धरहरा र प्रधानमन्त्री
सरकारमा बसेका नेतागणलाई यो कुराको राम्रो ज्ञान छ कि नेपालका सञ्चारकर्मीलाई भाषा, संस्कृति र साहित्यको कुनै समझ नै छैन ।
केही समय अघिदेखि यो स्तम्भकारको हार्दिक इच्छा थियो– राष्ट्रिय महत्त्वकांक्षाका प्रतीक भीमसेन स्तम्भ ‘धरहरा’ बन्नुभएका सम्माननीय प्रधानमन्त्री ‘कामरेड’ केपी शर्मा ओली र अन्य सम्माननीय तथा माननीय सबैका लागि आदरार्थी शब्दहरुको लच्छेदार प्रयोग गर्ने । सो इच्छा आजैका दिनमा पूरा भयो । स्तम्भकारलाई आफूले ‘विनम्रता’ र ‘शालीनता’ नछाडेको जानकारी प्रधानमन्त्रीज्यूमा चढाउने ठूलो इच्छा पनि थियो । त्यो पनि पूरा भयो । कालक्रमका हिसाबले सम्माननीय महोदय र स्तम्भकारका बीच उमेरले धेरै दिनको जेठो/कान्छो छैन । यो पनि अर्को जटिल प्रश्न हो । सम्माननीय छेउ गएर ‘हजुरको उमेर कति भो ?’ भनेर सोध्नु अशिष्टता हुन्छ । त्यसैले त्यतातिर नलागेकै बेस होला ।
प्रधानमन्त्रीज्यू त्यत्तिकै भीमसेन स्तम्भ धरहराको प्रतीक पुरुष बन्नुभएको होइन । उहाँले ३० चैत ०७१ मा आफन्त र कार्यकर्ताहरुलाई दायाँबायाँ लगाएर धरहराको आरोहण गर्नुभएको थियो । दुर्भाग्य कि, त्यो आरोहणको केही दिनपछि अर्थात् ०७२ वैशाख १२ मा देशमा ठूलो भुइँचालो गयो । त्यो भुइँचालोले छँदाखाँदाको धरहरालाई हेर्दै घीनलाग्दा तीन वटा टुँडोमा परिणत गरिदियो । अर्थात्, धरहरा तीन टुक्रा भयो । भुइँचालोको केही समयपछि अध्यक्ष कामरेड ओली प्रधानमन्त्री हुनुभयो । उहाँ त्यसपछि भग्न धरहराको पुनर्निर्माणको विजयगान गाउँदै घटनास्थल पुग्नुभयो । उहाँका धेरै अनुयायीको भनाइ थियो– प्रधानमन्त्री ओलीको अदम्य सम्पदा मोहको प्रमाण थियो, त्यो यात्रा । त्यसो त, धरहरा नेपाली सम्पदाको प्रतीक नभएको विज्ञ भनाइ सार्वजनिक नभएका होइनन् । तर सम्माननीय प्रधानमन्त्रीले बोल्नु भएपछि बोल्नुभयो, बोल्नुभयो । त्यसमा तर, यदि, किन्तु, परन्तुको कुरै भएन ।
‘हाम्रो सम्पदा–हाम्रो धरहरा’ यो नौतले मुसलमानी शैलीको ६२ मिटर अग्लो मिनार किन बनाएका थिए, भीमसेन थापाले ? यसका लागि उनलाई महारानी ललितत्रिपुरासुन्दरीको निगाह प्राप्त थियो । रमाइलो कुरा, हाम्रा सम्माननीयज्यूलाई दुबईको बुर्ज खलिफा ८ सय २८ मिटर अग्लो भएको, अमेरिकाको इम्पायर स्टेट बिल्डिङ ३ सय ८१ मिटर अग्लो र प्रेमको सदावहार चुचुरो आइफल टावर ३ सय २४ मिटर अग्लो छ भन्ने थाह नभएको होइन ।
व्यंग्य चित्रकार रविन सायमिले बिहानै सम्झाइ दिए, ‘मिडियाले तिमी भनेर सम्बोधन गर्दा हामी अपमानित होइबक्सिएका छौँ ।’ त्यतिबेला स्तम्भकारको मन चररर्र चिरियो । हो नि, आदर पाउने ठाउँमा मानिसको पहुँच भएपछि आदरको खोजी गर्नु स्वाभाविकै हो ।
हो त, सम्मानयोग्य व्यक्तिलाई सम्मान दिनैपर्छ । यो साँचो कुरा हो नि । नेपाली भाषामा मान–सम्मान, जूठो–सूतक, लाज–घीन र पाप–धर्म सूचक शब्दहरु नै नभएजस्तो, राष्ट्रपति, प्रधानमन्त्रीलगायत इज्जतदार ओहोदा सम्हालेर बसेका माननीय मन्त्रीज्यूहरुसमेतलाई अमर्यादित ‘तिमी’ शब्दले कसरी सम्बोधन गर्न सकेको ! यो त अति नै भयो । अति भनेपछि कति कति ।
सरकारमा बसेका नेतागणलाई यो कुराको राम्रो ज्ञान छ कि नेपालका सञ्चारकर्मीलाई भाषा, संस्कृति र साहित्यको कुनै समझ नै छैन । भाषासँग भोजन जोडिएको हुन्छ । मासको वा मुगको बारा किन सानो हुन्छ ? ममचा किन डल्लो हुन्छ ? नेपालमा संस्कृति–संस्कार, भजन र भोजनको रक्षा अहिलेसम्म कसले गरेको छ ? उपत्यकाका नेवारले होइन ? त्यसैले साहित्य–कला र संगीत–नाटक, सबै एकेडेमी काठमाडौँ उपत्यकामा नै राख्नुपर्छ । कुनै बेला उहाँ प्रधानमन्त्रीज्यूबाट यस्तै मर्जी भइबक्सिएको थियो । सुन्नेहरुमा यो स्तम्भकार पनि थियो । सम्माननीय प्रधानमन्त्रीज्यूको ससुराली सुन्तलाटार होइन, यही काठमाडौँ सहर हो । सम्माननीयमा कला, साहित्य र संस्कृतिप्रति जुन रुचि छ, त्यो ससुरालीको देन होइन भनेर को भन्न सक्छ ?
त्यही समझको विकास गराउन सरकारले पत्रकारलाई लाइसेन्स दिँदा तोकिएअनुसार जाँच दिनुपर्ने खोचे थाप्न खोजेको थियो, कानुनमा । तर पत्रकारले ढिमिक्क चलहल गर्न नदिएपछि त्यो कुरो तुहियो । भनेपछि, के अब स्थानीय तह, प्रदेश र संघका सञ्चारकर्मीले सम्मानको वाणी नै न बोल्ने भए त ? प्रश्नहरु जटिल छन् ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...