आश गरिएका मन्त्रीकै यो चाला

भिजन भएको नेताको छवि बनाएका योगेश भट्टराई मन्त्री भएयता एकपछि अर्को विवादमा किन फसिरहेका छन् ?

- गोकर्ण गौतम

प्रतिनिधिसभा निर्वाचनको मुखैमा केपी ओलीले ताप्लेजुङ पुगेर भाषण गरे, ‘तपाईंहरू योगेश भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्रीको बिल्ला भिराएर फर्काउँछु ।’

भट्टराईले चुनाव जिते । नेकपाको सरकार बन्यो, ओली प्रधानमन्त्री भए तर उनलाई मन्त्री बनाइएन । वाचा पूरा नगरेको र धोका दिएको आरोप खेप्नुपर्‍यो, ओलीले । आश्वासनअनुरुप मन्त्री बन्न नपाएपछि उनले पार्टी नेतृत्वको आलोचना गरिरहे । यसले जनमानसमा उनीप्रति थप अनुराग पैदा गर्न भूमिका खेल्यो ।

भट्टराई मन्त्री हुने छाँटकाँट छँदै थिएन ।

ताप्लेजुङमा एयर डायनेस्टीको विमान दुर्घटना भयो, १५ फागुन २०७५ मा । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भयो । नयाँ मन्त्री चाहियो । सामाजिक सञ्जालमा समेत ‘भट्टराईलाई मन्त्री बनाएर ओलीले गल्ती सच्चाउनु पर्छ’ भन्ने आशयका अभिव्यक्तिहरू पोखिन थाले । ठ्याम्मै पाँच महिना लाग्यो तर ओलीले उनैलाई रोजे । भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सपथ खाए, १५ साउनमा । 

उनी कहिल्यै लाभको पदमा पुगेका थिएनन्, पार्टी र राज्य सञ्चालन तौरतरिकाको शुद्धीकरणको पैरवी गर्थे, पार्टी नेतृत्वमाथि निरन्तर प्रश्न उठाउथे, ‘भिजन’ भएका युवा नेताको छवि बनेको थियो । यिनै कारणले हुनुपर्छ, भट्टराई ‘आश गरिएका मन्त्री’ मा दर्ज भए । प्रतिपक्ष दलका नेताले समेत बधाई र शुभकामना दिए । पदभार ग्रहण गर्नासाथ घोषणा गरे, ‘वाह ! नेपाल एयरलाइन्स भन्ने बनाउनेछु ।’ पत्रपत्रिकामा बधाई नछाप्न आग्रह गरे ।’ ‘बिहानीले दिनको संकेत गर्छ’ भनेझैँ यस्ता कार्यले प्रशंसक फुरुंग भए ।

तर भट्टराईले आफूप्रतिको यो भरोसा साढे पाँच महिना पनि टिकाउन सकेनन् । मन्त्री भएयता एकपछि अर्को विवादमा फसिरहेका छन् । उनको कार्यशैली र अभिव्यक्तिहरूले हिजो तारिफ गर्नेहरूसमेत हैरान हुन थालेका छन् । ट्‍वीटरमा प्रेम घर्ती लेख्छन्, ‘सबैले आश गरेका युवा भनिने मन्त्री योगेश भट्टराई पनि झुठ र हावा कुरा गर्न खप्पिस भए ।’ ट्‍वीटरमा उनको नाम सर्च गर्ने हो भने नकारात्मक कमेन्टको ओइरो लाग्छ । 

पछिल्लो पटक आलोचनाको तारो बनाएकोचाहिँ उनको अस्ट्रेलिया भ्रमणले हो । 

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका लागि भट्टराई अस्ट्रेलिया पुगेका थिए । सिड्नीमा उनले नेतृत्व गरेको औपचारिक र्‍यालीलाई स्थानीय सुरक्षाकर्मीले रोकेको र ओपेरा हाउसमा झन्डासहित र्‍याली गर्न नदिएको खबर बाहिरियो, २२ पुसमा । ओपेरा हाउसमा प्रचार गर्न सम्बन्धित निकायबाट अनुमति लिनुपर्छ तर मन्त्री सहभागी कार्यक्रमलाई समेत नेपाली पक्षले गम्भीरताका साथ लिएन । देशकै साख धुमिल्याउने लापरबाही देखियो ।

त्यसमाथि यतिबेला अस्ट्रेलिया आगलागीबाट आक्रान्त छ, तीन महिनादेखि फैलिएको आगलागीमा कम्तीमा २५ नागरिकको मृत्यु भएको छ, झन्डै ५ करोड वन्यजन्तु मारिएका छन् । अझै आगो नियन्त्रणमा आउन सकेको छैन । विश्वभरबाट अस्ट्रेलियालाई साथ र सहानुभूति प्रकट भइरहेको छ । यही बेला अस्ट्रेलियामा भ्रमण वर्षको उत्सव मनाउनु उपयुक्त छ ? त्यसमा संवेदनशील हुनुपर्दैन ?

