गाईजात्रामा हास्यव्यंग्य
हास्यव्यंग्य फाँटमा हास्य लुप्त भएर व्यंग्य मात्र प्रहार भएको देखियो ।

नेवार समुदायमा प्रचलित गाईजात्रालाई राजा प्रताप मल्लले राजकीय पहिचान दिए । कान्छा छोरा चक्रवर्तेन्द्र मल्लको निधनले विक्षिप्त बनेकी रानीको मन बहलाउन गाईका रूपमा मृत आत्माका नाममा झाँकी र प्रहसन हनुमानढोकामा प्रस्तुत गर्न लगाए । कालान्तरमा गाईजात्रा नेपालका नेवार बाहुल्य सहरमा लोकप्रिय भयो । साहित्य, रंगमञ्च र पत्रकारिताको माध्यमबाट विकृति र विसंगतिलाई बिब्ल्याँटो र उटपट्याङ पाराले देखाइन्छ ।
शक्तिबल्लभको ‘हास्य कदम्व’ नाटक नेपाली हास्यव्यंग्यको पहिलो लिखित दस्तावेज हो । भानुभक्तको ‘भोलि भोलि’, भूपीको ‘हजुर भन्न मन लाग्छ’ हास्यव्यंग्य फाँटका कालजयी कविता हुन् । मोतीराम भट्ट र उनका सहकर्मीहरूले यो विधाको जग बसालेकै हुन् । शारदाकालमा हल्केको नेपाली साहित्य सँगसँगै केशवराज पिँडालीले खै खै लेखेर आधुनिक हास्यव्यंग्यको मार्गनिर्देश गरे । भैरव अर्यालले हास्यव्यंग्य लेखनलाई विस्तार गरे । यसमा दाताराम शर्मा, कृष्णप्रसाद चापागार्इं, मोराश, धच गोतामे, श्याम गोतामे, श्रीधर खनाल, बादेपा, रामकुमार पाँडेको नाम लिन सकिन्छ ।
युरोपको अप्रिल फुल र भारतको होलीको धङधङीले गाईजात्राको बुई चढेर पत्रकारितामा विचरण गरेको व्यंग्यचेतले पाठकलाई जगायो । बहुरंगी पत्रिकाले कार्टुन, प्यारोडी र मानमर्दन पदकहरू पस्कन थाले । नयाँ समाज पत्रिकाले सुरु गरेको गाईजात्रे विशेषांकको बिँडो कामना सिने पत्रिकाले थामिरहेकै छ । पञ्चायतले अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठे पनि हास्यव्यंग्यको धुकधुकी बाँकी नै रह्यो ।
तत्कालीन एकडेमीका सदस्य सत्यमोहन जोशीको संयोजनमा ०३३ सालदेखि गाईजात्रा महोत्सव हुन थाल्यो । यो महोत्सव गाईजात्राको सांस्कृतिक चास्नीमा डुबेको अभिव्यक्ति स्वतन्त्रताको तीतो ओखती राजा र प्रजा दुवैलाई ख्वाइयो । मदनकृष्ण–हरिवंश र सन्तोष पन्तलाई मञ्च प्रवेश गराएकामा गर्व गर्ने सत्यमोहनलाई प्रहरीका राजपाल–हाडा र सेनाका भीमबहादुरको प्रदर्शनले अझै झकझकाउँछ ।
लक्ष्मण लोहनी र यादव खरेलको कवितापाठले अझै एेँठन गर्दै छ । मास्टर केशवको एकल प्रहसन र कालीप्रसाद रिजालको ‘पजेरो’ कविता पनि महोत्सवको कोसेढुंगा साबित भए । रेडियो नाटकमा हास्यव्यंग्यलाई गोपालराज पन्तले जमाएका थिए०२३ सालमा वासुदेव ‘माडसाब’ले कौवा प्रकाशन खोलेर दर्जनौँ पुस्तक प्रकाशन गरे । आफूलगायत भैरव अर्याल, दाताराम शर्मा, घटोत्कच शर्मा, रामकुमार पाँडे, भीमनिधि तिवारी आदिका पुस्तकको बाढी नै आयो । यिनले ०५० सालमा वासुदेव विद्यादेव गुठी स्थापना गरे ।
प्रत्येक साल पालैपालो हास्यव्यंग्य साहित्य, व्यंग्यचित्र र श्रव्यदृश्यमा १ लाख १ रुपियाँको पुरस्कार राखिएको छ । वासुदेव लुइँटेलले निजी घर बेचेर उक्त पुरस्कारको स्थापना गरेकाले उनलाई आधुनिक दधीचि पनि भनिन्छ । त्यसबेला सरकारी व्यक्तिको आक्रोशबाट बच्न प्राय: हास्यव्यंग्यकारहरू छद्मनाम राख्थे । सबैभन्दा धेरै छद्मनाम यिनैको थियो । कुनै कार्यक्रममा बोलायो भने आफ्नो सट्टामा फोटो पठाइदिन्थे । यिनले घरमा ‘डन्डा, झन्डा, सिपाही र बन्दुक लिएर नआउनू’ भनेर सूचना टाँसेका थिए ।
बहुदलीय व्यवस्थामा दलीय आग्रहमा टेकेर व्यंग्यवाण चल्नु स्वाभाविकै थियो । तर, दलहरूको विकृति र भ्रष्टाचारविरुद्ध पनि कलम चलेकै हो । हास्यव्यंग्य फाँटमा हास्य लुप्त भएर व्यंग्य मात्र प्रहार भएको देखियो । कतिले सर्जकलाई नै दुर्बल ठाने भने समालोचकहरूले पत्रिकाको बहुलतालाई पनि दोष लगाए । तीक्ष्ण र चोटिलो नभए पनि यसले साहित्यिक स्थान बनाउन छाडेन । थुप्रै सर्जक र पाठक हुँदाहुँदै पनि पत्रपत्रिकाले हास्यव्यंग्यलाई कम स्थान दिएका छन् ।
यसको मूल कारण सिनेमा र काँचको पर्दा हुन सक्छ । वर्षभरिको कुण्ठा र बह पोखेर हाँस्ने र हँसाउने गाईजात्रा अभिव्यक्ति स्वतन्त्रताको महोत्सव बनोस् ।