बेगनास तालबाट नफर्किएकी नृत्यांगना
निकै दिनहरु बितेर गए । कालीकाली हिस्सी परेकी नृत्यांगनालाई मैले लगभग बिर्सिसकेको थिएँ । तर आज एउटा किताबभित्र उसको पत्र भेटिइँदा मैले उसलाई सम्झेँ ।
म कसैलाई पर्खिरहेको थिएँ । कसलाई पर्खिबसेको थिएँ, यकिन थिएन ।
सहरका क्याफेहरूमा म प्राय: एक्लो भेटिइन्छु । कुनै दिन कफी मग–मग बसाउने क्याफेका कर्नर टेबलहरूमा तपाईंले मलाई किताब पढिरहेको, कविता लेखिरहेको, सेलफोनमा कलब्रेक या म्यारिज खेलिरहेको अथवा शून्यमा टोलाइरहेको अवस्थामा पक्कै पनि देख्नुभएको होला ।
त्यस्तो बखत तपाईंलाई मसित दुई चार कुरा गर्न मन लाग्दो हो । तर तपाईंको मनले भन्दो हो : नगरकोटीले कसैलाई पर्खिरा’जस्तो छ । पर्खिरहोस् । फिक्सन डिजाइनरलाई बेकारमा किन डिस्टर्ब गर्ने ?
त्यो दिन पनि लगभग त्यस्तै थियो । म कसैको प्रतीक्षामा थिएँ । मेरो बडी ल्याङ्वेज हेरेर कम्तीमा तपाईंलाई त्यस्तै लाग्न सक्थ्यो । तर मलाई भेट्न को आउँदै थियो ? उसको नाम के थियो ? ऊ को थिई ?
– नृत्यांगना । (उसले भनी ।)
– कति खेर आउनुभयो ? (मैले सोधेँ ।)
– म आएको पाँच मिनेट भइसक्यो ।
– के म तपाईंलाई नै पर्खिरहेको थिएँ ?
– हो, तपाईं मलाई नै पर्खिरहनुभा’थ्यो ।
नृत्यांगना कालीकाली हिस्सी परेकी अधबैँसे महिला थिई । दीपक वज्राचार्यको गीतमा हिँडडुल गर्ने लिरिकल गर्लजस्ती । ऊ केही हतारमा थिई क्यारे ! उति सारो कुरा गरिन । आफ्नो परिचय पनि दिइन । एउटा खाम दिँदै उसले यति मात्र भनी, “तपाईंसित कुरा गर्ने विषयहरु मसित त्यति धेरै छैनन् । जति छन्, तिनलाई मैले यो चिठीमा लेखेकी छु । प्लिज, पढिदिनु होला । अहिले जान्छु । तपाईंको शून्यता तपाईंलाई मुबारक !”
त्यसपछि ऊ फटाफट क्याफेबाट बाहिरिई । मैले कुनै प्रतिक्रिया दिनसमेत भ्याइनँ । कस्ती रहस्यमय आइमाई ! मैले खाम खोलेँ, चिठी पढ्न थालेँ ।
०००
डियर नगरकोटी ! तिमीले कुनै अन्तर्वार्तामा जर्मन सिने सर्जक विम वेन्डर्सको फिल्म पिनाबारे केही चर्चा गरेका थियौ । तिमीमार्फत नै मैले पहिलोपल्ट पिना बाउसबारे सुनेको थिएँ, जो मझैँ नृत्यांगना/कोरियोग्राफर थिई ।
अन्तर्वार्तामा तिमीले भनेका थियौ, “नौका विहार गर्दै हेर्नुपर्ने फिल्म हो, पिना । नेपालमा ताल–तालका तालहरु छन्– राराताल, फेवाताल, सेफोक्सुन्डो ताल । नौका लिई कुनै तालमा छिर्नुस्, ल्यापटप खोल्नुस् र पिना हेर्नुस् ।”
मैले तिमीले भनेबमोजिम गरेँ । एक दिन डुंगा लिई तालमा छिरेँ । पिना हेरेँ । जिन्दगी एक लौकिक उत्सव हो, जसलाई परालौकिक नृत्यले सिंगार्दै बनाउनुपर्छ भन्ने बुझेँ ।
अचेल मलाई लाग्छ, मेरो जीवन दुई भागमा बाँडिएको छ । पिना हेर्नुअघि र पिना हेरेपश्चात् । पिना हेर्नुअघि म फगत एक अल्लारे आइमाई थिएँ, पिना हेरेपश्चात् स्वप्निल नारी भएँ । सोच्ने गर्छु, पिनाबिना मेरो जीवन कति खल्लो/निरस हुँदो हो ।
पिना हेर्दा लेखक–उपन्यासकारको सिर्जनामा नवीन सोच जुर्मुराउँदो हो । कविको अक्षर नृत्यमग्न हुँदो हो । चित्रकारको क्यानभासमा मृत्यु मुस्कुराउँदो हो । र, गायक–संगीतज्ञको लयमा ईश्वर गुनगुनाउँदो हो ।
डियर नगरकोटी ! तपाईंलाई आत्मीयतापूर्वक तिमी भनी सम्बोधन गरेँ । यति नै लेखेँ । नेपाल म्यागजिनको पाक्षिक स्तम्भ ‘नगरकोटी क्याफे’ मा तिमीले चर्चा गर्ने फिल्महरु हेरिरहेकी छु । पिनाबारे पनि तिमीले केही लेखिदिए कति सुन्दर हुन्थ्यो ! नौका विहार गर्दै मैले पिना हेरेको कथा लेखे कति गज्जब हुन्थ्यो ! मलाई पनि तिमीले आफ्नो पात्र बनाइदिए कति जाती हुन्थ्यो ! यहीँ रोकिएँ, ल !
०००
निकै दिनहरु बितेर गए । कालीकाली हिस्सी परेकी नृत्यांगनालाई मैले लगभग बिर्सिसकेको थिएँ । तर आज एउटा किताबभित्र उसको पत्र भेटिइँदा मैले उसलाई सम्झेँ । पत्र पुन: पढेँ । कस्तो–कस्तो लाग्यो । पत्रको पुछारमा फोन नम्बर रहेछ । फोन गरी हेरेँ । कसैले उठाएन ।
पुन: प्रयास गर्दा कसैले उठायो । नृत्यांगनाका पतिश्री रहेछन् । कुनै भूमिका नबाँधी सीधै सोधेँ, “तपाईंकी पत्नीले नौका बिहार गर्दै पिना फिल्म हेरेको ताल चैँ कुन रहेछ ?”
उनले भने :
– बेगनास ताल ।
– उहाँ अचेल पनि त्यहाँ जानुहुन्छ ?
– जानुहुन्न । उहाँ बेगनासबाट अझै फर्कनुभा’ छैन ।
उनी केही बेर मौन रहे । त्यसपछि शोकाकुल आवाजमा उनले आफ्नी पत्नीबारे जे भने, त्यो सुनेर म नि:शब्द भएँ, “उहाँ बेगनास तालमै गायब हुनुभयो । यतिका दिन बितिसके तर पनि आजसम्म उहाँको लास फेला परेको छैन । तपाईं को पर्नुभयो कुन्नि ! लौ न, मेरी नृत्यांगना पत्नीको लास खोजिदिनु पर्यो ।”
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...