मोती नेपालका ज्योति
कवि मोतीराम भट्टले नेपाली साहित्यको आधुनिक युगको सूत्रपात मात्रै गरेनन्, भक्ति र स्तुतिकाव्यको महासागरमा शृंगार रसको गंगा नै बगाइदिए ।

३० वर्षको अल्पायु । कुसे औँसीको दिन जन्म र मृत्यु । यिनै कवि मोतीराम भट्टले नेपाली साहित्यको आधुनिक युगको सूत्रपात मात्रै गरेनन्, भक्ति र स्तुतिकाव्यको महासागरमा शृंगार रसको गंगा नै बगाइदिए । पाँच वर्षको उमेरमा नै बाबु दयाराम भट्टले बनारस पुर्याएर फारसी, संस्कृतमा पारंगत गराए । उर्दूमा त चार सयभन्दा बढी शेर नै रचे । मधुर वक्ता उनले संगीतको प्रशिक्षण पनि लिए । बनारस, कलकत्ता र दरबार स्कुल गरेर आईएसम्मको अंग्र्रेजी भाषाको अध्ययन गरे । फलस्वरूप उनी थुप्रै भाषा मिसाएर ‘क्वाँटी’ कविता रच्न पोख्त भएका थिए । बनारसमा कविता साधना गर्ने मोतीमण्डलीको रूपमा कविता साधकहरूको संगठन बनाएर प्रशिक्षणसमेत दिन थाले । कविता गर्ने सरजाम भनेर ६ श्लोके आचारसंहिता पनि बनाइदिए । उक्त मण्डलीमा पद्मविलास, काशीनाथ, रंगनाथ र चेतसिंह राना आदि सक्रिय थिए । यो मण्डलीले समस्यापूर्ति कविता थालनी गर्यो ।
बनारसमा त्यसबेला भारतेन्दु हरिश्चन्द्रको ठूलो नाम र मान थियो । तिनैबाट उत्प्रेरित भएर नेपालेन्दु मोतीराम बन्न कम्मर कसेर १५ वर्षको उमेरमा जन्मभूमि काठमाडौँ फर्के । ‘अचल झन्डा फरकोस फरफर गरी कान्तिपुरीमा’ भन्दै राष्ट्रियताको बिगुल फुके । काठमाडौँ बसाइमा यिनले विवाहमण्डपमा भट्याइने रामायणका श्लोकको स्वाद चाख्ने मौका पाए । यसको माधुर्यबाट ज्यादै प्रभावित भए । खास व्यक्तिबाहेक अरूलाई दुर्लभ मानिने भानुभक्तको रामायण छाप्ने दृढ संकल्प बोकेर पुस १९३८ मा फेरि बनारस गए । बल्लतल्ल बालकाण्डको पाण्डुलिपि फेला पारे । त्यसपछि रामकृष्ण वर्मालाई पट्याएर उनकै पुँजीमा भारत जीवन प्रेस खोलेर प्रबन्धक बनी सञ्चालन गरे ।
३६ पेजको दुई हजारप्रति बालकाण्ड छापे, जुन प्रवासमै हाताहात बिक्री भयो । यस पुस्तकलाई नेपाली भाषाको पहिलो संस्करण भनेर रेकर्डका लागि बेलायतको पुस्तकालयमा पनि पठाए । पछि ०४४ मा सिंगो रामायण छपाउन सफल भए । यिनले गीत र गजलका थुप्रै पुस्तक पनि प्रकाशित गरे । त्यसैगरी सोही प्रेसद्वारा आफैँ सम्पादक बनी गोरखा भारत जीवनको नेपाली संस्करण निकाले, जसले गर्दा यिनलाई नेपालको जेठो सम्पादक बन्ने सौभाग्य पनि प्राप्त भयो । इतिहास शिरोमणि बाबुराम आचार्यका भनाइमा काठमाडौँको काँठतिर रोपाईका बेला रसिया गीतमा जुवारी खेल्ने ठिटाठिटीहरू नै मोतीरामका काव्यगुरु हुन् । यिनै लोकगीत सुनेपछि नै नेपाली भाषामा राम्रा गजल लेख्न सकिन्छ भन्ने चेत मोतीरामलाई खुलेको बुझिन्छ ।
