मुझे ग्रेभयार्ड ले चलो !
सहरमा जब अपिचात्पोङ विरासेन्थाकुलका स्वप्निल फिल्महरूबारे चर्चा हुन्छ, म उनको 'अंकल बोन्मी: हु क्यान रिकल हिज पास्ट लाइभ्स' सम्झन्छु, जसलाई मैले गोवाको ग्रेभयार्डमा प्रेतात्माहरूसित बसी हेरेको थिएँ ।
नुनिलो युवती थिई । नमकयुक्त । त्यस्तै हुनुपर्छ । उसको त्वचालाई जिब्रोले स्पर्श गर्दा लवणको मात्रा अधिक पाइन्थ्यो होला । अंगवस्त्रको नाममा उसको तैल देहमा ब्लु ब्रा र पिंक प्यान्टी मात्र थिए ।
आचार्य वात्स्यायनले देख्दा हुन् त, कामसूत्रमा उक्त सेक्सिली युवतीलाई पद्मिनी र चित्रिणीबीचको क्याटेगोरीमा समावेश गर्दा हुन् ।
गोवाको बागा–बिचमा समुद्रको छालसरी मन्दमन्द चालमा ऊ हामीसामु आएकी थिई र एउटा डीभीडी देखाउँदै भनेकी थिई, ‘प्लिज, डु मी अ फेभर गायज् । आई कान्ट टेक दिस फिल्म विथ मी इन्टु द सी । विल यु प्लिज किप दिस फर मी ? आई विल बी ब्याक सुन् ।’ फिल्मलाई हाम्रो जिम्मा लगाएर ऊ समुद्रमा हेलिन गएकी थिई ।
उपन्यासकार गनेस–पैताला–पौडेल र गीतकार भूपेन्द्र खड्काले युवतीलाई अरेबियन सागरको छालमा नबिलाउन्जेल –एज इफ हिप्नोटाइज्ड– अपलक हेरिरहे । मैलेचाहिँ फिल्मको टाइटल हेरेँ– अंकल बुन्मी : हु क्यान रिकल हिज पास्ट लाइभ्स । अ फिल्म फ्रम थाइल्यान्ड । डिरेक्टेड बाई अपिचात्पोङ विरासेन्थाकुल ।
समय व्यतीत भइरहेको थियो । अपराह्नको घाममा हाम्रो छाया शनै:शनै सर्दैसर्दै ब्राउन बालुवामा कछुवाझैँ घिस्रिरहेको थियो । समुद्रमा नुहाउन गएकी अपरिचिता भने अझै फर्केर आइन । कतिन्जेल पर्खिबस्ने ! गीतकार र उपन्यासकार क्रमश: जेट स्की र प्यारासेलिङ गरीवरी आइसकेपछि मैले भनेँ, ‘तपाईंहरू साँझ नाइट क्लब जाने हो क्यारे ! त्यहाँ मजस्तो जोगीको के काम ? तसर्थ मचाहिँ लागेँ, अब गोवाका ग्रेभयार्डहरूतिर । ओके गायज् ?”
भ्राताश्रीहरूले मलाई अविश्वसनीय पाराले हेर्दा भया । गनेसले मलाई थर्ड डिग्रीको व्यंग्य गर्दै भन्दा भया, ‘काम कुरा एकातिर कुम्लोमा आफ्नै लास बोकी चिहानतिर भनेको यही हो ।’ भूपेन्द्र पनि के कम ! उसले पनि मकन वचन लगाउँदा भया, ‘तपाईंलाई त स्वर्गमा लगेर छाडिदिए, त्यहाँ पनि ग्रेभयार्ड नै खोज्नुहुन्छ होला । हगि दाइ ?’
हो नि त !
उप्रान्त मैले ब्रो–श्रीहरूसित बिदा मागेँ । मनमौजी तालमा ट्याक्सी स्ट्यान्ड पुगेँ । शिरमा श्रीपेचसमान भव्य पगडी पहिरेका पञ्जाबी चालकलाई बिन्दास मुडमा भनेँ, ‘ऐसा करो जहाँपनाह, मुझे ग्रेभयार्ड ले चलो ।’
०००
यस्तो प्रतीत हुन्थ्यो, ग्रेभयार्डमा उपस्थित सबै मलामीहरू मलाई नै पर्खिबसेका हुन् ।
चिहानकै पहरेदार हुन् कि झैँ लाग्ने कोकोनट पाम ट्रिजमुनि काला वस्त्रधारी मलामीहरू कफिन बक्सवरपर अर्धवर्तुलाकारमा चुपचाप उभिएका थिए । कफिन बक्सभित्र भने खुट्टा लम्पसारेर बसेका वृद्ध मनुवा थिए, जो मलाई आँखा नझिम्क्याईकन हेरिरहेका थिए ।
कफिन–बक्सको केही दूरीमा टेलिभिजन सेट थियो, विथ साउन्ड सिस्टम एन्ड डीभीडी प्लेयर ।
यस्तैमा चस्माधारी पादरी मसामु आइपुगे । निजले मलाई भीडतिर लिएर गए । चिहानको अनौठो परिवेशबारे बताउन थाले, ‘मैले अन्तिम प्रार्थना गरेपछि मृतकलाई खाल्डोमा विसर्जन गर्नै लाग्दा कफिन बक्सभित्रबाट औँलाले नक–नक, नक–नक गरेको आवाज सुनियो । कफिन–बक्सलाई हतारहतार खोलियो । डेडम्यान त जिउँदिएको थियो ।’
पादरीका अनुसार डेडम्यानले यसो भनेछ, ‘मेरो अन्तिम इच्छा पूरा नै भएको छैन । मलाई जिउँदै गाडिदिने ? म चिहानमा बसी फिल्म हेर्न चाहन्छु । फिल्म हेर्दाहेर्दै मेरो प्राण जाओस्, यही चाहन्छु ।’ पादरीले आफ्नो कुरा जारी राखे, ‘त्यसपछि हामीले टीभी स्क्रिन र डेकको व्यवस्था गर्यौँ र एउटी युवतीलाई पर्खन थाल्यौँ, जसले अंकल बुन्मी : हु क्यान रिकल हिज पास्ट लाइभ्स नामक मृतकले इच्छाएको फिल्म ल्याउनेछे । तर युवतीको सट्टा तपाईं आएकामा हामी चकित परेका छौँ । तपाईं खासमा को हुनुहुन्छ ?’
म को थिएँ ? यो महत्त्वपूर्ण प्रसंग थिएन । म अप्रासांगिक एवं असान्दर्भिक थिएँ । मुख्य कुरा त फिल्म थियो । म केही नबोली स्क्रिनसामु गएँ र डीभीडी प्लेयरमा फिल्म घुसाएँ । लगत्तै चिहानमा फिल्मको स्क्रिनिङ भइगयो ।
चियर्स !
त्यो अद्भुत साँझ अचेल पनि म यदाकदा सम्झने गर्छु । सहरमा जब कसैले अपिचात्पोङ विरासेन्थाकुलका स्वप्निल फिल्महरूबारे चर्चा गर्छ, म उनको मोडर्न मास्टरपिस अंकल बोन्मी: हु क्यान रिकल हिज पास्ट लाइभ्स सम्झन्छु, जसलाई मैले गोवाको ग्रेभयार्डमा प्रेतात्माहरूसित बसी हेरेको थिएँ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...