कन्सेप्टमा रमाउने कलाकार

- सुनिता लोहनी

माओवादी विद्रोह उत्कर्षमा थियो, ०५९ तिर । सुष्मा कोइराला मेमोरियल हस्पिटल, साँखुमा ल्याबको इन्चार्ज थिए, रवीन्द्र श्रेष्ठ, ४२ । हरेक दिन राज्य र विद्रोही पक्ष गरी ५–६ जना मानिसको वीभत्स शव देख्थे । पीडित परिवार शव बुझ्न आउँथे । भोक, शोक र गरिबीमा रुमल्लिएका मृतकका परिवारलाई देख्दा उनलाई असह्य हुन्थ्यो । 

रवीन्द्रका आँखाले मृतक लडाकु र सेनाबीच केही फरक देख्दैनथ्यो । ल्याबमा काम गर्ने भएकाले बारम्बार माओवादी र सेनाको रगत जाँच्नुपथ्र्यो । ल्याबमा परीक्षणकै क्रममा एउटा आइडिया आयो, जसले साढे ५ वर्ष उनको मस्तिष्क जकड्यो । चित्र बनाउन मन पराउने रवीन्द्रले जब त्यो आइडिया क्यानभासमा उतारे, जिन्दगीका लागि टर्निङ प्वाइन्ट बनिदियो । भन्छन्, ”प्रेसर रिलिज गरेजस्तै भयो । राती, बिहान, खाँदा, बस्दा, सुत्दा त्यही कुरा मात्र याद आइरहन्थ्यो । बनाइसकेपछि यति आनन्द आयो कि त्यो स्थिति अझै सम्झन्छु ।“ 

यत्तिका वर्ष दिमाग खाएको आइडिया उनले २ दिनमै क्यानभासमा उतारे अनि सबैभन्दा ठूलो कुरा आफूलाई चित्र बनाएर मात्रै आनन्द आउने थाहा पाए । रवीन्द्रले सो चित्रमा माओवादी र सेनाको रगत मिसाएर दुइटा आँखा बनाएका थिए । चित्रमार्फत युद्ध रोकेर विद्रोही र राज्यबीच मेलमिलाप होस् भन्ने चाहन्थे । 

जिन्दगीको क्यानभासको यात्रामा कोसेढुंगा साबित भएको चित्रबारे बताउँदा रवीन्द्र अझै फुरुंग थिए । हुन त उनले चित्रकारिता बाल्यकालदेखि नै सुरु गरेका थिए । व्यापारको सिलसिलामा रवीन्द्रका बुबा सिन्धुपाल्चोकबाट काठमाडौँ आए । उनी त्यसबेला डल्लु बस्थे । त्यतिखेर १० वटा म्यागी चाउचाउको खोल दिँदा साइनपेनको रङको प्याकेट पाइन्थ्यो । रवीन्द्र साइनपेनले चुरोटका बट्टामा फूल, पात, जे मन लाग्छ, त्यही कोर्थे । यसरी कोर्न पाउँदा उनलाई आनन्द आउँथ्यो,  चित्रकारको मन न हो । कुरैकुरामा उनले सम्झिए, आफूले बनाएको चित्र, हिमालको मुनि नरिवलको रुख । उनले त्यस्तो तस्बिर फोटो स्टुडियोमा पहिलोपल्ट देखेका थिए । त्यसपछि घरमा आएर कापीमा त्यही चित्र उतार्न थाले । 

बुबा व्यापारी थिए । जेठा छोरा रवीन्द्रको चित्रमा रुचि देखेरै परिवारले चित्र पढ्न दियो । उनी ललितकला क्याम्पसमा प्रवीणता तहमा भर्ना भए । त्यसपछि अग्रज चित्रकार प्रेममान चित्रकारसँगै थान्का पेन्टिङ सिक्न थाले । ३ महिनाकै सिकाइमा उनले चित्रकारको हरिततारा पेन्टिङ कपी गरे । सो चित्र ठमेलमा उतिबेला १२ हजारमा बेचेको उनी अझै सम्झन्छन् । चित्र बेचेपछि पैसा त आयो तर महिनौँ घरमा देखिएको पेन्टिङ नभएपछि रवीन्द्र विचलित भए । घर जानै मन लागेन । भन्छन्, “आफूले गरेको मिहिनेत घरमा नदेखिँदा नरमाइलो लाग्दो रहेछ ।” 