भानुभक्तको निधन हुँदा मोतीराम तीन वर्षका चिचिला थिए । तर, भानुभक्तलाई थांग्रो हालेर धुरी चढाउने काम यिनैबाट भयो । भानुभक्तका कृति प्रकाशन गर्दा आफ्नो नाम उल्लेख नगरेर निष्कामभक्ति प्रकट गरेका छन् ।
उनले भानुभक्तको जीवन चरित्र आफैँ लेखी रामकृष्णकहाँ प्रकाशनार्थ पठाएको घटना इतिहासकार सूर्यविक्रम ज्ञवालीले लेखेका छन् । विसं १९४७ मा दरबार स्कुलमा पढ्दा आदिकविका भतिजा रामदत्तमार्फत सोधीखोजी गरी जीवनी तयार गरे । नेपालबाट परीक्षा दिने पहिलो दलमा चन्द्रशमशेर तथा मरिचमान सिंह पनि थिए । भानुभक्तलाई आदि र सहज कविका रूपमा खुट्याउँदै समालोचकीय मूल्यांकनको खुबी देखाएर जेठो आलोचकको पहिचान पनि बनाए । बनारसबाट मनोद्वेग, गजेन्द्रमोक्ष, पञ्चक–प्रपञ्चक, स्वप्नाध्याय, चाणक्य नीतिभाषा आदि मौलिक तथा अनूदित ग्रन्थहरू
प्रकाशित गराए ।
राजगुरु लोकराज पाण्डेको अनुरोधमा मोतीराम पुन: काठमाडौँ आए । मामा कृष्णदेवसँग मिलेर ठँहिटीमा ‘मोतीकृष्ण कम्पनी’ पुस्तक भण्डार खोले । प्रकाशन र वितरणको काम सम्हाले । काठमाडौँमा पनि नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी र राजीवलोचन जोशीसमेतको मोतीमण्डली बनाए । शृंगार रसमा ‘ल्यौल्यौ औँठी म दिन्छु राख तिमीले मेरो निशाना भनी’ भन्ने समस्यापूर्ति गराए । सय श्लोक पूरा गरेर समस्या शतक निकाल्ने उनको धोको २४ श्लोकमा पुगेपछि बढ्न सकेन ।
यसरी मोतीराम युगमा शृंगारधारालाई उत्कर्षमा पुर्याउने भूमिका तत्कालीन समाजको पनि रहेको छ । नेपाली वास्तुकला, संस्कृत साहित्यको काव्यधारा, उर्दूका गजलको प्रभाव र दरबारिया भोगविलास त्यत्तिकै जिम्मेवार छन् । केही पौराणिक ग्रन्थलाई छोडेर कवि समूह वर्णन, मनोद्वेग प्रवाह, कमल भ्रमर संवाद, पञ्चक–प्रपञ्च आदि ग्रन्थहरू सामाजिक आलोकमा लेखिएका हुन् भने गफास्टक हास्यव्यंग्यको नमुना रहेको छ । पिकदूत खण्डकाव्यजस्तै विरहकाव्य हो । प्रियदर्शिका मौलिकसरह नै स्वादिलो छ । थुप्रै कृति प्राप्त छैनन् ।
काठमाडौँमा पहिलो प्रेस र सार्वजनिक पुस्तकालय खोले । विसं १९५२ मा कलकत्तामा जाँच दिन जाँदा उतै बिरामी भएपछि आमा रिपुमर्दिनीसँग काठमाडौँ आए । सात महिना थला परेपछि आमालाई मेरा सन्तान यिनै हुन् भनी कृति जिम्मा लगाए । ‘पर्छे यो कविता सक्कलका पालन गरून् प्रीतिले’ भन्दै भदौ १९५३ मोतीरामले पशुपतिमा देहत्याग गरे । भानुलाई मोतीले टल्काए । मोतीलाई एक्लै काँध थापेर गोपाल पाँडेले राष्ट्रिय विभूति बनाए । ०३५ पछि उनकै छोरी रमा शर्माले यो नासोको जगेर्ना गर्दै आएकी छन् । अब रमाको काँध कसले फेर्ला भनेर घोत्लिनु स्वाभाविकै हो ।