हामी मोदीको विरोध गर्छौं तर मोदीजस्तै हुन चाहन्छौँ
नेता, कार्यकर्ता र विश्लेषक मात्र होइन, आम मान्छेमा पनि मोदीको प्रभाव कम छैन । मुलुकको प्रगतिका लागि विधि र संस्थाको निर्माणभन्दा व्यक्तिको भूमिकालाई प्राथमिक मान्नेले मोदीलाई उपयुक्त उदाहरण मान्छन् ।
नरेन्द्र मोदी आफैँमा एक परिघटना हुन् । पहिलो पटक शक्तिशाली प्रधानमन्त्रीको रूपमा उदाएर भारतीय मतदाताको जीवनमा कुनै ठोस परिवर्तन नगरी दोस्रो पटक अझ बलशाली बन्दै निर्वाचित हुनु सामान्य घटना होइन । उनको प्रभाव भारतीय समाजमा मात्र सीमित छैन । विशाल भारतको सिमाना छिचोलेर मोदी–फेनोमेननले अन्यत्र पारिरहेको प्रभाव बुझ्न नेपाल एक उदाहरण हुन सक्छ । नेपालमा मोदीको जति विरोध हुन्छ, त्योभन्दा बढी मोदीवादको वैचारिक प्रवर्द्धन हुन्छ ।
भारतका केही समाजविज्ञानीले विश्वासिला तर्क र तथ्यसहित मोदीको पहिलो कार्यकाल असफल भएको बताएका थिए । भारतीय समाज पहिलेभन्दा अशान्त बन्यो, अन्तरसामुदायिक असमझदारी र द्वन्द्वमा वृद्धि भयो, आर्थिक अवस्था खस्कन थाल्यो, सीमान्तकृत एवं गरिब जनताको जीवनस्तर उक्सिने सम्भावना क्षीण बन्दै गयो । द अल्जेब्रा अफ वारफेयर–वेलफेयर : अ लङ भ्यु अफ २०१४ इलेक्सन्स पुस्तकमा संकलित खोजमूलक लेखहरूको निचोड थियो, ‘आफ्नो शासनलाई कल्याणकारी बनाउने उद्घोषसहित मोदी सत्तामा आएका थिए तर डिमोनिटाइजेसनजस्ता कामले कल्याणकारितामा ह्रास आयो । उनका धनाढ्य सहयोगीहरू भने खुसी नै भइरहे । साथै, पाकिस्तानजस्तो भ्रमपूर्ण दुस्मनको खेदो खन्नमै बहुसंख्यक भारतीयको समय गुज्रियो ।’
यी सत्यलाई प्रामाणिक ढंगले बाहिर ल्याउँदा पनि बहुसंख्यक मतदातामाझ मोदी–प्रभाव झन् गहिरिएको पछिल्लो निर्वाचनबाट पुष्टि भयो । विद्यमान अवस्थाबाट किञ्चित विस्मित हुँदै अरुन्धती रोयले क्याराभानमा हालसालै लेखिन्, ‘पश्चिमा मुलुकहरू आन्दोलित भइरहँदा, भारतका पुँजीवाद र साम्राज्यवादविरोधी सामाजिक र पर्यावरणीय न्यायका आन्दोलन सबैले मौनता साँधेका छन् ।’
भारतीय जनता पार्टी (भाजपा) को चुनावी सफलतामा अतिप्रचारित नरेन्द्र मोदीको छविले महत्त्वपूर्ण योगदान गरेको छ । मूलत: चार प्रभावकारी पहिचान जोडेर मोदीको छवि निर्माण गरिएको छ– भौतिक विकासका लागि समर्पित नेता, दुनियाँभरका हिन्दुको महत्ता र पहिचानको रक्षार्थ खटिएको सक्षम मानिस, व्यक्तिगत फाइदाका लागि भ्रष्टाचार नगर्ने सन्त एवं कुलीन पृष्ठभूमिबाट नआएको तर आफ्नै मिहिनेत र परिश्रमले बनेको राष्ट्रसेवक । प्रभावकारी प्रचार संयन्त्रमार्फत स्थापित तुल्याइएका यस्ता ‘विलक्षण मानव’ लाई भारतका बहुसंख्यक हिन्दुले आफ्नो नेता माने ।
