‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ !’

- पवन आचार्य

बेलायतमा बस्ने छोरी गरिमा र ज्वाइँ पारस सिंहलाई भेट्न ससुरा लोकभक्त राणा र सासू कविता राणा बेलाबेला उता गइराख्थे । चिसो बिहान पनि सबेरै कलिली नातिनी गौरिकालाई उठाएर स्विमिङ खेल्न छोरीले लैजाँदा हजुरआमाको मन साह्रै कुँडिन्थ्यो ।

स्विमिङ पुलको पानी र क्लोरिनले गर्दा गौरिकालाई एक्जिमा भयो । शरीरका छालामा कडा फोकाजस्तो देखिन थाल्यो । नातिनीको अवस्था देखेर हजुरआमा कविताले एक रात भनिन्, ‘तिमीलाई स्विमिङ खेल्न मन छैन भने मलाई भन । म तिम्रो बुबाआमालाई सम्झाउँछु । यसरी आफैँलाई गाह्रो हुने काम नगर ।’

तर नातिनी गौरिकाले स्विमिङ खेल्न मन लाग्ने र परिवारको करले मात्रै नभएर आफैँ यसमा लागेको बताएपछि हजुरआमाको आँखा रसायो । त्यतिबेला नातिनीको मायाले रसाएको कविताको आँखा यसपटक भने दक्षिण एसियाली खेलकुद सागको एकै संस्करणमा ४ स्वर्ण जित्ने कीर्तिमान आफ्नै आँखाअगाडि बनेपछि झन् बढी रसायो । 

सागको १३ औँ संस्करण नेपालमा आयोजना हुने भएपछि गौरिका थप हौसिएकी थिइन् । अघिल्लो संस्करणमा रजत पदकमा अड्किएको स्वर्णिम सपनालाई आफ्नै घरमा हुने प्रतियोगितामा पूरा गर्न उनी चाहन्थिन् । तर नेपालमै केही यस्ता व्यक्ति पनि थिए, जो गौरिकाले प्रतियोगितामा भाग लिएकामा भन्दा नलिएकामा खुसी हुन्थे । आफ्नो देशका लागि स्वर्ण जित्ने गौरिकाको सपनाको अघि कसैको केही चलेन । अन्तत: उनले प्रतियोगितामा भाग मात्र लिइनन्, कीर्तिमानको ओइरो नै लगाइन् ।

भन्छिन्,“नेपालमा प्रशिक्षण गरेर स्वर्ण ल्याउन गाह्रो हुन्छ । खर्च पनि धेरै हुन्छ । तर मेरो बाआमाले लगानी गरेर विश्वस्तरीय प्रशिक्षण उपलब्ध गराएर देशका लागि मेडल ल्याउँछु भन्दा किन अरूको चित्त दुख्छ, म बुझ्दिनँ।”

सागअघि बेलायतमै प्रशिक्षणरत हुँदा उनको बायाँ काँधमा चोट लाग्यो । त्यही चोटले सागको प्रदर्शनमा असर गर्ने हो कि भन्नेमा उनीभन्दा आमा गरिमा बढी चिन्तित थिइन् । फिजियोथेरापिस्टकहाँ लैजाने र उपचार गराउने काममा गरिमा नै सक्रिय भइन् । काठमाडौँ ओर्लिएपछि हजुरबुवा र हजुरआमाले पनि दैनिक मालिस गरिदिए । गौरिका यस मानेमा पनि आफूलाई भाग्यमानी ठान्छिन् ।

“कतिपय खेलाडीलाई परिवारबाट साथ र सहयोग हुन्न । तर म त भाग्यमानी हुँ, उनले भनिन्,“मेरा लागि खटिदिने बाआमा, हजुरबुबा र हजुरआमा पाएकी छु । म राम्ररी निदाओस् भनेर आमाले आफ्नो निद्रा बिगार्नुभएको छ । मैले प्रतिस्पर्धा गर्दा मलाई हौस्याउन स्विमिङ पुलमा आउने नेपाली फ्यान पाउँदा झन् बढी भाग्यमानी महसुस गर्छु ।”

