मादल महात्म्य
मादलको आकारजस्तै बोल र तालमा पनि स्थानपिच्छे फरक पाइन्छ ।

रैथाने मादलको उत्पत्तिको कथा लामै छ । वैदिक कालमा शिवजीको तालबाजा डमरुबाट मृद्रंग हुँदै मार्दल भएर आजको मादल भएको बुझिन्छ । नेपाली संगीत र संस्कृतिको धुकधुकीका रूपमा गम्कने मादल मेचीदेखि महाकालीसम्म उत्तिकै श्रद्धासाथ बज्छ । पूर्वमा पूर्वेली र पश्चिममा पश्चिमा भनिने मादललाई बान्की अनुसार नाम दिइएको पाइन्छ । पाल्पातिर बजाइने मादललाई रानी मादल भनिन्छ । अनि, उपत्यकाभित्र मगर जातिको चिह्नस्वरूप यसलाई मग खिँ भनेर विभिन्न बोलमा बजाइन्छ । यसै गरी सखिया र झुमरी मादल थारू जातिका लोकगीत र लोकनाचहरूमा प्रयोग गरिन्छ ।
मादलको आकारजस्तै बोल र तालमा पनि स्थानपिच्छे फरक पाइन्छ । पूर्वमा ठाडो टप्पा, लहरे टप्पा आदि मादलका राग र तालहरू गाइन्छन् । पश्चिममा सोरठी, खयाला, घाटु झ्याउरे, टप्पा आदि प्रमुख हुन् । मादलका बोल र आवाज पनि जनजिब्रो अनुसार फरक–फरक । पूर्वमा ‘ ताङ क्डाङ धिङ टुङ’ बोलिन्छ भने उपत्यकामा ‘ घिनताङ, घेनेनाङ, घेनेनाङ र घुनतुङ घुनठाइ’ आदि पनि बोलिन्छ ।
लोक संस्कृतिको अनुसन्धान र प्रवद्र्धनका लागि मेची–महाकाली चहारेका धर्मराज थापाले ‘आज मादल बजेको किन, गाउँघर दुनियाँ ब्यूँझाउन’ गाएर जागरण बाजाका रूपमा चित्रण गरेका छन् । कृष्णप्रसाद पराजुलीले मादले भाका अन्तर्गत झ्याउरे, चुड् का, रोइला, ख्यालीलाई लिएका छन् भने चूडामणि बन्धुले देउडा, रसिया, दोहोरी र जुहारी, सालैजो र सुनिमाया भाका थपेका छन् । मादले नृत्यगीतमध्ये सोरठी, संगिनी, धाननाच, चरित्र, घाटु पाङ्दुरेलाई लिन सकिन्छ । मादले गीतहरूमा टप्पा, सोरठी, हुड्के, टुङ्ना, झाँक्री र गन्धर्व गीत प्रमुख हुन् । मादले भाकाहरू परिवर्तनशील छन् र भुइँमा नराखी तेर्सो पारी भिरेर बजाउने हुनाले नाच्न पनि सजिलो छ ।
स्वदेशमा मादललाई जातीय बाजाका रूपमा देश–देशान्तर डुलाउने श्रेय ६८ वर्षीय न्हुच्छेबहादुर डंगोललाई जान्छ । मादल बजाउँदा बजाउँदा हत्केला र हातको मासु मरिसकेका छन् उनका । भन्छन्, “अब त चिमोटे पनि दुख्दैन ।” काठमाडौँको त्यौडमा जन्मेका न्हुच्छेले पिता न्हुच्छेमान र नाससखल भन्ने संस्थाबाट प्रशिक्षण पाएका हुन् । सात वर्षको उमेरमा मादल थमाइएका उनले १३/१४ वर्षको हुँदासम्म १ सय ५ वटा बाजा बजाउन सिकिसकेका थिए । सानैमा मातृशोक खेपेका उनी भन्छन्, “त्यसबेला मादलले मेरो पेट भर्यो । म जात्रा, भजन–कीर्तनमा मादल बजाएर पैसा कमाउँथेँ र त्यही पैसाले खाने, पढ्ने व्यवस्था मिलाउँथेँ ।”
किशोर अवस्थामा धर्मराज थापाले रेडियो नेपालमा हुले उनलाई । नातिकाजी, कोइलीदेवी, मीरा राणा, डेजी बराइली, नारायणगोपालदेखि गोपाल योञ्जनसम्मका गीतमा मादल बजाए । त्यसबेला उनी मासिक पाँच रुपियाँ पारिश्रमिक पाउँथे । मादलको मोल ५० रुपियाँ थियो । उनले चार सयभन्दा बढी गीतमा मादल बजाइसकेका छन् । ०२५ देखि ०४५ सम्म बाल संगठन र विद्यालयमा वाद्यवादनको प्रशिक्षण दिए । कलानिधिबाट संगीत प्रभाकर उत्तीर्ण गरेपछि पद्मकन्या क्याम्पसमा संगीतका उपप्राध्यापक भए । त्यसताका प्रशिक्षक भएर यिनी मुलुकका धेरै ठाउँ पुगे । ‘मादल तरंग’ लिएरै १९ देश घुमे । उनका बाबुको अन्त्येष्टिमा गुठियारहरू सहभागी भएनन् । तर पनि उनले प्रशिक्षणको काम अहिलेसम्म पनि जारी नै राखेका छन् ।
न्हुच्छेबहादुरको मादल सेट जापान, भारत, बेलायत र स्वीट्जरल्यान्डका संग्रहालयमा राखिएको छ । सन् १९८२ मा उनले महारानी एलिजाबेथलाई आश्चर्यमा पारे । “२२ वटा मादल एकैसाथ बजाएको थिएँ । त्यत्रो मादल कसरी बजाएको भनेर छक्क पर्नुभयो । कार्यक्रम सकिएपछि मेरो हात समातेर वन्डरफुल भन्नुभयो,” न्हुच्छेबहादुरले सुनाए । उनले मादल बजाएर कुकुरहरूलाई पनि रुवाएका छन् । विदेशीहरू मादलको यो शक्ति देखेर छक्क परेको अनुभव पनि उनले सँगालेका छन् ।