दोस्रो पटक अझै बलशाली बनाउँदै मत हालेका बहुसंख्यक हिन्दुका लागि मोदी–सरकारले दुई उपहार दियो । सैन्य बलमा कश्मीरलाई अधीनस्थ गरेर पहिलो उपहार दिएका मोदीले अयोध्याका ‘भगवान् राम’ को पक्षमा सर्वोच्च अदालतबाट निर्णय गराएर दोस्रो उपहार टक्र्याए । अब उनको प्रयास ‘समान नागरिक संहिता’ मार्फत अल्पसंख्यक मुस्लिमले पाउँदै आएका केही अधिकारको खोसुवामा केन्द्रित हुनेछ । भारतीय हिन्दुहरूले यी उपहारलाई सहर्ष ग्रहण मात्र गरेका छैनन्, मोदीको जयगान पनि गरेका छन् । मोदी महिमा गाउने उपक्रममा मूलधारे भारतीय सञ्चार माध्यम अग्रपंक्तिमा छन् ।
मोदीका नाममा भएको जयगानको फैलावट बिहार र उत्तरप्रदेश हुँदै नेपालको मधेससम्म पुगेको छ, दार्जिलिङ हुँदै पूर्वी नेपालका पहाडी–बहुल क्षेत्रसम्म पनि आइपुगेको छ । काठमाडौँले मोदी–उदयमा स्वाद मानेको धेरै भयो ।
काठमाडौँमा मोदी
सन् २०१४ मा भाजपा विजयी बन्ने अनुमान भएसँगै नेपालमा खुसी मनाउने क्रम सुरु भयो । रुक्मशमशेर राणा र निश्चलनाथ पाण्डेदेखि भेषबहादुर थापासम्मले पत्रिकामा लेख/वार्तामार्फत मोदी–उदय नेपालको हितमा हुने विश्वास गरे । पशुपतिदेखि तिरुपतिसम्म सडक निर्माण गर्दै लाखौँ पर्यटक भित्र्याउने सपनादेखि जलविद्युत्मा तरक्की गर्न सकिने अनुमान गरियो । पश्चिमाहरूले क्रिस्चियन धर्म प्रचार गरेर हिन्दु धर्म एवं नेपाल राष्ट्रलाई कमजोर तुल्याएकाले भारतमा मोदीको उदय सुखद रहेको विश्लेषण सुनिन थाल्यो ।
मोदी पहिलो पटक प्रधानमन्त्री भएको तीन महिनापछि २०१४, अगस्तमा नेपाल भ्रमणमा आए । संसद्को समेत काम गरिरहेको संविधानसभामा उनले करिब ४५ मिनेटको सम्बोधन गरे । नेपाली भाषामा लिखित एक अंश भाषण पढेपछि उनले हिन्दी भाषामा अलिखित मन्तव्य दिएका थिए । नेपालसँग आफ्नो र भारतको सम्बन्धबारे बोल्दै उनले भनेका थिए, ‘म मूलत: गुजरातको मान्छे हुँ । सोमनाथको भूमिबाट राजनीति सुरु गर्दै काशीस्थित विश्वनाथको छहारीमा हुर्किएँ र अहिले पशुपतिनाथको चरणमा आइपुगेको छु ।’ अन्तरिम संविधानमार्फत धर्म निरपेक्ष भएको नेपाललाई उनले हिन्दु राज्यको रूपमा परिकल्पना गर्दै आफू हिन्दु भएकै कारण नेपालसँग न्यानो सम्बन्धमा रहन चाहेको आशय व्यक्त गरे ।
