बहिरा समुदायमा सूचनाको पहुँच
कोरोनारूपी महामारीको कारणले गर्दा बहिरा समुदाय पनि समाजका अन्य नागरिकसरह हुन् भन्ने चेतना मानिसहरूमा पलाएको देखिन्छ ।
नागरिकहरु पलपल कोभिड–१९ को सूचना लिन आफूलाई अभ्यस्त बनाइरहेका छन् । यस्तो महामारीको समयमा देशका सबै नागरिकमा सूचनाको पहुँच छ कि छैन त ?
लोकतन्त्रमा सूचनाको हक महत्त्वपूर्ण मानिएको छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा २७ मा व्यवस्थापन गरिएको सूचनाको हकमा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि सूचना पाउने र माग्ने अधिकार हुनेछ भनी लेखिएको छ ।
एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी) का अनुसार ६ करोड ९० लाख जना अपांगता भएका व्यक्तिहरूको जनसंख्या एसिया तथा प्रशान्त क्षेत्रमा बसोबास गर्दछन् । गरिबी, कमजोर स्थिति तथा पूर्ण सामाजिक सुरक्षाका कमीका कारण अपांगता भएका व्यक्तिहरूलाई यो महामारीका समयमा स्वास्थ्यको मामिलामा झनै कमजोर बनाएको वा बनाउन सक्ने स्थिति छ ।
यही कुरालाई मध्यनजर गरी ईएससीएपीले २० मार्च २०२० मा अपांगता भएका व्यक्तिहरूको लागि जनचेतना तथा पैरवी सम्बन्धमा ‘कोभिड १९ र अपांगता भएका व्यक्तिहरू’ नामक संक्षिप्त नीति सार्वजनिक गर्यो । अहिलेको यो विषम परिस्थितिमा नीतिमा समावेश एउटा सिफारिस महत्त्वपूर्ण छ । सम्पूर्ण नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई भेदभावरहित र सम्मानपूर्वक पहुँचयोग्य ढाँचामा सार्वजनिक जानकारी पुर्याइयोस् भनिएको छ, जसअन्तर्गत सञ्चारमाध्यमबाट जनचेतनामूलक श्रव्यदृश्य सामग्री पब्लिक सर्भिस अनाउन्समेन्ट (पीएसए) प्रसारण गर्दा वा प्रत्यक्ष पत्रकार सम्मेलनमा सांकेतिक भाषा, क्याप्सनिङ, ब्रेललिपि आदिको प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले १२ मार्च २०२० मा कोभिड– १९ को प्रकोपलाई महामारीको रूपमा घोषणा गर्यो । अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सार्वजनिक स्वास्थ्य सूचना तथा सञ्चारको पहुँचलाई सुनिश्चित गर्न सरकारका कार्य भनी एउटा घोषणापत्र सार्वजनिक गर्यो, जसमा सञ्चारमाध्यमबाट जनचेतनामूलक श्रव्यदृश्य सामग्री पब्लिक सर्भिस अनाउन्समेन्ट प्रसारण गर्दा वा प्रत्यक्ष पत्रकार सम्मेलन वा रेकर्ड गरिएको सामग्री प्रसारण गर्दा तथा सामाजिक सञ्जालमा प्रत्यक्ष रूपमा प्रस्तुत हुँदा सांकेतिक भाषा, क्याप्सनिङ, ब्रेललिपि आदिको प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
चीनको साउथ मर्निङ चाइना पोस्टका अनुसार १७ नोभेम्बर २०१९ मा कोभिड–१९ को पहिलो केस चाइनाको हुवेइ प्रान्तको ५५ वर्षीय व्यक्तिमा कोभिड–१९ को संक्रमण भेटिएको थियो ।
