इतिहासले भन्यो, फेरि भेटौं है
दुई सय वर्षअघि महामारीका बेला राज्यबाट कुनै आशा–भरोसा नभएपछि बिफर निको पार्ने भनिएकी देवी शीतलामाजुलाई गुहार मागिन्थ्यो । आज पनि उस्तै प्रवृत्ति छ ।
के अँध्यारो समयमा पनि गीत गाइन्छ र ?
हो, गाइन्छ गीत, अँध्यारो समयकै बारेमा पनि ।
–बर्ताेल्त ब्रेख्त ।
समय–काल जतिसुकै निष्पट्ट अँध्यारो भए पनि गीत गाइन्छ, लेखिन्छ र सुनिन्छ । यसकै एक ज्वलन्त उदाहरण हो– ‘सितलामाजुया म्ये’ (शीतलामाजुको गीत) । शीतला वा बिफरको रोगले महामारीको रूप लिएपछि नेपालका शासकले चलाएको निर्मम सामूहिक विस्थापनको पीडादायक गीतको नाम हो– ‘सितलामाजुया म्ये ।’ स्वामी महाराज रणबहादुर शाहले आफ्नो छोरा गीर्वाणयुद्धविक्रमलाई ‘त:कै’ (बिफर)का कीटाणु नसरुन् भन्ने उद्देश्यले काठमाडौं उपत्यकाका सबै शिशुलाई सहरबाट गरेको निष्कासनविरुद्ध दुई सय वर्षभन्दा बेसी समयदेखि गाइँदै आएको प्रतिरोधी सिर्जना हो यो ।
धेरैजसो इतिहासकारका लागि राजा रणबहादुर शाहले गरेको ‘बासठ्ठी हरण’ सबैभन्दा महत्त्वपूर्ण लागेको होला, केही विरुदावलीकारका निम्ति शाहले काँधमा चढाएका भीमसेन थापाको ‘देशभक्ति’ सर्वाधिक उल्लेखनीय लागेको होला । तर शाह र थापाको अँध्यारो शासन ब्यहोरेका अज्ञात कविलाई भने हजारौं बालबालिकालाई आफ्नै देशका सिपाही लगाएर लखेटेको दमनकारी घटनाले पिरोलेको होला । त्यसैले उनले इतिहासकार र विरुदावलीकारहरूले खासै वास्ता नगरेको सामूहिक विस्थापनको पीडालाई नेपालभाषाको ‘बाखं म्ये’ (गीतिकथा)मा ढालेका होलान् । र, शासकहरूका इतिहास र राजाहरूको विरुदावलीको चाङले छोपेको यही ऐतिहासिक पीडा, सास्ती र यातनासँगै भयावह मृत्युको गाथा नेवारहरूको जनजिब्रोमा बाँच्दै आएको छ र टोल–टोलका दाफा भजनमा बजाइँदै आएको छ ।
स्वामि जुजुया धर्म मदया कचि मचा वाके छोत
वनेमाल तामाखुसि पारि
नेपालया छत्रपति श्री रणबहादुर
परजात अति दु:ख सिल ।
(स्वामी महाराजमा धर्म नभएकोले नाबालकहरू फाल्न पठाए, जानुपर्यो तामाकोशीपारि । नेपालका छत्रपति श्री रणबहादुर, प्रजाले अति दु:ख पाए ।)
इतिहासकार महेशराज पन्त भन्छन्, ‘पश्चिममा सालाखाला एक सय र पूर्वमा एक सय बीस वर्षमा महामारी आउने गर्छ ।’ नेपालका लागि हैजा र बिफरको महामारी नौलो होइन, जसले राजादेखि रैतीसम्मको प्राण हरण गरेको इतिहास छ । यहाँ बिफर इतिहास भएको बल्ल चार दशक मात्रै भएको छ, तर बिफरजस्ता महामारीका बेला शासकहरूले देखाउने आत्मकेन्द्रित मायामोह, पराइकरणको नीति र विभेदकारी व्यवहार भने इतिहास भएको छैन । २१४–१५ वर्षअघि राजा रणबहादुर शाहले देखाएको यही शासकीय प्रवृत्ति आज नेपालमा मात्रै होइन, विश्वभरि नै कोभिड–१९ को महाव्याधिमा पनि छाएको छ ।
