[टिस्टुङ देउराली] नेपाली सन्दर्भमा ट्रम्प जितको अर्थ
यसपालिको अमेरिकी चुनाव के अर्थमा अनौठो रह्यो भने सधैँ मध्यमार्गमा रहनेले चुनाव जित्ने गरी बनाइएको अमेरिकी राजनीतिक प्रणालीमा यसपटक खुलै रूपले अति दक्षिणपन्थी समूहले बाजी मार्यो ।
![[टिस्टुङ देउराली] नेपाली सन्दर्भमा ट्रम्प जितको अर्थ [टिस्टुङ देउराली] नेपाली सन्दर्भमा ट्रम्प जितको अर्थ](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2016/politics/21082016011808bp.jpg&w=900&height=601)
अमेरिकी राष्ट्रपति चुनावको भोलिपल्ट नतिजा आउन थालिसकेको थियो । वर्ष दिनअघिदेखि सबैले इतिहासकै अनौठो भन्ने गरेको चुनावी प्रक्रियाको अन्त्य हुँदै थियो । करिब चार दशकको राजनीतिक इतिहास भएकी हिलारी क्लिन्टनसँगै डेमोक्र्याटिक पार्टीले राजनीतिको कुनै अनुभव नबोकेका डोनाल्ड ट्रम्प (रिपब्लिकन पार्टी)सँग पराजित भएको प्रारम्भिक नतिजा आउँदै थियो । त्यसै बेला जोनाथन हाइटले यस्तो ट्वीट गरे, ‘डेमोक्र्याटिक पार्टीका सदस्यहरू, कृपया यसको प्रतिक्रियामा पहिचानको राजनीतिलाई झन् उचाल्ने काम नगर्नु होला । धेरै समुदाय भएको लोकतन्त्रमा त्यो विष नै हो ।’ उनले यसो भन्नुको पछाडि महत्त्वपूर्ण सन्दर्भ लुकेको छ । र, यसबारे छलफल गरेमा नेपाली राजनीति र समाजका केही पाटाबारे सार्थक बहस गर्न पनि सहयोग हुन्छ ।
विविधतामा सामुदायिकता
जोनाथन हाइट नाम चलेका अमेरिकी प्राध्यापक र समाजशास्त्री हुन् । समाजमा विविधताको प्रभाव के हुन्छ भन्नेबारे अध्ययन–अनुसन्धान गर्ने प्रमुखमध्ये नै पर्छन् उनी । समाजमा कम्पनी वा त्यस्तै अरू संरचनामा धेरै मानिसको सहकार्य चाहिन्छ, जसबाट समान उद्देश्य वा दिशामा प्रगति होस् । यसका लागि धेरै जात, भाषा, पहिचानजस्ता विविधतामा के असर हुन सक्छ वा कति उपयोगी या हानिकारक हुन सक्छ ? यिनै कुरा बुझ्ने प्रयत्नमा हाइटलगायतले अध्ययन–अनुसन्धान गरेका छन् । कुनै समूहमा लागू हुने सिद्धान्त खोज्ने प्रयास गरेका छन् उनीहरूले ।
तिनका अध्ययनले के देखाएका छन् भने विविध पहिचानका मानिसलाई जोड्ने कुनै साझा भावना भएन भने तीबीच सहकार्य मुस्किल हुन्छ । यस्तो साझा पहिचानबिना एउटा समूहको सदस्यले अर्को समूहको सदस्यलाई ‘फरक’ ठान्छ । यसले परोपकार, सहकार्य र सहयोगको भावना होइन, शंका, अविश्वास, ईष्र्या र अस्वस्थ्य प्रतिस्पर्धा जन्माउँछ । त्यसैले सफल भनेर चिनिने ठूला कम्पनी या संरचनामा ‘भित्रिया’ र ‘बाहिरिया’को पहिचान विकसित गर्ने कोसिस गरिन्छ । साझा हित प्रवद्र्धन हुने कामलाई पुरस्कृत गर्ने र सबैको सहकार्यमा मात्रै सामूहिक उन्नति हुन्छ भन्ने मान्यता बसालिन्छ । समूहको सदस्यतालाई महत्त्व दिने र विशिष्ट बनाउने कोसिस गरिन्छ । नयाँ सदस्य त्यो संस्कारमा भिजेर एकाकार भएपछि मात्रै स्वीकार गरिन्छ । कसैले यो अलिखित भित्रिया–संस्कार तोडेर समूहको हित विपरीत काम गरे उसलाई सकेसम्म कडा सजाय दिएर एकता कायम गरिन्छ ।