नेपालका हिन्दुलाई ढुक्क बनाइसकेपछि भारतप्रति गरिने सन्देहबारे केन्द्रित भए । गौतम बुद्धलाई भारतले बलजफ्ती आफ्नो बनाउन खोजेको र नेपालको जलस्रोतमा भारत लोभिएको चर्चा नेपालमा धेरै हुने गरेको उनले बुझेका थिए । बुद्ध नेपालकै भएको पुष्टि गर्दै जलस्रोतको विकासमा सहयोग गर्न आफू तयार रहेको उनले बताए । मन्तव्यलाई भव्य स्वागत गर्दै सरकारका मन्त्री, शीर्षस्थ नेता एवं सांसदले पटक–पटक ताली बजाए । संसद्मा बजेको तालीको गडगडाहट केही दिनसम्म काठमाडौँमा गुन्जिइरह्यो ।
पहिलो भ्रमणमा मोदीले बहुसंख्यक नेपाली हृदयका तार झंकृत तुल्याइदिए । बुद्ध नेपालकै भएको पुष्टि गर्दा नेपाली राष्ट्रवादले धाप पायो, आर्थिक सम्भावनाका गफबाट विकासको आशक्ति सम्बोधन भयो, सोमनाथदेखि पशुपतिनाथसम्मको कथाले हिन्दु मनलाई सुम्सुम्यायो । बहुसंख्यक नेता मोदीका जोडदार प्रशंसक बने । साताभरि नेपाली अखबारका पानामा मोदी नेतृत्वको भारत नेपालको असली मित्र भएकामा खुसी व्यक्त गरियो । परराष्ट्र मन्त्रालयका पूर्वकर्मचारी गोपाल थापाले मोदीको बहुआयामिक छविको उच्च प्रशंसा गर्दै द काठमान्डु पोस्टमा लेखे, ‘यो भ्रमणमा मोदीको मानवीय पाटो प्रस्ट भयो...उनले कवि र लेखकले जस्तै आफ्नो हृदयलाई अभिव्यक्त गरे ।’
तिनताक लेखिँदै गरेको संविधानमा भारतीय प्रभाव देखाउने चाहनालाई मधेस आन्दोलनमार्फत पूरा गर्न खोजेपछि मोदीसँग काठमाडौँ सशंकित हुन थाल्यो । विकासप्रेमी हिन्दु भएर बुद्धको दाबी पनि छाडेका कारण पुलकित भएको काठमाडौँले मधेसलाई मोदीले बोक्नु नहुने सुझाव दियो । तर दोस्रो संविधानसभा चालू रहेकै बेला दोस्रो पटक आएका मोदीले ट्रमा सेन्टर उद्घाटन गर्दै ‘मधेसको माग सम्बोधन गर्न’ नेपालका दलहरूलाई आग्रह गरे । यसबाट चिढिएको काठमाडौँ मधेस आन्दोलन दौरान नाकाबन्दीसम्म पुग्दा मोदीप्रति रुष्ट बन्यो । मोदीले वरण गरेको हिन्दुत्व, राष्ट्रवाद र विकासप्रेमको भने काठमाडौँ सधैँ प्रशंसक रह्यो ।
विकास एवं राष्ट्रवादलाई मुख्य एजेन्डा बनाएर सरकारको नेतृत्व गर्न आइपुगेका केपी ओलीले मोदीकै पदचिह्न पछ्याएको बुझ्न कठिन छैन । हरेक स–साना र नियमित कामलाई प्रचार प्रोपागान्डा बनाउनेदेखि पूर्वीय दर्शनको नाममा हिन्दु संस्कृतिको प्रवर्द्धन गर्ने प्रयत्नमा मोदी र ओलीको उस्तै जोड देखिन्छ । सामाजिक सन्जाल एवं सञ्चार माध्यमको प्रयोगबाट आफूलाई युग बदल्ने मसिहाका रूपमा चित्रण गराउने ध्याउन्नमा मोदी धेरै अघि छन् । ओलीको ढिपी पनि सानो छैन ।
