टुँडिखेलको बयान
राजा महेन्द्रले प्रजातन्त्रको साक्षी खरीको रूख मात्र मासेनन्, मेरो नाकैमा तेनमेन स्क्वायरको झल्को आउने गरी शाही सैनिक मञ्च खडा गरे ।

साँढे जुधाउन सोखिन राजा रणबहादुर शाहले मेरो न्वारन गरेका हुन् । म सेनाको पूर्ण नियन्त्रणमा नपर्दासम्म पनि टुँडिखेलको प्रमुख विशेषतामा साँढेजुधाइ नै पथ्र्याे । प्रजातन्त्रपछि मात्र फुटबलदेखि क्रिकेटसम्मका खेल मेरा काखमा अभ्यासदेखि प्रतियोगितासम्म हुन थाले ।
म जन्मँदा मेरो लम्बाइ करिब तीन सय माइलजति थियो भने तीन सय गज चौडा थियो । बाल्यकालदेखि तोपखानाको जुम्ल्याहा बहिनी पनि थिई । जसको दुवै आँखामा कमल फुलेका थिए । जसको पुनर्जन्म दशरथ रंगशालाका रूपमा भएकामा त्यसलाई पनि ०७२ सालको भूकम्पले कमजोर बनायो । नियमितको तोपले कान नसुन्ने भइसकेको रंगशालाले के मात्र बेहोरेन ? अन्य राष्ट्रका खेलाडीले स्वदेशी टिमलाई गोल बर्साउँदा भने मेरा आँखाबाट पनि आँसु बर्सिन्थे । झन् रंगशालामा आँधीहुरीले मच्चिएको मानव संहारले गर्दा मेरो अस्मितामा धावा मात्र बोलेन, ज्यूज्यानको सुरक्षामा नै प्रश्नचिह्न उठाइयो ।
मेरो रानीपोखरीदेखिको झन्डै त्रिपुरेश्वरसम्मको सग्लो कदलाई तीन भागमा टुक्य्राएर बुच्चे मुर्कट्टा बनाइयो । हनुमानढोकाबाट श्री ३ हरू हात्ती, बग्गी र मोटरमा अहिलेको भद्रकाली हुँदै सिंहदरबार ओहोरदोहोर गरिरहन्थे । उनीहरूका रवाफिला सवारीमुनि किचिएको मेरो नाभि भने मर्णान्त हुन्थ्यो । झन् सहिदगेट बनाएर गाडी घुमाउने अनिवार्य व्यवस्था भएपछि त टायरको भारले घोटिएर मेरो कम्मरको भाग पूरै लाटो भइसकेको छ । मलाई सिँगारेर कोरिबाटी गर्ने निहुँमा नगरवासीसँगको हेलमेल र खेलबाट सम्बन्धविच्छेद गराइयो ।
प्रजातन्त्र मेरै मुटुबाट घोषणा भए पनि मलाईचाहिँ ठिँगुरा ठोकेर नजरबन्द गरियो । मेरो पाउमा नेल हाल्दै दक्षिणतिरको पुच्छारमा राणाकालीन परराष्ट्र मन्त्रालयको अर्को रूप मुन्सीखाना र जैसीकोठाले सबभन्दा पहिले अड्डा जमाए । त्यसपछि सेनाले हेडक्वार्टर बनायो । अहिले त हुँदाहुँदा ममाथि अतिक्रमण गरेर भोजको व्यापार चलाइराखेको छ ।
भीमसेन थापाको धरहराबाट बिगुल बजाएर मलगायत नगरवासीलाई जगाउँथे । त्यस्तै घन्टाघरले पनि समयप्रति सजग गराएर मलाई ठूलो गुन लगाएको थियो । मभन्दा अग्ला धरहरा तीन पटक र घन्टाघर दुई पटक भाँच्चिएर पाताल भासिएको शोकमा डुब्न नदिन १९६८ सालदेखि मेरो छेवैमा चन्द्रज्योति खडा भएको छ ।
मेरो सुरक्षार्थ तिब्बतबाट भागेका भैरवलाई नेपालका तान्त्रिकहरूले महांकालको रूपमा प्रतिष्ठापित गरेका छन् । जसलाई मैले आफ्नो ईष्ट देवताका रूपमा स्वीकारेको छु । पश्चिमपट्टिको ढिस्को खारेर वीर अस्पताल र नजिकै सेनाका लागि अस्पताल बनाएकामा मलाई चौपट्ट खुसी लागेको छ ।
