एन्फाको खुकुलो प्रावधानका कारण क्लबहरूको ध्यान विदेशी खेलाडीतिर

  • फुटबल

- पवन आचार्य

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत ३० मंसिरमा ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय त्रिभुवन आर्मीविरुद्ध २–१ को हार बेहोरेपछि फ्रेन्ड्स क्लबका प्रशिक्षक मार्कस फिलिपेले भने, ‘विदेशी खेलाडीलाई मैदान उतार्न नपाउँदा खेल्न गाह्रो भयो । अर्को खेलमा राम्रो गर्छौं ।’

सोही दिन दशरथ रंगशालामा भएको खेलमा गत सिजनको उपविजेता संकटा क्लबले च्यासल युथलाई २–० को नतिजा सुम्पिएपछि प्रशिक्षक विजय महर्जनले पनि उही दोहोर्‍याए, ‘विदेशी खेलाडी नहुँदा राम्रो प्रदर्शन भएन ।’ श्रम स्वीकृतिलगायत प्रक्रिया मिलिनसकेकाले सो दिनको खेल जितेको च्यासलले पनि विदेशी खेलाडीलाई मैदान ओरालेको थिएन । १० खेलाडीमा सीमित संकटालाई २–० ले हराउँदा पनि च्यासलका प्रशिक्षक बालगोपाल साहुखल खुसी भएनन् । उनले भने, ‘जापानी खेलाडीलाई मैदान उतार्न नपाउँदा सुरुबाटै नर्भस भयौँ । त्यसैले सोचेअनुसारको खेल्न सकेनौँ ।’

नेपाली लिगमा विदेशी खेलाडीको महत्त्व बुझ्न यिनै घटना काफी छन् । हुन पनि एक दशकअघिदेखि नेपाली फुटबलमा भाग लिन थालेका अफ्रिकी मूलका खेलाडीले अधिकांश क्लबको हारजितमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । उनीहरूकै प्रदर्शनमा क्लबहरू ए डिभिजनमा टिकिरहने वा घटुवासमेत हुने गरेका छन् । त्यसैले पनि महँगा नेपाली खेलाडीमा भन्दा विदेशी खेलाडीमा क्लबहरूको ध्यान जानु स्वाभाविक भएको छ । नेपाली खेलाडी ५ बराबर विदेशी ३ खेलाडीको प्रदर्शन हुने भएकाले पनि क्लबहरू विदेशीतिर आकर्षित भएका हुन् । 

अहिले त अखिल नेपाल फुटबल संघ एन्फाले ३ जना विदेशी खेलाडीलाई क्लबले खेलाउन पाउने प्रावधान बनाएको छ । अझ, दक्षिण एसियाली मुलुकका खेलाडी भए अर्को १ विदेशी खेलाडीलाई मैदानमा उतार्न पाउने खुकुलो प्रावधान भएकाले पनि क्लबहरू विदेशी खेलाडीतर्फ आकर्षित भएका हुन् । 

फुटबल नेपाली, खेलाडी विदेशी

नेपाली फुटबलमा विदेशी खेलाडीको प्रभाव अहिलेको मात्रै होइन । राणाकालीन समय पनि भारतबाट खेलाडी मगाएर फुटबल खेल्ने गरिएका दृष्टान्त छन् । नेपाली फुटबलका पिता भनिने नरशमशेर राणाले भारत पढ्दाका आफ्ना सहपाठीलाई बोलाएर सिंहदरबारभित्रै फुटबल खेल्ने गरेको इतिहासमा पढ्न पाइन्छ । त्यतिबेला भारतीय फुटबलको पावर हाउस कोलकाताका इस्ट बंगाल, मोहन बगान आदि क्लबका खेलाडी राणा खलकको निम्तोमा फुटबल खेल्न आउँथे । त्यतिबेला नेपालमा खेलाडी अनुबन्धको प्रावधान नरहेकाले प्रतिखेलका हिसाबले पारिश्रमिक बुझ्थे, विदेशी खेलाडीले । कोही–कोहीले राम्रो प्रदर्शन गर्दा राणा प्रधानमन्त्रीबाट थप बक्सिससमेत थाप्ने नरशमशेरले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन् । 

०४० को दशकमा न्युरोड टिम एनआरटीले विदेशी खेलाडी भित्र्यायो । फुटबल विशेषज्ञ सञ्जीव मिश्रका अनुसार त्यतिबेला एनआरटीबाट जर्मन खेलाडीले केही समय खेले । भारतीय खेलाडी श्याम थापाले पनि सोही समय ब्वाइज युनियनबाट नेपाली लिग खेलेको उनी सुनाउँछन् । त्यतिबेला अन्तर्राष्ट्रिय ट्रान्सफर सर्टिफिकेट (आईटीसी) आवश्यक नपर्ने हुँदा भारत र भुटानबाट धेरै खेलाडी आउँथे । 