देशको सदस्यता भनेर चिनिने नागरिकता पनि यस्तै मान्यताबाट प्रेरित छ । प्रचलित मानकका आधारमा सफल मानिएका सबै देशमा ठूला कम्पनी वा संरचनामा जस्तै साझा संस्कार र पहिचानलाई प्रधानता दिइनु संयोग मात्रै होइन । समान हितका निम्ति भएको हुँदा सबै सदस्यलाई कर तिर्न हिचकिचाहट हुँदैन । साथै, कसैले यी नियम र संस्कार नमानेको अवस्थामा सबै मिलेर उसलाई कडा सजाय दिनेमा पनि एकमत रहन्छ । हामी उस्तै मानिस हौँ भन्ने भावनाका कारण कुनै सदस्यलाई समस्या परे सामाजिक सुरक्षा व्यवस्था हुने र त्यसका लागि सक्षम मानिसले योगदान दिनेमा पनि एकमत छ ।
सबैभन्दा सफल ठानिएका पश्चिमा जगत्का प्राय: देशमा सामुदायिक बनोटको हिसाबले धेरै कम विविधता छ । यी समाजमा आधुनिक राज्य स्थापनाको धेरै समय एकै भाषा, धर्म र समुदायका मानिसको बाहुल्य छ । अपवाद रहेका केही देशको विविधता पनि अफ्रिकी वा एसियाली देशको तुलनामा निकै कम छ । र, त्यहाँ पनि समान भावना बनाउन थुप्रै काम गरिएका छन्, जसबाट निर्मित साझा पहिचानलाई सामुदायिक पहिचानभन्दा माथि राखिएको छ । युरोपेली युनियनले अपेक्षित सफलता पाउन नसक्नुमा देशहरूबीचको यही ‘भित्रिया’ र ‘बाहिरिया’ पहिचानको बलियो जगलाई कारण मानिएको छ ।
आप्रवासीको देश भनेर चिनिएको अमेरिका त झन् ‘अमेरिकी विशिष्टता’मा आधारित राष्ट्रिय पहिचानका निम्ति प्रख्यात छ । युरोपका विविध देशबाट पुगेका मानिसले करिब २ सय ४० वर्षअघि स्थापना गरेदेखि नै युरोपेलीभन्दा ‘हामी विशिष्ट अमेरिकी’ हौँ भन्ने यही भावना त्यो देशको पहिचान बनेको छ । अहिले पनि अमेरिकी बन्ने प्राय: सबै आप्रवासी यही पहिचानमा भिजेर ‘भित्रिया’ बन्न पुग्छन् ।
पश्चिमा मात्रै होइन, विविधताका बीच पनि सफल भएका अरू महादेशका मुलुकका हकमा पनि यही कुरा लागू हुन्छ । तर, अमेरिकाजस्ता पश्चिमा देशमा यी साझा भावना विकास गर्न भने थुप्रै कृत्रिम रचना र क्रूर कार्यहरू पनि भएका छन् । प्राय: पश्चिमा देशको पहिचान र राष्ट्रियतासमेत नश्लीय प्रधानता, सीमित धार्मिक पन्थ तथा सैन्य हैकममा आधारित छ । आर्थिक संकट र कठिन समयमा यो अझै पनि बेलाबेला सतहमा आउने गरेको छ । आधुनिक युगदेखि नै धर्म, जात, राष्ट्र वा वर्गका कारण पश्चिममा ठूलठूला हिंसात्मक परिघटना भएका छन् । दुई विश्वयुद्धपछिका केही दशक आर्थिक विकासले यी प्रवृत्तिलाई छायामा पारेको भए पनि नयाँ शताब्दीका बदलिँदा परिवेशसँगै कतै तिनै चरित्र फेरि सतहमा आउन थालेका त होइनन् भन्ने प्रश्न अस्वाभाविक होइन ।