यसपटक सागमा केही यादगार प्रदर्शन गर्नुपर्छ भन्ने गौरिकाको मनमा थियो । तर सातदोबाटोको स्विमिङ पूलमा प्रतिस्पर्धा सुरु हुने अघिल्लो दिनसम्म पानी चिसै भएपछि उनले त्यहाँ अभ्यास गर्न सकिनन् । “हिटिङ पुल भनेपनि पानी चिसो हुँदा मन डराएको थियो । तर भोलिपल्टबाट पानी तात्यो र पौडिन सजिलो भयो,” उनले सुनाइन् ।

पहिलो स्वर्णभन्दा पनि दोस्रो आफ्नालागि बढी यादगार भएको उनको अनुभव छ । दोस्रोमा कम्पिटिसन पनि ज्यादा भएकाले त्यो क्षण नभुल्ने उनले बताइन् । तेस्रो र चौथो जित्दा भने आफ्नो राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने भावनाले प्रेरणा दिएको उनले सुनाइन् ।

“म विदेशमा बस्छु भन्दैमा नेपालको होइन भन्छन् । मलाई त्यो सुन्दा साह्रै नरमाइलो लाग्छ । मेरा बाआमा र मेरो पनि नेपालकै पासपोर्ट हो । म पनि नेपाली नै हुँ । मैले जितेको पदक पनि नेपाल र नेपालीकै लागि हो,” भावुक मुद्रामा उनी प्रस्तुत भइन् । 

सानो मिहिनेतले गौरिका यो स्थानमा आएकी हैनन् । औसत मानिसले दैनिक हिँड्ने दूरीभन्दा बढी त गौरिकाले स्विमिङ पुलमा पौडिन्छिन् । बुबा पारस भन्छन्,“दैनिक ८ किलोमिटर स्विमिङ त यिनले अभ्यास मात्रै गर्छिन् । एक दिनमा ९ सेसन स्विमिङ क्लास लिनुपर्छ । छोरीको मिहिनेत देख्दा म आफैँ अचम्मित हुन्छु ।” तर गौरिका घरपरिवार, प्रशिक्षक र आफ्ना टिमका सदस्यहरूको सहयोगले मात्रै सफलता प्राप्त भएको सुनाउँछिन् । 

सन् २०१६ को रियो ओलम्पिककी कान्छी ओलम्पियन गौरिकालाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा अन्य खेलाडीसँगको भेट झन् अविस्मरणीय लागेको छ । मार्चपासमा धेरै खेलाडीसँग बोलचाल नभएपनि २५ कात्तिक बुधबार तेक्वान्दो क्विन आयशा शाक्यसँग भएको कुराकानीले उनमा थप ऊर्जा भरेको छ । ‘उहाँले २ वटा बच्चा पाएर पनि स्पोर्ट्समा कमब्याक गर्नुभएको रहेछ । धेरैले त्यस्तो गर्न सक्दैनन्,” उनले भनिन्,“उहाँसँग भेट्दा मलाई साह्रै खुसी लाग्यो । उहाँ त सबै नेपाली महिलाको रोल मोडल हो ।”

चारवटा स्वर्ण जितेर कीर्तिमान बनाएपनि उनी टिम गेम उत्तिकै महत्त्वपूर्ण भएको बताउँछिन् । “स्विमिङमा धेरै इभेन्ट हुने भएकाले एकभन्दा बढी गोल्ड मेडल आउँछ । हाम्रोमा हिट राउन्डपछि सीधै गोल्डमेडल हुन्छ,” उनी भन्छिन्,“तर टिम गेममा त धेरै राउन्ड खेलेपछि मात्रै गोल्ड मेडलको फाइट हुन्छ । कुनै पनि खेल आफैँमा सानो वा ठूलो हुँदैन ।”

