हामीले कस्तो कृषि चाहेको हो ?
बढ्दो पुरुष आप्रवासन, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय बजारका कारण कृषि एक चलायमान, थप जटिल र संवेदनशील क्षेत्रको रूपमा विकसित हुँदै गइरहेको छ ।
धनकुटाका घ्युफल (एभोकाडो) का कृषकसँग छलफल गर्दा थाहा भयो, उनीहरू यसको खेती व्यावसायिक स्तरमा लैजान चाहन्छन् । तर तिनमा मुख्य तीन वटा विषयमा अझै विश्वास जगाउनुपर्ने देखिन्छ । एक– त्यस क्षेत्रमा कम्तीमा पनि ११ जातका एभोकाडो चल्तीमा छन्, जसको आकार, गुदीको मात्रा, रंग, स्वाद र पानीको मात्राबारे अध्ययन गरेर माग, बजारभाउबारे जानकारी र भण्डारणलगायत बजार व्यवस्थापन । दुई–गाउँमा सबैले एभोकाडो खेती सुरु गरेकाले अबको चार–पाँच वर्षमा प्रशस्त उत्पादन भएपछि व्यवस्थित बजार नभएका कारण एभोकाडो इस्कुसको भाउमा नजाओस् । तीन–उत्पादनको बढ्दो सम्भावना देखेर केही व्यवसायीले एभोकाडोसम्बन्धी उद्योग खोल्न आवश्यक जमिन खोज्न आएका र नगरपालिकासँग छलफल अगाडि बढिरहेकाले बजार पाइने संकेत देखिएको छ । यस विषयप्रति स्थानीय सरकार पनि सहमत भएको देखिन्छ ।
यसले इंगित गर्छ, कृषकलाई व्यावसायिकताउन्मुख गराइरहँदा निजी क्षेत्रको भूमिका र स्थानीय सरकारको उत्तरदायित्वलाई प्रभावकारी बनाउन आवश्यक छ ।
देशमै कृषिमा आधारित व्यवसाय गर्न कृषि पढेकै जनशक्ति हुनुपर्छ भन्ने छैन भन्ने उदाहरण चितवनमा पुष्प व्यवसाय गरिरहेका कृषक, कर्मचारी र श्रमिकसँग कुराकानी गरेपछि पुष्टि भयो । कृषि व्यवसायमा सम्भावना देखेरै पुष्प व्यवसाय गरिरहेकाले वर्षांैको अनुभवलाई उपयोग गर्दै अझ नवीनतम प्रविधितिर जाने सोच बनाएकाले यसमा थप सहयोग गर्नुपर्ने देखिन्छ । त्यसैगरी उनीसँग काम गरेरै अनुभव तथा सीप हासिल गरेका स्थानीय कर्मचारी र श्रमिकले पुष्प उत्पादनको पाटोलाई आफैँले उद्यमको रूपमा अगाडि बढाउने योजना बजारमा प्रचलित ‘इन्क्युबेटर’ को अवधारणालाई व्यवहारमा उतार्ने एउटा सशक्त माध्यम हुन सक्छ ।
कृषक सबै व्यावसायिक मात्र छैनन्, पारिवारिक पनि छन् । उदाहरणका लागि, बर्दियाको सोनाहाबस्तीमा छानाभरिका पाकेका कुभिन्डोबारे बुझ्दा भारतीय आएर एउटाको २० रुपैयाँमा लैजाने र पछि पेठा (चास्नीमा डुबाइएको मिठाई) बनाएर सानो पोकाको २० रुपैयाँमा त्यहीँ ल्याएर बेच्ने गर्दा रहेछन् । सोनाहाहरू खोलामा बालुवा चालेर सुन खोज्ने समुदाय भएकाले त्यहाँ काम गर्ने एउटा परियोजनाले बसोबासको अधिकारबारे सहयोग गरेको र अर्को परियोजनाले पोषणबारे सिकाएको रहेछ । तर कृषिमा आधारित उद्यमचाहिँ नसोचिएको भन्ने थाहा भयो ।