हालसम्म कोभिड–१९ ले महामारीको रूप लिइसकेको छ । २ सय १० वटा देशमा फैलिइसकेको छ । २,२६३०५२ मानिस संक्रमित भएका छन् भने १५४,८२७ को मृत्यु भइसकेको छ भने ५८१,१६१ जना निको भई घर फर्किसकेका छन् । नेपालमा पनि हालसम्म ३० जना संक्रमित तथा र २ जना निको भइसकेका छन् ।
नेपालको अवस्था त्यति भयावह नदेखिए पनि अपांगता भएका व्यक्तिहरू जोखिममुक्त भने छैनन् ।
बहिरा व्यक्तिहरू सुनाइसम्बन्धी अपांगता भएका व्यक्तिहरू हुन् भने भाषिक अल्पसंख्यक पनि हुन् । दोहोरो मारमा परेका बहिरा व्यक्तिहरू सञ्चारको कमीले गर्दा बढी संवेदनशील छन् ।
विश्वव्यापी रूपमा यस महामारी फैलिरहँदा विभिन्न देशमा सरकारबाट गरिने प्रत्यक्ष पत्रकार सम्मेलनहरूमा तथा टेलिभिजनबाट सांकेतिक भाषाको दोभाषेको माध्यमद्वारा महत्त्वपूर्ण सूचनाहरू सम्प्रेषित भइरहेको थियो । एसियाली मुलुकहरू चीन, जापान, दक्षिण कोरिया, मकाउ, थाइल्यान्ड, हङकङ, श्रीलंकादेखि अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत तथा युरोपेली देशहरू फ्रान्स स्वीडेन, ग्रीस, जर्मनी, स्पेन, माल्टा, साउदी अरेबिया आदि देशले सांकेतिक भाषाको दोभाषे प्रयोग गरेर आफ्ना देशका बहिरा नागरिकहरूलाई सुसूचित गरिरहेका थिए ।
नेपालमा पनि जनमानसका लागि कोभिड–१९ सम्बन्धी हरेक सञ्चारमाध्यमबाट चेतनामूलक सामग्रीको प्रसारण भइरहेको थियो । तर यस्ता सामग्री बहिरामैत्री अर्थात् नेपाली सांकेतिक भाषाको माध्यमबाट निर्माण गरिएको थिएन । यी चेतनामूलक सामग्रीहरूमा बहिरा व्यक्तिहरूको पहुँच नपुगेकाले बहिरा समुदाय अन्योलमा थिए । सामाजिक सञ्जालमा लेखिएका र टेलिभिजनमा प्रसारण भएका लिखित सूचनामा नगन्य बहिरा व्यक्तिको मात्र पहुँच थियो । अर्धसूचनाले गर्दा उनीहरूबीच झन् त्रासको बादल मडारिरहेको थियो । न सरकारले यसबारे सोचिरहेको थियो, न त कुनै सञ्चारमाध्यमले नै चासो दिएको थियो । सरोकारवाला संस्था पनि मौन नै थियो ।
यही अवस्थामा फाल्गुण २४ गतेदेखि नेपाल टेलिभिजनले कोरोना भाइरसको लक्षण तथा सुरक्षासम्बन्धी नेपाली सांकेतिक भाषाको माध्यमबाट पहिलो चेतनामूलक सामग्रीको प्रसारण गर्यो । यस चेतनामूलक सामग्रीले बहिरा समुदायमा केही राहत महसुस गरायो । स्मरण रहोस्, नेपाल टेलिभिजनले विसं २०५३ देखि नै साप्ताहिक रूपमा नेपाली सांकेतिक भाषाको समाचार प्रसारण गर्दै आइरहेकोमा गत फाल्गुण १ गतेदेखि दैनिक बिहान ७ बजेको समाचार र साप्ताहिक समाचारलाई पनि निरन्तरता दिइरहेको छ । प्राइम टाइम्स टेलिभिजनले पनि दैनिक साँझ ६ बजे नेपाली सांकेतिक भाषामा समाचार प्रस्तुत गरिरहेको नै छ ।
नेपाल टेलिभिजनले यही चैत्र १० गतेबाट बिहान ७ बजेको समाचार सकिएलगत्तै कोरोनासँग सम्बन्धित विशेषज्ञहरूको अन्तर्क्रिया समेटेर बनाइएको ‘कोभिड–१९ सचेतना र सर्तकता’ कार्यक्रम नेपाली सांकेतिक दोभाषेको सहयोगमा प्रसारण गर्दै आएको छ । नेपाल टेलिभिजनको यो सुरुआत भाषिक अल्पसमुदायका बहिरा व्यक्तिहरूको सूचनाको पहुँचमा कोसेढुंगा साबित भएको छ ।
