर्नु । यसलाई खासगरी कलाकारले शिरोधार्य गरिरहेका हुन्छन् । फिल्म रिलिज हुने बेला हिरो–हिरोइनको अफेयरको हल्ला चलाइन्छ, कहिले झगडा परेझैँ गरिन्छ । विवादमा छाइरहने अभिनेता/निर्माता दीपकराज गिरी भन्छन्, “हामीतिर मान्छेको ध्यान छैन कि हरायौँ कि भन्ने सोच दिमागमा भइराख्छ । त्यसैले कहिलेकाहीँ योजनाबद्ध ढंगले लफडा गरेर भए पनि चर्चामा बसिरहनु पर्छ ।” ‘शो–वीज’ का लागि यस्तो रवैया बाध्यकारी भएको उनी बताउँछन् । तर मनोविद्हरू नियोजित चर्चा र त्यसको लालसाले भित्री रूपमा कमजोर बनाउने दाबी गर्छन् । बाहिरबाट चमकधमक हुन्छ, भित्रचाहिँ अन्धकार र बेचैनी । मनोविद् मधुविलास खनाल भन्छन्, “लोकप्रियताको एकोहोरो लहडले प्राय: सेलिब्रिटीलाई मानसिक रोगी बनाइदिन्छ ।”


सम्बन्धित सामग्री


प्रकाशित: मंसिर २३, २०७६

×