मलाई मन पर्ने छोटोमीठो पर्व दसैँको फूलपाती नै हो । गोरखाबाट गुरुज्यूको पल्टनले ल्याएको फूलपातीलाई टुँडिखेलमा हर्षबढाइँ गर्दै शाही सेनाले सलामी दिन्छ । नेपालका आराध्यदेवको सम्मानमा शिवरात्रि पनि फौजी तामझामसाथ मनाउनुको तात्पर्य भारतबाट आउने तीर्थयात्रीलाई सैनिक सामथ्र्यको प्रदर्शन गर्नु रहेको छ । सम्झँदैमा कहाली लाग्ने घोडेजात्राले चाहिँ मेरो शरीर थिलथिलो बनाउँछ । महिनौँ दिनसम्म घोडाको टापको खत पुरिँदैन ।
राणाहरूको एक मात्र यातायातको साधन घोडा थियो । हर साल चैतको कृष्ण चतुर्दशीका दिन विभिन्न जातका सेना र निजी घोडाहरू दौडाइन्थे । उसबेला सबैजसो हाकिमले घोडा पाल्नुपथ्र्यो र ती घोडाहरू अनिवार्य रूपमा घोडेजात्रामा सहभागी हुन्थे । त्यसबाहेक हात्ती र बग्गीको पनि दौड प्रतियोगिता गरिन्थ्यो । यो जात्रा हेर्न गाउँलेहरू टुँडिखेलको वरिपरि जम्मा हुन्थे भने काठमाडौँ सहरमा भोज हुन्थ्यो । सो उपलक्ष्यमा भद्रकालीमा रथयात्रा गरिन्थ्यो भने मेरै पेटमाथि गुठियार जम्मा भएर भतेर खान्थे । दिनभरि गुरुमापाको ख्याकलाई घोडाको टापले कुल्चेर दबाएको ठानी भतेरको आयोजना गर्ने चलन अद्यापि छँदै छ । पञ्चकमा मेरा वक्षस्थलमा कौडा खेलाइन्थ्यो । म आफू कतै नगए पनि दरबारदेखि घरबारसम्मका कुरा थाहा हुन्थ्यो । चारै दिशाका विद्वान् पण्डित जम्मा भएर कोकशास्त्रदेखि धर्मशास्त्रका विषयमा मेरा कान पाक्ने गरी बहस गर्थे ।
राजा–महाराजहरूका थुप्रै समारोह मेरै काखमा सम्पन्न भए तापनि १९८९ मंसिरमा भएको ५१ हजार ४ सय करियाको मोचन अविस्मरणीय रहेको छ, जसमा चन्द्रशमशेर स्वयं खरीको बोटमुनि सबैका सामु करिया मालिकलाई १४ लाख क्षतिपूर्ति दिने घोषणा गरेका थिए । त्यस्तै ’९० सालको माघमा गएको महाभूकम्पका पीडितहरूलाई आश्रय दिन पाएकामा आफूलाई धन्य सम्झन्छु । राजा त्रिभुवनले ७ फागुनको प्रजातन्त्रको घोषणा टुँडिखेलबाट गरेर मलाई गौरन्वावित गराएका छन् भने ०१३ मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न गर्ने सुअवसर पनि मलाई नै जुरेको थियो ।
राजा महेन्द्रले प्रजातन्त्रको साक्षी खरीको रूख मात्र मासेनन्, मेरो नाकैमा तेनमेन स्क्वायरको झल्को आउने गरी शाही सैनिक मञ्च खडा गरे । लोकाचारका लागि सानो खुलामञ्चलाई छुट्याएर मेरो सिंगो शिर अतिक्रमण गरेर रानीको नाममा रत्नपार्क बनाए । रानीपोखरीको उत्तरपूर्वी साँधमा रहेको ढाक्रे बास बस्ने बाटुले चौतारी मासेर प्रताप मल्लको प्रस्तरको सालिक र शिव मन्दिरलाई घचेट्तै पार्क फैलाएर रेस्टुराँ र सटर खोले । जहाँ अहिले शान्ति बाटिकाको नाममा गणेशमानको सालिकले शोभा र सम्मान थपिदिएको छ । उता राणा प्रधानमन्त्रीका सालिक भने चारै सुरमा मलाई ऐँठन गर्न बसेका छन् । अहिले मेरो प्रयोजनको क्षेत्र ८ सय ४० मिटर लम्बाइ र २ सय ७६ मिटर चौडाइमा खुम्चिएको छ ।