बिफर र राजाको महामारी
१८६१ जेठमा राजा रणबहादुर शाहबाट पुत्रमोहका कारण भएको ज्यादतीको घटना उधिन्न सघाउनेगरी इतिहासकार बाबुराम आचार्य एकाध शब्द खर्च गर्छन्, ‘बालक राजा गीर्वाणयुद्धविक्रम शाहलाई बिफर सर्दछ भन्ने डरले उपत्यकाभित्रका बिफर नखोपाएका सबै बालबालिका काठमाडौं उपत्यकाबाट बाहिर निकाला गरिए । त्यस्तै, १८६२ बैशाखमा पनि बिफर नखोपाइएका बालबालिका काठमाडौं उपत्यकाबाट बाहिर निकाला गरिए । १८५४ आश्विनमा जन्मिएका गीर्वाणयुद्धविक्रम मात्र यहाँ राखिए ।’
गीर्वाणयुद्धविक्रम शाहलाई अढाई वर्षमै राजा बनाएर ‘परमनिर्गुणानन्द स्वामी’ बनेका रणबहादुरमा आफन्तप्रतिको मायामोह जति थियो, त्योभन्दा बेसी थियो– ‘अन्य’प्रतिको घृणा र विद्वेष । श्रीमती र पुत्रको जिउज्यान बचाउन जे पनि गर्ने रणबहादुरले उपत्यकाबासी र तिनका बालबालिकामाथि गरेको अत्याचार अकथनीय थियो । प्रजालाई अन्य ठान्ने रणबहादुरजस्ता आत्मकेन्द्रित शासकले उपत्यकाबासीका छोराछोरीलाई निकाला गरियो भने आफ्ना छोरा स्वस्थ हुने अन्धविश्वासका साथ सिपाही परिचालन गरेका थिए ।
कहिले नसुनेको, कहिले नदेखेको
काँचो बालक राख्ने होइन–
महाराजको हुकुम भयो ।
झ्याली पिट्दै, बाजा बजाउँदै
सिपाहीले घेर्न लगाए
काँचो बालक निकाली पठाए ।
इतिहासकार ज्ञानमणि नेपालका शब्दमा, ‘नेपालका तीन सहरलाई हल्लाउने (गरी) सम्पूर्ण सहरबासीका बालबालिका बिचल्ली पार्ने सहर निष्काशनको आदेश दिनबाट उनलाई रोक्न सक्ने कोही थिएन । सहरमा बिफर फैलियो भन्ने सूचना सुन्नेबित्तिकै बालक राजा गीर्वाणयुद्धविक्रमलाई पनि सो रोग सर्छ भन्ने बहाना गरी नखोपाइएका सारा बालबालिकालाई सहरबाट निकालेर टाढा लैजाने कठोर सरकारी आदेश जारी गरियो । बालबालिका मात्र निकालेर भएन, उनका साथमा संरक्षकको रूपमा बाबु आमा, नभए कोही अभिभावक जानैपर्यो । यसरी यी सहरिया रैतीहरू घर छोडेर छोराछोरी च्यापेर रुँदै–रुँदै हिँडे । यस्तो प्रतिप्रकोप गराउने दुष्कार्य गर्न पनि उनी स्वछन्द थिए भने अब केको लागि मुख्तियार पद सम्हालेका हुन्, यो रहस्यमयै कुरा छ ।’