सरकारले हरेक स्वर्णका लागि प्रदान गर्ने पुरस्कार राशिलाई लिएर गौरिका उत्साही छिन् । “मेरा लागि बाआमाले धेरै गर्नुभएको छ । पैसा पनि धेरै लगानी गर्नुभएको छ । यहाँ पाउने पैसा बेलायत लगेर म बाआमालाई थोरै भए पनि सघाउन चाहन्छु । एउटै स्विमसुट किन्न ३ सय पाउन्डभन्दा बढी पर्छ । एउटा स्विमसुट ९ पटकभन्दा बढी लगाउन मिल्दैन । स्विमिङ खर्चिलो खेल हो । त्यसैले बाआमाको खर्चमा सघाउन चाहन्छु,” यसो भनिरहँदा हँसिली गौरिकाको मुहारमा सन्तुष्टिको छुट्टै आभा प्रकट भएको थियो । 

उनले ओलम्पिकमा नेपाललाई पदक दिलाउने क्षमता राख्नेमा धेरै नेपालीको विश्वास छ । तर गौरिका स्वयं भने त्यो असम्भव नभएपनि अत्यन्तै कठिन ठान्छिन् । “सागमा ६–७ वटा देशको खेलाडीसँग प्रतिस्पर्धा गरेजस्तो होइन, ओलम्पिक । त्यसका लागि छुट्टै प्रशिक्षण र मिहिनेत गर्नुपर्छ । सागपछि एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्न सकियो भने त्यो नै ठूलो हो । ओलम्पिकमा गोल्ड जित्न सजिलो छैन,” उनले भनिन् । उनी आफूलाई अहिले पार्टटाइम स्विमर मान्छिन् । विश्वविद्यालयको पढाइ सकेपछि आफू पौडीमा पूर्ण रूपमा समर्पित हुने उनको इच्छा छ । घरपरिवारले पनि उनको इच्छालाई स्वीकार गरिसकेको छ । पढाइ र पौडी दुवैलाई साथै लैजान नसकिनेर त्यसो हुँदा दुवैमा राम्रो गर्न नसकिने उनको तर्क छ । भन्छिन्, “अहिले म पढाइमा बढी फोकस गर्छु । त्यो सकिएपछि फुल टाइम स्विमर बन्छु । त्यसपछि नेपाललाई ओलम्पिकमा पदक दिलाउने सपना साकार पार्ने योजना छ ।”

अहिलेसम्म कहिल्यै पनि पदक जित्न आफूले नखेलेको तर प्रदर्शन सुधार्नका लागि मात्रै खेलेको उनले सुनाइन् । “कुनै पनि प्रतियोगितामा जित्नभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार्न खेल्ने हो,” उनी भन्छिन्,“तपाईंले आफ्नो प्रदर्शन सुधार्दै लग्नुभयो भने पदक त त्यसपछि आफैँ आउँछ ।”

सागमा आफ्नो प्रदर्शनपछि सारा नेपालीलेप्रशंसा गर्दा उनलाई खुसी लागेको छ । केही व्यक्तिले नेपाली हैन भने पनि अन्यले नेपाली छोरीको रूपमा बधाई दिँदा उनी गद्गद् छिन् । त्यसैले त पत्रकारले कंग्राचुलेसन वन्स एगेन भनेर कुराकानी सुरु गर्दा उनी भन्छिन्,“तपाईं मसँग नेपालीमा बोल्नुस् न । मलाई नेपाली आउँछ । म पनि नेपाली छोरी हो ।”

सम्बन्धित सामग्रीहरू 

महिला फुटबलमा भारत तगारो 

१३ औँ साग : ५० स्वर्ण जित्ने लक्ष्य पूरा गर्ला नेपालले ?

देशका लागि स्वर्ण जित्‍ने खेलाडीहरू चिन्‍नुस्

शून्यमा पलाएकी सन्तोषी

१३ औँ सागमा नेपालले यसरी रच्यो इतिहास [नेपाल म्यागजिन पोडकास्ट]

 

प्रकाशित: मंसिर २६, २०७६

×