कृषिको महत्त्व कति बृहत्तर छ भनेर बुझ्न चुरे क्षेत्रको अध्ययन उपयुक्त उदाहरण हुन सक्छ । बर्दिबासको रजबासमा भूमिगत पानीको संरक्षण गरेपछि सिँचाइ कुलो बनाएर तीन बाली लगाउन सफल भएको, तरकारी खेती गर्न थालेपछि तराईबाट महँगोमा ल्याएर खानु नपरेको र खानेपानीको आपूर्ति सहज भइरहेको देखियो । यसबाट त्यस क्षेत्रका जनताले मात्र लाभ नपाएर तल्लो तटीय भेगमा भूमिगत पानीका स्रोत संरक्षण भएको, भूक्षय रोकिएको र तराईको अन्नभण्डार जोगिएको समग्र बुझाइ रहेको पाइयो । तर ती समुदायले अझसम्म पनि आफूले पुस्तौँदेखि चर्चिएको भूमिको लालपुर्जा नपाएको गुनासो राखेका थिए ।
यसले के पुष्टि गर्छ भने कृषि उत्पादनको माध्यम मात्र नभई समुदायको पेसा, पहिचान र आत्मसम्मानसँग जोडिएको विषय पनि हो ।
कृषिमा बाह्य कारणले पनि असर पारिरहेको हुन्छ । बढ्दो पुरुष आप्रवासन, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय बजारका कारण कृषि एक चलायमान, थप जटिल र संवेदनशील क्षेत्रको रूपमा विकसित हुँदै गइरहेको छ । यसले ल्याउने फाइदाको तुलनामा विविध प्रकारको जटिलता र असुरक्षालाई पनि निम्त्याइरहेको छ । उदाहरणका लागि, पुरुष भारत, खाडी मुलुक, मलेसिया वा अन्य कुनै देशमा गए पनि लालपुर्जाको एकल अधिकार आफैँमा सीमित गरेर बाहिरिरहेका छन् । सरकारले १ सय रुपैयाँमा संयुक्त पुर्जा बनाउन सकिने व्यवस्था गरे पनि देशबाहिर वा भित्रै भएका र बुझेका वर्गमा पित्तृसत्तात्मक सोचको उपजका कारण यस्ता रूपान्तरणमुखी कार्यक्रमले खासै गति लिन सकेको छैन ।
कृषि क्षेत्रमा आइपर्ने चुनौतीलाई सम्बोधन गर्ने खाले प्रविधिमा आधारित अनुसन्धानका आधारमा आवश्यक तयारी गरिनुपर्छ । जल तथा मौसम विज्ञानबाट प्राप्त सूचनालाई कृषि प्रणालीसँग जोडेर भूगोल अनुकूलित कार्यक्रम तयार गर्नु अत्यावश्यक भइसकेको छ । हाल कृषि अन्तर्राष्ट्रिय व्यापार र अन्य सन्धि–सम्झौताको अभिन्न अंग भइसकेको छ । जस्तै, विश्व व्यापार संगठनको कृषिसम्बन्धी सम्झौता, बौद्धिक सम्पत्ति अधिकार, कृषकको अधिकार, स्थानीय समुदायको अधिकार र क्षेत्रीय, द्विपक्षीय व्यापार सम्झौताको अभिन्न पाटो भइसकेकाले कृषिलाई प्राविधिक पक्षबाट मात्र हेर्न मिल्दैन ।
सारांशमा माथिका यिनै अवस्थालाई विम्बको रूपमा मात्र लिने हो भने कृषि आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षलाई जोड्ने कडी हो भन्नेमा अत्युक्ति हुँदैन । हाल कृषिसँग सम्बन्धित प्रावधानलाई तीनै तहका सरकारमा विभिन्न जिम्मेवारीको बाँडफाँट गरिएको छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...