पुँजीवाद, कम्युनिज्म, द्वन्द्वात्मक भौतिकवाद, स्वच्छन्दतावादजस्ता अवधारणाका रूप फरक भए पनि यी सबै मान्यताका जगमा यही विश्वदृष्टि छ । साथै, औद्योगिकीकरण र औपनिवेशीकरण पनि । त्यसैसँग जोडिएको बलजफ्ती धर्म परिवर्तन, इभान्जेलिज्म र धर्मनिरपेक्षताजस्ता अभियानका पछाडि पनि एकै सत्य र तर्कले सही ठहर्याएको प्रगति हेतु पछि परेका समाजलाई सुधार्ने कर्तव्य–भावको प्रेरणा छ ।
संकटमा पश्चिमा चिन्तन र हामी
विचारधाराको राजनीति सकिएपछि अघिल्लो दशकदेखि अमेरिकामा त्यहाँको वामपन्थी खेमाले पहिचानको राजनीतिलाई भोट जित्ने सजिलो बाटोका रूपमा पहिल्यायो । तटीय क्षेत्रका मानिस, आप्रवासी, अश्वेत र हिस्पानिक समुदायको भोट पाए सधैँ चुनाव जितिन्छ भन्ने अनुमानका आधारमा डेमोक्र्याटिक पार्टीले राजनीति गर्न थाल्यो । यसको विपरीत रिपब्लिकन पार्टी भने संरक्षणवादी नीति तथा पारम्परिक मान्यताको पछि लाग्यो । यसको एउटा खेमाले असहिष्णुता, विदेशी–विरोधी र महिला तथा अश्वेतप्रति अनुदार नीति अपनाउन थाल्यो । उसले पनि पहिचानमै आधारित भित्री अमेरिकी सहरमा गरिबहरूलाई भोट बैंक बनाउने लक्ष्य लियो ।
यसपालिको अमेरिकी चुनाव के अर्थमा अनौठो रह्यो भने सधैँ मध्यमार्गमा रहनेले चुनाव जित्ने गरी बनाइएको अमेरिकी राजनीतिक प्रणालीमा यसपटक खुलै रूपले अति दक्षिणपन्थी समूहले बाजी मार्यो । आर्थिक असुरक्षा र अन्य कारणले उल्लेख्य अश्वेतहरूले पनि तिनैलाई मत दिएको तथ्य बाहिर आएको छ । यसको अर्थ के हो भने पहिचानको राजनीतिमा र त्यसका विभाजनमा खेलेर भोट ल्याउने खेल आत्मघाती हुने रहेछ । साथै, आधुनिक राज्यमा चाहिने सहकार्य, सामाजिक सुरक्षा र सद्भावका निम्ति पनि यस्तो खण्डीकरण डरलाग्दो हुने रहेछ ।
अमेरिकी चुनाव परिणाम एउटा सामान्य घटना होइन । यो पश्चिमा लोकतन्त्र र विश्वदृष्टिकै निम्ति अभूतपूर्व संकट हो । यस्तै परिणाम केही समय पहिले बेलायतको ‘ब्रेक्जिट’ जनमतसंग्रहमा देखिसकिएको छ । आउँदा युरोपेली चुनावहरूमा पनि यो जारी रहने सम्भावना छ । यसका बाछिटा रुस, टर्की र भारतजस्ता देशका सत्ता परिवर्तनमा पनि देखिएको छ । यिनै शक्तिको प्रत्यक्ष सहयोगमा गएको दशकभर नै प्रवद्र्धन गरिएको जातीय घृणा र विभाजनमा आधारित आन्दोलनले नेपाललाई पनि इन्तु न चिन्तुको अवस्थामा राखेको छ । यी कार्यका परिणाम कस्ता होलान् भनेर सोच्न विद्वान् भइरहनु पर्दैन ।
