[टिस्टुङ देउराली] नाभि हराएको कस्तूरी
बाहिरियाले आक्रमण गरेर स्थानीयलाई पराधीन बनाउाछ, त्यसपछि आक्रमणकारी शोषक हुन्छ भने स्थानीयचाहिा दास । यसलाई उपनिवेशीकरण भन्दा पनि हुन्छ ।
सत्य हो, नेपालको अहिलेको भू–भाग विश्वमै सबैभन्दा समृद्ध स्थानमध्ये पथ्र्याे । दुई हजार वर्षपहिले युरोपको सबैभन्दा शक्तिशाली रोमन राज्यका धनाढ्य र राज– घरानाको शानको वस्तु अत्तर कस्तूरीको नाभिबाट बन्ने अति महँगो थियो । रानी क्लियोपाट्रासमेत यसको प्रयोग गर्थिन् । कस्तूरी उच्च हिमाली भेगमा मात्रै पाइन्छ । त्यतिबेला यसका मुख्य उत्पादक तिब्बत र नेपाल थिए । नेपालबाट निर्यात भएर जाने जटामसीको तेल पनि प्रयोग हुन्थ्यो रोममै । बाइबलमा पनि यसलाई अति महँगो वस्तुका रूपमा व्याख्या गरिएको छ । रेशम मार्ग (सिल्क रुट) वा भारत हुँदै समुद्री मार्गबाट नेपालका अरू धेरै वस्तु पनि विश्व बजारमा पुग्थे ।
चार सय वर्षअघिसम्म हाम्रा दुवै छिमेकी विश्वकै सबैभन्दा धनी क्षेत्र थिए । तिब्बत, बर्मा र कश्मीरजस्ता राज्य पनि समृद्ध थिए, जहाँका वैभवका धेरै प्रमाण भेटिएका छन् । त्यस्तो बेला उत्तर र दक्षिण दुवैतिर हुने व्यापारमा सधैँ आयातभन्दा निर्यात बढी हुने गरेबाट पनि नेपाल यी क्षेत्रहरूभन्दा केही कम थिएन भन्ने बुझिन्छ । सोझो हिसाबले पनि नजिकैका कलकत्ता र ल्हासा धनी भइरहँदा तीसँगै सधैँ निकट रहेको नेपालचाहिँ कसरी पछाडि पर्न सक्थ्यो ? भारतमा उत्पादन हुने कपडा युरोपमा सबैभन्दा उच्च गुणस्तरको मानिन्थ्यो । नेपालले उत्पादन गर्ने कम्बल, ऊनीका सामग्री र कपडाको प्रशंसा चाणक्यको समयदेखि नै भएको छ । अठारौँ शताब्दीमा नेपाल आउने युरोपेलीहरूले पनि नेपाली कपडा उच्च गुणस्तरको भएकाले यहाँका मानिस विदेशी कपडा मन पराउँदैनन् भनेर लेखेका छन् ।नेपाल कृषि र परम्परागत व्यापारका कारण औद्योगिक युगमा पछि परेको हो भन्ने तर्क सही होइन । प्रविधि, लगानी, अर्थनीति, राजनीति र कूटनीतिजस्ता सीपको निपुणता चाहिने क्षेत्रमा पनि नेपाल पछि थिएन ।
चीनमा कागज बनाउने प्रविधि विकास भएको केही समयमै नेपालीले आफैँ कागज बनाउन थालिसकेका थिए । रेशमका कपडा पनि त्यति बेलैदेखि बन्न थालेका हुन् यहाँ । चीनपछि चिया उत्पादन हुने पहिलो देश सम्भवत: नेपाल नै हो । राणा शासनको कालरात्रिमा पनि नेपालले उत्पादन गर्ने हतियारको बेलायती आगन्तुकले खासै आलोचना गर्न सकेका छैनन् । एकीकरणपछि नेपालले आफूलाई चाहिने सबै हतियार आफैँ उत्पादन गथ्र्यो र आवश्यक पर्दा मेसिन र प्रविधिज्ञ विदेशबाट झिकाइएको थियो ।
पहाडी स्थानमा तामा र फलाम खानी सञ्चालनमा थिए । नेपालले उत्पादन गर्ने धातुका भाँडाकुँडा, मूर्ति र अन्य वस्तु पनि विश्वभर पुगेका थिए । नेपाली चाँदी र तामाका सिक्का तिब्बत र उत्तर भारतभर प्रयोग हुन्थे, बेलायती सिक्काले पनि तिनलाई विस्थापित गर्न सकेका थिएनन् । खेतीको सुविधाका लागि काठमाडौँ उपत्यका, कर्णाली क्षेत्रजस्ता ठाउँमा राज्यले पोखरी र जमिनमुनि पाइपमार्फत सिँचाइ र पानीको व्यवस्था गरेको थियो । पाटी पौवा, विश्रामगृह, कला, संगीत आदिको राज्यले नै संरक्षण गरेको थियो । कश्मीर, अर्मेनिया, तिब्बत, चीन, बंगाल, अवधजस्ता क्षेत्रका व्यापारी र विद्वान् नेपाल आवतजावत गर्थे । यस्तो व्यापार र समृद्धिमा नेपालका सबै भूभागको सहभागिता थियो ।