दोहोरो कमजोरी भएपछि भट्टराईको आलोचना हुने नै भयो । तैपनि उनमा आफू चुकेको बोध छैन । उल्टै सवाल गर्नेहरूमाथि नै प्रश्न उठाउँदै फेसबुकमा लेखे, ‘काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ ।’ लामो प्रस्टीकरणमा विपत्ति पीडितप्रति सान्त्वना भने दिएनन्, बरु कार्यक्रम भव्य भएको दाबी गरे । 

उज्यालो रेडियोसँगको अन्तर्वार्तामा उनले अझ आक्रोश पोखेका छन्, ‘योगेश भट्टराईको विरोध गर्नुस्, केही बिग्रँदैन । तर नेपालको इज्जतसँग नेपालीले नै खेल्ने ?’ भ्रमण वर्ष प्रवद्र्धनको पहिलो पाइलामै ठेस लाग्यो तर मन्त्रीलाई यसको हेक्का छैन । बरु असाध्यै हल्का रूपमा लिएको त्यसपछिका उनका अभिव्यक्ति र शैलीबाट प्रस्ट हुन्छ । जबकि एक अस्ट्रेलियालीले ‘चेन्ज डट ओआरजी’ नामक वेबसाइटमार्फत उनीविरुद्ध हस्ताक्षर अभियान नै चलाए । उनले मन्त्रीलाई छिटोभन्दा छिटो नेपाल फर्कनसमेत भनेका छन् । यो पाराले देशको साख बढ्छ ? पर्यटक नेपाल आउन प्रेरित हुन्छन् ?

आफ्नो कार्यशैलीप्रति प्रश्न गर्नेहरूको नियतमाथि उल्टै प्रश्न उठाएर आफूलाई चोखो साबित गर्ने भट्टराईको यो रवैया पहिलो भने होइन । मन्त्री भएको डेढ महिना नबित्दै अर्थात २८ भदौमा उनकै कारण नेपालगन्जमा बुद्ध एयरको विमान १५ मिनेट ढिला भयो । विमानका अन्य यात्रुले विरोध गरे । भट्टराईले स्वयंले केही समय पर्खन बुद्ध एयरसँग अनुरोध गरेको स्वीकार्दै क्षमा मागे तर त्यतिबेला पनि उनले विमानभित्र आफ्नो विरोध गर्नेहरूको नियत आफूले बुझेको भनेर फेसबुकमा लेखेका थिए । यसको मतलब हो, उनी आत्मालोचनाभन्दा अरुको नियतमा समस्या देख्छन् । 

केही दिनयता ट्‍वीटरमा मन्त्री भट्टराईको एउटा भिडियो क्लीप भाइरल छ । भिडियोमा उनी के भन्दै छन्, त्यो उल्लेख गर्नुपहिले त्यसको पृष्ठभूमि बुझ्नुपर्ने हुन्छ । एक विदेशी पर्यटनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय अधिक फोहोर छन् भनेर ट्‍वीटमा कटाक्ष गरेकी थिइन् । दर्जनौँ प्रयोगकर्ताले त्यो ट्‍वीट मन्त्रीलाई ‘मेन्सन’ गरे अनि के चाहियो ! उनको पारो तातिहाल्यो । भिडियोमा उनले भनेका छन्, ‘एक जना अमेरिकनले के–के न पत्ता लगाइदिइछन्, वैज्ञानिक नै जस्तो । हाम्रो ट्‍वाइलेटहरू अलि–अलि फोहोर छन् त, के ठूलो कुरा भयो र ?’ 

उनी यत्तिमै रोकिएका छैनन् । अझ आक्रोशित हुन्छन्, ‘तिनका पनि फोहोर नै थिए नि । सन् १९७० सम्म कालाहरूलाई शौचालयमा दिशापिसाब गर्न दिन्थे ? आफ्नो पनि इतिहास हेर्नुपर्‍यो नि ।’ भ्रमण वर्ष सफल पार्नुपर्ने जिम्मेवारी बोकेका मन्त्रीको यो स्तरको अभिव्यक्ति सुहाउँछ ? 

