नो हर्न प्लिज !

- शिशिर वैद्य

उहिले मन्दिरका घण्टका आवाज र भाले बासेसँगै उठ्थ्यो, सहर । अचेल ती मधुर आवाज सुनिन छाडेको छ । स–साना करेसा पनि बहालमा लाग्ने सहरमा भाले बासेको सुन्न नपाउनुमा कुनै आश्चर्य देख्दिनँ । सहर बिउँझिनअघि नै काँठबाट तरकारी र फूल बोकेका डोकेहरू आइपुग्छन् यहाँ । सहरका गल्लीहरूमा तरकारी पसार्छन् र कराउन थाल्दछन्– लौ ! सस्तो सस्तो ! साग मुठाको बीस रुप्पे मात्रै ।

असनको तरकारी बजार सरेर बालकुमारी पुगेको छ । बालकुमारीदेखि वंघ: (इन्द्रचोक) सम्म फैलिएको तरकारी बजार सहरमा लाग्ने दैनिक हाट हो । भाउ बढेर आकाशतिर पुगे पनि यहाँका व्यापारीहरू कराइरहन्छन्– लौ ! आयो सस्तो सस्तो ! यी आवाज सहरको शोभा हो । बजारको यो आवाजले कान बिझाउँदैन । कर्णप्रिय छन् यी आवाज ।

जसोजसो दिन चढ्दै जान्छ, सहर एकाएक कोलाहलमय बन्न थाल्छ । बस र माइक्रोको चर्को हर्न, मोटरसाइकलका ट्याँट्याँ, ट्रक र टिपरको मनै आतंकित पार्ने प्रेसर हर्न, एम्बुलेन्सको एकनाशे साइरन अनि विशिष्ट व्यक्तिहरूका आगापिछा गर्ने सवारीका वातावरण आतंकित पार्ने साइरन । यी विभिन्न माध्यमका ध्वनि प्रदूषणले सहर आक्रान्त बन्छ, एकाएक । यस्तो लाग्छ, सहरको हावामा यी चर्का आवाजबाहेक केही छैन । यति विघ्न कोलाहलमा पनि सहर चलायमान छ, आफ्नै गतिमा ।

भनिन्छ, सहरको गति तीब्र हुन्छ । बेफुर्सदिला र गतिवान हुन्छन्, यहाँका मानिसहरू । यो चक्रब्यूह हो । यसमा पसेपछि मानिसहरू हराउँछन् । यातायातका साधनबिना सहरको गतिअनुसार चल्न सम्भव छैन । एकअर्काबीच तीब्र प्रतिस्पर्धा छ, यहाँ । त्यसैले अघि बढ्न हर्न बजाउनु अनिवार्य ठान्छन्, सहरबासी । विकासशील देशका सहरमा हुने यस्तै हो । ध्वनि प्रदूषणले आतंकित सहरका चोकहरूमा ‘नो हर्न’ का सन्देश बोकेका तुलहरू झुन्डिएका छन् तर जति ठूला अक्षरमा लेखिएको भए पनि नो हर्नको सन्देशले सहरका मानिसको मनलाई छोएको छैन । निष्काम र निष्प्रभावी छन्, ती सन्देशबाहक तुलहरू । कहाँ के झुन्ड्याइएको छ, हेर्ने फुर्सद छैन सहरबासीलाई । ‘नो हर्न’ अभियान सुरु गर्दा सहरको हावा एकाएक शान्त महसुस भएको थियो, कर्णप्रिय । ध्वनि प्रदूषणको मात्रा अप्रत्याश्रित ओरालो लागेको थियो । सुुरुआतमा व्यापक सफल देखिए पनि अभियानको सफलता लामो समय टिकेन । सहर फेरि कोलाहलमय बनेको छ । ध्वनि प्रदूषणको ग्राफ उकालो लागेको छ । 

ठूला बस, माइक्रो एवं सार्वजनिक यातायातका साधनहरू र मोटरसाइकल ध्वनि प्रदूषणका प्रमुख कारक मानिन्छन् । ट्राफिक प्रहरीको नो हर्न कारवाहीको तथ्यांकले यस्तै देखाउँछ । तर सहरको वातावरण कोलाहलमय बनाउने र ध्वनि प्रदूषण गर्ने कारक तत्त्व यी मात्र होइनन् । सहरबासीलाई आक्रान्त पार्दै सडकमा हुइँकिने विशिष्टहरूको गाडीका साइरनले सहरको वातावरण मात्र होइन, मनै त्रसित बनाउने गर्छ । आम नागरिक सोध्छन्– ‘किन कुद्नु पर्‍यो यसरी वातावरण त्रासमय बनाएर ? के लछारे यिनीहरूले हुइँकिएर ?’ आकस्मिक सेवाका एम्बुलेन्सलाई चर्को आवाज निकालेर गाडी कुदाउने छुट हुन्छ । बिरामीलाई शीघ्र अस्पताल पुर्‍याउने जिम्मेवारीले उनीहरू बाध्य हुन्छन्, हुइँकिन । तर एम्बुलेन्स र शवबाहन पनि चर्का आवाज निकालेर हुइँकिन्छन् सहरमा । शव बोकेर हुइँकिनुको के अर्थ ?

