लकडाउनमा प्रधानमन्त्रीलाई दुई सिनेमा
लिंकन र चर्चिलको जीवनमाथि दुई जीवन्त सिनेमा बनेका छन् । लकडाउनका अनेक चर्तीकलाबीच यी सिनेमा हेरे प्रधानमन्त्री ओलीलाई फाइदै हुन्छ ।
अब्राहम लिंकन दोस्रोपल्ट राष्ट्रपति चुनिँदा उनीसँग जनता थिए, तर संसद् थिएन । उनी कुनै पनि हालतमा अमेरिकी संविधानको तेह्रौँ संशोधनमार्फत दासप्रथा उन्मूलन गर्न चाहन्थे– जसलाई आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूको असहयोग थियो । डेमोक्रेटिक पार्टीका सांसदले फ्लोर क्रस गरेर आफूलाई सघाइदेलान् भन्ने झिनो आशामा उनी थिए । यो १८६४ इस्वी संवत्को कुरा हो ।
त्यसको झन्डै ७५ वर्षपछि बेलायतमा विन्स्टन चर्चिल उदाउँदै थिए । दोस्रो विश्वयुद्ध सामना गर्नुपर्ने बेलामा ब्रिटिस नेतृत्वपंक्ति ‘युद्ध कि सम्झौता’ को चर्को मतभेदबीच गुज्रिँदै थियो । त्यो विवाद साम्य गर्न नसकेर हैरान कन्जर्भेटिभ पार्टीकै नेभिल च्याम्बरलिन प्रधानमन्त्रीबाट राजीनामा दिँदै थिए । अर्को प्रत्याशी खोज्न हम्मे परेको थियो । प्रधानमन्त्रीको कुर्सीमा चर्चिलजस्तो सनकी व्यक्ति बसून् भनेर राजा जर्ज छैटौँले किञ्चित चाहेका थिएनन् । बकिंघम प्यालेसले नचाहँदा–नचाहँदै परिस्थिति भने चर्चिलका पक्षमा तयार भएको थियो । उनी परे– ब्रेकफास्टदेखि डिनरसम्म रक्सी मात्रै खाइरहनुपर्ने । अनि राजा भेट्न दरबार जाने बखत दिउँसोको निद्रा सुत्नुपर्ने ।
लिंकन सकभर गल्ती गर्दैनथे । चर्चिलका गल्ती गनेर साध्य थिएन । लिंकन आफ्ना इन्द्रियलाई वशमा राख्न सक्थे । चर्चिल जतिखेरै, जोसँग, जेमा पनि झोक्किइहाल्ने । लिंकनलाई आफ्नै पत्नी र छोराको बलियो साथ थिएन । चर्चिललाई पत्नी र छोरीहरूले माया र ढाडस दिन्थे । लिंकन दायाँ ढल्कुवा पार्टीका नेता भए पनि प्रगतिशील विचार राख्थे । चर्चिल थिए, अतीतमुखी र परम्परावादी । लिंकन शान्तिका नायक थिए, चर्चिल युद्धका । दुवैसँग मिल्ने साझा गुण सायद एउटै मात्र थियो, हास्यचेत ।
नेता त्यो हो, जसले प्रतिकूलतामा पनि आफ्ना निर्णयहरूलाई प्रमाणित गर्न सक्छ । आ–आफ्नो युगका यी दुई चरम प्रतिकूल अवस्थामा दुई अलग देशका यी नेताहरूले जेजस्ता निर्णय लिन पुगे, त्यसले उनीहरूलाई सदा सम्झिरहने पात्र बनाइदियो ।
