[टिस्टुङ देउराली] मनसुन मनोवाद
शासकले रंकबाट बलजफ्ती कर असुल्ने तर त्यसबापत कुनै सिन्को भाँच्नु नपर्ने, उल्टै आफैँले बनाएका विधि तोड्दै मनपरी गर्दा पनि पूरै छुट पाउने देशका शासितहरू कसरी जनता हुन्छन् ?
हुन त म वृष्टिकै एक स्वरूप हुँ । विश्वका धेरै ठाउँमा धेरै रूपमा वर्षिन्छु । तर मनसुनको रूपमा मेरो जीवनचक्र र उत्पत्ति सर्वथा फरक छ । पानी त पानी नै हो, जहाँ वर्षे पनि के फरक होला भन्ने लाग्दो हो । तर मनसुनी वर्षाको महिमै अलग छ । कतिपय ठाउँमा पानी पर्दा मान्छे दिक्क मान्छन्, जीवनको नियमितता भंग गरेको गुनासो गर्छन् । नमानून् पनि किन ? पानी पर्दा ती ठाउँमा एक किसिमको गरुंगोपन र उदासी जोडिएको हुन्छ ।
तर यो हिमालय खण्ड र वरपरका ठाउँमा भने म रमाएर, नयाँ उत्साह बोकेर वर्षिन्छु । त्यसैले यहाँका मानिसलाई घाम र न्यानो जत्तिकै पानी परेको पनि खुब रमाइलो लाग्छ । मेरो आगमन समयमै भइदियोस् भनेर यिनले मछिन्द्रनाथको भव्य जात्रा नै गर्छन् । मानिसले मात्रै होइन यहाँको माटो, हावा, वनस्पति, जनावर, हिमाल र डाँडाकाँडा पनि हरेक वर्ष मलाई व्यग्रतापूर्वक पर्खेर बसेका हुन्छन् । झरीको मौसमलाई प्रेमिल र रोमाञ्चक समयका रूपमा यिनले आफ्ना साहित्य, कला र धर्ममा व्याख्या गर्छन् । यिनका पुर्खाले मलाई अति महत्व दिन्थे र प्रकृतिको धरोहर नै मान्थे ।
मेरो नाम ‘मनसुन’को व्युत्पत्ति नै यिनको भाषाको ‘मौसम’ भन्ने शब्दबाट भएको हुँदा म अन्यत्रजस्तो सामान्य वृष्टि मात्रै होइन भन्ने कुरा सबैलाई थाहा छ । यसले गर्दा मेरो पनि छुट्टै नाम र सान छ । अरू ठाउँका वायु र वर्षा मेरो ईष्र्या गर्छन् । मलाई पनि यहाँ आउँदा छुट्टै रमाइलो लाग्छ । त्यसैले बेग्लै फूर्ती र ताजापनका साथ निकै टाढाका वायुमण्डलीय र समुद्री धार पक्डेर विभिन्न दिशाबाट जोडतोडका साथ म वर्षेनि यतातिर आउँछु ।
आकाशबाट हेर्दा
यो वर्ष फेरि म यतातिर आइपुगेको छु । हरेक पटक आउँदा के–के हुँदै रहेछ भनेर यताउति आँखा पनि डुलाउँछु । यहाँका घटनाबारे थाहा हुँदा कयौँपटक खिन्न मन लिएर फर्किएको पनि छु । मेरै कारण पनि बेलाबेला यिनलाई धेरै क्षति पुग्ने गरेको छ । मलाई त्यस्तो गर्ने मन नभएर मात्रै के हुँदो रहेछ र ? मेरो वशभन्दा बाहिरका धेरै प्राकृतिक र मानवीय कारणले यिनलाई दुःख पुग्दा मलाई पनि नरमाइलो लाग्छ । म फर्किने बेला सधैँ अर्को वर्षसम्म यी यी कुराहरू सप्रिऊन् भनेर केही कामना गरेको हुन्छु यस्ता–यस्ता घटनाबाट पाठ सिकेर केही सुधारे हुन्थ्यो भन्ने आशा गर्छु । तर अहिले यसो चिहाउँदा यस पटक पनि फेरि खिन्न हुनुपर्ला जस्तो मलाई लागिरहेको छ ।