०७२ को भुइँचालोपछि पुनर्निर्माण कार्यले तीब्रता लिएको छ । भुइँचालोले चर्किएका घर भत्काउन आधुनिक उपकरणहरू प्रयोगमा आएका छन् । ठूलाठूला संरचनाहरूको निर्माण र आधुनिक उपकरणहरूको प्रवेश सहरमा केही राम्रो हुँदै छ भन्ने प्रमाण हुन् । तर यी उपकरणहरूको प्रवेशसँगै ध्वनि प्रदूषणका साधन र माध्यम बढेको छ । बहुतले धरहरा र काठमाडौँ महानगरको महत्त्वाकांक्षी परियोजनाका रूपमा निर्माण भइरहेको २१ तले टावरको निर्माण, अन्तर्राष्ट्रिय स्तरका पाँचतारे होटल निर्माणमा प्रयोग भएका आधुनिक उपकरण ध्वनि प्रदूषणका कारक भएका छन् । धरहरा र टावर निर्माणमा प्रयोग भइरहेका अजंगका प्रविधि र औजारहरूको आवाजले वडाबासी आक्रान्त छन् । सहर सफा गर्न महानगरहरूले आधुनिक प्रविधि, ब्रुमर भित्र्याएका छन् । केही अनुदानमा र केही खरिद गरेर । आधुनिक उपकरण हुन् ब्रुमर तर यसले निकाल्ने चर्को आवाजले सहरका रातहरू प्रदूषित भएको छ । 

सहरमा बढेको सवारी चापलाई व्यवस्थित गर्न सडकहरू चौडा पार्ने क्रम तीब्र गतिमा चलिरहेको छ । जति सडक चौडा हुँदै छन्, सवारीको गति उति नै बढ्दै छ । सवारीको गति बढेसँगै ध्वनि प्रदूषण पनि बढेको छ । चौडा सडकसहितको नयाँ र विकसित सहरको निर्माण हुँदै गर्दा ध्वनि प्रदूषण र सवारी दुर्घटनाका विषय प्राथमिकतामा परेनन् । सडक अनुशासन पालना नभएसम्म जति सडक चौडा गरे पनि सवारी जाम र चर्को हर्नको समस्या समाधान हुँदैन भन्ने प्रमाणित भइसकेको छ । चक्रपथलगायत सडकहरूमा भइरहेका सडक दुर्घटना, जाम र त्यहाँ बज्ने चर्काे हर्न सहरबासीले दैनिक भोगेका छन् । 

प्रदूषण भन्नेबित्तिकै धुलो र धुँवा बुझ्ने सहरमा ध्वनि प्रदूषणको चर्चा असामयिकजस्तो लाग्न सक्छ तर ध्वनि प्रदूषणको चर्चा हुन ढिलो भइसकेको छ । यसले सहरबासीको स्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ । मुटु रोग, मानसिक रोग, मधुमेह आदि हुनुमा ध्वनि प्रदूषण पनि कारक रहेको अध्ययनहरूले देखाएको छ । ध्वनि प्रदूषणलाई वैज्ञानिक एवं अध्येताहरूले मृत्युको अदृष्य कारकका रूपमा व्याख्या गरेका छन् । ध्वनि हामीले बेवास्ता गरेको वातावरणीय प्रदूषण हो । विशेषगरी सहरबासी एवं सहरिया बालबालिकालाई अदृष्य रूपमा असर गरिरहेको यो पक्षलाई न्यूनीकरण गर्न वैज्ञानिकहरू एवं सरोकारवालाहरू लागिरहेका छन् । चर्का आवाजहरूको संसर्गमा लामो समय रहँदा बहिरा हुन सक्ने संभावना बढ्छ ।

वैज्ञानिकहरू भन्छन्, ध्वनि प्रदूषणको नियन्त्रण स्रोतबाटै सुरु गर्नु पर्छ । जबसम्म न्यून आवाज निकाल्ने उपकरणहरू बन्दैनन्, ध्वनि प्रदूषण नियन्त्रण गर्न सकिँदैन । हाम्रोजस्तो उपभोगमुखी समाजमा स्रोतहरूका विषयमा चर्चा गर्नु अर्थहीन छ । हामी जे आउँछ, त्यसको उपभोग मात्रै गर्छौं । हामीले गर्न सक्ने भनेको ध्वनि न्यूनीकरण मात्रै हो, जसका लागि सहरमा बडेमानका अक्षरमा नो हर्न लेखिएका बोर्डहरू झुन्डिएकै छन् । विडम्बना ! ती बोर्डहरू सहरबासी पढ्दैनन्, देख्दैनन् र मनन् गर्दैनन् ।

विकासले गति लिएसँगै गाउँहरू सडक सञ्जालले जोडिन थालेको छ । सडक निर्माण सक्किनुअघि नै गाउँगाउँमा पुग्छन्, यातायात व्यवसायी । सहरले मिल्काउन ठिक्क पारेका थोत्रा गाडी बोकेर गाउँलेको सेवा गर्न । यातायातका साधन गाउँ पुगेसँगै बज्न थालेका हर्नको चर्को ध्वनि र धुलोले गाउँको शान्त वातावरण भंग भएको छ । विकासले बामे सर्दै गरेको हाम्रोजस्तो देशमा यी चर्चा बकवास लाग्न सक्छ तर ध्वनि प्रदूषण वास्तविकता हो । असर समयले देखाउनेछ । 


सम्बन्धित सामग्रीहरू


प्रकाशित: पुस ७, २०७६

×