ओली–सत्तालाई आलोचनाबाट बचाउन चाहने ओली–समर्थक पत्रकार, संस्कृतिकर्मी, लेखक एवं विश्लेषकहरू मोदीबाट प्रभावित छन् । राष्ट्रवादका नाममा भारतको बलमिच्याइँको विरोध गर्न उनीहरू पछि पर्दैनन् । कालापानीजस्ता मुद्दा उछालिँदा र भारतविरोधी जनमत बलियो हुँदा त्यसलाई ओली–सरकारको पक्षमा मोड्न उनीहरू भरमग्दुर प्रयास गर्छन् । तर सैन्य बलमा कश्मीरको झिनो स्वायत्तता खोस्दा मोदीको प्रशंसा नगरी बस्दैनन् । कश्मीरमा मोदीले गरेका कामबाट नेपालले प्रेरणा लिनुपर्ने हाकाहाकी बताउँछन् । नेकपाको अन्तर्राष्ट्रिय उपप्रमुखको जिम्मेवारी सम्हालेका विष्णु रिजालले लेखे, ‘नेपालको नयाँ संविधान निर्माणको क्रममा आत्मनिर्णयको विशेष अधिकारजस्ता चर्का माग उठाइएको परिदृश्यले कश्मीर घटनाबाट हामीलाई मिल्ने पाठ हो– देशभित्र कुनै भूगोल विशेष हुँदैन ।’
नेपाली राष्ट्रवाद एवं पूर्वीय संस्कृतिको संवद्र्धनमा प्रतिबद्ध नेपाली विश्लेषक चन्द्रदेव भट्टले अयोध्या फैसलापछि ट्वीटरमा लेखे, ‘भारतको सर्वोच्च अदालतले अन्तत: राम लल्लालाई स्थान दियो । राम लल्लालाई उनकै जन्मभूमिमा पहिले मुगलबाट र पछि भारतका शासकहरूबाट सुकुम्बासी बनाइएको थियो । भगवान् रामको दीक्षामा आधारित यो भव्य सभ्यतामा विश्वास गर्ने हामी सबैका लागि खुसीको क्षण हो ।’
प्रतिपक्षी कांग्रेसमा हिन्दुत्वको प्रभाव दिनप्रतिदिन बढ्दै गएको बुझ्न कुनै विशेष प्रतिभा चाहिँदैन । आगामी महाधिवेशनमा ‘हिन्दु एजेन्डा’ प्रभावी बन्ने कांग्रेसी नेता–कार्यकर्ता प्रस्ट बताउन थालेका छन् । शशांक कोइरालालगायत शीर्षस्थ नेताले बारम्बार नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने सार्वजनिक माग राखेको सबैलाई थाहा छ । गत वर्ष २९ मंसिरदेखि ८ पुससम्म चलेको कांग्रेस महासमितिमा उपस्थित १ हजार ४ सय सहभागीमध्ये ४ सय ९ जनाले हिन्दु राज्य माग गर्दै हस्ताक्षर चलाए । यसै म्यागजिनले गत वर्ष पुस २४ को अंकमा आवरण कथा प्रकाशित गर्दै भारतीय धार्मिक स्वामीहरूले नेपाली नेतृत्वलाई प्रभाव पार्न खोजेको प्रमाण पेस गरेको थियो ।
कांग्रेसलाई वैचारिक रूपमा सबल बनाउनुपर्छ भनिरहने नयाँ पिँढीका नेता पनि हिन्दु एजेन्डाको खुलेर विरोध गर्दैनन् । सिँगै पार्टी हिन्दुवादी भएका बेला आफू एक्लो परिने भयले उनीहरू पछि हटेका हुन् । एकथरीको जोडबल र अर्काथरीको मौनतामा कांग्रेस हिन्दुवादी पार्टी बन्ने सम्भावना प्रचुर छ ।
नेता, कार्यकर्ता र विश्लेषक मात्र होइन, आम मान्छेमा पनि मोदीको प्रभाव कम छैन । मुलुकको प्रगतिका लागि विधि र संस्थाको निर्माणभन्दा व्यक्तिको भूमिकालाई प्राथमिक मान्नेले मोदीलाई उपयुक्त उदाहरण मान्छन् । यस आलेख लेख्नुअघि अनौपचारिक विमर्श गर्दा केही विश्लेषकको समान राय सुनिएको थियो, ‘नाकाबन्दी नभएको भए हरेक दिन ली क्वान युको स्मरण गर्दै नेपाललाई विकसित तुल्याउनुपर्ने तर्क गर्नेहरूले मोदीको नाम पनि सँगै उच्चारण गर्ने थिए ।’
