एक निष्काम जनसेवक
झाले न त राजालाई गुहारेर आफ्ना पुत्रहरूलाई जागिरमा हाले, न त अकूत सम्पत्तिको लप्काले पुत्रीहरूलाई दहेजसम्पन्न बनाउन सके । ब्रह्मलुटको वृक्षमा झटारो हानेर फल टिप्नु त कता हो कता, हावा–हुरीले उडाएर पोल्टामा हालिदिएका कन्दमूललाई समेत जुगाड गर्न चाहेनन् ।
.jpg&w=900&height=601)
विसं २०४७ को संविधानपछि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष राधारमण उपाध्यायले भ्रष्टाचारमा मधेसी बाहुल्यबारे दिएको अभिव्यक्ति आजपर्यन्त खिल बनेर दिलमा गढेको छ । उनले भनेका थिए, ‘उनीहरूले लोभ गर्नुमा यस्ता सामाजिक कुरीति पनि उत्तिकै जिम्मेवार छन् । छोरीको बाबु भएपछि त दहेजका लागि रकमको जोहो गर्नु एक मात्र अभीष्ट हुन्छ ।’ तर, यसलाई उहिल्यै असत्य साबित गरिदिएका हुन्, सत्यनारायण झाले । सप्तरीका रैथाने झा तीन दशकभन्दा बढी संवैधानिक पदमा बिताएर अहिले पनि राजविराजको माटोमा बुढ्यौली बिसाइरहेका छन् ।
झाले न त राजालाई गुहारेर आफ्ना पुत्रहरूलाई जागिरमा हाले, न त अकूत सम्पत्तिको लप्काले पुत्रीहरूलाई दहेजसम्पन्न बनाउन सके । ब्रह्मलुटको वृक्षमा झटारो हानेर फल टिप्नु त कता हो कता, हावा–हुरीले उडाएर पोल्टामा हालिदिएका कन्दमूललाई समेत जुगाड गर्न चाहेनन् ।
मान्छेले जतिसुकै निष्काम कर्म गरेर अन्तरिक्षमा उड्छु भने पनि समाजको गुरुत्वाकर्षणले पृथ्वीमा नथचारी नछाड्ने रहेछ । राजविराज–९ त्रेताचोकको छेउमा रहेको उनको कुटी पत्ता लगाउने क्रममा छरछिमेकमा सोधपुछ गर्दा एक अधबैँसेले यसरी व्यंग्य कसे, “राजाको कजाइमा पर्दा समाज र विरादरीजति बिरानो बनाउनुभयो । अनि, उहाँको घर कसले चिनाइदिन्छ ?”
रामायणको धोबी शैलीको यो टिप्पणीले झ्वाट्ट आहत भए पनि प्रकारान्तरले प्रतिनिधि प्रतिक्रिया हुन गयो । मधेस आन्दोलन ओरालो लागेर सुरक्षित अवतरणको खोजीमा भौँतारिएको थियो । सायद, म आन्दोलनको पतझडको ऋतुमा पनि नझरेको बूढो पातमा मधेसको हराएको बैँशको कथा उप्काउने निरर्थक प्रयास गरिरहेको थिएँ ।
हनुमाननगरबाट बसाइँ सरेको राजविराज, अझ समग्र सप्तरीले थुप्रै राजपूत र झाहरूलाई राजपाठमा सहभागी गराएको छ । राणाशासनदेखि राजतन्त्र हुँदै गणतन्त्रसम्म यिनीहरूको हैकम गम्केकै छ । कोइलाडीका सिंह परिवारका अनिरुद्र तथा भगवतीप्रसादहरूले प्रजातन्त्रको अघि र पछि दुवै कालखण्डमा नेपालको न्यायपालिकालाई पेवा बनाएकै हुन् । त्यसरी नै तराई कांग्रेसका नाममा तराईको पहिचान र मुक्तिलाई दाउमा राखेर पञ्चायतकै समयमा वेदानन्द झा गृहमन्त्री र भारतको राजदूत हुन सफल भएकै हुन् । गणतन्त्रका मसिहा रामराजाप्रसाद सिंहको सम्झना मूर्त रूपमा कतै नदेखिए पनि सद्भावना पार्टीका जनक गजेन्द्रनारायण सिंहलाई राष्ट्रपिता त्रिभुवनको सालिक उखेलेर नेताचोकका नेता बनाइएको छ । सत्यनारायण झा आफूलाई ऐँठन गर्ने यी दृश्यलाई विस्मृतिको पर्दा हाल्न विवश छन् ।
