बुडापेस्टको चिहानमा मैले बाडुली छाडेर आएको थिएँ
हाम्रो बाडुली सुनेर नै हुनुपर्छ, ग्रेभयार्डका कुनाकाप्चाबाट कुहिरोहरु फुत्त–फुत्त निस्कन थाले । हामीलाई घेर्न थाले । अंगालोमा बेर्न थाले ।
हंगेरीको क्यापिटल सिटी बुडापेस्टमा पाँच वर्षअघिको एक निद्रालु अपराह्न मा मेरो भेट एक पारदर्शी युवतीसित भएको थियो, जो कुहिरो सिउने गर्थी ।
ऊ कसरी कुहिरो सिउँथी ? यो रहस्यको जानकारी मलाई भएन । के ऊ आफ्नो पर्समा सियो–धागो राख्थी ? यो पनि थाहा भएन । मलाई त उसले यति मात्र बताएकी थिई, ‘म बुडापेस्टका ग्रेभयार्डहरुमा जम्मा हुने कुहिरो संग्रह गर्छु र तिनीहरुलाई सिउँछु । म यसैगरी जिउँछु । हेर्नुस् न, मैले लगाएको यो लुगा पनि कुहिरोकै हो ।’
कुहिरोको लुगा लगाउने युवती त्यसअघि मैले कहिल्यै देखेको थिइनँ ।
यो संस्मरणमा उक्त कुहिरो सिउने युवतीलाई छोटकरीमा कुसियु भनिइनेछ, जसले मलाई त्यो दिन एउटा फिल्म हेर्न निम्तो गरेकी थिई । जोसित मैले निकै दुर्लभ क्षणहरु बिताएको थिएँ । ऊ आफैँले सञ्चालन गर्ने बुडापेस्टको अन्डरग्राउन्ड क्याफेमा भएको त्यो भेट अल्ट्रा स्वप्निल थियो, जसलाई मैले आजसम्म बिर्सन सकेको छैन ।
मैले काठमान्डुको ‘क्रेजी फिल्म वाचर्स क्लब’ बारे केही कुरा चुहाएलगत्तै कुसियु हाम्रो ननभेज मुलाकातको मूल प्रयोजनमा केन्द्रित हुँदै बोल्न थाली, ‘प्रत्येक साल सेप्टेम्बरको अन्तिम आइतबार म हंगेरियन फिल्म हकल हेर्ने गर्छु । कहिले चित्रकारसित, कहिले शब्दकारसित । कहिले ध्यानी–ज्ञानीसित, कहिले मिस्टिक तथा फिलोसफरसित । मिस्टर नगरकोटी, यो साल मैले तपाईंको छनोट गरेँ । किन गरेँ, नसोध्नुस् ।’ तर मैले सोधेँ :
– हकल नै किन ? अरु कुनै फिल्म हेर्दा हुन्न ?
– हुन्न । हुन्न । हुन्न ।
– यो फिल्म त मैले हेरिसक्या छु ।
– त्यसो भए फेरि हेर्नुस् । वान्स इज नट इनफ् ।
त्यसपछि कुसियुले मलाई अन्डरग्राउन्ड क्याफेकै अँध्यारो क्याबिनमा लगेर गई । म छामछुम गर्दै सोफामा बसेँ । ऊ पनि मसितै टाँस्सिएर बसी । उसले मेरा औँलाहरु खेलाउन थालेपछि क्याबिनको भित्तामा फिल्म सुरु भयो ।
०००
हकल अर्थात् हिकप अर्थात् हिक्क–हिक्क अर्थात् बाडुली ।
हंगेरियन फिल्म सर्जक जर्जी पाल्फीको हकल एक प्रयोगात्मक फिल्म हो, जसलाई तपाईं ध्वनि र दृश्यकै चामत्कारिक संयोग तथा संयोजनद्वारा निर्मित सुन्दर कृति भन्न सक्नुहुन्छ ।
समीक्षाको प्रसंगमा ‘रोटन टोमाटो’ ले सयमा १०० पूर्णांक दिएर पुरस्कृत गरेको यो अद्भुत एवं विचित्र हंगेरियन फिल्मको सबटाइटलचाहिँ तपाईंले बिर्सेर पनि नखोज्नु होला किनभने यो फिल्ममा कुनै संवाद छैन । डाइलगविहीन यो सिनेमा मौनम् शरणम् गच्छामि टाइपको मेडिटेटिभ सिर्जना हो ।
यो फिल्ममा मिस्टर पाल्फीले हामीलाई एउटा यस्तो सुदूर गाउँमा पुर्याएर छाडिदिन्छन्, जो रहस्यको कोलाजमय ल्यान्डस्केप प्रतीत हुन्छ । जहाँ एउटा बूढो मान्छे आफ्नो घरछेवैको कुर्सीमा बसी फिल्मभरि ननस्टप हिक्क–हिक्क गरिबस्छ । निजको क्रोनिक बाडुली कति संक्रामक छ भने स्क्रिनबाहिरको कुर्सीमा बसेको तपाईंलाई समेत त्यो सर्न सक्छ ।
हिक्क–हिक्क गर्ने त्यो हिक्कालु बूढो तपाईंको छिमेकी हुन सक्छ, जसले तपाईंको हत्या गरेको थियो । र, तपाईंको लासलाई कुनै निद्रालु खोलामा फ्याँकिदिएको थियो । आफ्नो हत्याको खबर सुनेर तपाईंलाई फिल्ममा चलमलाउने अनेक जनावर, मान्छे र वनस्पतिहरु देख्दा उदेक लाग्न सक्छ । शोकाकुल आफन्त एवं प्रियजनहरुलाई तपाईंको दिवंगत यादमा बाडुली लाग्न सक्छ, हिक्क–हिक्क, हिक्क–हिक्क !
०००
फिल्मको अन्त्यपछि कुहिरो सिउने युवतीको आवाज अन्धकार क्याबिनमा गुन्जियो :
– अब कुहिरो कलेक्ट गर्न जाऔँ, हिँड्नुस् ।
– कहाँ कता जाऔँ ?
– ग्रेभयार्ड !
त्यसपछि म कुसियुको पछि लागेँ । ग्रेभयार्ड पुग्दा साँझ परिसकेको थियो । निर्जन चिहानको एउटा बेन्चमा हामी पुन: टाँस्सिएरै बस्यौँ । मैले उसका मसिना औँलाहरु खेलाउन थालेपछि ऊ हिक्क–हिक्क गर्न थाली । उसको हिक्क–हिक्कलाई मेरो हिक्क–हिक्कले पनि शनै: शनै: पछ्याउन थालेपछि मलाई दिक्क–दिक्क लाग्न थाल्यो ।
हाम्रो बाडुली सुनेर नै हुनुपर्छ, ग्रेभयार्डका कुनाकाप्चाबाट कुहिरोहरु फुत्त–फुत्त निस्कन थाले । अनेक आकारप्रकारका कुहिरोहरु हामीतिर लम्कँदै आए । यत्रतत्र सर्वत्र फैलँदै हामीलाई घेर्न थाले । अंगालोमा बेर्न थाले ।
यो पाँच वर्षअघिको घटना हो । बुडापेस्टको चिहानमा मैले बाडुली छाडेर आएको थिएँ । त्यो बाडुली कुहिरो सिउने युवतीको बाडुलीसित खप्टिएर उक्त चिहानमा अझै पनि गुन्जिँदो हो : हिक्क–हिक्क, हिक्क–हिक्क !
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...