मिजाको नोटबुक
पोयट्री एक साउथ कोरियन फिल्म हो । यस्तो फिल्म, जहाँ दृश्य आरम्भ हुनुअघि खोलाको कलकल जलध्वनि तपाईंहरुको कानमा गुन्जिन थाल्छ ।
“अनेक कविका अनेक कविता सुनेर आज हाम्रो कान पवित्र भइगएको छ,” परम सुन्दरी उद्घोषिकाले रुघौली आवाजमा भनी, “कार्यक्रमको पुछारमा अब आफ्नो पोयट्री रिसाइटेसन गर्न हामीमाझ आउँदै हुनुहुन्छ– कुमार नगरकोटी । आउनुस् दर्शकवृन्द, मिस्टर नगरकोटीलाई गालीले माफ गर्नुस्, तालीले स्वागत गरौँ ।”
हल करतल ध्वनिले गुञ्जायमान भयो ।
म मञ्चमा उक्लिएँ । पोडियमतिर लम्किएँ । माइकसामु उभिएँ र कुनै औपचारिक सम्बोधनबिनै पोयट्री रिसाइटेसन गर्न थालेँ ।
।। पोयट्री ।।
पोयट्री एक साउथ कोरियन फिल्म हो । यस्तो फिल्म, जहाँ दृश्य आरम्भ हुनुअघि खोलाको कलकल जलध्वनि तपाईंहरुको कानमा गुन्जिन थाल्छ । खास्साको कुरो त के भने त्यो जलध्वनिको पाश्र्वगुञ्जनलाई फिल्मको अन्त्यपश्चात् देखिइने ब्ल्याक स्क्रिनमा समेत महसुस गर्न सकिन्छ ।
ओपनिङ दृश्यमा हामीलाई एक युवतीको लास देखाइन्छ, जो पानीमा बगिरहेको छ ।
त्यसपछि क्यामेराले हाम्री नायिका मिजाको दैनन्दिन जीवनलाई पछ्याउन थाल्छ । ६६ वर्षीया मिजालाई अल्जाइमर्स रोगले बिस्तारै–बिस्तारै गाँज्दै छ । सम्पूर्ण स्मृतिहरु मनमस्तिष्कबाट शनै: शनै: मेटिइनुअघि उसलाई बाँकी जीवन उत्सवमय बनाउनु छ । केही सुन्दर सम्झनाहरु नोटबुकमा छाडेर जानु छ ।
बुढेसकालमा ऊ पोयट्रीका क्लासमा भर्ना भएकी छे । स्मृतिहरुबाट लोप हुनुअघि उसलाई कम्तीमा एउटा कविता लेख्नु छ । आफ्नो ब्यागमा स्यानो नोटबुक बोकी ऊ अस्तित्वभरि हिँडडुल गरिरहेकी छे । कविताको प्रेरणाको स्रोत कहाँ छ ? त्यसैको खोजीमा ऊ आफ्नो स्यानो जगतमा भौतारिएकी छे । नोटबुकमा शब्दहरु जम्मा गरिरहेकी छे ।
किन्तु उसको जीवन काव्यमय हुन सकेको छैन । सौन्दर्यको काव्यिक खोजी एकातिर छ र यथार्थको कुरुप विडम्बना अर्कोतिर । उसको जीवनमा तालमेल मिलिरहेको छैन ।
अब एकछिन पोयट्रीको लासबारे थोरबहुत चर्चा भइजाओस् । त्यो लास, जो युवतीको हो । युवती, जसको नाम कुन्नि के हो ? कुन्नि के, जसलाई फिल्मको ओपनिङ दृश्यमा देखाइएको थियो ।
युवतीले आत्महत्या गरेकी थिई, पुलबाट हाम फालेर । उसको डायरीमा आफूलाई आत्महत्या गर्न बाध्य पार्ने केटाहरुको नाम फेला परेको छ । केटाहरुका अभिभावकजन भेला भई मृतककी आमालाई केही रकम क्षतिपूर्ति दिने निर्णय गरेका छन् । मिजाको भागमा पनि पाँच लाख परेको छ, जसलाई उसले कसैगरी खोज्नु परेको छ । किनभने उसको नाति पनि युवतीको आत्महत्यामा जिम्मेवार छ । मिजा ठूलो संकटमा छे ।
