बाबुरामको व्यग्र चिन्तन
चुनावमा 'अप्रत्याशित' पराजयपछि एकीकृत माओवादीका नेता-कार्यकर्ता हतप्रभ एवं निस्तब्ध रहेका समयमा वरिष्ठ नेता बाबुराम भट्टराईले

बाबुरामको बाँसुरीबाट निस्केको धुनको विभिन्न व्याख्या र विश्लेषण भएका छन्। माओवादी पार्टीभित्र निर्विवाद रूपले उनी मात्र त्यस्ता नेता हुन्, जोसँग नेपाली बौद्धिक समाजले सुविधाजनक सम्बन्ध राख्न सक्छ। पार्टीले उनलाई वैचारकि नेताको हैसियत दिए/नदिएको पंक्तिकारलाई ज्ञान छैन। तर, बौद्धिक समाजले उनलाई एमाओवादीको 'थिंक-ट्यांक'का रूपमा चिनेको छ। यसमा विवादको आवश्यकता छैन। बाबुरामको व्यक्तित्वमा व्यग्रता छ ः शक्ति र सत्ताको असीम मोह छ। यो उनको दोष होइन। जुन समाजमा उनी पढे, बढे र हुर्किए, त्यसको चरत्रि नै त्यस्तै छ। हालसालै उनले गरेको नयाँ शक्तिको खोजी त्यही व्यग्रताको परिसूचक हो। यो खोजीले बाबुरामलाई हालसालै नयाँदिल्लीमा व्यापक प्रभावशाली बनेका आम आदमी पार्टीका एक मात्र नेता अरविन्द केजरीवालसँगै उभ्याउन खोजेको छ।
दुर्भाग्य ! बाबुराम 'आम' मानिसका नेता होइनन्। 'खास' आदमीका नेताका रूपमा उनको परचिय स्थापित भइसकेको छ ः एमाओवादीभित्र र बाहिर पनि। समयको कुनै पनि विन्दुमा सन्तुष्ट नरहने तर आफैँ केही गर्न हिचकिचाउने शहरयिा समाजका सदस्यहरू, आक्रोशले पाकेका महत्त्वाकांक्षी युवा समुदाय, विद्रोही चेतनालाई आधुनिक फेसनका रूपमा ग्रहण गर्ने नव-धनाढ्य वर्गका सन्तति र जीवन-जगत्सँग काटिएका आत्मकेन्दि्रत बौद्धिक जमातसँग उनको सम्बन्ध गहिरो छ। प्रधानमन्त्री हुँदा उनले शहरी क्षेत्रको, खास गरेर काठमाडौँको, बाटाघाटाको विस्तार र सुधारमा देखाएको विशेष अभिरुचि र नेपालमा बनेको सवारीमा चढ्ने आग्रह यसको बलियो उदाहरण हो। काठमाडौँमा बाटाघाटाको विस्तार र सुधार आवश्यक थियो। तर, जुन वर्गलाई खुसी तुल्याउन उनले यसमा अनियोजित अभिरुचि देखाए, त्यो वर्ग नै खुसी हुन सकेन। शहरको सौन्दर्य वृद्धिका लागि त्यत्रो अभिरुचि लिने प्रधानमन्त्रीको पार्टी बितेको चुनावमा कुनै पनि क्षेत्रमा विजयको नजिक पुगेन। 'ड्यास' माओवादीका कारणले मात्रै यसो भएको भन्नु शहरवासीको अपमान हुनेछ। मुस्ताङ गाडीको सवारी ढोँगका रूपमा स्थापित भयो र झनै प्रत्युत्पादक हुन पुग्यो, बाबुरामका लागि।
यति बेला बाबुराम नयाँ शक्तिको नारा अघि सारेर इतिहासको पुनः प्रशोधनमा लागेका देखिन्छन्। व्यक्तित्वमा अन्तर्निहित व्यग्रताले उनको चिन्तन प्रक्रियालाई खण्डित गरेको उनैले पत्तो पाएका छैनन्। माओवादी विद्रोह सुखान्तमा टुंगिएपछि वामपन्थी राजनीतिमा देखिएका चलन र अपचलनमा बाबुरामको हस्ताक्षर टड्कारो देखिने गरेको छ। विद्रोहकालमा जन-सरकारका प्रमुख र शान्तिकालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी), एक्लो र एकीकृत दुवै संस्करणमा, नेतृत्वको उच्च आसनमा रहेका उनमा कम्युनिस्ट नेताहरूमा प्रायः नदेखिने वैचारकि लचक देखिन्छ। नेपालको वामपन्थी राजनीतिमा तीन दशकको संलग्नता रहे पनि प्रतिबद्ध आन्दोलनकारीका रूपमा उनको पुनःजन्म माओवादी पार्टीसँगै भएको हो। यही पार्टीले उनलाई राष्ट्रिय राजनीतिमा स्थापित गरेको हो।
