दयाहाङको बर्थ-डे
वैशाख २०८५ । नयाँ वर्ष, नयाँ दिन ।दयाहाङको जन्मदिन ।
वैशाख २०८५ । नयाँ वर्ष, नयाँ दिन ।
दयाहाङको जन्मदिन ।
चिन्ने/जान्नेहरु उनलाई दयालु मनुवा भन्छन् । कतिपय प्रेमी तथा शुभचिन्तक भने उनको नाममा जडिएको 'हाङ' लाई हलाल गरी केवल 'दया' भनी सम्बोधन गर्न रुचाउँछन् ।
नयाँ वर्षको नयाँ दिनमा जन्मेका दयाहाङ नयाँ युगका नयाँ मनुष्य हुन् । आज हामी यिनै मनुष्यको बर्थ-डे सिनोप्सिसलाई नेपाल म्यागजिनको पानामा लिपिबद्ध गर्दै छौँ । त्यस निम्ति मैले पेन्सिल समातिसकेको छु, तपाईंले इरेजर । बढ्तै लेख्न थालेँ भने इरेजर चलाइदिनु होला ।
♦♦♦
सिन्ध्या-बेला । मण्डला थिएटरको आँगन ।
कलाकारहरुको जमघट । राजन खतिवडा, अनुप बराल र सुनील पोखरेलले दयाहाङलाई खादा लगाएर अंकमाल गरे । दीर्घायुको कामना गरे । अरुणा कार्की, सरिता गिरी, सिर्जना सुब्बाले बुके, खोलाको गीत र ओल्ड दरबार ब्ल्याक चिम्नी टक्र्याए ।
गायिका-पत्नी बेनुकाले बर्थ-डे ब्वाईको नाडीमा नयाँ घडी लगाइदिँदै भनिन्, 'फिल्म सुटिङमा निकै व्यस्त हुन थाल्नुभो । घरपरिवारलाई पनि समय दिने गर्नुस् ।' सबैले ताली बजाए । विजय बरालले बार्दलीबाट घन्टी बजाए । सबै जना थिएटर पसे, आसनमा बसे ।
मञ्चमा केक, मैनबत्ती थिए । सोमनाथ खनालले दयाहाङको हातमा रामपुरी चाकु थमाइदिँदै भने, 'दाजु, केक काट्नुस् ।' दयाहाङले चाकु समाउँदै पि्रयजनलाई हेरे । उनको नजर अनुप बरालमा गएर अडियो । कान्छी औँलो ठड्याउदै मिस्टर बरालसित संकोचका साथ भने, 'मे आई गो टु ट्वाइलेट, सर ! मुत्राक्रमण भइगयो ।' बरालले 'यस, यु मे गो' भने । त्यसपछि केक काट्न छाडी दयाहाङ मूत्रप्रदेशतिर लम्किए । मूत्र विसर्जनपछि धारामा हस्त प्रक्षालन गर्दा दयाहाङको नजर डिजिटल घडीमा पर्यो । बन्द रहेछ । नीलो बटन थिचे । समय तीव्र गतिमा घुम्न थालेपछि हतारहतार प्रेक्षालय छिरे ।
भित्रको दृश्य देखेर उनी वाल्ल परिगए । त्यो कुनै राजमहलको शाही कक्षजस्तो देखिन्थ्यो । मञ्चमा सिंहासन थियो । त्यहाँ एक आकर्षक पुरुष राजमुकुट लगाई शान-ओ-शौकतका साथ विराजमान थिए । निजले राजकीय अन्दाजका साथ भने, 'म राजा यलम्बर तिमी दयाहाङलाई राजमहलको यो पाहुना कक्षमा स्वागत गर्दछु । आज विक्रम संवत् १५०१ वैशाख १ मा हामी तिम्रो जन्मदिन मनाउन भेला भएका छौँ । अब वाल्ल नपरी कुनै विलम्ब नगरी केक काट ।'
दयाहाङले केक काटे । सभा भारदारहरुको कर्तल ध्वनिले गुञ्जायमान भयो । राजा यलम्बरले भने, 'दयाहाङ, कला र अभिनयप्रति तिम्रो अटुट श्रद्धा देखेर म निकै प्रसन्न भएको छु । जन्मदिनको उपहार के दिउँ? भन !'
दयाहाङले इच्छा प्रकट गरे, 'योर म्याजेस्टी ! हामीसित जग्गाजमिन छैन । थिएटरलाई निकै गाह्रो छ । जग्गामालिकहरुले हट् भनेपछि सुकुम्बासी बन्नुपर्छ । जग्गा पाए हाम्रो कल्याण हुने थियो, योर म्याजेस्टी ।'
यलम्बर अकस्मात् चिन्तित देखिए । नैराश्यको भावमा भने, 'दयाहाङ ! तिमीले असम्भव कुरा माग्यौ । सहरका जम्मै जग्गाजमिन भू-माफियाहरुले कब्जा गरेका छन् । खोलानाला, गुठी, सडक सबैतिरका जग्गा भू-पापीहरुले हडपिसकेका छन् । के थाहा ! मेरो यही दरबार पनि ती भू-दानवहरुले हत्याइसकेका हुन सक्छन् । यस्तो बेला, तिमीलाई म कसरी जग्गादान गर्न सक्छु ? मलाई कृपया माफ गर । बरु अरु इच्छा के छ, भन ।'
'योर म्याजेस्टी', खिन्न हुँदै दयाहाङले भने, 'हाललाई त ट्वाइलेट जाने इच्छा छ, जाउँ?'
राजा यलम्बरले 'जाऊ तर चाँडै आऊ' भनेपछि दयाहाङ फटाफट मुत्राञ्चलतिर लागे । मुत्रमोचनपछि हात पखाल्दा घडी हेरे, जहाँ समय तीव्र रुपमा घुमिरहेको थियो । उनले पहेँलो बटन थिचेपछि समय स्थिर भयो । उनी अघि बढे ।
♦♦♦
मे आई कम इन सर !' प्रेक्षालयमा दयाहाङको आवाज सुनियो । अनुप बरालले 'यस, कम इन' भन्दै सोधे, 'काँ गा'का थियौ दया ? ट्वाइलेट गा'को मान्छे अन्तै कतै पुग्यौ कि क्या हो ?' दयाहाङ चुपचाप मञ्चमा पुगे । सिलिङबाट चुहिएको स्पटलाइटमा उभिएर भने :
- सोह्रौं शताब्दीमा पुगेँ सर !
- अच्छा ? कसलाई भेट्यौ ?
- राजा यलम्बरलाई ।
- बर्थ-डे गिफ्ट पनि दिए कि !
दयाहाङ निःशब्द भए । उनको मन एकतमासले उदास भइगयो । यस्तैमा स्पटलाइट झ्याप्प निभ्यो । प्रेक्षालय निस्सीम अन्धकारमा डुब्यो ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...