यति हुँदै गर्दा कोभिड–१९ ले आक्रान्त पारेको बेला चैत्र ७ गते साँझ ६ बजे प्रधानमन्त्री केपी ओलीको राष्ट्रको नाममा सम्बोधन कार्यक्रम थियो । त्यस्तै चैत्र २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीको राष्ट्रको नाममा सम्बोधन कार्यक्रम थियो । यी दुवै सम्बोधन बहिरामैत्री बन्न सकेन । ती प्रत्यक्ष सम्बोधनमा न सरकारले सांकेतिक भाषा दोभाषे राख्नेबारे सोच्यो, न त सञ्चारमाध्यमले नै चासो दिए । आफूहरूलाई सरकारले बेवास्ता गरेकोमा बहिरा समुदाय रुष्ट भए । आफूहरू अनागरिक भएको महसुस गरे । सामाजिक सञ्जालमा आफ्ना दुखेसो पोख्न थाले ।
तर जे–जस्तो भए पनि २५ चैत्रमा प्रधानमन्त्रीले राष्ट्रको नाममा गरेको दोस्रो सम्बोधन कार्यक्रमलाई भने नेपाल टेलिभिजनले सांकेतिक भाषा दोभाषेको सहयोगमार्फत प्रत्यक्ष प्रसारण गर्यो । सामाजिक सञ्जालबाटै बहिरा समुदायलाई बिहान ११ बजेको प्रत्यक्ष प्रसारणबारे पूर्वसूचना दिइएको थियो, जसले गर्दा धेरैभन्दा धेरै बहिराहरूले प्रधानमन्त्रीको सम्बोधन कार्यक्रमलाई हेरे । एउटै गुनासो हो– टेलिभिजनमा दोभाषेलाई देखाइने विन्डो सानो छ । सानो विन्डोले गर्दा दोभाषेले गरेको संकेत स्पष्ट देख्न र बुझ्न असजिलो हुन्छ ।
कोरोनारूपी महामारीको कारणले गर्दा मानिसहरूमा चेतना पलाएको देखिन्छ । बहिरा समुदाय पनि समाजका अन्य नागरिकसरह देशका नागरिक हुन् । उनीहरूलाई सूचनाको पहुँचको घेराभित्र राख्नु पर्छ भन्ने सोच आएको देखिन्छ । केही व्यक्ति र संस्थाहरूले यसबारे प्रयास गरिरहेको प्रमाण अहिले धेरै भेटिन्छ, जुन सकारात्मक पक्ष हो ।
चैत्र २७ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्ने पत्रकार सम्मेलनमा नेपाली सांकेतिक भाषा दोभाषेको माध्यमबाट बहिरा नागरिकलाई कोभिड–१९ सँग सम्बन्धित जानकारी गराउन सुरु गरिएको छ । यस पत्रकार सम्मेलनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्छ । राष्ट्रिय बहिरा महासंघ नेपाल र राष्ट्रिय अपांग महासंघ नेपालले विभिन्न मन्त्रालयसँग समन्वय गरेपछि यस पत्रकार सम्मेलनमा दोभाषे प्रयोग हुन थालेको हो । चैत्र २६ गतेदेखि सामाजिक विकास मन्त्रालय, सुदूर पश्चिम प्रदेश, कैलालीले पनि दैनिक रूपमा कोभिड–१९ बारे पत्रकार सम्मेलनमा नेपाली सांकेतिक भाषा दोभाषेको व्यवस्था गरी बहिरा समुदायलाई सामाजिक विकास मन्त्रालय, सुदूर पश्चिम प्रदेशको फेसबुक पेजमार्फत सुसूचित गरिरहेको छ । कैलाली बहिरा संघ, राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालले सामाजिक विकास मन्त्रालयसँग गरेको यो पहल फलदायी देखिएको छ ।
