प्रधानमन्त्रीज्यू, मुटु भएका सम्पादक त्यसबेला भेटिनेछन्, जब...
प्रधानमन्त्रीहरू, नीति–निर्माताहरू र उच्च पदमा रहेका प्रशासकहरूले जतिसुकै चाहना राखे पनि समाचारलाई निर्देशित बाटोमा हिँडाउन सक्दैनन् ।
सडक ‘मानवमुक्त’ भएको दाबी छ, प्रधानमन्त्री केपी शर्मा ओलीको ।
चेम्बर अफ कमर्सका सदस्यहरूसँगको भेटमा प्रम ओलीले सरकारले गरेका राम्रा कामहरूको चर्चा गर्दै सहरका सडक बेवारिसे मानिसमुक्त भएको बताएछन् र भनेछन्, ‘राम्रा कामका समाचार बनाउने मन मुटु भएका’ सम्पादक नै नभएको ‘नयाँ’ टिप्पणी गरेछन् । ‘हामीले काम गरेका छौँ । त्यस्ता कामहरूको प्रशंसामा लेख्ने, प्रसारण गर्ने टेलिभिजन छैनन् । त्यस्ता कामबारे छाप्ने पत्र–पत्रिका छैनन् । त्यस्ता कामको प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् ।’
यति ठूलो र यति प्रभावकारी, दुई तिहाइ सरकार यस्तो दु:खमा भासिएको रहेछ । हिजो प्रम ओलीले बोल्नुअघि कसलाई थाहा थियो कि यो सरकारको प्रशंसामा लेख्ने पत्रकार पनि छैनन् र सम्पादक पनि छैनन् । पक्कै पनि, प्रम ओलीको यो दिव्य वचन देशका सबै प्रबुद्ध सम्पादकहरूको कानमा पर्यो होला । यसलाई हामी प्रेस जगतका सदस्यहरूले प्रम ओलीले सबैभन्दा पछिल्लो पटक प्रेसको हुर्मत लिन खोजेको उदाहरणका रूपमा लिन सक्छौँ । प्रम ओलीको यो गुनासोबारे सामाजिक सन्जालमा प्रतिक्रियाहरू बर्सिनेबारे कुनै शंका छैन । राजनीतिक नेताले जब समाजमा नकारात्मक उदाहरण स्थापित गर्ने चेष्टा गर्दछ, त्यसबेला पेसागत मूल्य र मान्यतालाई अलिकति पनि चुक्न नदिई आफनो काम गर्ने प्रतिबद्धताको पालना यो क्रममा बढी महत्त्वपूर्ण हुन्छन् ।
प्रम ओलीका आफनै संचारमाध्यम छन् । देशमा सबैभन्दा शक्तिशाली टेलिभिजन र रेडियो स्टेसनको स्वामित्व सरकारकै छ । यसको पूर्ण संचालन सरकार आफैँले गर्दछ । यो अवस्थामा प्रम ओलीले ‘मन र मुटु’ भएका सम्पादक निजी क्षेत्रमा नदेखेका हुन् । यो त्यति ठूलो कुरा होइन । प्रम ओलीले मन र मुटु भएका सम्पादकहरूको खोजी गर्दै गर्दा देशको संचार क्षेत्रलाई निकै ठूलो संकटले घेर्न लागेको आभास भइरहेको छ ।
संसद्मा प्रस्तुत गरिएको सूचना प्रविधि ऐनमा सार्वभौम जनताको मौलिक अधिकारप्रति राखिएको तुच्छ दृष्टिका बारेमा यहाँ केही लेखिरहनु नपर्ला । प्रसंगमा, हालसालै प्रधानमन्त्री निवासमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ‘प्रेस विभाग’ स्थापनाको क्रममा कार्यकर्ताहरूले पार्टीका अध्यक्षद्वय र अन्य नेताका अघिल्तिर उभिएर मुड्की उज्याउँदै शपथ खाने जुन घटना भयो, त्यो आफैँमा विरक्तलाग्दो थियो ।
प्रम ओलीले के भने ? त्यो महत्त्वपूर्ण छैन । नेपाली संचारमाध्यमलाई हेर्ने दृष्टिकोण नै परिपक्व भइसकेको छैन । पत्रकारहरू र संचारमाध्यमका संचालकहरूले नेपाली पत्रकारिताका लागि नयाँ दृष्टिकोण र नयाँ भावभूमिको विकास गर्न सकेका छैनन् । आफूले थुप्रै राम्रा काम गरेको, तर ती राम्रा कामको प्रशंसा गर्ने मन र मुटु भएका सम्पादक नभएको गुनासो गर्ने ओली पहिलो राजनीतिक नेता होइनन् । उनले पत्रकारबाट आफनो राम्रो कामको प्रशंसा खोजेका हुन् । उनकै शब्दमा, त्यो राम्रो काम भनेको ‘सरकारले सडक मानिसको व्यवस्थापन गरेको छ ।’
साँच्चै, यो राम्रो होइन, साह्रै राम्रो काम हो । तर, प्रम ओलीलाई यो कुरा कसरी सम्झाउने कि यो राम्रो काम गर्ने दायित्व सरकारको हो । सरकार प्रमुखका नाताले प्रम ओलीको हो । आफूले गर्नुपर्ने दायित्व पूरा गरेको दाबी गर्दै त्यसको प्रशंसा वा ‘जस’ खोज्नु कुनै हालतमा जायज होइन । सरकारको काम नै हो, लोक कल्याणका काम गर्ने । प्रम ओलीलाई सम्झाइरहनु पर्ने होइन, समाचारको धर्म नै विपरीत बाटो पछ्याउनु हो । समाचार त्यहाँ हुन्छ, जहाँ अन्याय हुन्छ, अत्याचार हुन्छ र अव्यवस्था हुन्छ । प्रधानमन्त्रीहरू, नीति–निर्माताहरू र उच्च पदमा रहेका प्रशासकहरूले जतिसुकै चाहना राखे पनि समाचारलाई निर्देशित बाटोमा हिँडाउन सक्दैनन् ।
एक्काइसौँ शताब्दीको महा–नायक जनता हुन्, उच्च पदमा आसीन पदाधिकारी होइनन् । सडकमा माग्ने मानिस नभएको गर्वको तारिफमा दुई शब्द लेखिदिने मन र मुटु भएका सम्पादक त्यति बेला भेटिने छन् प्रम ओलीज्यू, जब वास्तवमा नै विस्थापित मानिस स्थापित हुन्छन् । त्यति बेला सानोतिनो प्रशंसा होइन, जयजयकार नै हुनेछ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...