पोहोरजस्तै यसपटक पनि भूकम्पपीडितले केही पाएका रहेनछन् । यसो कान लगाएर यहाँका मान्छेका कुरा सुन्ने हो भने सबै ठूल्ठूला शब्द र सिद्धान्तका कुरा सुनिन्छन् । तर यस्तो लाग्छ, यिनले दुई वर्षअघि यहाँ संसारकै ठूलोमध्येको भूकम्प पनि गएको थियो भन्ने नै बिर्सिसके । भूकम्पपीडितका नाममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र आयोग के–के हो बनाएका छन् । यहाँका पढेलेखेका ठूला मानिनेहरू तिनकै नाममा प्रशस्त देश–विदेश घुमेका छन् । पीडितलाई भजाएर राम्रो तलब सुविधा लिएर बसेका छन् । जनताको आँखामा छारो हाल्न पत्रिकातिर प्रचार सामग्री चारो फालेजसरी फालिदिन्छन् ।
तर अहँ, पीडितको अवस्थामा खासै केही फरक छैन । उल्टै असह्य पीडितहरू रोजीरोटीका लागि शोषण र जोखिम लिँदै विदेश पुगेको पो देखिरहेको छु । तिनको भविष्य, परिवार बस्ती सबै उजाड भएको छ । यो देशका एक तिहाइ जति मानिस यसरी नै बाहिर गएका छन्, धेरैजना बधुँवा मजदुरको हैसियतमा । यसले यिनको खेतबारी, उद्यम, सीप, क्षमता, समाज, परम्परा सबै ध्वस्त पार्दै छ । तर अहँ, कसैलाई वास्तै छैन । न जिम्मेवारहरूले कुनै जवाफ दिनुपरेको छ, न तिनमा केही गर्नुपर्छ भन्ने उत्साह नै पलाएको छ ।
रंकहरूको देश
हिजोआज यहाँका कुरा सुन्ने हो भने यिनलाई थाहा भएजति राजनीतिका अनेक वाद र तिकडम अरू कतैकालाई थाहा नहोला । सबै उमेरका मानिसको मनोरञ्जन र पेसा भनेकै यस्तै कुरामा चासो राखेर बस्नु भएको छ । यिनलाई आफ्नै शरीरको स्वास्थ्य, व्यायाम, खानेकुरा, मानसिक स्फूर्ति, ध्यान, अध्यात्म र सोखको बरू उति मतलब नहोला । यो सुन्दर जगत्, आफ्नै वरपरका संस्कृति र अरू रहस्यबारे यिनले लेखपढ, खोज र छलफल गर्न छाडेको त दशकौँ भइसकेको छ । पर्यावरण, प्रविधि र जीवन–विकासका बदलिँदा जोखिम तथा अवसरले केही फरक पर्दैन जस्तो गरी आरामसँग बसेका छन् यिनीहरू ।
यहाँका रंकहरूलाई कसरी सरकार फेरेर कुर्सी समातिराख्ने, कसरी आफैँले बनाएका व्यवस्था, संस्था र चुनावको अस्मिता लुट्ने, कसरी आफूले भनेजस्तो नभइन्जेल अड्को थापेर सबैलाई दुःख दिने भन्नेबारे सबै थाहा होला । तर आफ्नो वरिपरिबाट मडारिँदै आएका डरलाग्दा बादलबारे यिनले कुरा समेत गर्दैनन् ।
अरू केही अति निम्न स्तरका कामकुरामा भने यहाँका सबै जनताको सबै ध्यान, समय र ऊर्जा लागेको छ । यहाँका मानिसलाई म जनता पनि कसरी भनूँ ? हुन त लोकतन्त्र, राजनीति र अधिकारका कुरा यहाँ जति कतै हुँदैन होला । पुग नपुग तीस वर्षमा यिनले संविधान र राज्यप्रणाली नै चारवटा जति देखिसके । यहाँ जति पढेलेखेका र जान्नेसुन्ने मानिसहरूको राजनीतिक गतिविधिमा सहभागिता कतै हुँदैन होला । तर पनि यिनलाई प्रजा भन्न पनि अहिले मलाई अप्ठेरो लागिरहेको छ । यिनलाई बरू दास भनौँ कि ? आखिर शासकले रंकबाट बलजफ्ती कर असुल्ने तर त्यसबापत कुनै सिन्को भाँच्नु नपर्ने, उल्टै आफैँले बनाएका विधि तोड्दै मनपरी गर्दा पनि पूरै छुट पाउने देशका शासितहरू कसरी जनता हुन्छन् ?