यसमा द्विविधा छैन कि व्यक्तिगत स्वतन्त्रता, समानता र लोकतन्त्र हामीले पनि चाहेका आदर्श हुन् । तर, यिनलाई हाम्रा विविधता र इतिहासको हिसाबले विकास गर्न हामी आफैँले सिक्नुपर्छ । यसको अर्थ यो पनि होइन कि हामी सबैसँग टाढिएर, पृथक र पुरातनवादी भएर बस्नुपर्छ । वास्तवमा प्रकृतिसहितको समस्त विश्वलाई एउटै समुदाय मान्ने चलन हाम्रो भूभागका निम्ति कुनै नयाँ विचार होइन र यस किसिमको सहिष्णुतावादी विश्वव्यापीकरण हाम्रा मान्यताका विपरीत पनि छैनन् । विचारको आदानप्रदान आजभन्दा सयौँ वर्षअघि पनि हुने गरेको र फरक–फरक भूभागमा मानिसले एक अर्काबाट राम्रा कुराहरू सिकेका उदाहरण प्रशस्तै छन् ।
हामीलाई चाहिने समावेशी पहिचान र राष्ट्र विकासको दिशा पहिल्याउने हामीले नै हो । विश्वव्यापी शिक्षा प्रणालीले केही निश्चित वादलाई नै एक मात्र सत्यका रूपमा स्थापना गरेकाले हाम्रो देशका वामपन्थी, दक्षिणपन्थी र मध्यमार्गीहरू पनि तिनै समस्याले ग्रस्त छन् । वैदेशिक पैसा र प्रभावका कारण सामुदायिक विभाजन बढाउने नयाँ–नयाँ कामले टेवा पाएका छन् । खण्डित पहिचान र उप–राष्ट्रिय राष्ट्रियताले हामीलाई अघि होइन, पछि मात्रै लानेछ । पहिचानमा आधारित घृणा र नश्लको राजनीतिको परिणाम हामीले चाहँदैमा फरक र स्वस्थकर हुनेवाला छैन ।
आफ्नो समुदायमा राष्ट्र विकासका निम्ति आपसी विश्वास र सहकार्यका भावना विकसित गर्ने देशले हामीकहाँचाहिँ किन विभाजन प्रवद्र्धन गरिरहेका छन् ? यसमा हामीले समयमै सोच्नुपर्ने होइन र ?
अहिले विश्वमा जुन तहको राष्ट्रवादी उभार देखिएको छ, हामीले त्यस्तो राष्ट्रवादलाई कुनै हालतमा प्रश्रय दिनु हुँदैन । अबको नेपाल निर्माणको प्राथमिकता त बरू विभिन्न समुदाय, धर्म र जातका मानिसले आफ्नो विशिष्ट सांस्कृतिक पहिचान, भाषा र इतिहास आदिको उपभोग गर्न पाउने वातावरण कसरी बनाउने भन्नेमा हुनुपर्छ । यी सबै कुरालाई नेपाली राष्ट्रिय पहिचान बलियो बनाउने कडीका रूपमा जोड्न हामीले सिर्जनशील र मौलिक तरिका पनि अपनाउनुपर्ने हुन सक्छ । यो नै हाम्रो पुस्ताका लागि सबैभन्दा चुनौतीपूर्ण कार्य हो ।
यसकारण नेपालको राष्ट्रिय चरित्र नै बलियो किसिमको बहुभाषिक र बहुसांस्कृतिक देशका रूपमा हुन सक्छ । सबै जना नेपाली भएको साझा पहिचान, भावना र उद्देश्यले प्रेरित हुने कसरी हो ? अहिलेको घृणा र विभाजनकारी अभियानलाई असफल बनाएर सबैमा समानता, अवसर, न्याय, विश्वास र सद्भावको भावना कसरी विकास गर्ने ? अब त्यतातिर ध्यान दिनुपर्छ ।