एक दशकअघि राजाको सरकारसँग वार्ताका लागि युद्धविराम गरेर काठमाडौँमा प्रकट भएका बेला बाबुरामले आफ्नो वैचारकि धरातल स्पष्ट गर्दै भनेका थिए, 'मैले माक्र्सवादको एबीसी जवाहरलाल नेहरु विश्व-विद्यालयवाट सिकेको हुँ। साम्यवादका धेरै विषयको ज्ञान मलाई भारतले सिकाएको हो।' (अन्तर्वार्ता ः डेक्कन हेराल्ड, ६ अपि्रल २००३)। यही अन्तर्वार्तामा उनले (पश्चिम) बंगालका कम्युनिस्टलाई 'संसदीय' र आफूलाई 'क्रान्तिकारी' माक्र्सवादीका रूपमा प्रस्तुत गरेका थिए। उनले ज्योति वसु र सोमनाथ चटर्जीजस्ता भारतका दिग्गज कम्युनिस्टहरूको पार्टीलाई 'वामपन्थी आवरणमा दक्षिणपन्थी'को बिल्ला लगाइदिएका थिए।
१० वर्ष बितेपछि बाबुराम अहिले त्यही ठाउँमा उभिन खोज्दै छन्, जहाँ ज्योति वसु उभिएका थिए। बंगालमा ममता बनर्जीको उदयपछि माक्र्सवादी कम्युनिस्टहरू भारतीय राजनीतिमा आफ्नो गुमेको वर्चस्व स्थापनाको संघर्षमा छन्। नेपालमा बाबुराम नयाँ राजनीतिक समीकरण निर्माणको प्रयासमा लागेका देखिन्छन्। नेपाली कांग्रेसका प्रखर विरोधीका रूपमा आफ्नो पहिचान बनाएका बाबुरामका लागि अहिलेको राजनीतिक वातावरणमा त्यस्तो समीकरणको निर्माण त्यति सहज देखिँदैन।
नयाँ शक्तिको आवश्यकता र औचित्य नयाँ संविधानपछि मात्रै साबित हुन सक्छ। नेपाली समाजका दुई मुख्य राजनीतिक शक्ति कांग्रेस र एमाओवादी, एकै ठाउँमा बसेर गम्भीर छलफल र राजनीतिक लेनदेन नगरेसम्म संविधान लेखिने सम्भावना छैन। एमालेमा कांग्रेस र एमाओवादी दुवैसँग समानान्तर हिँड्ने अद्भुत क्षमता रहेको प्रमाणित नै भइसकेको छ। गणतान्त्रिक संविधान एमाओवादीको प्रमुख कार्यसूची भएकाले यसमा उसको निरन्तर चासो हुनुपर्छ। यहीँनिर, बाबुरामले बजाएको बाँसुरीको धुन बेसुरा भएको छ। लोकतान्त्रिक गणतन्त्र संस्थागत बाटोमा हिँडिसकेको उनको विश्लेषणमा खासै दम छैन। नेपाली राजनीतिमा 'कूटनीतिक प्रभाव'को विस्तार नेपालको लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न भएको पक्कै होइन।
दुई माओवादीबीच हुन खोजेको एकतासँग बाबुरामको व्यग्रता जोड्नु पनि निरर्थक हुन्छ। त्यस्तो एकताका लागि परिवेश तयार छैन। चुनावमा नहार्नु, हारसिकेपछि हतारमा किन गर्नु एकता ? प्रचण्ड आफैँ पनि स्पष्ट छैनन्। अर्को चुनावसम्म राज्यशक्तिको यही स्वरूप रहन सक्दैन। कसैको सत्ता उन्मुख व्यग्र आकांक्षा पूरा गर्न वा 'आदर्श नेता' बन्नकै लागि कसैसँग अर्थहीन एकता गरेर सजिलै 'ताज' त्याग्ने उनको स्वभाव देखिँदैन।