कपडा, कम्बल, जडीबुटीका उत्पादनमा कर्णाली, पाल्पा र पूर्वी प्रदेशहरू अगाडि थिए । व्यापार र कला र संस्कृतिमा काठमाडौँ उपत्यका हिमालय क्षेत्रकै अग्रणी थियो । उत्पादन, व्यापार र कृषिबाहेक नेपाल अध्यात्म, अध्ययन, धर्म, दर्शन, ज्योतिष, आयुर्वेद, तान्त्रिक र बौद्ध विद्याको पनि केन्द्र थियो ।
प्रगतिको सीधा रेखा
हामीलाई लाग्छ, हामी सधैँ गरिब, अभावग्रस्त र कमजोर नै हौँ । र, यसरी नै सोच्नु वैज्ञानिक हो भन्ने हामीलाई सिकाइएको छ । किनभने, ‘ इभोलुसन’ (क्रमिक विकास)को सिद्धान्त अनुसार असभ्य आदिम स्थितिबाट सभ्य आधुनिक स्थितितिरको यात्रा सीधा रेखा कोरेजस्तो एकतर्फी हुन्छ । हिजोआज यही मान्यताले हाम्रो सम्पूर्ण दर्शन र जगत् प्रभावित पारिरहेको छ ।
अहिले पशुबलिको विरोधलाई प्रगति वा आधुनिकतासँग जोडेर हेर्ने प्रवृत्ति छ । पशुबलि लाई ढुंगे युग, अज्ञानता, अन्धकार र बर्बरताको द्योतक पनि भनिन्छ । समाधानको एउटै उपायका रूपमा यो प्रस्तुत गरिएको हुन्छ कि पछौटेहरूलाई जसरी हुन्छ तानेर आफूसँगै ल्याउनु र आफूजस्तै बनाउनु । स्वभावत: प्रगति गरिसकेको समूहले उद्धारकका रूपमा आफ्ना चालचलन र मान्यता सिकाउन खोज्छ भने उद्धार हुनेले आफ्नो अवचेतन समूहको चालचलन र मान्यता त्यागिनुपर्ने ठान्छ । विदेशी मान्यतामा आधारित पशुबलि विरोधी अभियान अहिले प्रगतिको पहिरन बोकेर नेपालमा पनि उपस्थित छ । यसले हाम्रा सबै स्थानीय ज्ञान र वस्तुलाई अनावश्यक बाधाका रूपमा प्रस्तुत गर्छ भने आफ्ना मान्यता, ज्ञान, धर्म र चलनलाई आधुनिकताका रूपमा अवलम्बन गर्नुपर्ने बताउँछ । तर, यसले समस्या समाधान गर्न योगदान गरेको वा समुदायहरूबीच तनाव बढाएर झन् बिगारेको छ भनेर प्रश्न सोधे प्रश्नकर्ता स्वयं पनि अवचेतन सोचाइकै उपज भनेर आलोच्य हुने अवस्था छ ।
करिब सात सय वर्षअघि नै एक छिमेकी बौद्ध गुरु ङोर्चेन कुंगा सम्पोले पश्चिमी नेपालका एक राजालाई लेखेको पत्रमा पूजा गर्दा जनावर बलि नदिन सम्झाएका छन् । त्यसबेला पश्चिमको खस साम्राज्य ढलिसकेको थियो । त्यसका टुक्रे राज्यहरूले बाइसी र चौबीसी राज्यको रूप धारण गर्दै थिए । साथै, अरू कुरा पनि फेरिने क्रममा थिए । त्यसभन्दा पहिले चार शताब्दीसम्म चलेको खस साम्राज्यको प्रमुख आस्था नै बौद्ध धर्म थियो । बौद्ध धर्मले पशुबलिको निन्दा गर्छ । उसो भए, केही समय पहिले मात्रै बौद्ध धर्मको प्रधानता रहेको क्षेत्रका मानिसलाई पशुबलि नदिन सम्झाउने अवस्था कसरी आयो ? र, एक समयको समृद्ध खस प्रदेश कालान्तरमा कसरी नेपालकै पछि परेको क्षेत्र बन्न पुग्यो ?
