प्रदीप गिरिको उद्विग्नता
देशमा देखिएको दिशाहीनता, लक्ष्यविहीनता, निराशाका कारण केलाउनुपर्छ । देश त्यति ठूलो आडोलनबाट गुज्रियो तर समस्याहरुको समाधान त निस्केन ।
बिहीबार अपराह्न कार्टुनिस्ट अविनको कार्टुन संग्रह विमोचन समारोहपछि म अलिकति अलमलमा थिएँ । सांसद तथा प्रखर विचारक प्रदीप गिरिसँग मेरो भेटघाटका लागि समय तय भएको थियो । उहाँसँगको भेटले जहिल्यै पनि दिमागमा उत्साहको सञ्चार गर्दथ्यो तर यो पटक त्यस्तो महसुस गर्न पाइएन । गिरिका आँखामा चमक नभएको होइन । उहाँको आँखाको चमक र वाणीको रौनक यथावत थियो र पनि उहाँ बढी नै उद्विग्न देखिनुहुन्थ्यो । मौसमको कारणले शरीर अलिकति शिथिल भए पनि मौसमले होइन, देशको राजनीतिक दुरावस्थाको प्रभावले गाल्न खोजेको थियो उहाँलाई । समय र वातावरण केही सहज भएपछि मैले उहाँलाई सोधेँ, “देशको राजनीति किन संगतिपूर्ण हिसाबले चल्न सकेको छैन ? अहिले संसद्को अधिवेशन चलिरहेको छ । तर किन सत्तापक्ष संसद्प्रति उत्तरदायी देखिँदैन ? किन संसद् प्रतिपक्षको पकडमा छैन ?”
उहाँको जवाफ स्पष्ट थियो । भन्नुभयो, “यो अचम्मको घटना भएको छ । हुकुमको जवाफ छैन । कालको ओखती छैन भन्ने गजबको संस्कृति विकसित भइरहेको छ । देशमा संविधान छ । त्यसको पालना गर्न कोही तयार छैन । सबै आदेशको पर्खाइमा छन् । दुनियाँको कुन देशको प्रधानमन्त्री चौबीस घन्टा, अठचालीस घन्टा एनेस्थेसिया लिएर, अस्पतालमा अचेत भएर सुत्छ ? देशको कार्यकारी प्रमुख, यति लामो समयसम्म अशक्त भएर लडेको अवस्थामा देशलाई केही भयो भने कसले वहन गर्छ, त्यसको राजनीतिक र सामाजिक दायित्व ? प्रधानमन्त्री ओलीजीलाई केही नहोस्, त्यो कामना सबैले गरेका छन् तर देशको कार्यकारीले आफूले वहन गरेको कार्यकारी जिम्मेवारी अर्कोलाई नदिई यसरी अस्पतालको बेडमा पल्टिन मिल्छ ? यतिबेला देश कसको आदेशमा अगाडि बढ्छ ?”
सांसद गिरिको स्पष्ट आपत्ति यो विषय संसद्मा नउठाइएकामा पनि उत्तिकै थियो : यो कुरा नउठाउँदा संसद्को उपहास भएको छ । संसद्को यति ठूलो उपहास अहिलेसम्म कहिल्यै भएको थिएन ।
‘सरकारलाई संसद्को डर किन छैन ? किन प्रतिपक्षले संसद्लाई आफ्नो बनाउन सकेको छैन’ भन्ने प्रश्नमा सांसद गिरिको जवाफ थियो, “तपाईंको यो आरोप यथार्थ हो । सरकारलाई संसद्को डर लाग्न छाडेको यो पहिलो घटना होइन । विश्वका उदारवादी भनिने सबै पुँजीवादी सरकारहरू संसद्सँग डराउन छाडेका छन् । यो अर्कै प्रसंग हो र पनि यो एउटै कुरा सबैतिर मिल्दोजुल्दो छ । कांग्रेसले संसद्को गरिमा कहिल्यै आत्मसात गरेन । कांग्रेसले संसद्लाई सरकार बनाउने हतियारका रूपमा मात्रै हेर्यो । संसदीय व्यवस्थाको विरोधमा खडा भएका दलहरूले संसद्को मर्यादा राखेनन् भनेर के भन्नु !”
अहिले संसद्वादलाई नमान्नेहरूको बहुमत छ, संसद्मा । मार्क्सवादी संस्कृतिमा हुर्किएका साथीहरूले संसद्वादलाई नमान्नु अस्वाभाविक होइन ।
प्रदीप गिरिको विचारमा ‘बेलायतमा लोकतन्त्रले संसद्लाई होइन, संसद्ले नै लोकतन्त्रलाई बलियो बनाएको छ । तर हामीकहाँ त्यसो भएन । नेपालमा वंशानुगत संस्कृति र आयातीत व्यवस्थाको परम्परा रहेको छ । संसदीय व्यवस्था जुन गरिमाका साथ बेलायतमा चलेको छ, यहाँ त्योअनुसार चलेको छैन । स्वतन्त्रताको अभावमा कुनै पनि व्यवस्थाको परिकल्पना हुन सक्दैन । वंशानुगत संस्कृति र आयातीत व्यवस्थाको प्रभावका कारण हाम्रो अवस्था बिग्रिएको हो । यहाँ यति नै हेरे पुग्छ कि बेलायत र अमेरिकामा सर्वोच्च अदालतजस्ता संस्थाहरू जुन आदरका साथ चलेका छन्, त्यसरी नै हामीकहाँ पनि त्यस्ता संस्थाहरू त्यसरी नै चलेका छन् त ?’
सन्दर्भको अन्त्यमा गिरिको भनाइ थियो : देशमा देखिएको दिशाहीनता, लक्ष्यविहीनता, निराशाका कारण केलाउनुपर्छ । देश त्यति ठूलो आडोलनबाट गुज्रियो तर समस्याहरूको समाधान त निस्केन । शेरबहादुरले जसको टाउकाको मोल तोकेका थिए, उनै मानिस शेरबहादुरको ठाउँ लिन आइपुगे । जुन ओलीका विरुद्ध त्यति कटु आलोचना गरिएको थियो, तिनै ओली र प्रचण्ड अहिले मिलेका छन् ।
प्रदीप गिरि माओवादी आन्दोलनको अवमूल्यन गर्न चाहनुहुन्न । उहाँको विचारमा युद्धमा लडेका, मरेका र हराएका व्यक्तिहरूले तथाकथित संसदीय व्यवस्थाको नाममा जे–जे हुन नपर्ने कुरा भएका थिए, त्यही नै दोहोरिएको देखिन्छ । त्यो नै अहिलेको विसंगत पक्ष हो ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...