गीर्वाणयुद्धविक्रमभन्दा पाँच वर्ष जेठा रहेका कवि सुन्दरानन्द बाँडाका अनुसार पूर्वतिर तामाकोशीतिर मात्रै होइन, दक्षिणतिर तराईको चारकोसे झाडीसम्म र उत्तरतिर साँखुभन्दा माथिको मणिचुडनजिकसम्म पनि नाबालकहरू र उनीहरूका अभिभावकलाई निर्वासित गरिएको थियो । उनीहरूमध्ये कयौंले उपत्यकामा फर्कन नपाएको, फर्कन पाएकाले पनि कयौंले गीर्वाणयुद्धविक्रमको अनुहार हेर्न नपाएको र कयौंले एक्कैचोटि गीर्वाणयुद्धविक्रमका छोरा राजेन्द्रविक्रम शाहको मुहार मात्रै देख्न पाएको बयान ‘त्रिरत्न सौन्दर्यगाथा’मा बयान गरिएको छ ।
धाम नझुल्किने ठाउँ सेपिलो
बालक मरिहाल्यो चिसो लागेर
आमाबाबु छाती पिटीपिटी रोए ।
पाइँदैन बालक मरेको जलाउन
पाइँदैन खाडलमा पनि पुर्न
प्रजाको कस्तो हवाल ।
शीतलामाजुको गीतका अज्ञात रचनाकारले रणबहादुर शाहको हुकुमबाट तामाकोशीपारिसम्म निकाला गरिएका बालबालिकाको कन्तबिजोग देखाएर राज्यको निर्मम चरित्र उदांगो पारेको देखिन्छ । सिपाहीहरूले घिसारेर देशनिकाला गरिएका तथा चिसो, रुघाखोकी, भोकमरीले अकालमै ज्यान गएका नाबालकहरूको लाश सदगति गर्न नदिई कोशीमै फ्यााक्न बाध्य पारिएको घटनाबाट अनाम कविले राजाको निर्दयी व्यवहारलाई उजागर गरेको पाइन्छ ।
काठमाडौंका मात्रै होइनन्, ललितपुर, ठिमी र भक्तपुरका बहुसंख्यक जनताको विस्थापनको सर्तमा पनि आफ्ना छोराको सुस्वास्थ्यलाई प्रत्याभूत गर्न खोज्ने ‘रणबहादुरको अधर्मी प्रवृत्ति’ खासमा सत्ताधारीहरूमा देखिने डरलाग्दो ‘राजनीतिक मनोरोगी’ (पोलिटिकल साइकोप्याथी)को प्रतीक हो ।
परायाकरण र विस्थापनको पीडा
आधा बालक आमाले लिई
आधा चाहिँ बाबुले समाई
तामाकोशीमा खसाल्न पर्यो ।
इतिहासका अध्येता योगेश राजका अनुसार ‘इतिहासका विविध कालखण्डमा दरिद्र, युद्धबन्दी, अपराधी, पागल वा महारोगी कहलिएका ‘अक्षम’ मानिसहरूको समूहलाई समाजदेखि बहिर्गत राख्ने प्रयास भएको पाइन्छ । त्यस्ता प्रयासमा समाजका बाँकी वर्गले आआफ्ना राजनीतिक र अर्थ–सामाजिक सत्ताको उपयोग गरेका हुन्थे वा गरिरहेका हुन्छन् भन्ने कुरा समाजशास्त्रको सामान्य तथ्य बनिसकेको छ ।’ जसरी हैजा, बिफर, प्लेग वा अन्य महामारी हुँदा बिरामीहरूलाई सहर र बस्तीबाट अलग्ग राखिने गरेको इतिहास त जगजाहेर छ, तर नेपालमा बिरामी नै नभएका हजारौं बालबालिकालाई समेत शंकाको घेरामा राख्दै, सैन्य–शक्तिको परिचालनमार्फत् विशाल मात्रामा विस्थापन गरिएको तथ्य कमै थाहा छ । आफ्ना एक जना सन्तानको सुस्वाथ्यलाई केन्द्रमा राखेर अरु सबै बालबालिकाको जिउज्यान असुरक्षित पार्ने नीति, नियत वा निर्णय अनेक रूपरंगमा अहिले पनि देखिएका छन् । आफ्नो जिउज्यान, त्यसको सुरक्षाका लागि आवश्यक भूक्षेत्र–सीमा र सुरक्षालाई सर्वाेपरि राख्दै अरुलाई कोरोना संक्रमित र कोभिड पोजिटिभजस्ता शब्दले कलंकित गर्ने र घर–घरमा चिनो लगाएर लाञ्छित गर्ने, अनेक परिभाषामा वर्गीकरण गर्ने वा राजनीतिक सीमाको पर्खालले बन्द गर्ने काम ‘रणबहादुर प्रवृत्ति’भन्दा भिन्न छैन ।
