प्रजातन्त्रको ऐँठन
०१३ सालमा देशव्यापी भ्रमण गरेर राजा महेन्द्रले दलहरूको नाडी छाम्ने कोसिस गरे । वास्तवमा उनले कांग्रेसको स्थितिको कमजोर आकलन गरेपछि मात्र आमचुनावको घोषणा गराएका हुन् ।
.jpg&w=900&height=601)
आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकारा हो
लड्दालड्दै मरे मरौँला यो एउटै नारा हो
तारिणीप्रसाद कोइराला रचित यो क्रान्तिगीत प्रजातन्त्र रेडियोमा घन्केको थियो कुनै बेला । कहिल्यै नअस्ताउने ठानिएको साम्राज्यको गोठालो बनी सय वर्षसम्म कज्याएको राणा शासन फाल्न राजाले गद्दीको बाजी थापे, ज्ञात/अज्ञात सहिदहरूले प्राणको आहुति दिए र क्रान्ति सफल बनाए, २००७ सालमा । त्यसको एक दशक नपुग्दै राजा महेन्द्रले १ पुस ०१७ मा बीपी कोइरालाको जननिर्वाचित सरकारलाई थुनेर हुकुमी शासन चलाए । ०१९ सालमा पञ्चायततन्त्र सुरु भयो ।
नेपालमा बुद्ध जन्मिएताका युरोपको एथेन्स र रोममा प्रजातन्त्र आएको थियो । एक शताब्दीसम्म दार्शनिकको शास्त्रीय परिभाषामा रुमल्लिएको प्रजातन्त्र प्रथम विश्वयुद्धको बैसाखी टेकेर विस्तारित भयो । उपनिवेश खुम्चियो, राजतन्त्र र कुलिनतन्त्र ढले र तिनको विकल्पमा फासिस्टवाद, नाजिवाद र लेनिनवादले जन्मने मौका पाए ।
दोस्रो विश्वयुद्धपछि मात्र एसियाको सेरोफेरो छिचोल्दै भारतमा स्वतन्त्रताको आन्दोलन सल्कियो । त्यही आन्दोलनको प्रेरणा र अनुभवमा टेकेर राणाविरोधी आन्दोलनको सूत्रपात भएको हो । प्रात: स्मरणीय गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्दले १९९७ सालमा सहादत प्राप्त गरेर शिलान्यास गरेको क्रान्तिको जगमा टंकप्रसाद आचार्य, रामहरि शर्मा, खड्गमानसिंह बस्नेत आदिले गोलघरमा बसेर स्तम्भ निर्माण गरे ।
त्यसमा राणाको वर्गीकरणमा पारेर धपाइएका सुवर्णशमशेरको धन र विद्याको योगदान छ । यो क्रान्तिको ब्याडमा कृष्णप्रसाद कोइरालाले छरेको रक्तबीज र कृष्णलाल अधिकारीको मकैको खेती पनि बिर्सिनै नसकिने पाटा हुन् । भारतको बनारस र कोलकातामा बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, डिल्लीरमण रेग्मी आदिको अगुवाइमा नेपाली कांग्रेसको स्थापना भयो । कांग्रेसले सर्वप्रथम मुक्तिसेनाका लागि खरखजाना, हातहतियार र रसदपानी जोहो गर्यो । त्यसका लागि मुख मागे बजेट सुवर्णशमशेर र महावीरशमशेरले बेहोरे ।
सिमानाका अधिकांश जिल्लामा मुक्तिसेनाले पकड जमाइसकेको अवस्थामा राजा त्रिभुवन भारतीय दूतावास हुँदै सपरिवार दिल्ली प्रस्थान गरे । शरणमा आएका राजाको भरपुर फाइदा भारतले उठाउने नै भयो । प्रजातन्त्र र राजतन्त्रलाई सघाएबापत सन् १९५० को मैत्री तथा शान्ति सन्धिमा ल्याप्चे गरायो ।
त्यसै गरी प्रजातन्त्रको पहिलो किस्ताबापत मोहनशमशेर नेतृत्वको मन्त्रिपरिषद् क्रान्तिको पहिलो गाँसमै ढुंगा साबित भयो । तत्कालीन गृहमन्त्री बीपी कोइरालामाथि उनकै निवासमा दिनदहाडै खुकुरी दल नामक प्रतिक्रान्ति जत्थाले सांघातिक हमला गर्यो । उनले आत्मरक्षार्थ जवाफमा गोली नहानेको भए ठाउँको ठाउँ मारिनेमा शंका छैन । काठमाडौँमा भारतविरोधले आकाश गुञ्जायमान भयो । तर, प्रजातन्त्रको गति दार्जीलिङको रेलभन्दा सुस्त भइदियो । वामे सर्न लागेको प्रजातन्त्रले राजाले बोकाएको अस्थिरताको भारी उचाल्नै सकेन । परीक्षणकालमा भित्रिने र बाहिरिने मन्त्रिपरिषद्को प्रयोगले नवजात शिशु प्रजातन्त्र कहालिन थाल्यो ।