लिंकन र चर्चिलको जीवन आफैँमा खुला पुस्तक हो । उनीहरूमाथि भर्खरै बितेर गएको दशकमा दुई राम्रा सिनेमा बने । स्टिभन स्पिलवर्गले बनाएको सिनेमा ‘लिंकन’ र जो राइटले बनाएको सिनेमा ‘डार्केस्ट आवर’ मा यसको जीवन्त वर्णन छ । लिंकनको भूमिका निर्वाह गर्ने डेनियल डे लेविस र चर्चिलको भूमिका लिने ग्यारी ओल्डम्यानको प्रशंसा जति गरे पनि कम हुन्छ । लेविस र ग्यारी दुवैले आ–आफ्नो भूमिकाका लागि क्रमश: २०१२ र २०१७ को ओस्करमा सर्वोत्कृष्ट अभिनेता अवार्ड जितेका थिए । यी सिनेमाको छाप यो पंक्तिकारमा कतिसम्म पर्यो भने आफ्नो मस्तिष्कमा बसेको लिंकन र चर्चिलको छविलाई लेविस र ग्यारीले प्रतिस्थापित गरिदिन पुगे । हिजोआज यी दुई नेता सम्झिनुपर्यो भने यिनै अभिनेताको चरित्र पो स्वत: याद आउँछ ।
प्रधानमन्त्री केपी ओलीलाई म यी दुईवटा सिनेमाहरू हेर्न आग्रह गर्छु । खासमा मलाई प्रधानमन्त्रीसमक्ष केही पुस्तक सिफारिस गरूँ लागेको थियो । तर पाठकले तिर्ने अधिकतम खुद्रा मूल्यमै मरिन्जेल करको दर ठोकिदिएपछि अब त्यही सरकारका मुखियालाई पुस्तक किनेर पढ्नुस् भनिहाल्न मिलेन । उसमाथि बुद्धले कति पढेका थिए भन्ने सवाल प्रधानमन्त्रीले यसअघि नै उठाइसक्नुभएकाले पनि पुस्तक छान्नेतिर मेरो रुचि गएन ।
बरु नेटफ्लिक्सदेखि टोरेन्टको जमानामा प्रधानमन्त्रीलाई पनि फिल्म नै सिफारिस गर्नु ठीक छ । त्यसो त टोरेन्टले अब भीपीएनमा नगए उपभोक्ताका महत्त्वपूर्ण सूचना लिक हुन सक्ने चेतावनी प्रत्येक पल्टको फिल्म डाउनलोड क्रममा दिइरहन्छ । तर इन्टरनेट डकैतीका कस्ता–कस्ता सरदारहरूलाई जित्न सक्ने ल्याकत भएका असगर अलीजस्ता ब्रदरहरूसमेतलाई स्वयं यही सरकारले खुलेआम संरक्षण दिएको हुँदा टोरेन्टको चेतावनीसँग पनि अब खासै डराइरहनु परेन ।
प्रधानमन्त्री ओलीलाई यो सिनेमा सिफारिस किन पनि हो भने उहाँ फिल्ममा बढ्तै इच्छा गर्नुुहुन्छ । उहाँले आफ्नो जीवनकथामा आधारित नेपाली कथानक चलचित्र बनाउन चाहनुभएको छ । प्रधानमन्त्रीले रारातालबाट नयाँ वर्षको सन्देश दिँदै गर्दा उहाँको पिठ्युँ पछिल्तिर योजनाबद्ध डुंगा खियाइरहेका माझीहरूको अभिनय एकदमै सजीव देखिएको छ । पार्टी र सत्ताप्रति बफादार निर्देशकले यसलाई पायो भने ‘स्क्रिन ब्लर’ नगरी पर्दामा उतार्न सक्नेछ । नेपाली फिल्ममेकरले अक्सर कल्पना गर्ने गरेजस्तो ‘हाफ टाइमपछि हिरोको खेला’ देखाउन मिल्ने पटकथामा त्यसलाई प्रयोग गर्न सकिएला ।
प्रधानमन्त्रीलाई सिनेमा सिफारिस गर्नुको कारण अरु पनि छ । सिनेमा हेर्नलाई पुस्तक पढेजस्तो लामो समय लाग्ने पनि होइन । प्रधानमन्त्रीले जुनसुकै पूर्वनिर्धारित कार्यक्रमका लागि सधैँ ढिलो गर्ने भए पनि उहाँजस्तो मानिसका लागि समयको महत्त्व छ । हिजो बुधबार नेकपा बैठकमा गएर उहाँले आफू १८ घन्टा खटिरहेको बताउनुभयो । कोरोना संकट व्यवस्थापनमा अहिलेसम्म केही हात लागी भएन भन्दैमा उहाँले कामै नगरेको भन्न कहाँ मिल्छ ? उहाँले पछिल्लो टिभी सम्बोधनमा आफ्नो सरकार र सचिवालयले गरेका कामबारे फेहरिस्त राख्दै लकडाउनकै बीचमा भ्रष्टाचार भयो भनी कुर्लने आलोचकहरूलाई जवाफ दिनुभएको छ ।