दरिद्र घरेलु कामदार मिजालाई पर्नु पीर पर्या छ । उसले हेरविचार गर्ने अर्धप्यारालाइसिसको वृद्ध रोगीले यस्तै बेला ऊसमक्ष बाथटबमा करुण याचना गरेको छ, ‘मिजा, म चाँडै मर्दै छु । मर्नुअघि आफ्नो पुरुषत्व महसुस गर्न चाहन्छु । जीवनको अन्तिम सम्भोग म तिमीसँग गर्न चाहन्छु ।’
मिजाको संसार छिन्नभिन्न हुँदै छ । स्मृतिहरु नष्ट हुँदै छन् । अँध्यारो जीवनमा उसलाई साथ दिने केवल एक नोटबुक छ, जहाँ उसलाई कविता लेख्नु छ । अक्षर एवं शब्दहरु जुगाड गर्नु छ । किन्तु अक्षरहरु अल्जाइमर्सग्रस्त छन् । मिजाको दिमागबाट शब्दहरु हराउँदै गइरहेका छन् ।
हलमा उपस्थित कविजन एवं कवयित्री गण ! कविताको जन्म कहाँ हुन्छ ? हामीले नोटबुकमा लेख्ने सबै अक्षर एवं शब्दहरु कविता बन्छन् ? फिल्मले यसबारे केही भन्दैन । अन्त्यमा, मिजा कहाँ बेपत्ता हुन्छे, त्यो पनि खुलाउँदैन । फिल्ममा अलपत्र छाडिएको मिजाको नोटबुकलाई भने मैले केही वर्षअघि उसैको घरमा भेटेको थिएँ ।
त्यो नोटबुकलाई मैले आज आफूसितै लिएर आएको छु । म चाहन्छु, हामी सबै मिली यो खाली नोटबुकमा केही सुन्दर शब्दहरु लेखौँ । मिजालाई याद गरौँ ।
♦♦♦
त्यसपछि म मञ्चबाट ओर्लें र मिजाको नोटबुक कविहरुलाई दिएँ, जहाँ उनीहरुले पालैपालो एक–एक शब्द लेखे । त्यो नोटबुक मसित अझै सुरक्षित छ । अचेल पनि बेलाबखत खोलेर हेर्ने गर्छु ।
मिजाको चरित्रलाई जीवन्त अभिनयमार्फत संसारभरका सिने दर्शकहरुलाई मन्त्रमुग्ध पारेकी अभिनेत्री जुन जियोङ ही पोयट्रीपश्चात् अरु फिल्ममा देखा परिनन् । कोरियन सिनेमाका ल्यान्डस्केपबाट उनी रहस्यमय तरिकाले बेपत्ता भइन् । ७५ वर्षीया अभिनेत्रीबारे कसैले खोजखबर पनि गरेन ।
केही समयअघि उनका पियानोवादक पति कुन वु पाइकले एउटा म्यागजिनमा अन्तर्वार्ताका क्रममा भने, ‘पोयट्री फिल्म गर्दा मेरी पत्नी स्वयं अल्जाइमर्ससित लडिरहेकी थिइन्, मिजाझैँ । अचेल त उनलाई केहीको सम्झना रहँदैन । उनको सम्पूर्ण स्मृति नष्ट भइसकेको छ । तर कहिलेकाहीँ उनी मसित मिजाको नोटबुकबारे सोध्ने गर्छिन् । साँच्चि त्यो नोटबुक कहाँ होला ? कोसित होला ?’
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...