नेपाली लिगमा विदेशी खेलाडीको प्रभाव भने ०५४ मा थ्रीस्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग उचाल्दा देखियो । त्यतिबेला भुटानी खेलाडीद्वय जितेन राई र क्रिस्पियन क्षत्रीको प्रदर्शनमा थ्रीस्टारले पहिलोपल्ट लिगको उपाधि उचाल्यो । थ्रीस्टारले ०५५ मा पनि आफूलाई च्याम्पियन तुल्याएको थियो । 

दर्ता प्रक्रिया पूरा गरेर विदेशी खेलाडी खेलाउने पहिलो क्लबचाहिँ काठमाडौँ क्लब हो । ०५७ सालमा क्लबले अमेरिकी खेलाडी केनेथ विलियम्सलाई राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ एन्फामा दर्ता गराएर क्लब भित्र्याएको थियो । त्यसअघि काठमाडौँ क्लबले अर्जेन्टिनाका प्रशिक्षक राडोल्फ टोरेसलाई स्वयंसेवक प्रशिक्षकको रूपमा ०५७ मा क्लबमा भित्र्याएको थियो । तर उनी लामो समय क्लबमा टिकेनन् । 

५० को अन्त्यतिर एन्फाले विदेशी खेलाडीका लागि आईटीसी र राखेपसँग समन्वयलाई बाध्यकारी बनायो । त्यसयता अफ्रिकी मूलका खेलाडीको प्रवेश ह्वात्तै बढेको छ । क्लबहरूले औसतमा प्रतिअफ्रिकी खेलाडी प्रतिमहिना १ हजार डलर खर्चिने गरेका छन् । थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसी भन्छन्, “भिसा प्रक्रिया र उनीहरूको श्रम स्वीकृति लिन लाग्ने खर्च पनि जोड्ने हो भने यो रकम अझ बढ्न जान्छ ।” उनका अनुसार ३ जना अफ्रिकी खेलाडीको श्रम स्वीकृति र भिसा खर्च नै ५ लाख हाराहारी हुन आउँछ । 

०६२ को लिगमा नाइजेरियाका खेलाडी ओबाग विमिरो जुनियरले ब्रिगेड ब्वाइजका लागि २७ गोल गरे । सो सिजन लिगको उच्च गोलकर्ता बनेका विमिरोले क्लबलाई ९ औँ स्थानमा पुर्‍याए । त्यसपछि भने अन्य क्लबको आँखामा नाइजेरियाली मूलका खेलाडी पर्न थालेका हुन् । 

खेलाडीको खस्कँदो स्तर 

नेपालमा नियमित लिग नहुँदा खेलाडी उत्पादन नै ठप्पजस्तो भएका बेला विदेशी खेलाडीमा क्लबहरू निर्भर हुनु अस्वाभाविक होइन । त्यसमा पनि अफ्रिकी मूलका खेलाडी नेपालीको तुलनामा शारीरिक तथा प्राविधिक हिसाबले बलिया हुन्छन् । मनाङ मस्र्याङ्दी क्लबमा लामो समय बिताएका तान्जिनियाली स्ट्राइकर भन्थे, ‘नेपाली खेलाडी २० मिनेटपछि थाक्छन् तर हामी पूरै ९० मिनेट खेल्न सक्छौँ । यही फाइदाले गर्दा हामी नेपालमा फुटबल खेल्न मन पराउँछौँ ।’ उनी अहिले तान्जिनियाली खेलाडीलाई नेपाल पठाउने एजेन्टका रूपमा काम गर्छन् । यो सिजन उनले ३ खेलाडी नेपाल पठाए, जसमध्ये २ जनालाई सरस्वती क्लबले अनुबन्ध गर्ने प्रक्रिया अघि बढिसकेको छ । 

नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर सन्तोष साहुखल पनि नेपाली खेलाडीको स्तर बढ्नुको साटो खस्किएको स्वीकार्छन् । जापानबाट हालै फर्किएर च्यासल क्लबमा अनुबन्ध उनी भन्छन्, “नेपाली फुटबलको स्तर माथि गएको छैन । लिग नियमित नहुँदा खेलाडीले ट्रेनिङ राम्ररी गर्दैनन् अनि त्यसको असर खेलमा हुन्छ । मैले जापानमा फुटबलको स्किल सिक्ने मौका पाएँ तर सबै खेलाडीले त्यो अवसर पाउँदैनन् ।”

नेपाल पुलिस क्लबलाई ४ पटक लिग च्याम्पियन बनाएका प्रशिक्षक विराटकृष्ण श्रेष्ठका अनुसार विदेशी खेलाडीले बढी मौका पाउनुका पछाडि नेपालमा खेलाडी उत्पादन नै कम हुनु हो । क्लबहरूसँग खेलाडी भए पनि प्रशिक्षण गर्ने मैदान नभएकाले तिनको प्रतिभा तिखारिन नपाउने उनको ठम्याइ छ । भन्छन्, “विभागीय टोलीमा जस्तो नियमित प्रशिक्षण गर्ने खेलाडी क्लबमा निकै कम हुन्छन् । त्यसमाथि क्लबको आफ्नै मैदान पनि हुन्न । त्यसैले हामीकहाँ प्रतिभा जन्मिने क्रम निकै धिमा छ ।”