नेपाल टेलिभिजन इटहरीले बैशाख १ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सम्बोधनलाई नेपाली सांकेतिक भाषा दोभाषेको सहयोग लिई प्रत्यक्ष प्रसारण गर्यो । राष्ट्रिय च्यानलले काठमाडौँ उपत्यकाबाहिरबाट नेपाली सांकेतिक भाषाको माध्यमबाट प्रत्यक्ष प्रसारण गरेको यो नै पहिलो पटक हो । राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश १ समिति तथा कोसी बहिरा संघको पहल तथा राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको समन्वयमा नेपाल टेलिभिजन इटहरीले साथ दिएको थियो ।
हाल नेपाली सांकेतिक भाषाको प्रयोग देशवासीको नाममा दिइने सन्देश र प्रत्यक्ष पत्रकार सम्मेलनमा मात्र सीमित छैन । अपांगता भएका व्यक्तिसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न संघ संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि सूचनामा बहिरा समुदायको पहुँचलाई अझ फराकिलो बनाउन प्रयासरत छन् ।
विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभाग, राष्ट्रिय अपांग महासंघ नेपाल र ह्यान्डीक्याप इन्टरनेसनलको संयुक्त प्रयासमा कोभिड–१९ बारे सचेतनामूलक भिडिया निर्माण गरेको छ । युएनडीपीले मानसिक स्वास्थ्य हेरचाहसम्बन्धी सामग्रीको निर्माण गरेको छ । इन्डिजिनियस टेलिभिजनले पनि कोभिड–१९ सम्बन्धी सामग्रीलाई प्रसारण गरिरहेको छ । केयर नेपालले पनि निर्मित सामग्रीलाई सामाजिक सञ्जालमा राखेको छ । युएनडीपीले कोभिड रोकथामका लागि विश्व स्वास्थ्य संगठनबाट स्वीकृत सन्देशलाई एनएडीएच नामक संस्थासँगको समन्वयमा निर्मित सामग्रीलाई सामाजिक सञ्जालमा राखेको छ । राष्ट्रिय अपांग महासंघ नेपालले आफ्नो फेसबुक पेजमा भिडियो सामग्रीमा दोभाष प्रयोग गरेको छ ।
राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा समुदायलाई जानकारीमूलक धेरै सामग्रीहरू निर्माण गरी फेसबुक पेजमा राखेको छ । राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीको दोभाषेबिनाको सम्बोधनलाई बहिरा नागरिकसमक्ष पुर्याउन राष्ट्रिय बहिरा महासंघ नेपालले पछि दोभाषेको प्रयोग गरेर निर्माण गरेको सामग्रीहरू पनि फेसबुक पेजमा राखेको छ भने राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपाल, राष्ट्रिय बहिरा महासंघ नेपाल र फोर्स मिडियाको संयुक्त पहलमा कोभिड–१९ को जानकारी तथा सुरक्षित हुने उपायबारे निर्माण गरिएको भिडियो सामग्री पनि फेसबुक पेजमा राखिएको छ ।
केही सकारात्मक संकेतहरूले आशा जगाएकै छ तर आजको आवश्यकता हो–नेपालमा अपांगता भएका व्यक्तिहरूको सही सर्वेक्षण गरी उनीहरूलाई समाजका गतिविधिहरूमा समेट्दै अघि बढ्नु ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...