मुलुकको चर्किएको ऐना
अवतरण गर्दा धावनमार्गबाट छड्किएर टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउको चौरमा धसियो, १८ फागुनको बिहानै ।
तत्पश्चात् चार दिनसम्म पूरै विमानस्थल बन्द रहेकाले विदेशबाट काठमाडौँ आउने-जाने सबै विमान सेवा रोकिए । हजाराँै यात्रु काठमाडाँैलगायत विभिन्न मुलुकका राजधानी र ट्रान्जिट कक्षमा अलपत्र परे । दुर्घटनापश्चात् हरेकका आ-आफ्ना कथा भएझैँ, पंक्तिकारको पनि गन्थन छ ।
कार्य दायित्वले फागुनको तेस्रो साता थाइल्यान्ड जानुपर्ने भयो । हिउँदे झरी पर्दै गरेको चिसो मौसम थियो । विमानस्थल साह्रै भीड र अस्तव्यस्त थियो । राहदानी हेर्ने कर्मी एवं सुरक्षाकर्मीसित भलाकुसारी गरेँ । तिनले बताए, यस्तै हो । चुपचाप बस्नुबाहेक हामीले कुनै विकल्प देखेनौँ ।
बैंककमा सम्मेलन सुरु भयो । अचेल सम्मेलनहरूमा सहभागी एकैपल्ट धेरै काम गर्छन् । खबर पढ्छन्, इमेल आदानप्रदान गर्छन्, ट्वीटरमा हुन्छन्, प्रस्तुति सुन्छन् अनि प्रश्नहरू पनि गर्छन् । म पनि ल्यापटपमा वेब चहार्दै थिएँ, काठमाडौँमा भएको दुर्घटनाको जानकारी आइहाल्यो । कोही घाइते भएनन् भन्ने खबरले सम्मेलनका सबै सहभागीलाई राहत दियो । दिन ढल्दै गएपछि विमानस्थल बन्द भएको खबरचाहिँ सबैको चासोको विषय बन्न थाल्यो । पर्यटक आउने मौसम भएको हुँदा केही सहभागीका मित्रहरू यता आउँदै रहेछन् तर बाटामै रोकिएछन् । हामी पनि अन्योलमा रह्यौँ । थाइल्यान्ड छाड्ने बिहान मात्रै काठमाडौँ जाने उडान रद्द भएको सूचना पाइयो । काठमाडौँ फर्किहाल्नुपर्ने बाध्यता भएको हुँदा आयोजकलाई थप एक दिन त्यहीँ बस्ने खर्च र नयाँ दिल्ली हुँदै काठमाडौँ जाने व्यवस्था गर्न अनुरोध गर्यौँ ।
नेपाल वायुसेवाको दिल्ली-काठमाडौँ सेवा सुरु भइसकेको थियो, त्यसैमा टिकट पाइयो । २३ फागुनको साँझ ६ बजेसम्म विमानस्थल बन्द छ भन्ने नेपाल नागरकि उड्डयन प्राधिकरणको खबर पढेपछि के गर्ने भन्ने लेखाजोखा गर्दै थियौँ । केही बेरपछि के थाहा भयो भने विमानस्थल साढे ७ बजेपछि खुल्छ र नेपाल वायुसेवाको विमान दिल्लीतर्फ उड्छ । विमान कति बेला आउला भन्ने जोखना हेर्दै थियौँ, दिल्ली विमानस्थलमा रहेका नेपाल वायुसेवाका सेवा प्रदायकले खबर गरे, 'विमान ११ बजेर ४० मिनेटमा काठमाडौँ प्रस्थान गर्छ, साढे ८ बजेसम्म टर्मिनल-३ पुग्नुहोला ।'
सुरक्षाकर्मीले दिल्ली विमानस्थलभित्र जाने अनुमति दिएनन् । नेपाल वायुसेवाको नयाँ तालिका त्यहाँको प्राधिकरणको प्रणालीमा समावेश भएको देखिएन, 'तिम्रो उडान छैन' भनी रोकिदिए । नयाँदिल्लीको भव्य विमानस्थल आधुनिक भौतिक विकासको द्योतक हो । व्यवस्थापन पनि तुलनात्मक रूपमा चुस्त छ । अझ नेपालीले प्रस्थान फाराम भर्नु पर्दैन, अनि प्रस्थान कक्षको अध्यागमनमा नेपाली राहदानीवाहकका लागि छुट्टै डेस्कको व्यवस्था छ । तर, हरेकपल्ट यात्रा गर्दा नमीठो अनुभूति हुन्छ, नेपालीलाई त्यहाँका कर्मचारीले झर्कोफर्को गरेको देखे-भोगेको छु । दिल्लीलाई ट्रान्जिट बनाएर विदेश जान र आउन नेपालीलाई सस्तो र सहज हुन्छ । तर, त्यहाँका कर्मचारीको व्यवहारकै कारण नेपाली यात्रु यो रूटबाट यात्रा गर्न चाहँदैनन् । अन्ततः नेपाल वायुसेवाका सेवाकर्मीले दौडधूप गरेपछि भित्र जान पाइयो र बोर्डिङ पास पनि । अढाई बजे बिहान विमान काठमाडौँतर्फ उड्यो । यसअघि अरू विमान अवतरण गरसिकेका रहेछन् । सामान स ंकलन कक्ष पुग्दा यस्तो लाग्यो कि त्यहाँ कसैले कुनै सहजीकरण वा व्यवस्थापन गरेकै छैन । नभन्दै सयौँको ब्याग हराएको खबर आएको छ । कस्तो बेथिति !
ढोकाबाहिर निस्केपछि फेर िधूलो, ट्राफिक, लोडसेडिङ अनि संविधान लेखन प्रक्रिया एवं अन्य सहमतिका संवादहरू चल्दै गरेको वास्तविकतामा आइपुगियो । यी दैनिकीमा अब प्रस्तावित निजगढ विमानस्थल, फास्ट ट्रयाक र अन्य विमानस्थलका कथा पनि थपिनेछन् । आशा गरौँ, विमानस्थलको बेथिति सुधार्ने कथा पनि संलग्न हुनेछ, अबका संवादमा । विमानस्थलको स्तर मुलुककै ऐना हो अन्तर्राष्ट्रिय जगत्का लागि । यो ऐना चर्किएको छ, चकनाचुर नै पार्नेतिर नजाऔँ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...