के प्रगतिको रेखा सीधा नभएर चक्रीय हुन सक्दैन ? प्रगतिको शिखरमा रहेको भनिएका देशमा अचेल पछौटे भनिएका देशमा भन्दा लज्जाजनक दृश्य देखिँदै छन्, किन ? सभ्य र असभ्य, प्रगति र पछौटेपन, समृद्धि र गरिबीजस्ता सवाल सीधा रेखाको बीचमा धर्सो कोरेर छुट्याउन सकिने ठोस वस्तु हुन् वा घुलिएर रहेका द्रव्य पदार्थ ?
उत्थान र पतनको वक्ररेखा
कर्णाली भेगजस्तै काठमाडौँ उपत्यकाको इतिहास पनि उतारचढावले भरिएको छ । खस साम्राज्यको पतनकै वरपर चौधौँ शताब्दीमा मुगल आक्रमणकारी समसुद्धिनले काठमाडौँ उपत्यकालाई तहसनहस पारेर गए । एकाधबाहेक अहिले काठमाडौँमा देखिने प्राय: पुराना कलाकृति र भवनहरू त्यसभन्दा पछि निर्माण भएका हुन् । त्यसअघिका कति सम्पदा नष्ट भए भन्ने यकिन छैन । तर, दुई हजार वर्षभन्दा पहिलेदेखि नै काठमाडौँ उपत्यका समृद्ध स्थान थियो । चाँगुनारायण, पशुपति, बूढानीलकण्ठबाहेक अहिले अस्तित्वमा नरहेका मानगृह, अद्भुत भनिएका भद्राधिवास र कैलाशकुट दरबार त्यस समयका निर्माण थिए । चिनियाँ र भारतीय राज्यसँगको सन्तुलित कूटनीति र व्यापारमा निपुणता हासिल गरेको थियो । बौद्ध धर्मको संरक्षण र चीन तथा तिब्बतमा त्यसको विस्तारमा पनि काठमाडौँकै भूमिका थियो । नेपाली वास्तुकला, मूर्तिकला र चित्रकलाको विस्तार एसियाका धेरै भूभागमा भइसकेको थियो ।
चौधौँ शताब्दीपहिले पनि यो क्रम काठमाडौँले धेरैपटक भोगिसकेको थियो । पहिले नेपाल भनेर सारा हिमवत् र मानस खण्डलाई चिनिन्थ्यो भने कालान्तरमा यसको अर्थ काठमाडौँ उपत्यका र वरपरका भूभागमा खुम्चियो । तर पनि, उदय र पतनको चक्रीय क्रम चलिरह्यो । नेपालका सबै राजा र वंशहरू नेपाली हाँगा नै थिए, जसरी चीन वा भारतका सम्राट्हरू त्यहीँका थिए ।
मल्ल राज्यको विकासले उत्कर्ष लिँदा काठमाडौँले उच्च स्थान हासिल गरिसकेको थियो । तर, राज्यलाई टुक्रा पारेर भाइहरूले शासन गर्न थालेसँगै पतनको शृंखला पनि सुरु भएको थियो । हिजोआज मल्ल राज्यको पतनको कारण केवल बाहिरिया गोर्खाली राज्यको आक्रमण हो भन्ने कथन चर्चामा छ । तर, गोरखा न बाहिरिया थियो, न नयाँ राज्यका सदस्यबीचको सम्बन्ध आक्रमणकारी र दासहरूको जस्तो थियो । यो पनि उही सीधा रेखामा विश्वास गर्ने दर्शनको व्याख्या र सोचाइकै उपज हो, जसले हाम्रो समाजमा निकै गहिरो जरा गाडेको छ ।
यस दर्शनका अनुसार संसारभरि बाहिरिया र स्थानीय भन्ने दुई ठोस र पृथक् वर्ग हुन्छन्, जसको बीचमा अरू कुनै मिहिन मान्यताको स्थान हुँदैन । बाहिरियाले आक्रमण गरेर स्थानीयलाई पराधीन बनाउँछ, त्यसपछि आक्रमणकारी शोषक हुन्छ भने स्थानीयचाहिँ दास । यसलाई उपनिवेशीकरण भन्दा पनि हुन्छ । यो दर्शनले दिन सक्ने नेपाल एकीकरणको व्याख्या यति नै हो ।
