महिला फुटबलमा भारत तगारो 

- पवन आचार्य

भारतको तगारो पन्छाउन नसक्दा साग अन्तर्गत महिला फुटबलमा नेपाल फेरि रजत पदकमा सीमित भएको छ । पोखरा रंगशालामा सोमबार भएको स्वर्ण स्पर्धामा नेपाल भारतसँग २–० ले पराजित भयो । यसअघि  अघिल्लो संस्करणमा पनि भारतसँगै पराजित भएर नेपालले रजत पदकमा चित्त बुझाएको थियो । 

नेपालले सुरुबाटै आक्रामक खेल पस्किएको थियो । फाइनलअघिको खेलमा पनि भारतसँग १–० ले पराजित भएको नेपाली टोली पहिले गोल गर्ने रणनीतिका साथ मैदान ओर्लिएको थियो । सावित्रा भण्डारीले १६ औं मिनेटमा पेनाल्टी बक्स नजिकैबाट गरेको प्रहार भारतीय डिफेन्डरले रोकिदिएपछि नेपाल अग्रता लिनबाट बञ्चित भएको थियो । 

तर, पहिलो हाफको १८ औं मिनेटमा भारतले अग्रता लियो । नेपाली डिफेन्डर र गोलरक्षकबीचको आपसी समन्वयको फाइदा उठाउँदै बालादेवीले भारतलाई अग्रता दिलाइन् । त्यसपछि पनि नेपालले आक्रमण जारी राख्यो तर सफल हुन सकेन । पहिलो हाफको अन्त्यतिर भारतीय खेलाडी ग्रेसले गरेको प्रहार पोस्टभन्दा केही परबाट बाहिरिएको थियो । गोलरक्षक एन्जिला तुम्बापो बिट भइसकेको अवस्थामा खाली पोस्टमा ग्रेस गोल गर्नबाट चुकेकी थिइन् । 

पहिलो हाफमा १–० ले पछि परेको नेपालका लागि दोस्रो हाफको सुरुमै गोलको अवसर सिर्जना भएको थियो । तर, सावित्राको प्रहार भारतीय गोलरक्षक अदितिले बचाइन् । सावित्राले ३ जना डिफेन्डरलाई छलाएर बललाई गोलपोस्टको दिशा दिने प्रयास गरेकी थिइन् । त्यस लगत्तै भारतकी देवीबालाले व्यक्तिगत दोस्रो गोल गरिन् र अग्रता दोब्बर पारिन् । त्यसपछि कुनै गोल भएन र खेल भारतले २–० ले जित्यो । 

प्रशिक्षक हरि खड्काको राजीनामा 

टोलीलाई सागमा स्वर्ण दिलाउनबाट चुके लगत्तै मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् । खड्काले हारको सबै जिम्मेवारी आफुले लिने र प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन् ।

खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो । उनलाई एन्फाले गत वर्ष महिला फुटबलको प्रमुख नियुक्त गरेको थियो । नेपाली टोलीका पूर्वकप्तान समेत रहेका खड्काको प्रशिक्षणमा नेपाली महिला टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो । 

केहीअघि विराटनगरमा सम्पन्न साफ च्याम्पियनसिप महिला फुटबलको फाइनलमा पराजित भएपछि खड्काले त्यसको बदला साग गेम्समा लिने बताउँदै आएका थिए । तर, यसपटक पनि सो सपना पूरा हुन पाएन । 

कप्तानको पनि सन्न्यास 

महिला राष्ट्रिय फुटबल टोली कप्तान निरु थापा र मनमाया लिम्बुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्याको घोषणा गरेका छन् । निरु फरवार्ड र मनमाया डिफेन्स हुन् । निरुले सागमा टोलीलाई स्वर्ण पदक दिलाएर सन्यास लिने चाहना रहेको बताउँदै आएकी थिइन् । टोलीमा नयाँ र युवा खेलाडीको बहुलता बढेपछि ढल्कँदो उमेरका यी दुई खेलाडीमाथि दबाब बढेको थियो । आफ्नो सन्न्यास घोषणालाई ऐतिहासिक बनाउने योजना बनाएका यी दुई महिला फुटबलरको योजनाले मूर्त रुप लिन सकेन । 


सम्बन्धित सामग्रीहरू


प्रकाशित: मंसिर २३, २०७६

×