समाचारका दुई साइडलाइन
जुन तामझामका साथ चार–पाँच हेलिकोप्टर लिएर जानुभयो, त्यसबाट तपाईं जन्मिएको घरलाई लाग्यो होला– यो मेरो खड्गप्रसाद ओली होइन, नयाँ महाराजा सवारी भएछ ।
यो पटक समाचारको पहिलो साइडलाइनमा शिवरात्रि थियो । त्यो सकियो । कुनै कोणबाट हेर्दा पनि यो पटक काठमाडौँ सहरमा शिवरात्रि आएको कसैले थाहा पाएन । पहिले–पहिले शिवरात्रिमा तीर्थाटनका लागि नेपाली तराई–मधेस र भारतका विभिन्न प्रान्त र सहरबाट आउने धार्मिक पर्यटक पशुपति क्षेत्र वरिपरिका घरमा ‘होम स्टे’ बस्दथे । अब त्यो चलन छैन । त्यसले समाचारपत्र र पत्रिकाको ‘फिचर’ बन्ने हैसियतसम्म पनि पाउन छाडेको छ । जस्तो, राजनीतिमा अहिले जसरी वामदेव गौतमले ठाउँ पाउन छाड्ने सम्भावना बढेका छन् ।
कसैले भन्ला कि उनी एक मात्र शक्तिशाली कम्युनिस्ट पार्टीका शक्तिशाली उपाध्यक्ष छन् । उनलाई उपाध्यक्ष बनाउन देशको एक मात्र कम्युनिस्ट पार्टीले आफ्नो विधानमा नै परिवर्तन गरेको त सबैलाई थाहै छ । यसरी शक्तिशाली उपाध्यक्ष बनेपछि उनले सोधेका थिए, ‘मलाई राष्ट्रिय सभामा ल्याउने कुरा कहाँ पुग्यो ?’
प्रश्न जटिल थियो । वामदेवजी राष्ट्रिय सभाको बाटोबाट प्रधानमन्त्रीको सर्वोच्चासनमा पुग्ने योजना बुन्दै थिए । यस्ता योजना बुन्न उनका मित्र तथा बाग्मती प्रदेशका पूर्वमन्त्री केशव स्थापितले पक्कै सघाएका होलान् । स्थापितसँग वामदेवजीको ‘सुनौलो’ सम्बन्ध छ । नेपाल कम्युनिस्ट पार्टीका केही उच्चस्तरीय नेताहरूको रुचि सुनौलो छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको रुचि पनि सुनौलो रहेछ । होइन भने केही समयअघि अन्तर्राष्ट्रिय विमानस्थलमा बेवारिस ‘भेटिएको’ र बेवारिस नै ‘हराएको’ सुनौलो धातुको ठेगाना पत्ता लागिसक्थ्यो । त्यसबारे सहरमा चलेको चर्चा सेलाएको छैन ।
यसैबीच वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा ल्याउने कुरा कहाँ पुग्यो भनेर सोधे ।
त्यसपछि पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले आपसी सहमतिमा हतार–हतार ‘बडो कष्टसाथ निर्माण भएको’ गणतन्त्र नेपालको संविधान संशोधनका लागि वरिष्ठ नेता माधव नेपाल अध्यक्ष रहेको ‘कार्यदल’ गठन गरे । तर कार्यदलमा राखिएका दुई सांसद सुवास नेम्बाङ र खिमलाल देवकोटा कार्यदलको ढोकाभित्रै छिर्नै मानेनन् । सुवास नेम्बाङले त वामदेव कामरेडलाई प्रधानमन्त्री बन्न राष्ट्रिय सभाको घुमाउरो बाटो नचुनेर आगामी निर्वाचनमा जित्न के गर्ने र के नगर्ने ? लामो सुझाव नै दिए । उनको सुझाव वामदेवजीको ‘टेम्परामेन्ट’ मिल्दो थिएन । आखिर, नेता एकपल्ट नहार्नु, हारिसकेपछि हरेकपल्ट बिजुली चम्किँदा तर्सिनै पर्दछ ।
वरिष्ठ नेता माधवकुमार नेपाललाई संविधान संशोधन कार्यदलको प्रमुख बनाउने विचार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बाहेक अरू कसैको दिमागमा फुर्नै सक्दैन । वरिष्ठ नेता नेपाल काठमाडौँ र रौतहट दुवै ठाउँबाट चुनाव हारेर, राजनीतिबाट अस्थायी किसिमको संन्यास लिन लागेको अवस्थामा उनलाई सुटुक्क संविधानसभामा छिराएर राजनीतिक हिसाबले महत्त्वपूर्ण पदको जिम्मा लगाउने प्रचण्ड नै थिए । रमाइलो के भने माधव नेपाल संविधानसभामा छिरे पनि उनले न संविधान निर्माणका लागि केही गरे, न त आफ्ना लागि केही गरेको नै सुनियो ।
समाचारको दोस्रो र अन्तिम साइडलाइनमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा ‘युग–नायक’ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको ‘शुभ–जन्मोत्सव’ को समाचार छ । भनिन्छ, प्रमुख प्रतिपक्ष शिथिल छ । हो, साँच्चै शिथिल छ । यसको भाउ काठमाडौँ सहरको राम्रो खुराक मानिएको रायोको सागको जस्तै छ । बिहान दस रुपैयाँ कल्ली पर्ने रायो–पालुंगो साँझ सात बजेदेखि एक रुपैयाँमा पाइन थाल्छ । प्रमुख प्रतिपक्षका सांसद तथा छाया सरकारका अर्थमन्त्री मीनेन्द्र रिजालले संसद्मा बोलेको सुनेपछि प्रमुख प्रतिपक्षका बोलारुहरू सत्तापक्षले हल्ला गरेजति शिथिल नभएजस्तो लाग्यो ।
रिजालका शब्दमा ‘जन्मदिनमा (खड्गप्रसाद ओलीको) सत्ताउन्माद देखेर आम नागरिक दिग्दार छन्, निराश छन् । जुन तामझामका साथ चार–पाँच हेलिकोप्टर लिएर, देशका, प्रदेशका, अन्य राज्य संरचनाका विशिष्ट व्यक्तिलाई बोकेर जानुभयो, त्यसबाट तपाईं जन्मिएको घरलाई लाग्यो होला– यो मेरो खड्गप्रसाद ओली होइन, नयाँ महाराजा सवारी भएछ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...