यही दर्शनमा पश्चिमा जगत् आधारित छ र उनीहरूको इतिहास पनि यस्तै छ । उनीहरूका धर्म, राजनीति र औपनिवेशिक अनुभव पनि यस्तै छन् । तर, भन्नैपर्ने हुन्छ– हाम्रो समाजको निम्ति यो दर्शन अपूरो मात्रै होइन, झूटो र भ्रामक पनि छ । साथै, यो धेरै मिहिन तत्त्वहरूले बनेको र सधैँ प्रस्ट वर्गीकरण नरुचाउने हाम्रा स्थानीय वास्तविकताभन्दा धेरै कम परिष्कृत पनि छ ।
पतनको कारण
पृथ्वीनारायण शाहले आक्रमण गर्नुभन्दा सयौँ वर्षपहिले खस राजाहरू र पछि पाल्पाजस्ता राज्यले पनि काठमाडौँमा हमला गरेका थिए । उनीहरू तीर्थ र व्यापारका लागि काठमाडौँ आउने–जाने क्रम चलिरहन्थ्यो । तिब्बत र अरू राज्यले हमला गर्दा काठमाडौँलाई यिनै छिमेकी राज्यले सहयोग पनि गर्थे । खस साम्राज्यको पतन भएर बाइसी–चौबीसी राज्य बनेपछि खसहरू पूर्वका राज्यतिर जान थालेका थिए । मल्ल राजा महीन्द्र मल्लकी आमा खस मूलकी थिइन् भने प्रताप मल्लको रानीपोखरी स्थापना शिलालेख खस भाषामै छ ।
काठमाडौँ पश्चिमको नेपालमा साझा भाषाको रूपमा खस भाषा विकास हुँदै थियो । पूर्वको विजयपुर राज्य र काठमाडौँका मल्ल दरबारमा मन्त्री, सेनाका उच्च अधिकारी र स्थानीय गन्यमान्यहरूमा पनि खसहरूको उपस्थिति थियो । मल्ल राजाका कलहले आक्रान्त भएपछि पाटनका प्रधान भारदारहरूले स्वयं गोर्खाली राजालाई शासन गर्न निम्त्याएका थिए । पछि गोर्खालीसँगको लडाइँमा काठमाडौँको सेना खस सेनापतिहरूले पनि नेतृत्व गरेका थिए ।
यस हिसाबले भन्दा मल्ल राज्यहरूको पतन पनि एउटा चक्रकै भाग थियो । नेवारी भाषाका अध्येताहरूका अनुसार पनि काठमाडौँ विजयपछि केही शाह राजाहरूले नेवारी भाषा प्रयोग गर्थे र त्यसको विकासमा योगदान दिएका थिए । नयाँ नेपाल राज्यले पहिलाझैँ समृद्धि हासिल गर्न नसक्ने कुनै कारण थिएन । तर, राणाकाल र विशेषत: वीरशमशेरको पालादेखि यो क्रम रोकिएको थियो । त्यस्तै कर्णालीको खस साम्राज्य पतन भएर केही समय अस्थिरता र अव्यवस्था भए पनि त्यसको पुनरोदय हुने सम्भावना सधँैझैँ जीवितै थियो । हजारौँ वर्षअघिको नेपालले पशुबलि राम्रो होइन भन्ने मान्यता विकास गरेझैँ जातीय वर्गीकरणलाई गाढा बनाउनुको साटो कमजोर बनाउने व्यवस्था विकास गर्न नसकिने पनि थिएन । आखिर अरू कुराझैँ प्राचीन नेपाली समाजमा जात पनि सबै कुरा निर्धारणको एक मात्र ठोस आधार थिएन । विभिन्न पहिचानको द्रव्य रूपको घुलनले नेपाली समाज बनेको थियो । तर, यस्ता सकारात्मक विकास एक समयपछि हुन सकेनन् । यस्तो किन हुन गयो त ?
