बालविवाहको मारमा केटाहरू पनि छन्
संख्यात्मक रूपमा केटीहरू बालविवाहका कारण बढी प्रताडित रहेका छन् । तर यो कुरीतिको मारमा केटाहरू पनि छन्, जसको चर्चा बिरलै मात्र हुने गरेको छ ।
नेपालका सबै जिल्लामा अझै बालविवाह हुने गरेको छ । तथ्यांक यसै भन्छ । कपिलवस्तु, डडेल्धुरा, बारा, रूपन्देही, धनुषा, अर्घाखाँची, डोटी, सप्तरी, बैतडी, रौतहट बालविवाह अधिक हुने दस जिल्लामा रहेको जनगणना २०११ को तथ्यांकले देखाएको छ । झन्डै ३२ जिल्लामा त बालविवाहको दर १० प्रतिशतभन्दा बढी रहेको छ ।
कानुनी रूपमा बालविवाह दण्डनीय अपराध हो तर जनगणनाको तथ्यांकले यो अपराध सबै जिल्लामा भइरहेको देखाउँछ । संघीय राजधानी काठमाडौँसमेत अटाएको यो तथ्यांकले दूरदराजका जिल्लामा बालविवाहको कुरीतिले कति दह्रो जरा गाढेको होला, अन्दाज गर्न सकिन्छ । तराई–मधेसको त के कुरा गर्नु † तराईमा विशेषगरी दलित र मुस्लिम समुदायको विवाह गरिने उमेर समूहको तथ्यांकले बालविवाह अझै सामाजिक समस्याका रूपमा रहेको देखाउँछ । चिडिमार, डोम आदि मधेसी समूहमा पहिलो विवाह हुने उमेर १५ वर्षभन्दा मुनि (१३.८ र १३.९ वर्ष) रहेको छ । संख्यात्मक रूपमा हेर्दा हिमाली जिल्ला मनाङ र मुस्ताङ सबैभन्दा कम बालविवाह प्रतिशत रहेका जिल्लामा पर्छन् ।
संख्यात्मक रूपमा केटीहरू बालविवाहका कारण बढी प्रताडित रहेका छन् । तर यो कुरीतिको मारमा केटी मात्र होइनन्, केटाहरू पनि रहेका छन्, जसको विषयमा चर्चा बिरलै मात्र हुने गरेको छ । उमेर नपुग्दै हुने विवाहले केटी र केटा दुवैमा सामाजिक, आर्थिक र मनोवैज्ञानिक असर पार्छ । केटाकेटीको खेलजस्तो, साथीभाइको रमाइलोजस्तो गरी बालापनमै भएको विवाहले दुई परिवारबीच मिलन र नयाँ सम्बन्ध त बस्छ तर यसपछिका दायित्व एवं आउन सक्ने शारीरिक, मानसिक र आर्थिक समस्याका विषयमा न केटा सचेत भइसकेको हुन्छ, न त केटी । कम उमेरमा भएको विवाहका कारण पारिवारिक जिम्मेवारी र बन्धनमा बाँधिने, बालापनमै वयस्कको जिम्मेवारी वहन गर्नुपर्ने आदि समस्याले पीडित केटाहरूका कथा बिरलै सुन्न पाइन्छ ।
१८ वर्ष उमेर नपुग्दै हुने विवाहलाई नेपालको कानुनले बालविवाह भनेको छ । तर २०११ को जनगणनाले दस वर्ष वा सोभन्दा माथिल्लो उमेरमा विवाहित व्यक्तिको सबैभन्दा ठूलो हिस्साको पहिलो विवाह १५–१९ वर्षको उमेरमा भएको देखाउँछ । यो उमेरभित्र ४८.९ प्रतिशत विवाहित व्यक्तिको पहिलो विवाह भएको जनगणनाको तथ्यांकले देखाएको छ । वैवाहिक स्थितिका आधारमा २१.३ प्रतिशत केटाहरू र ५२.७ प्रतिशत केटीहरूको विवाह १८ वर्ष उमेर नपुग्दै भएको देखिन्छ । तथ्यांकले समग्रमा ३८.८ प्रतिशत बालबालिकाको विवाह कम उमेरमै हुने गरेको देखाउँछ । बालविवाहको यो तथ्यांकले अवस्था चिन्ताजनक र गम्भीर रहेको बुझ्न सकिन्छ ।
सामाजिक, सांस्कृतिक, पारिवारिक, आर्थिक, गरिबी अनेक कारणमा हुने बालविवाहले उमेर नपुग्दै विवाह हुने केटा र केटी दुवैलाई असर गर्छ । संयुक्त राष्ट्रसंघको एक अध्ययनअनुसार विश्वका ३० मध्ये एक बालकको विवाह उमेर नपुग्दै हुने गरेको छ । त्यस्तै, २० देखि २४ वर्ष उमेर समूहका केटीहरूमा गरिएको अध्ययनले पाँचमध्ये एकको बिहे १८ वर्ष नपुग्दै भएको देखाएको छ । तीमध्ये १५ वर्ष उमेर नपुग्दै बिहे भएकाको संख्या पनि उल्लेख्य रहेको अध्ययनले देखाउँछ । बालविवाह दर घट्दै गए पनि धेरै देशमा सामाजिक रीतका रूपमा त्यस्तो विवाह अझै विद्यमान छ । नेपालमा पनि बालविवाहको दर पहिलेभन्दा घटिरहेको छ । पहिलो विवाह गर्ने उमेर समूहको औसत तथ्यांकमा केटा र केटी दुवैको विवाह गर्ने उमेर बढ्दो क्रममा छ । तर अशिक्षा, गरिबी र केही सामाजिक रीत अझै पनि बालविवाहलाई निर्मूल पार्न चुनौतीका रूपमा छन् ।
नेपालले सन् २०३० सम्म बालविवाह जरैदेखि निर्मूल पार्ने लक्ष्य लिएको छ । २०१६ मार्चमा भएको ‘गर्ल समिट’ मा नेपाल सरकारले यो घोषणा गरेको थियो । तर विद्यमान तथ्यांकलाई २०३० सम्ममा निर्मूल पार्ने लक्ष्य चानचुने चुनौती होइन । नेपालको समाजमा बालविवाह हुनुका थुप्रै कारण छन् । धेरैमा अझै शिक्षा र स्वास्थ्यको सजिलो पहुँच छैन । चाँडो विवाह गरिदिए धर्म लाग्नेजस्ता सोच समाजमा व्याप्त छ । कमजोर आर्थिक अवस्था, यौवन उन्माद आदि कारणले हुने विवाहको हतारोलाई परिवर्तित गर्नु सानोतिनो चुनौती होइन । बाल मृत्युदर, मातृ मृत्यु एवं मातृ स्वास्थ्य, प्रजनन, परिवार नियोजनसम्बन्धी सचेतना आदि बालविवाहका कारण हुने समस्या हुन् । तगाराका रूपमा रहेका यी कारण चिर्न बाँकी नै रहेको वर्तमान अवस्थामा के बालविवाह सजिलै निर्मूल होला ?
शिक्षित र अशिक्षित समाजमा हुने औसत विवाह गर्ने उमेरको तथ्यांकलाई नियाल्ने हो भने शिक्षित समाजमा विवाह गर्ने केटा र केटीको औसत उमेर २४ र २१ वर्ष रहेको देखिन्छ । त्यसैले समाज शिक्षित भए मात्रै बालविवाहको समस्या समाधान हुन सक्छ । सचेत नागरिक समाजले बालविवाहजस्ता कुरीतिलाई चिर्न सहज तुल्याउँछ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...