पशुपतिमा राष्ट्रिय गान बजाउन निर्देशन दिँदा पनि भट्टराई विवादमा तानिए । केही समयअगाडि उनले आफ्नो आधिकारिक ट्‍वीटर ह्यान्डलमा ‘योगेश भट्टराईको सबै नेपालीले एकपटक हेर्नैपर्ने सनसनीपूर्ण अन्तर्वार्ता’ लेखेर सेयर गरे । सामान्य लागे पनि यस्तो भाषाले उनको मनोदशा झल्काउँछ । 

यस्तै–यस्तै कारण उनले नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरिरहेको छ । तर मानवशास्त्री सञ्जीव पोखरेल भने भट्टराईको यो शैलीलाई अपेक्षित मान्छन् । उनका अनुसार मन्त्री कस्तो हुने भन्ने सत्ताको मूल चरित्रले निर्धारण गर्छ । भन्छन्, “प्रधानमन्त्रीले मन्त्रीबाट गर्ने अपेक्षा गलत छ । राजनीतिक नेतृत्व दिशाहीन र संस्कारहीन छ । त्यसैले मन्त्रीको व्यवहार पनि त्यस्तै हुनु स्वाभाविक हो ।” 

पोखरेलका अनुसार भट्टराईबाट समाजले पाठ सिक्नुपर्छ । हामीले कुन आधारमा व्यक्तिको नेतृत्व क्षमताप्रति आशा राख्छौँ, मिडियाले नेतालाई कसरी ‘प्रमोट’ गर्छ, पुन:विचार गर्नुपर्छ । “सामाजिक सञ्जालमा गर्ने कुरा र शैलीबाटै भट्टराईको विश्लेषण र निर्णय क्षमता छैन भन्ने थाहा थियो,” समसामायिक विषयमा ब्लग लेखिरहने पोखरेल भन्छन्, “राजनीतिक आन्दोलन भयो तर सत्ताको मूल चरित्र परिवर्तन गर्न सकेनौँ । नेताहरूले जनादेशअनुसार नागरिकको जीवन सहज बनाउनु पर्नेमा म मालिक हुँ, जनता मेरा दास हुन्जस्तो गरिरहेका छन् । यो मानसिकता रहुन्जेल यस्तै हो ।” आन्दोलनमा नेतृत्व गरेकै भरमा भट्टराईलाई होनहार र काबिल भन्नु नै गलत भएको पोखरेलको मत छ । उनको प्रश्न छ, “त्यसो हो भने त्यो योग्यता सरकार चलाउन अनुवाद भयो त ?” 

राजनीतिक विश्लेषक झलक सुवेदीको नजरमा भट्टराईको ‘पर्फमेन्स’ औसत छ । अन्य मन्त्रीको तुलनामा सुस्त–सुस्त भए पनि भट्टराईले काम गरिरहेको तर प्रधानमन्त्रीको असहयोग भएर हो वा अरु कारण, नेपाल एयरलाइन्स सुधार्नचाहिँ असफल भएको बुझाइ छ उनको । भन्छन्, “बोलीमा महत्त्वांकाक्षा झल्किएको छ । मन्त्रीले गृहकार्य गरेर मात्र बोल्नु पर्छ । अनावश्यक विवादमा पर्नुहुन्न ।” निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे हतारिएर बोलेको र पशुपतिमा राष्ट्रिय गान बजाउने लफडामा फसेको भने मन परेको रहेनछ । 

तर भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईं मन्त्रीलाई जबर्जस्ती विवादमा तानिएको दुखेसो पोख्छन् । भन्छन्, “मन्त्रीज्यू आफूप्रतिको आशा पूरा गर्न कटिबद्ध हुनुहुन्छ । तर उहाँको कार्यशैली र अभिव्यक्तिलाई अतिरञ्जित र बंग्याउने गरिएको छ । समस्या यहाँ छ ।” विमान ढिला भएको विवाद होस् वा अस्ट्रेलियामा सुरक्षाकर्मीले रोकेको, कहीँ मन्त्रीको दोष नभएको दाबी छ उनको । भन्छन्, “१५ मिनेट ढिला हुनु नेपालका लागि ठूलो कुरा हो र ? अस्ट्रेलियामा नयाँ वर्षमा त्यत्रो आतिसबाजी भयो । हामीले भ्रमण वर्षको प्रबर्द्धन गर्दाचाहिँ संवेदनशीलता नै नभएको रे ! हामी अर्काको विषयमा अलि बढी नै भावुक हुन्छौँ ।” 

प्रकाशित: पुस २४, २०७६

×