यहाँनेर नेपालको इतिहासमा पहिले कहिल्यै नभएको एउटा घटनाका सम्बन्धबारे चर्चा गर्नुपर्ने हुन्छ । जीवनको उत्तराद्र्धमा नेपाल एकीकरणका दार्शनिक मान्यता पृथ्वीनारायण शाहमा विकास भइसकेको देखिन्छ । नेपाललाई बलियो बनाउने स्थानीय उत्पादन, व्यापार, संस्कृति र भारतमा विस्तार हुँदै गरेको बेलायती उपनिवेशबारे उनको सटीक अवलोकनले यही देखाउँछ । तर, भीमसेन थापाको पालासम्म पुग्दा नेपाली सत्ताले यो वैचारिक उद्देश्य र दिशा गुमाइसकेको थियो । नेपाल एकीकरणका क्रममा सबैभन्दा कठोर स्थिति जुम्ला र अछामजस्ता खस क्षेत्रहरूले भोग्नुपरेको थियो । बहादुर शाहको नेतृत्वमा भीमसेन थापाको सेनाले योजना र विचारबिनै केवल जमिन थप्ने काममा मात्रै ध्यान दिएको थियो । उनीहरूमा शासन गर्ने कुनै कला र सीप थिएन । यो सबै सन्दर्भको पृष्ठभूमिमा थियो, दक्षिण एसियामा टड्कारो बनेको बेलायती बर्बरताको जोखिम, जसले अस्तित्व रक्षा र शक्ति सञ्चयको प्रश्नलाई प्रमुख बनाइदिएको थियो ।
बेलायतसँग युद्ध र सुगौली सन्धि गरेपछि नेपाल कहिल्यै पहिलेजस्तो हुन सकेन । इतिहासकार स्टीलरका शब्दमा, त्यसपछि आजसम्म नेपालीहरू चुपचाप रोइरहन बाध्य भए । नेपाली गाउँका आवाज र पीडा सरकारले सुन्न सकेन । काठमाडौँका शासक सत्तासंघर्ष र शक्ति प्रतिस्पर्धामा मात्रै अल्झिए । एकीकरणपछि सपना बोकेर हिँडिरहेको नेपाली राष्ट्र सुगौली सन्धिपछि शिथिल भयो । नेपालको धेरै भूभाग त गुम्यो नै, बेलायती अतिक्रमणको कारण नेपालको व्यापार पनि कम हुँदै गयो । नेपालीहरूमा निरासा छायो, आम्दानी र रोजगारी गुमेपछि भौँतारिने क्रम बढ्यो, विदेशी सेनामा भर्ती सुरु भयो ।
कर्णालीमा समृद्ध खस साम्राज्यको पतनपछि अनुदार हिन्दु धर्म र जातिप्रथाले जरा गाड्न त थालेकै थियो । अब आएर पराजयको अपमान, काठमाडौँको बेसुरा सत्ता र गाढा बन्दै गइरहेको जातीय वर्गीकरणले यो भेगलाई उठ्नै नसक्ने गरी थला पारिदियो । आत्मसम्मान गुमेको र मौलिक विचार हड्पिएको न कुनै मानिसले प्रगति गर्न सक्छ, न कुनै देशले । नेपालले त्यस्तै नियति भोग्न बाध्य भयो ।