प्रधानमन्त्रीजस्तो सम्मानित व्यक्तिसँग मुखमुखै लाग्ने कुरा भएन । उहाँ कथंकदाचित प्रतिपक्षमा हुनुभएको भए यस्तो बेला के–के गरिसक्नुहुन्थ्यो होला भनेर कल्पना मात्रै गर्न सकिन्छ ।
त्यसैले साबिकका अरु मुसाहरूझैँ सत्ताको कोट काट्न नलागी प्रधानमन्त्री ओलीलाई फेरि सिनेमाकै प्रसंगमा फर्काऊँ ।
प्रधानमन्त्री ओलीसामु मन्त्रिपरिषद्, संसद् र पार्टीभित्र जुन हदसम्म अनुकूलता छ, लिंकन र चर्चिलसामु त्यो सहजता उपलब्ध थिएन । लिंकन र डार्केस्ट आवर दुवै फिल्मले उनीहरूका सबैभन्दा अप्ठेरो समय चित्रण गरेका हुन् । लिंकनलाई आफूले के निर्णय गर्नुपर्ने छ भन्नेमा कत्ति पनि अलमल छैन । दासप्रथा मुक्तिको घोषणा गरे पनि संसद्लाई उनले विश्वासमा लिन सक्दैनन् । संविधान संशोधनका लागि चाहिने दुई तिहाई बहुमत नपाउँदा उनी गृहयुद्धको क्षति घटाउन सकिरहेका छैनन् ।
चर्चिल सुरुमा लिंकनजति प्रस्ट देखिन्नन् तर उनको अनिर्णयको अवधि सकिइसक्दा राजनीतिक वृत्त विरोधमा ओर्लिइसकेको हुन्छ । महाशक्ति बेलायत युद्धमा अलिअलि गर्दै आफ्नो साम्राज्य गुमाइरहेको थियो । छिमेकी फ्रान्स सम्झौता गर्ने मुडमा थियो । इटाली र जर्मनीका बीचमा कानेखुसी चलिरहेको थियो । अनि भारत, अफ्रिकालगायत देशहरू इस्ट इन्डिया कम्पनीविरुद्ध अन्तिम लडाइँ लड्दै थिए । चर्चिल युद्धबाटै जवाफ दिनुपर्ने मत राखिरहेका थिए । हजारौँ सैनिक गुमाइसकेको कारण देखाउँदै बेलायती सांसदहरू त्यसका लागि तयार देखिएका थिएनन् । चर्चिलसित सुरुमा असन्तुष्ट देखिएका राजा जर्ज छैटौँको प्रकारान्तरले सहयोग पाएपछि मात्रै उनको उद्विग्नता समाप्त हुन्छ । यो फिल्मले तयार पार्न खोजेको पश्चिममैत्री भाष्यमाथि तपाईं हामीमध्ये कसैको सम्मति–असम्मति पक्कै होला तर यसले चर्चिल र समकालीनको व्यक्तित्व बुझाउन भने पूरै सहयोग गर्छ ।
फेरि लिंकनको कुरा । भर्जिनियातिर गएका बेला कालाहरूले गोराको हात छिनालेर जम्मा पारेका हात र खुट्टाहरू गाड्न लागेको देखेपछि आक्रोशित लिंकनका छोरा आफैँ युद्धमा जान, दुस्मनलाई एक चिहान पार्न उम्लिइरहेका थिए । उनलाई युद्धमा नजान पिताले गरेको आग्रह नमानी उनी जाँदा उता आमा मेरी टोड लिंकनसँग त्यसअघि नै बितेको जेठो छोरो सम्झेर घरझगडा गर्दै थिइन् । वंशवृक्षदेखि आफ्नो पार्टीभित्र चौतर्फी कलहै कलह मच्चिँदा पनि लिंकनले आफ्नो मान्यता बदलेनन् । उता दक्षिणी राज्यहरूमा उनीसँग समेत क्षुब्ध काला जातिका नेताहरूलाई सम्झाउनु उनको कर्तव्य थियो । आफ्नै कोर टिमभित्रसमेत विपक्षी सोच भएका मानिसहरूबीच लिंकनले कसरी आफ्नो तर्कशक्ति र संवेदनाबाट अपिल गर्न सके होलान् ? यो जान्न त अढाई घन्टाको सिनेमा हेर्नैपर्ने हुन्छ ।