यही राजविराज एक समयका उत्कृष्ट प्रशासक, देश र जनताका निष्काम सेवक झाको गृहनगर हो । कोसी कटानमा परेपछि सप्तरीको सदरमुकाम हुने मौका पाएको राजविराज नेपालकै पहिलो योजनाबद्ध सहर र सदरमुकाम हो तर यसले विकासको काँचुली फेर्न भने सकेन । अहिले राजविराज पुग्ने जो कोहीलाई नेपालकै सबैभन्दा फोहोरी सहरको पर्यायजस्तो लाग्छ । मधेसी गोस्वरादेखि लिएर संघीय स्वायत्तताको सँघारमा आइपुग्दासम्म राजविराज ओरालो लाग्नुमा सबै कालका सबैखाले नेता जिम्मेवार छन् ।
त्यही राजविराजमा ०१४ मा राजा महेन्द्रको सवारीमा स्वागतको जिम्मेवारी पाएका थिए झाले । त्यही बेला राजाको विश्वास आर्जन गरेर उनी ०२१ मा बैतडीको बडाहाकिम भए, जहाँ उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई राजनीतिमा ल्याउने श्रेय बटुले । नेपालको सबैभन्दा पुरानो, सहिदहरूको दल प्रजापरिषद्का पदाधिकारी यिनले जसले निजी हैसियतमै पटना विश्वविद्यालयबाट ०१० सालमै एमए गरेका हुन् ।
प्रजापरिषद्मा महासचिव हुँदा ज्यूँदा सहिद टंकप्रसाद आचार्य र तराई मूलका शीर्षस्थ नेता भद्रकाली मिश्रको बीचमा पार्टी फुटाउनेसम्मको विवाद छताछुल्ल भयो । नेतृत्व विवादमा आँखा चिम्लेर झाले
आचार्यलाई साथ दिनुमा मिश्रको भारतपरस्तता दोषी थियो । प्रजापरिषद्को मुखपत्र जनवाणी र लोकतन्त्र धेरै वर्षसम्म यिनैले सम्पादन गरे ।
प्रजातन्त्रदेखि शाही शासनकालसम्म खास परिवारका खास व्यक्तिलाई पुरस्कृत गरेर मधेसको प्रतिनिधित्व धान्ने शासन सूत्रकै रूपमा स्थापित भएकै हो । सन्दर्भले झालाई महान्यायाधिवक्ता रामानन्दप्रसाद चौधरीका बाबु महिखर चौधरीको याद तीव्र हुन्छ । उसै बेला कानुनमा स्नातक भइसकेका सप्तरीका थारू, धनगढीका बडाहाकिम, जुन क्वार्टरमा जनक्रान्तिमा मारिएका थिए, त्यही क्वार्टरमा उनले वर्षौंसम्म गुजारा गरेका थिए ।
पश्चिमका चार अञ्चलमा पटक–पटक अञ्चलाधीश भएका झा ०३६ को जनमतसंग्रहपछि हटाइए, जतिबेला सेतीका अञ्चलाधीश थिए । किनभने, जनमतसंग्रहमा शान्ति सुरक्षा कायम गरी तटस्थ रहेकामा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा उनीसँग रुष्ट थिए । बहुदलका नेताहरूलाई थुनछेक नगरेको र मण्डले लगाएर नलखेटेको मात्र होइन, नेता कृष्णप्रसाद भट्टराईलाई स–सम्मान राजनीतिक व्यवहार गरेकामा थापाले इबी साँधे ।
०४१ मा लोकसेवा आयोगको सदस्य हुँदै झा ०४५ तिर अध्यक्षमा उक्लिए । त्यसबेला सरकारले दिएको मोटर किन्ने सुविधासमेत लिएनन् । उपचारका लागि कमसेकम नर्भिक अस्पताल भर्ना भए सरकारी सुविधा दिलाइदिने आश्वासन दिन गएका उच्चपदस्थ मित्रलाई मुटुरोगले ग्रस्त झाले यसरी सम्झाए, “म जनतासरह गंगालालमा उपचार गर्छु । गरिब जनताले तिरेको राजस्वको मूल्यमा बाँच्न चाहन्नँ । ” गरे पनि त्यसै ।
अखण्ड नेपालका कट्टर हिमायती झालाई मधेस आन्दोलनले हल्ला चलेजस्तै विखण्डन ल्याउँछ कि भन्ने पिर थियो । त्यसबाट पार पाए पनि विदेशीको स्वार्थबाट मुक्त गरेर मधेस अन्दोलनलाई देशभित्रैबाट निकास दिनुपर्ने मतमा उनी टसमस भएका छैनन् ।