यहाँका ठूल्ठूला मानिसका गफ सुन्ने हो भने त भूकम्प मात्रै होइन, त्यस लगत्तैको नाकाबन्दी त मानौँ भएकै थिएन जस्तो लाग्छ । मानौँ नाकाबन्दीका कोही कर्ता र समर्थक नै थिएनन् वा भूकम्पपछिको क्षतिको जिम्मेवार फगत भाग्य मात्रै हो । मनसुनजस्तै माथि आकाशबाट आउने र रोक्न नसकिने, बेला बेला भइराख्ने घटना जसरी यिनले नाकाबन्दी र तिनका कर्ताको सामान्यीकरण गरिसके, भूकम्पपीडितको अपमान गरिसके । यस्तो लाग्छ, यिनले गर्नसक्ने फरक काम केही थिएन, त्यसैले सुधार गर्नसक्ने पनि केही छैन । त्यसो भए पर्यावरण, अर्थतन्त्र, भूराजनीति, इतिहास, राष्ट्रिय क्षमता, तयारी र राजनीतिक सबलताजस्ता कुराको बुझाइ सुधार्न किन मेहनत गर्नु ?
समाचारको मनोरञ्जन
म समयमै यहाँ आइपुगेका वर्षहरूमा यस भेगका देशहरू खुसी हुन्छन् । यिनको अर्थतन्त्र, खेती र उत्पादन राम्रो हुन्छ । पोहोर पनि त्यस्तै भएछ । मैले दिने पानीको उपयोग गरेर लोडसेडिङ पनि अलि कम गरेछन् । त्यसमाथि पोहोर त भूकम्प र नाकाबन्दीले यहाँको आर्थिक वृद्धि शून्य र ऋणात्मकसम्म हुँदा मेरो कारण थोरै भए पनि राहतै पुगेछ । मलाई त सन्तोष नै भयो । शून्यतिर पुगेको कुनै कुरामा एक नै थपिँदा पनि शत प्रतिशत वृद्धि हुन्छ । सन्तोषको कुरा भए पनि यो आफैँलाई बधाई दिनुपर्ने उपलब्धि चाहिँ नहुनुपर्ने ।
तर भूकम्पपीडितलाई भुलाएझैँ अरू कुरामा पनि यहाँका रंकलाई भुलाइराख्ने तरिका यहाँका ठूलाबडाले राम्रैसँग सिकिसकेका रहेछन् । यहाँका रंकका दैनिक खुराकमा प्रचार सामग्रीजस्ता समाचार र विचारको प्रचुरता मैले पाएँ । अलि पहिले निकै खुसीको कुरा जसरी समाचार प्रसारित भयो, सहमति बनेछ । अब सबै चुनावमा भाग लिने भए । त्यसैले चुनाव दुई चरणमा हुने भयो । त्यसपछि अति निष्ठावान् प्रमाणित भएकी प्रधानन्याधीशमाथि सरकारले हमला गर्दा फेरि समाचार आएछ– तिनले सरकारको कुरा नटेरेर मुठभेड निम्त्याएकी थिइन्, त्यसैले सरकार बाध्य भयो । फेरि भरतपुरमा र बहादुर भवनको निर्वाचन आयोगमा यिनको नाम मात्रको लोकतन्त्रको पटकपटक चीरहरण भयो । तैपनि यस्तो प्रचारित भयो– धाँधली र सत्ता दुरुपयोग कसले गरेको छैन र ? के गर्नु, कानुन नबनाएसम्म यस्तै हो । चुनाव गराएर त हामीलाई ठूलो गुण पो लगाइदिएका छन् । दोषी त यसको विरोध गर्नेहरू हुन् । ती विरोधी दलका मान्छे हुन्, त्यसैले समस्याका जड हुन् ।
असल प्रधानन्यायाधीशलाई समेत घिनलाग्दा आरोप लगाउनेहरूले अरू मानिसलाई किन समस्याको जड नदेख्दा हुन् ? आफूजस्तै कुनै पार्टी विशेष निकट नभएर स्वतन्त्र विचार र अडान राख्नसक्ने मानिस पनि हुन्छन् भन्ने यिनलाई विश्वासै रहेनछ सायद । त्यसैले यस्ता कुरा उठाउनेहरूप्रति प्रदर्शित हुने तिनको लाजमर्दो प्रतिक्रियाले उनीहरू आफैँ कतिसम्म आफ्ना दलका बँधुवा मजदुर रहेछन् भन्ने उदांगिने रहेछ ।