दुई सय वर्ष पुरानो शीतलामाजुको गीत सुन्दा कोभिड–१९ को महाव्याधिसँगै विदेशबाट स्वदेशतिर फिर्ने र स्वदेशमा पनि सहर छाडेर गाउँतिर जाने विस्थापित–जनको लर्काे र तिनका महाव्याधिभन्दा ठूलो पीडाको विशाल नदी वर्षौं वर्षदेखि बगिरहेको अनुभूत हुन्छ । र, शासकहरूले थोपरेका संरचनागत र व्यवहारगत हिंसाका कारण कोशी नदीमा एकसे एक ‘कमल सदा’का ससाना अबोध ज्यान सदगतिबिना नै बगाउने क्रम दुई शताब्दीदेखि जारी रहेको सहजै अनुमान गर्न सकिन्छ । कोरोनाकालमा शीतलामाजुको गीतको अध्ययन र श्रवणले विस्थापित–जनको पीडाको अनुभूतिले एकछिन मन खिन्न पार्छ भने शक्तिशाली शासकलाई अधर्मी र पापी भनी आलोचना गरिएको देख्दा प्रतिरोधी भाव जागृत हुन्छ । र, रणबहादुरकै जस्तो ‘अधर्मी वा अन्यायी प्रवृत्ति’ बोकेर सिंहासनमा आरुढ ‘राजनीतिक मनोरोगी’ शासकहरूका असंवेदनशील नीति, नियम र निर्णय देखेर टिठ लाग्छ ।
कुनै महामारी वा प्रकोप वा संकटको निहुँमा आत्मकेन्द्रित मायामोह, परायाकरणको नीति र विभेदकारी व्यवहार देखाउनु भनेको ‘राजनीतिक मनोरोग’ उजागर गर्नु नै हो । यस्तो मनोरोग विदेशबाट रातदिन नभनी हिँडेर आउने र विदेशी सीमामा भोडाबाख्राजस्तै कोच्चिएर स्वदेशफिर्तीका लागि प्रतीक्षा गर्ने, मर्नका लागि भए पनि रातारात महाकाली नदी तरेर, सीमामा तैनाथ प्रहरीसँग भिडेर मातृभृमिमा टेक्न चाहने नेपालीजनप्रति शासकीय विभेदमा पनि नराम्ररी देखिएको छ । यस्तो मानसिक रोगव्याधि युद्धग्रस्त मुलुकमा जस्तै, स्वदेशकै सहर छाडेर गाउँतिर सयौं किमीको पैदल हिँड्ने निमुखा जनता र ‘लकडाउन’का कारण भोकभोकै बाँचिरहेका श्रमिकजनप्रतिको आपराधिक बेवास्तामा पनि पोखिएको छ । कोरोनाको आशंकामा वर्णव्यवस्था र जातपातको आधारमा गरिने छुवाछूत शैलीमा सामाजिक दूरी कायम गर्ने तथा पीडित जनताप्रतिको समभाव, उनीहरूको सुस्वास्थ्यका लागि सहकार्यमा खडेरी पार्ने काममा यही राजनीतिक–मानसिक बिमारी प्रकट भएको छ ।
समाजशास्त्री चैतन्य मिश्रको कोणबाट हेर्दा पनि रणबहादुर शाहले बिफर रोग आउँदा बालबालिकालाई तामाकोसी कटाएको र नेवार समुदायलाई देश निकाला गरेको घटना र अहिले आफ्ना नागरिकलाई देशभित्र आउन नदिएको अवस्था जोडिएका छन् । कुनै न कुनै रूपमा सामाजिक दूरी कायम राखियो भने अमेरिकामा काला र गोराबीच रहेको विभेद, नेपालमा रहेको जातव्यवस्थाजस्तै नयाँ वर्गीय स्वरूप निर्माण हुने खतरा छ । मिश्र थप्छन्, ‘समाजबाट डराउने र घरभित्र कुँडुलो पर्ने मानसिकताको विकास हुनु आफैंमा एउटा रोग हो ।’