रवीन्द्रले अस्पतालमा ल्याब टेक्निसियनको जागिर खाँदा परिवारमा भरथेग भएकै थियो । उनको कामबाट खुसी भई अस्पतालले उच्च शिक्षाका लागि छात्रवृत्ति र तलबी बिदा पनि दिने प्रस्ताव राखेको थियो । तर उनको कलात्मक मनले मानेन । जागिर छाडेर उनी काठमाडौँ विश्वविद्यालयमा पेन्टिङमा स्नातकमा भर्ना भए । भन्छन्, “विश्वविद्यालयले मलाई तीन कुरा सिकायो । कलाकार स्वार्थी प्राणी हो । कुनै पनि कुरा थाहा पाउन गरेर हेर्नुपर्छ । कुनै चित्र बनायो भने के गर्‍यो र किन गरेको भनेर घोत्लिनुपर्छ ।” यी तीन कुराले जहिल्यै पनि आफ्नो धरातल सम्झाइरहने  उनले बताए ।

अन्य कलाकारभन्दा रवीन्द्रका सिर्जना फरक छन् । उनी अरुले जस्तो पेन्टिङ बनाउने, मूर्ति बनाउने, प्रिन्ट मेकिङजस्तो निश्चित क्षेत्र छैन । कुनै बेला क्यानभासमा धेरै समय बिताएका उनी मूर्ति बनाउने, भिडियो बनाउनेजस्ता न्यु मिडियामा पनि उत्तिकै अगाडि छन् । एक किसिमले उनी कन्सेप्टमा रमाउने कलाकार हुन्, जो कुनै पनि मिडियामा आफ्नो सिर्जना उत्कृष्ट ढंगले प्रस्तुत गर्छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय प्रतियोगितामा न्यु मिडियातर्फ उनले बाल्यकालका दिन तथा छाताको सम्बन्ध र त्यसमा देशको आर्थिक र राजनीतिक प्रभावलाई उतारेको भिडियो पुरस्कृत भएको थियो । 

यस्तै, कलेज प्रोजेक्टअन्तर्गत रवीन्द्रले लाइनआर्ट (रेखाकला) कन्सेप्टमा काम गरेका थिए । २० जना नयाँ–पुराना कलाकारलाई समेत नेतृत्व गरेर उनले संसारमा सबै कुराको सम्बन्ध देखाउन खोजेका थिए । उनका अनुसार अनुहारमा पनि लाइन (धर्सा) हुन्छन् । लाइनभित्र लाइन जोडिँदा आखिरमा  उक्त लाइन हट्ने उनी सुनाउँछन् । लाइन द सोल अफ द युनिभर्स शीर्षकको उक्त चित्र बनाउनुअघि लाइन कन्सेप्टले उसैगरी पिरोलेको रवीन्द्रले सम्झिए । भन्छन्, ”जता हेर्‍यो, धर्का मात्र देख्थेँ । एक दिन त खाजा खान होटलमा बस्दा साथीले भन्यो, रवीन्द्र हेर तिम्रो लाइन । साथीले भित्तामा दरार परेको दृश्य देखायो ।“ 

जे भयो, राम्रो भयो भनेजस्तै लाइन कन्सेप्टकै कामले उनलाई अमेरिकाको हार्वर्ड युनिभर्सिटी पुर्‍यायो । बूढीऔँलाको छाप ठूलो क्यानभासमा उतारेका रवीन्द्रले अमेरिकाकै सय मानिसको औँठाछाप लिएर प्रदर्शन गरेका थिए । मानिस एकअर्कासँग सम्बन्धित छन् भनेर उनी देखाउन चाहन्थे । र, उनको यही कन्सेप्ट हार्वर्डलाई चित्त बुझेको थियो ।

भर्खरै उनले चीन र नेपालको ६५ औँ दौत्य सम्बन्ध तथा नयाँ चीनको ७० औँ वर्षगाँठ अवसर पारेर नेपाल–चीन स्मारक कभर–पत्र तयार पारेका थिए । यसका लागि उनी करिब १ महिना चीनमै बसी उताका कलाकार चिन तन चिनसँग मिलेर काम गरेका थिए । उनीहरुले बनाएको चित्र जिन्ताई आर्ट म्युजियममा प्रदर्शनीमा राखिएको थियो । यस्तै, त्यहाँ बनाएको एउटा चित्र चीनस्थित नेपाली दूतावासमा छ भने नेपालस्थित चीनको दूतावासमा पनि सम्झनास्वरुप राखिएको छ । सेरामिक्स चित्र बनाउँदाको पल सम्झँदै रवीन्द्र भन्छन्, ”भूगोलको आधारमा नेपाल चीनभन्दा सानो छ । चीनले एउटा राज्यको नक्सा मात्र राख्छु भन्दा नेपालभन्दा ठूलो देखिने । त्यसैले चित्र बनाउँदा चीनभन्दा कुनै हिसाबले सानो नहोस् भन्न उपाय लगाउनु परेको थियो ।“ नभन्दै सेरामिक्स पेन्टिङमा चीनले हिमाल बनाएको छ भने चार राष्ट्रिय पुरस्कार विजेता रवीन्द्रले नेपालका संस्कृति झल्कने चित्रलाई लाइन आकार दिएका छन् । 

प्रकाशित: पुस २९, २०७६

×