नेपाली वामपन्थको बाटो
चाहे पुरानो वर्गवादी वामपन्थ होस् वा नयाँ पहिचानवादी वामपन्थ, दुवैको उद्देश्य र चाह समाजमा हेपिएका, दबिएका तथा कुनामा घचेटिएकाहरूको आवाज बन्नु हो ।
सन् १७८९ को फ्रान्सेली क्रान्तिपश्चात् त्यहाँको राज्यसभामा दुई खालका प्रतिनिधि थिए– राजा समर्थक र उनका विरोधीहरू । राजाको विरोध गर्ने गणतन्त्रवादीहरू त्यस सभाको देब्रेतिर बस्दा रहेछन् । कालान्तरमा ती गणतन्त्रवादी तथा तिनले जनाउने राजनीतिक संस्कृतिलाई ‘लेफ्ट’ भनियो । यही शब्द तथा राजनीतिक प्रवृत्ति भारतीय उपमहाद्वीपसम्म आइपुग्दा, त्यसलाई हामीले ‘वामपन्थ’ भन्यौँ । समाजमा मानिस–मानिसबीच भेदभाव तथा अन्यायलाई अन्त्य गर्दै समानता, मुक्ति तथा भ्रातृत्वतिर उन्मुख विचारलाई वामपन्थ हो भनेर बुझ्दा गलत हुँदैन । तर, पहिचानको आन्दोलनसँगै नेपाली राजनीतिमा ‘नयाँ वामपन्थ’को उदय भयो । र, ‘पुरानो वामपन्थ’सँग यसको गहिरो विवाद देखापरेको छ । यो विवादबीच समग्र वामपन्थलाई अन्यायविरुद्धको अभियान भनेर बुझ्ने हो भने प्रश्न उठ्छ, अहिले नेपाली वामपन्थ कुन गोरेटोमा विचरण गर्दै छ त ?
जब जनता राणा शासनको मारमा थिए, तब प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने कसम खाएका पार्टीहरू, प्रजा परिषद्देखि नेपाली कांग्रेससम्म तत्कालीन समयमा वामपन्थी थिए । पञ्चायती व्यवस्थाका बेला जनताको आफ्नै प्रजातान्त्रिक शासन हुनुपर्छ भन्ने कांग्रेससहितका सबै शक्ति वामपन्थी नै थिए । तर, त्यही दौरान वामपन्थको अर्को सैद्धान्तिक हाँगो पनि नेपालमा अवतरित हुन पुग्यो– ‘कम्युनिस्ट वामपन्थी’हरू, जो कालान्तरमा ‘वामपन्थी’कै रूपमा चिनिए र त्यही विशेषणले चिनिन रुचाइए पनि । उता चारित्रिक दृष्टिकोणले नेपाली कांग्रेसले विसं ००७ देखि ०६३ सम्म खेलेको भूमिका वामपन्थी चरित्रको भए तापनि आफूलाई वामपन्थी भनेर चिनाउन खोज्ने कांग्रेसजन लगभग भेटिन्नन् । कांग्रेसले आफूलाई ‘प्रजातान्त्रिक’ विशेषणबाट चिनाउन रुचाएकाले यस्तो भएको हुन सक्छ ।
राणाकालमै सुरु भएको नेपाली कम्युनिस्ट वामपन्थले पञ्चायतको अन्त्यसम्म ठूलै जनमतका साथै वैचारिक स्पष्टता पनि बोक्यो । सामाजिक न्याय र आर्थिक समानताका लागि, उत्पादन गर्न सक्ने पुँजीमा मजदुरको हक हुनुपर्ने र त्यसो गरिएमा स्वास्थ्य, शिक्षा, अर्थ तथा सबै आर्थिक–सामाजिक कार्यमा धेरैभन्दा धेरै मानिसको पहुँच हुने माक्र्सवादी मूलमन्त्रलाई नेपालका कम्युनिस्ट वामपन्थीले सैद्धान्तिक रूपमा अंगीकार गरे । यस अर्थमा नेपाली कम्युनिस्टहरू धेरै हदसम्म गरिब पक्षधर वर्गवादी हुन पुगे, कम से कम सिद्धान्तको हकमा ।