यस्तो रोगको उपचार विधि भनेको अर्काे कुनै रोग नै हुन सक्दैन । स्वास्थ्यसम्बन्धी इतिहासकी अध्येता सुसन हेडनका अनुसार रणबहादुर बनारस प्रवासकालमै ब्रिटिस–भारतमा बिफरको आधुनिक उपचारविधि आइसकेको थियो, तर शाह र उनका सर्वेसर्वा सहयोगी काजी भीमसेन थापाचाहिँ हजारौं जनताको रोग, भोक, शोक र विस्थापनको सर्तमा उनका छोराको ज्यान बचाउने शुतूरमुर्गको चालामा मनोरागी व्यवहार गर्नमै तल्लीन रहे । देशबाट बिफर उन्मूलनका लागि क्रियाशील हुनुको साटो दरबारलाई मात्रै बिफर मुक्त गर्न खोज्दाखोज्दै पनि उनका प्रिय छोराको ज्यान बचेन । उनी १८६३ सालमा आफ्नै भाइद्वारा काटिए भने १८७३ सालमा उनका छोराको ज्यान लियो, बिफरले नै । हाम्रो वर्तमान इतिहास र इतिहासका नायकहरू भने यस्ता पाठबाट नसिक्न प्रतिबद्ध छन्, चाहे कोरोना आओस् या भूकम्प ! उनीहरू कुर्सी र पैसा केन्द्रित नीति, नियत र निर्णय गर्दै इतिहासलाई रणबहादुर शाह प्रवृत्ति नै देखाउँदैछन्, अनेक रूपरंगमा ।
ल्याटिन अमेरिकी लेखक एडुआर्दाे गालेआनो भन्ने गर्छन्, ‘इतिहासले कहिले पनि अलबिदा भन्दैन । इतिहासले भन्छ, फेरि भेटौं है ।’ महामारीको इतिहासले अनेक नाममा फेरि फेरि हामीसँग भेट्न आएको छ, हामी भने इतिहासका पत्रु शासकहरूबाट शासित हुन अभिशप्त छौं, जो इतिहासबाट नकारात्मक पाठ मात्रै सिक्न हरदम तत्पर छन् । यसरी नै इतिहासका कुख्यात पात्र : रणबहादुरकै शैलीमा हाम्रा शासकहरूले पनि आफ्ना ‘राजनीतिक मनोरोगी’ आचरण देखाइरहेमा लोकतन्त्रका नयाँ राजारानी मात्रै होइनन्, लोकतान्त्रिक गणतन्त्र नै लकडाउनमा जाने खतरा टड्कारो हुन्छ ।
दुई सय वर्षअघि यस गीतका अज्ञात रचनाकारले राजनीतिक शक्ति र शासकबाट कुनै आशा–भरोसा नभएपछि बिफर फैलाउन र निको पार्ने देवी शीतलामाजुलाई गुहार मागेका थिए, राजाका कारण बेहाल भएका प्रजालाई त्राण देऊ । जब कुनै अर्थ–राजनीतिक वा भौतिक शक्तिले जनतालाई राहत वा मुक्ति दिन सक्दैन, तब अलौकिक शक्तिलाई पूजा र अर्चना गर्नु स्वाभाविकै हो । तर, शीतलामाजु वा पशुपतिनाथ वा कुनै देवीदेवतालाई गुहार्दैमा न शासकहरूबाट बच्न सकिन्छ, न त महामारीबाटै । अब त जनस्वास्थ्यलाई बेवास्ता गर्ने अर्थ–राजनीतिक वा भौतिक शक्तिलाई फेर्नु र आत्मकेन्द्रित निकम्मा शासनबाट मुक्त हुनुको विकल्प छैन ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...