विश्वका नाम चलेका फुटबल लिगमा पनि योगदान विदेशी खेलाडीले नै बढी गर्छन् । यो अहिलेको विश्वव्यापी चलन हो । तर हामीकहाँ आउने खेलाडीको स्तर अझै विश्वस्तरीय हुन सकेको छैन । अफ्रिकी मुलुकबाट खेलाडी आए पनि उनीहरूको स्तरबारे क्लबले ध्यान दिएको देखिँदैन किनभने विश्वस्तरीय खेलाडीलाई भित्र्याउन ठूलै रकम खर्चिनुपर्ने हुन्छ । त्यसैले भारतबाट पनि फुटबल खेलाडी ल्याउन गाह्रो छ । भारतीय फुटबल लिगमा खेल्ने खेलाडीले करोडौँ पाउँछन् । तर हामीकहाँ फुटबल अझै व्यावसायिक हुन बाँकी रहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा नै स्वीकार्छन् । “लामो समय लिग रोकिँदा धेरै कुरा रोकिए । धेरै दर्शक क्षमताको रंगशाला पनि छैन । त्यसैले खेलाडीले पैसा लिएर खेल्न थाले भन्दैमा नेपाली फुटबल व्यावसायिक भयो भन्न मिल्दैन । तर हाम्रो अन्तिम लक्ष्य यसलाई पूर्ण व्यावसायिक बनाउने नै हो,” शेर्पा भन्छन् । 

नेपाली फुटबलमा जीवित इनसाइक्लोपेडिया उपनाम पाएका एन्फाका लिग निर्देशक सञ्जीव मिश्रका अनुसार विदेशी खेलाडी अहिले नेपाली क्लबहरूको आवश्यकता नै हो । भन्छन्, “विदेशी खेलाडीबिना क्लबहरूलाई प्रतिस्पर्धा गर्न गाह्रो छ । विदेशी खेलाडी नेपालीको तुलनामा शारीरिक रूपमा छरिता छन् । नेपाली क्लबले डिफेन्स र फरवार्डमा विदेशी खेलाडी अनुबन्ध गर्न खोज्नु पनि त्यही कारण हो ।” 

मिश्रका अनुसार विदेशी खेलाडी संलग्न हुँदा समग्र लिग र नेपाली खेलाडीकै स्तर माथि पुग्छ । तर नेपाली टोलीका पूर्वकप्तान विक्रम लामा विदेशी खेलाडीसँग खेल्दैमा नेपाली खेलाडीको स्तर उकासिनेमा शंका गर्छन् । प्रशिक्षण र खेलाडीको सुविधा बढाइए आफूहरूमा भएको क्षमता वृद्धि हुने उनको तर्क छ । 

रेलिगेसन नहुने भएपछि पनि गत सिजन ए डिभिजन लिगमा सहभागी १४ क्लबले सुरुबाटै विदेशी खेलाडी राख्न चासो दिएनन् । तर अहिले सबैको चासोको विषय विदेशी खेलाडी नै छ । अहिले भाउ अकासिएका विदेशी खेलाडीले गत सिजन निकै कम पारिश्रमिकमा पनि लिग खेलेका थिए । किनभने उनीहरू मोफसलका अन्य प्रतिस्पर्धामा पनि प्रतिखेलका हिसाबले पारिश्रमिक लिइरहेका थिए । अनधिकृत रूपमा मोफसलका प्रतियोगिता खेल्दा विदेशी खेलाडीको विकृति बढ्न थालेको छ । यसमा एन्फा चनाखो हुन जरुरी छ । हुन त विदेशी खेलाडी खेलाउने मामिलामा सरकारले फुटबललाई कडाइ गरे पनि क्रिकेटको हकमा श्रम स्वीकृति आवश्यक नपर्ने अवस्था छ । 



प्रशिक्षकमा पनि विदेशी मोह

खेलाडीमा मात्रै होइन, विदेशी प्रशिक्षक राख्न पनि क्लबहरू लालायित देखिएका छन् । मच्छिन्द्र क्लबले केही अघि नै अहिलेका राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिनलाई क्लबको टिम सुम्पिएको थियो । फ्रेन्ड्स क्लबले ब्राजिलियन मार्कस फिलिपेलाई प्रशिक्षक राखेको छ । क्लबले आफ्नो लक्ष्य उत्कृष्ट ६ भित्र पर्ने राखेकै समय विदेशी प्रशिक्षक भित्र्याएको हो । 

गत सिजनको लिग विजेता मनाङ हुँदा टोलीलाई प्रशिक्षण दिनेमा नाइजेरियाली प्रशिक्षक टोपे फुजा थिए । तर प्राविधिक कारण र कागजात नमिलेपछि क्लबले प्रशिक्षकमा सुमन श्रेष्ठको नाम एन्फामा पठाएको थियो । अहिले पनि फुजा मनाङमै छन् तर मुख्य प्रशिक्षकको नाम धनेश्वर प्रजापति छ । 

प्रकाशित: पुस ८, २०७६

×