०१३ सालमा देशव्यापी भ्रमण गरेर राजा महेन्द्रले दलहरूको नाडी छाम्ने कोसिस गरे । वास्तवमा उनले कांग्रेसको स्थितिको कमजोर आकलन गरेपछि मात्र आमचुनावको घोषणा गराएका हुन् । आमचुनावअगाडि गर्ने भनिएको संविधानसभा समेत थाती राख्न बीपी तयार भए । यसै चुनावमा कांग्रेस दुईतिहाइ मत पाएर विजयी भयो । राजाको अडकलबाजीमा तुषारापात भयो । धक फुकाएर कांग्रेसले बिर्ता उन्मूलनजस्ता क्रान्तिकारी र समाजवादी कार्यक्रम घोषणा गर्यो । यो सफलता र गतिशीलताले देशभित्र महेन्द्रलाई र बाहिर जवाहरलाल नेहरुलाई ईष्र्यामा जलाएको निचोडै निकाल्न सकिन्छ ।
यही ओदानमाथि बसेर राजा महेन्द्रले एकपटक फेरि प्रजातन्त्रको हत्या गरे भने नेहरुले औपचारिक विरोध गरेर कार्यगत मौनता साँधे । प्रजातन्त्रको फूलबारीमा वनमारा झारको बिगबिगी रह्यो । नेपालको प्रजातन्त्र मात्र होइन, प्रजातन्त्रका सेनानी पनि कैदी बनाइए ।
भारतमा स्वनिर्वासित बीपीको ०३३ सालमा पुनरागमनका कारण राजा वीरेन्द्रले पञ्चायत र बहुदलबीच जनमतसंग्रह गराए । झिनो मतले पञ्चायतले जित्यो । बीपीले हार स्वीकारे । तर, दलीय अनुपस्थितिमा आवरणको लिपपोतले अन्तरवस्तु र परिणाममा खासै असर परेन ।
०४६ मा आएर गणेशमान सिंहको नेतृत्वमा वामपन्थीसमेतको सहयोगले जनआन्दोलन ऐतिहासिक रूपमा सफल भयो । कोमामा सुतेको प्रजातन्त्र फेरि बौरियो । तर, पाँच वर्ष नपुग्दै माओवादीको छापामार युद्धले प्रजातन्त्र कछुवा शैलीमा भूमिगत भयो । माओवादीले सशस्त्र युद्ध र वार्ताको दुईधारे तरबार रणनीतिक रूपमै चलायो । राजालाई खेलायो । भारतलाई फुस्ल्यायो । संघर्ष र सहमतिको द्वैध कार्यनीतिलाई धेरै हदमा उचाइमा पुर्यायो । र, गिरिजाबाबुको अन्धो प्रेमका खातिर संसद्मा एमालेसँग कुम जोडेर बस्ने हैसियत राख्न सक्यो । तर, माओवादीले आफ्नो धर्म अनुसार गिरिजालाई धोका दियो । फेरि मुलुकमा छाएको अति महँगो शान्ति दिगो हुन सकेन । राजतन्त्र उखेलियो । सजिलैसित गणतन्त्र आयो । तर, संस्थागत हुन हम्मे परिरहेको छ ।
खास गरी भारतमा सात दलले गरेको १२ बुँदे सम्झौतामा टेकेर संविधानसभाको चुनाव घोषणा भयो । तर, मधेसी दलले चुनावको मुखमा हलो अड्काएर गोरु चुट्न थाले । गिरिजाले संघीयता पनि स्वीकारे । यसरी प्रजातन्त्र मधेसी र माओवादीको चेपुवामा परेको जगजाहेर छ । संविधानको पहिलो बेत तुहिइहाल्यो । दोस्रो बेतको संविधान पनि संघीयताको सालनालले सबलांग जन्मन सकेन । आमा र शिशु दुवैको स्वास्थ्यलाभको कामना नेपालीको दिनचर्या हुन पुगेको छ ।
यी सबै चुहानको मुहान ००७ हो । मानौँ, नमानौँ यावत् खुद्रा संघर्षको पुर्खा पनि ००७ साल हो । कुनै पनि आन्दोलन टेस्टट्युबबाट जन्मेका होइनन् । मानौँ, सरोगेसीबाट जन्मेको प्रजातन्त्रको माउ र साउँ सायद भारतमै होला । कामना गरौँ, ७ फागुनको साइत पारेर जाने प्रधानमन्त्री ओलीले धिपधिप गरेर निभ्न लागेको प्रजातन्त्रको दियोका लागि पनि तेल ल्याउन नबिर्सिऊन् ।