मधेसमा मोदी
नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणमा काठमाडौँ जसरी आह्लादित थियो, उनको तेस्रो भ्रमण दौरान जनकपुर त्यसरी नै भावविभोर भयो । तेस्रो भ्रमण क्रममा काठमाडौँभन्दा पहिले जनकपुर पुगेर उनले ‘भगवान्’ रामको ससुराली एवं सीताको जन्मभूमिको उच्च सम्मान गरेको सन्देश नेपाल र भारत दुवैतर्फका हिन्दुलाई दिए ।
भ्रमणमा जनकपुरलाई प्राथमिकतामा राखेको सन्देश दिएर उनले मूलत: भारतका हिन्दु मतदातालाई विश्वस्त तुल्याउन खोजेका थिए । त्यसपछि मुक्तिनाथको भ्रमण र त्यहाँबाट गरिएका प्रचारसमेतले उनलाई हिन्दु नायकका रूपमा स्थापित गर्न मद्दत गर्यो ।
मोदीले जनकपुरलाई उच्च प्राथमिकता दिएकामा जनकपुर राजधानी बनाएर संघीयता अभ्यास गरिरहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अतिरिक्त हर्षित देखिन्थे । मोदीलाई १ सय २१ किलोको माला लगाएर स्वागत गरे । भारतीय प्रधानमन्त्रीको स्वागतार्थ आयोजित औपचारिक कार्यक्रममा राउतले नेपाल सरकारबाट मधेसले अद्यापि भोगेका अलगावका कथा हालेर सहयोगको बिन्ती चढाए ।
मधेसका बहुसंख्यक हिन्दु मतदाताले अल्पसंख्यक मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने आफूलाई नरुचाएको राउतलाई राम्रो अन्दाज थियो । ‘हिन्दु सम्राट’ लाई भव्य स्वागत गरेर उनका अघिल्तिर आफ्ना दु:ख बेसाएको सुन्दा मधेसका हिन्दु आफूप्रति विश्वस्त हुन्छन् भन्ने मुख्यमन्त्री राउतले अन्दाज गरे । त्यति मात्र होइन, मुख्यमन्त्रीले आफ्नै अग्रसरतामा महिला सशक्तीकरणको अभियान सुरु गरे, जसको नारामा मोदी–प्रभाव प्रस्ट देखिन्छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान नाम दिएर प्रचार गर्न ‘प्रथम ऐतिहासिक सामूहिक आदर्श विवाह कार्यक्रम’ आयोजना गरिएको छ । ‘राम–सीता’ को आदर्श जोडीलाई प्रेरणाको स्रोत मान्दै यस्तो आयोजना गरिएको हो । राउत मात्र होइन, मधेसी स्वायत्तताको माग गर्ने मधेसकेन्द्रित अधिकांश दल जनताको विश्वासभन्दा बढी भारतको आडलाई महत्त्व दिन्छन् ।