बेलायतीको उपस्थिति, फुटाऊ र राज गर भन्ने सिद्धान्न र जेको पनि ठोस वर्गीकरण गर्ने फरक दर्शनका कारण भारतमा जाति प्रथा कट्टर बन्दै गयो र धर्मबीचको सौहार्दको स्थान पृथकताले लिन थाल्यो । त्यसमाथि जयानियाँ राणा शासन बेलायती संरक्षणमै चलेको थियो । भारतका निम्ति विदेशी भएको हुँदा बेलायती व्यवस्थाको विरोध त्यहाँ सामान्य भयो । तर, राणाकालका अवयवहरू अझै जीवित रहेकाले नेपालमा घुमाउरो शब्दमा ‘एलिट’ वा कुलीन भनेर गरिने आलोचनाको अन्तर्य नेपाली इतिहासकै निन्दा गर्नु हो ।
हुँदाहुँदा प्रगतिको नाममा विदेशी धर्म प्रचारक संस्थाको चाहनामा नेपाली भाषालाई कुरूप बनाउने खेल पनि निर्बाध हुन थालिसकेको छ । नेपाली धर्म परम्परा, ऐतिहासिक एकता र पहिचानमाथि निरन्तर आक्रमणले नेपाली राजनीतिक चिन्तनको अधोगति, सामाजिक विभाजनको तीव्रता र समुदायहरूको कबिलाकरणको रफ्तार पनि बढ्दै छ ।
आफूलाई प्रगतिका हिमायती भन्नेहरूसँग हिम्मत र इमानदारी भए बरू राणा शासक र तिनका सहयोगी काठमाडौँका विभिन्न भारदारी परिवारको विरासतको किटेरै आलोचना गर्नुपर्छ । यसविपरीत सम्पूर्ण नेपाली इतिहासको निन्दा अन्तत: नेपाली पहिचान खण्डीकरण गर्ने र समाजको आत्मविश्वास मार्ने राणाकालीन शैलीकै निरन्तरता हो, जसलाई प्रगति भन्न किमार्थ सकिँदैन ।
पुन:जागरणको खाँचो
माक्र्सवाद र तिनको पैरवी गर्ने कम्युनिस्ट हुन् वा पुँजीवाद र त्यसको संरक्षण गर्ने उपनिवेशवाद तथा अहिलेको प्रभावशाली विश्वचिन्तन, सबैको आधारभूत मान्यता भनेकै सबै कुरालाई विपरीत जसरी वर्गीकरण गर्नु र प्रगतिलाई सीधा रेखाको रूपमा हेर्नु हो । विभाजन र द्वन्द्व यिनको अक्सिजन हो । अहिले पनि हामी यिनै विचारले हाम्रो सेवा गर्लान् भनेर यिनकै पछि दौडिरहेका छौँ ।
नेपालको विचार के हो ? राजनीतिक एकताको जगमा मात्रै आर्थिक एकता र समृद्धिको घर बन्न सक्छ । होइन भने आफ्नो जरा छोडेर आकाशमा उड्ने पातजस्तो उडानरूपी प्रगतिको भ्रम त होला तर त्यसको अन्तिम नतिजा भुइँमा बजारिनु नै हो । गर्नसम्म क्षति गरिसकेको माक्र्सवाद, लेनिनवाद वा पुँजीवादले अझै पनि समाधान देला कि भनेर पछि लाग्नुको साटो नेपाली पुन:जागरणका मान्यताहरूबारे चिन्तन गर्ने नेतृत्व हामीले पाऔँला ? संयोगले माक्र्स, माओ र पृथ्वीनारायण शाहको जयन्ती उही महिनामा पर्छन् । यीमध्ये कुन दर्शनको विकास गर्दै अघि बढ्ने ? कहिलेसम्म भइरहने नाभि हराएको कस्तूरीजस्तो ?
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...