नेपाली माओवादी आन्दोलनका हिंसात्मक तरिका अमानवीय र गलत भए तापनि पहिचानमार्फत दबिएका दुखेसोलाई राजनीतिक नाराका रूपमा उसले नै उठाएको हो । पछि मधेस तथा जनजातिको आन्दोलनले यसलाई विस्तृत रूपमा अघि बढायो । आखिरमा थारू, लिम्बू, मधेसी र दलितले भोगेका कटु सत्यको सार लगभग उही थियो– एकै जाति, भाषा, भेष, संस्कृति तथा धर्म मान्नेमध्येका पनि आभिजात्य वर्गले यो देशमा राज्य गरे । त्यो सांस्कृतिक–धार्मिक–भाषिक परिमितबाहिरका जनताले कहिल्यै राज्यलाई आफ्नो भन्न पाएनन् । यसमा सबै खस–आर्य दोषी छन् भनिएको कदापि होइन । तर, नेपाल राज्य बनेदेखि शासकहरू अधिकांश सबै खस–आर्य नै थिए । यसकारण खस–आर्य जनतालाई सांस्कृतिक–धार्मिक–भाषिक फाइदा भएकै हो । हिन्दु धर्मको चाड दसैँ–तिहार ‘सम्पूर्ण नेपालीको बडा–दसैँ’ बनाइएकै हो, शेर्पालाई नेपाली भाषामा लोकसेवा आयोगको जाँच दिन लगाइएकै हो र मधेसीलाई ढाका टोपी लगाएरै नागरिकताको फोटो खिच्नुपर्ने बाध्यता थोपरिएकै हो ।
तर, आश्चर्य के छ भने अचेल वर्ग भर्सेज पहिचानलाई एकथरी वामपन्थीले नै जोडदार रूपमा उठाएको देखिन्छ । हो, वामपन्थी राजनीति गरिब पक्षधर हुनैपर्छ । यदि वर्गीय राजनीतिलाई पहिचानको राजनीतिको विरोधमा उभ्याइन्छ भने त्यो वामपन्थको न्यायप्रेमी सारसँग गरिएको बेइमानी हो । गरिब बाहुनले नै दलितमाथि छुवाछूत गर्यो भने वा उसले मधेसीलाई भारतीय नै देख्यो भने त्यसको विरोध गर्नैपर्छ । र, यस्तो प्रवृत्तिलाई सकारात्मक रूपमा सुधारको दिशातिर अघि बढाउन खोज्नुपर्छ । तर, वामपन्थीहरू यस्ता प्रवृत्तिबीच पनि अचम्मसँग मौन रहे वा रक्षात्मक देखिए भने अर्को शक्तिले त त्यो आवाज उठाउँछ नै । हामीकहाँ पनि त्यही भएको हो । यसकारण सन् ’६० को दशकमा अमेरिका र युरोपमा काला जाति तथा महिलावादी आन्दोलनलाई जस्तै नेपालका मधेसी तथा जनजाति आन्दोलनलाई पनि ‘ नयाँ वामपन्थ’ (न्यु लेफ्ट)को मान्यता दिँदा अतिशयोक्ति हुँदैन ।
चाहे पुरानो वर्गवादी वामपन्थ होस् वा नयाँ पहिचानवादी वामपन्थ, दुवैको उद्देश्य र चाह समाजमा हेपिएका, दबिएका तथा कुनामा घचेटिएकाहरूको आवाज बन्नु हो । वास्तवमा यही नै दुई वामपन्थको मिलनविन्दु पनि हुनुपर्ने हो । नयाँ वामपन्थ त नयाँ नै भयो । यो किशोरावस्थाको त्यस्तो क्रान्तिकारी हो, जसलाई वर्गीय शास्त्रार्थको भारी बोक्न खासै चासो छैन । त्यसैले यहाँ परिपक्वता देखाउने जिम्मेवारी खासमा अनुभवप्राप्त पुरानो वामपन्थको नै हो ।
अग्रज पुराना वामपन्थीले के मनन गर्न जरुरी छ भने सन् ’८० र ’९० को दशकमा भएका पहिचान तथा क्षेत्र विशेषका आन्दोलनहरूको नेतृत्व भारतीय कम्युनिस्टहरूले जानीबुझी नगर्नाले बिहारजस्ता राज्यमा धेरै हदसम्म जातिवादी पार्टीहरूको वर्चस्व हुन पुग्यो । तसर्थ, नेपाली पुराना वामपन्थीले आफ्ना भारतीय समकक्षीबाट सिक्न सक्ने पाठ प्रशस्तै छन् । जब वामपन्थ नै अन्यायविरुद्धको अभियान हो भने ऐतिहासिक रूपमा हेपिएका–दबिएकाहरूको आवाज इलाम, वीरगन्ज र कैलालीबाटै आए पनि वामपन्थीहरूले सुन्ने र सहयोग गर्ने आँट गर्नुपर्छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...