तैपनि नाटक, खेलकुद आदि गतिविधि होइन, समाचार, विचार र राजनीतिको मनोरञ्जनले यहाँका रंकहरू भुलेका छन् । धर्मको होइन, अहिले यो ठाउँमा अफिमको स्थान त यस्ता चिजले पो लिएका रहेछन् ।
मेरो आगमन
टाढाबाट उत्साहसाथ घर फर्केको मानिस जसरी यो भूखण्डमा आउने गरेको हजारौँ–लाखौँ वर्ष भइसक्दा म यहाँकै नियमित सदस्य जस्तै भइसकेको छु । अफ्रिका र अस्ट्रेलियाका भूखण्डदेखि म तिब्बती पठारहरूसम्म आइपुग्दा बाटोमा भेटिने ऊष्णताका पोकाहरू जम्मा गर्दै हिँड्छु । यतातिर उखरमाउलो गर्मी हुँदा परका भूमिमा भने चिसो भइरहेको हुन्छ । हिजोआजका एअर कन्डिसन झैँ यहाँका हिमालय पर्वतले मलाई परदेखि तानेर ल्याउँछन् । र, म यी पर्वतसँग ठोकिँदा आफूसँग बोकेर ल्याएका ठूला बादलहरू यीमाथि बर्साउने गर्छु । यही वर्षा लाखौँ वर्षदेखि यहाँका ठूला हिमनदी, खोलानाला, घना जंगल, उर्वर खेत, असंख्य जडिबुटी र थुप्रै जनावरका लागि जीवनधारा बनेर रहेको छ ।
यसरी बनेको अनुपम पर्यावरणमा विकसित अनेकौँ वनस्पतिको कुशल प्रयोग गरेर इतिहासमा यहाँका मानिस निकै समृद्ध बनेका थिए । सुरुमा यहाँ मात्रै भेटिने वनस्पति र फूलका विभिन्न प्रजाति नै विकास गरेर अहिले युरोपदेखि अमेरिकासम्ममा मानिसहरूको बैठक र बगैँचामा सजिने गरेका छन् । र, अरू धेरै औद्योगिक प्रयोग पनि हुने गरेका छन् ।
यहाँ देखिने प्रकृतिका विभिन्न छटाबाट प्रेरित भएर तिनले विश्वकै निम्ति प्रेरणादायी दर्शन, विचार र समृद्ध परम्परा बसालेका थिए । संसारमा जहाँ पनि मानिसको सभ्यताले ठूलो फड्को मारेको छ, त्यहाँ वनस्पति र प्रकृतिसँगको तादात्म्यकै भूमिका रहने गरेको छ । निकै पहिलेको उर्वर भूमि, ठूला खोला र जैविक विविधताको राम्रो प्रयोगले मिश्रको सभ्यता फस्टाएको थियो । त्यस्तै अवस्थिति र प्रयासले महादेशजस्ता चीन र भारत तथा तीबीचका क्षेत्रको पनि विकास भएको थियो ।
तर अहिले मानवसिर्जित मौसम परिवर्तनको शृंखला बढिरहेको छ । मेरो गतिविधि हिजोआज फेरिएको छ । सुख्खा खडेरी, ठूला बाढीहरू बढ्न थालेका छन् । लाखौँ वर्षदेखिको नियमिततामा सानो पनि फेरबदल हुँदा यहाँका असल मानिसलाई के हुने होला ? अहिले इतिहासकारहरू भन्न थालेका छन्, सयौँ वर्षअघि मेरो नियमित प्रक्रियाको फेरबदलले नै कम्बोडियाको अंकोरबात र सरस्वती नदीका सभ्यता मरेका थिए । यो भूखण्डमा पनि त्यस्तै केही हुनगए के होला ? कसैले सोच्न थाले हुने ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...