त्यसो त, जनकपुरमा मोदीलाई स्वागत गर्न पुगेका प्रधानमन्त्री ओली स्वयं गेरुवा पोसाकमा सजिए । मोदीको प्रिय गेरुवा पहिरनसँग मिलाएर ओलीले पनि त्यस्तै रङको कुर्तापाइजामा लगाए । जानकी मन्दिर परिसरमा गरिएको भव्य स्वागतमा देखिएका ‘जेस्चर’ ले मोदीलाई हिन्दु शासकका रूपमा स्थापित हुन जनकपुरले खुलेर सघायो । मोदी–सम्मानको धार्मिक कलेवरलाई अझ गाढा बनाउन जनकपुर उपमहानगरपालिकाले बाह्रबिगाहामा नागरिक अभिनन्दनको कार्यक्रम राख्यो । त्यस दौडमा पछि नपर्ने मनसुवासहित काठमाडौँ महानगरपालिकाले समेत उनलाई नागरिक अभिनन्दन गर्यो ।
राजनीतिक वृत्तमा मात्र होइन, मधेसका बहुसंख्यक हिन्दुमा मोदी प्रभाव उत्तिकै देखिन्छ । सहरका भवनमा पोतिएका गेरुवा रङले नै मोदी–प्रभावको संकेत गरेको बताउँछन्, जानकारहरू । सहरका हरेक साना–ठूला पसल एवं घरमा भारतीय टेलिभिजन अनवरत बज्छन् । मूलधारका टिभीले गर्ने मोदीको महिमा–मण्डनबाट दर्शकहरू प्रभावित हुन्छन् । बिहानको चिया गफदेखि साँझको रमझमसम्म मोदी र स्वामी आदित्यनाथका पराक्रमको प्रशंसा गर्नेहरू ठूलो स्वरमा गफ गरिरहेको सुनिन्छ । अयोध्या फैसलाले राम लल्लालाई न्याय गरेकामा जानकी मन्दिरले नै न्याय पाएको अनुभूति गर्नेहरू उल्लेख्य छन् ।
भारतको पछिल्लो लोकसभा चुनावमा भाजपा नेतृत्वको गठबन्धनले ३ सय ५३ सिट जितेर कांग्रेस आई नेतृत्वको चुनावी गठबन्धनलाई ९१ मा खुम्च्यायो । यस जितले नरेन्द्र मोदीलाई दोस्रो पटक अझ शक्तिशाली प्रधानमन्त्री बन्ने निश्चित तुल्यायो । उता मोदीको दोस्रो कार्यकाल सुरु हुँदा–नहुँदै वीरगन्जमा विजय–र्याली सुरु गरियो । गेरुवा रङको तुलमा ‘महापुरुष श्री नरेन्द्र मोदीजी दोस्रो पटक गणतन्त्र भारतको भारी बहुमतबाट प्रधानमन्त्री बन्न लाग्नुभएकामा बधाई तथा शुभकामना व्यक्त गर्दछौँ’ लेखेर एक हुल मानिसले सहर परिक्रमा गरे । सहभागीका हातहातमा गेरुवा रङका साना झन्डा देखिन्थे । त्यही साँझ मोदीको सम्मानमा दीपावली गर्नुका साथै मिष्ठान्न वितरण गरियो ।
मोदी–प्रभावको विस्तार नियालिरहेका जनकपुरका एक रैथानेले भने, ‘मोदीको दोस्रो विजयमा हर्षोल्लास मनाउनेको संख्या जनकपुरमा पनि ठूलो थियो । अयोध्या फैसला आएपछि त्यसलाई आफ्नै जित ठान्नेहरू यहाँ कति थिए कति ।’ भारतमा हिन्दु शासक विजयी हुँदा नेपालमा समेत हिन्दु धर्मको रक्षा हुने, इस्लाम एवं क्रिस्चियन धर्मको प्रभाव न्यून हुने बुझाइका कारण मधेसमा मोदीको जयगान हुने गर्छ । ती रैथाने भन्छन्, ‘अनौपचारिक गफ गर्दा फरक मत राख्नेलाई हाकाहाकी इसाईको पैसा खाएको वा जेएनयुको दुष्प्रभाव परेको भन्छन्, मोदी–प्रशंसकहरू ।’
भारत–प्रभावको इतिहास