माथि नै भनियो– लिंकन जस्ता छन्, चर्चिल त्यस्ता छैनन् । बेलायतकै छिमेकसम्म हिटलरका जर्मन सेना आइपुग्दा शान्ति सम्झौताका लागि पहल लिने कि युद्ध छेड्ने भन्नेमा हाउस अफ् कमन विभाजित थियो । वार क्याबिनेटले चर्चिललाई आफ्नो योजना कार्यान्वयन गर्न भाँजो हालिरहन्छ । क्याबिनेटभित्रै राजाप्रति बफादार मन्त्रीले उनलाई अल्झाइरहन्छन् । विपक्षी लेबर पार्टीको असहयोग स्वाभाविक तर पीडादायी देखिन्छ । आफ्नो औडाहा शान्त पार्न चर्चिल अकस्मात आफ्नो सवारीबाट फुत्त ओर्लिन्छन् । सर्वसाधारणसँग रेल चढ्न पुग्छन् । त्यहाँ उनले गरेको अन्तर्क्रिया ले चर्चिलको निर्णय र सिनेमाको बैठानलाई प्रभावित गर्छ ।
दुईवटा उद्धरण यहाँ उल्लेख्य छन् । जब पत्नी मेरी टोडले लिंकनलाई आफ्नो जेठो छोरो कसरी मरेको थियो भनी रुँदै सम्झाउँछिन् । अनि उनको दासमुक्ति घोषणाप्रतिको अडानलाई भावुकतापूर्ण ढंगले प्रभावित पार्न खोजिन्छन् । पत्नीको त्यो रोदनको जवाफ उनी शान्त भावमा यसरी दिन्छन्– ‘मेरो काँधमा हाम्रो परिवार मात्रै होइन, थुप्रै–थुप्रै घरपरिवारको जिम्मेवारी छ । हामी आफ्नो रोजाइका कारण यस्तो सुविधासम्पन्न घरमा बस्न पाएका होइनौँ । हामीजस्तै आनन्दले बस्न पाउने समान अधिकार यो देशमा अरु धेरैलाई छ ।’
चर्चिलका सन्दर्भमा पनि अर्को त्यस्तै भनाइ छ । आफूले चरम असहयोग र गुटबन्दीका बीच गरेको संघर्षलाई सम्झदै उनी भन्छन्– ‘सफलता सधैँलाई होइन, असफल हुनु पनि त्यति घातक छैन । साहस मात्रै त्यो चीज हो, जो हामीसँग निरन्तर हुनुपर्छ । इतिहासमा त्यसैको गणना हुन्छ ।’
सन्देश दिनैपर्छ भन्ने बाध्यता बोकेर फिल्म बनाउनेहरू दु:खी हुन् । तर संवाद, भाव वा माध्यमलाई नै सन्देश मान्ने हो भने माथिका वाक्यहरू तत्तत् फिल्मका सन्देश हुन् । न लिंकन र चर्चिललाई हनुमान चाहिएको थियो, न त स्पिलवर्ग र जो राइटजस्ता मनीषीलाई नै सत्ताको प्रचारक बन्नुपर्ने बाध्यता छ । तसर्थ उनीहरूले बनाएको सिनेमालाई प्रधानमन्त्रीले ग्रहण गर्न सके राम्रै हुनेछ । यसले उहाँलाई ऐतिहासिक संकटको घडीमा कसरी काम गर्नुपर्छ, आफ्नो पंक्तिलाई कसरी परिचालित गर्नुपर्छ अनि विपक्षीसमेतको विश्वास कसरी लिनुपर्छ भनेर सन्देश प्रवाह गर्न सक्नेछ ।
तर प्रधानमन्त्री ओलीले यस्ता सल्लाह सुन्नैपर्छ भन्ने बाध्यताचाहिँ छैन । किनकि हामीलाई राम्रैगरी थाहा छ: हाम्रा प्रधानमन्त्री सुन्न होइन, भन्न रुचाउनुहुन्छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...