कृषिमा अनुसन्धान चाहियो
अनुसन्धान र विकासको क्षेत्रमा आवश्यक लगानी एक प्रमुख चुनौतीको रुपमा रहेको छ ।
लेखमा मकैको उन्नत बीउ परीक्षण र उत्पादन गर्न छनोट गरिएको चक्लाबारीको बीचमा एक दलित महिलाको जग्गा पनि परेछ । त्यसै कारण उनले बीउसम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर पाइन् । नतिजा, उन्नत बीउका कारण उनको सानो सुर्काबाट उत्पादन बढ्न गयो । सो मकै बीउका लागि बेचेको पैसाले लगभग दोब्बर मात्रामा खायन मकै किन्न सक्दा घरायसी खाद्य सुरक्षामा टेवा पुगेको थियो ।
साना तथा पछाडि पारिएका वर्गलाई पनि अनुसन्धानमा समावेश गर्दा कसरी फाइदा पुग्छ भन्ने यो सानो उदाहरण हो । कृषिसम्बन्धी अनुसन्धानलाई साना कृषक र महिलामैत्री तथा भौगोलिक विविधता र सांस्कृतिक पक्षलाई उजागर गर्ने खालको बनाउँदा समग्र विकासमा बढी योगदान पुग्दो रहेछ भन्ने यो घटनाले देखाउँछ ।
कृषिजस्तो जटिल र बहुआयामिक पक्ष समेटेको क्षेत्रका लागि अनुसन्धानले निकै महत्त्व राख्छ । कृषि उत्पादन खानासँग मात्र सम्बन्धित छैन, यसले उत्पादन सम्बन्ध, सामाजिक न्याय, वातावरणीय पक्ष, औद्योगिकीकरण, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार, जातीय र सांस्कृतिक पहिचान एवं समग्र राजनीतिक सम्बन्धलाई पनि समेट्छ । यति अहं भूमिका राख्ने कृषि क्षेत्रका लागि आवश्यक अनुसन्धानमा ध्यान दिन सके देशले अपेक्षित फाइदा उठाउन सक्छ । कृषि अनुसन्धानलाई बीउबिजन, नस्ल सुधार, सामान्य उत्पादन प्रविधि र यान्त्रिकीकरणको दायरामा सीमित राखेर बुझ्ने प्रवृत्ति भने छँदै छ ।
विकास र अनुसन्धान एकअर्काका परिपूरक हुन् भन्ने मान्यता शिक्षा क्षेत्रबाट नै स्थापित गरिनुपर्छ । विद्यालय तहदेखि विश्वविद्यालयसम्म पुग्दा युवाहरूको मानसपटलमा अनुसन्धानको महत्त्व, यसका लागि आवश्यक ज्ञान र सीप, प्राविधिक विषयगत ज्ञान एवं अन्य क्षेत्र तथा समुदायबीचको अन्तर्सम्बन्धलाई हेर्ने र बुझ्ने सीपको विकास गराउन जरुरी छ । कृषि पढाइँदा माटोको उत्पादकत्व बढाउन दिइने शिक्षासँगै त्यो माटोमा कसको अधिकार स्थापित छ, अरू प्राकृतिक स्रोत–साधनको उपयोगितालाई कसरी प्रभावकारी बनाउनेजस्ता विषयमा सोच्नु आवश्यक छ ।
यसरी खारिएको बुझाइका साथ अनुसन्धानमा आधारित भएर राष्ट्रको नीति–नियम र कार्यक्रम बनाउन सके जनताको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकिन्छ । अनुसन्धानमा आधारित भएर नीतिगत पैरवी गर्न सके विश्वव्यापी ऐक्यबद्धता जुटाउन र अनुसन्धानमा संलग्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग प्रविधि हस्तान्तरणमा साझेदारी ठूलो टेवा पुग्छ ।
अनुसन्धान र विकासको क्षेत्रमा आवश्यक लगानी प्रमुख चुनौतीको रूपमा रहेको छ । अघिल्लो वर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयले विश्वविद्यालय सुधारका लागि राष्ट्रिय कार्यशाला आयोजना गरेको थियो । त्यहाँ प्रस्तुत प्रमाणका अनुसार विश्वव्यापी रूपमा अनुसन्धानमा अधिकतम लगानी गर्ने दस प्रमुख देशमा अमेरिका, चीन, जापान, जर्मनी, दक्षिण कोरिया, भारत, फ्रान्स, रुस, बेलायत र ब्राजिल रहेका छन्, जसले विश्वभरिको अनुसन्धानको क्षेत्रमा ८० प्रतिशत लगानी गर्दा रहेछन् र लगानीको मात्रा पनि निकै उच्च रहेछ । तर नेपालको अवस्थालाई हेर्ने हो भने आर्थिक वर्ष ०७३/७४ मा समग्र बजेटको ६ प्रतिशत मात्र कृषि, वन र माछापालनमा लगानी गरेको र त्यसको २.५६ प्रतिशत मात्र अनुसन्धानमा छुट्टयाइएको उल्लेख छ । यसले के इंगित गर्छ भने समग्र विकासका लागि अनुसन्धानमा लगानीको महत्त्व छ र हामीले पनि यस क्षेत्रमा लगानी बढाउन आवश्यक देखिन्छ ।
अनुसन्धान नितान्त वैज्ञानिक र प्राविधिक विषय भए पनि यसमा समावेशिता र लैंगिक पक्ष समावेश गर्न सकिन्छ भन्ने विश्वास नेपाली वैज्ञानिकमा जगाउनु आवश्यक छ ।
नेपालले विश्वको ०.१ प्रतिशत भाग मात्र ओगटे पनि जैविक विविधताको हिसाबले विश्वमा २५ औँ र एसियामा ११ औँ स्थानमा पर्दछ । नेपालमा विश्वमा पाइने ३.२ प्रतिशत वानस्पतिक र १.१ प्रतिशत जीवका प्रजाति पाइन्छन् । नेपालमा भएको जातीय विविधता, संस्कार र कृषिसँगको अन्तर्सम्बन्धमा आधारित मौलिक ज्ञान, सीप र क्षमताबारे अनुसन्धान गरी यसको संरक्षण, प्रवर्धन एवं बजारीकरणमा टेवा पुर्याउन सकिन्छ । यसरी अनुसन्धानका माध्यमबाट मौलिक ज्ञान र सीपलाई पुस्ता हन्तान्तरण गर्न पनि सकिन्छ ।
अनुसन्धान गर्दा देशभित्र खपत हुने र निकासी हुने दुवै प्रकारका उपजका साथै सम्पूर्ण मूल्य शृंखला प्रक्रियामा ध्यान दिन जरुरी छ । यसका लागि उत्पादनमा मात्र केन्द्रित नभई आवश्यक बजार विस्तार गर्ने, प्रतिस्पर्धी बन्नका लागि वातावरण बनाउने, उत्पादक, उद्योगी र व्यापारीका निम्ति आवश्यक क्षमता विकास गर्ने, बाह्य लगानी आकर्षण गर्ने आदि विषय पनि समेट्नुपर्छ ।
अनुसन्धानबाट प्राप्त ज्ञानलाई शिक्षामा जोड्ने, शैक्षिक क्षेत्रमा आबद्ध शिक्षक तथा विद्यार्थी सबैले अनुसन्धानमा संलग्न हुन पाउने व्यवस्था मिलाउने र अनुसन्धानमा आधारित शिक्षाबाट प्राप्त ज्ञानलाई प्रसार कार्यक्रमसँग जोड्ने चक्रीय व्यवस्था मिलाउन आवश्यक छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...