भारतमा भएका आन्दोलन हुन् वा प्राज्ञिक बहस, साहित्य होस् वा सिनेमा, दार्शनिक चिन्तन हुन् वा राजनीतिक अभ्यास, ती सबैको धेरथोर प्रभाव नेपालमा पर्छ । नेपालमा गरिएका लोकतान्त्रिक परिकल्पनामा भारतमा अभ्यास गरिएको लोकतन्त्रको गहिरो प्रभाव छ । यताको नेपाली कांग्रेसमा उताको इन्डियन नेसनल कांग्रेसको वैचारिक प्रभाव काफी देखिन्छ भने उताका वामपन्थी दल एवं नेताले यताका कम्युनिस्ट नेतामा प्रचुर प्रभाव पारेका छन् ।
भनिन्छ, भारतको स्वतन्त्रता आन्दोलनको सफलताले नै नेपालमा प्रजातान्त्रिक आन्दोलनको परिकल्पनालाई सघाएको हो । बीपी कोइराला र पुष्पलाल श्रेष्ठहरूले सुरुआती राजनीतिक प्रशिक्षण भारतमै पाएका थिए ।
राजनीतिक आड बनेका आधारमा भारतले आफ्ना भूराजनीतिक स्वार्थपूर्तिका लागि नेपाली राजनीतिलाई प्रयोग गरेको तथ्य पनि कसैबाट छिपेको छैन । नेपाल–भारत सम्बन्धको यो इतिहास बुझ्नेले मोदी प्रभावको कारण सहजै अन्दाज गर्न सक्छ । सामाजिक न्यायसहितको लोकतन्त्रमा अभ्यासरत हुन खोजिरहेको नेपालमा दक्षिणपन्थी चिन्तन अझै मजबुत भएकाले भारतको पछिल्लो राजनीतिक पटाक्षेप लोकतन्त्रकै लागि समस्या बन्न सक्छ भन्ने अन्दाज पहिल्यै गरिएको थियो ।
मोदी पहिलो पटक प्रधानमन्त्री बन्ने निश्चित भएसँगै नेपालमा दक्षिणपन्थी प्रभाव विस्तार हुने सम्भावना औँल्याउँदै पंक्तिकारले २०१४, मे १७ को कान्तिपुरमा ‘दक्षिणपन्थका प्रवद्र्धक’ शीर्षकको लेख लेखेको थियो । धर्म निरपेक्षताजस्ता संवैधानिक प्रावधान कमजोर पारिन सक्ने अन्दाज सो लेखमा गरिएको थियो । नभन्दै, नयाँ संविधानले धर्म निरपेक्षतालाई सनातन धर्मको रक्षा गर्ने प्रावधानका रूपमा व्याख्या गर्यो । साथै, प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणपछि कान्तिपुरमै लेखियो, ‘हाम्रा जनप्रतिनिधिले कमाउनुपर्ने जनभरोसा भारतीय प्रधानमन्त्रीले कमाउनुको दूरगामी असर पक्कै होला ।’
भौतिक विकास एवं राष्ट्रवादबाट प्रभावित बहुसंख्यक नेपालीका लागि मोदी सबल उदाहरण हुन् । आर्थिक विकासका लागि मोदीको गुजरातलाई उदाहरण मान्नेको संख्या पनि उल्लेख्य छ । धर्म निरपेक्षता, समानुपातिक समावेशिता, प्रादेशिक स्वायत्तता एवं विकासका वैकल्पिक उपायजस्ता मुद्दाको विरोध गर्नेहरूले मोदीलाई वैचारिक आड मान्छन् । पहाडे बहुल क्षेत्रमा भारतको ‘ठूल्दाइ’ प्रवृत्तिको आलोचना गर्दा–गर्दै मोदीको दक्षिणपन्थबाट प्रभावित हुनेको संख्या जति छ, मधेसको स्वयत्तताको माग राख्दै गर्दा मोदीको हिन्दुत्ववाद वरण गर्नेको संख्या त्योभन्दा कम छैन ।
(लेखक अमिशराज मुल्मीको सहयोगमा यो विश्लेषण तयार पारिएको हो ।)
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...