हरारीको मृत्युचिन्तन : एकदिन हामी मृत्युलाई जित्ने छौँ
जब खोप तयार हुन्छ र यो विश्वव्याधीको अन्त्य हुन्छ, त्यतिबेला मानव समुदायले के पाठ सिक्ला ?
आधुनिक विश्व मृत्युलाई स्थगित गर्न मात्रै होइन, पराजित गर्न सकिन्छ भन्ने विश्वासमा बाँचिरहेको छ। यो मानिसको सोचमा आएको क्रान्तिकारी परिवर्तन हो। इतिहासमा सधैँ मानिसले मृत्युसामू आत्मसमर्पण गर्ने गर्थ्यो। आधुनिक युगसम्म आइपुग्दा पनि प्राय: सबै धर्म र दर्शनले मृत्युलाई टार्न नसकिने नियतिको रूपमा परिभाषित गरे । उनीहरूका लागि जीवनको अर्थ मृत्युमा नै निहित हुन्थ्यो। मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण घटना नै अन्तिम स्वास लिनु थियो। त्यसपछि मात्रै जीवनको गुह्य रहस्य थाहा पाउन सकिन्छ, त्यसपछि मात्रै यो सांसारिक जीवनको दु:खबाट मोक्ष पाउन सकिन्छ भन्ने विश्वास थियो। मृत्यु र मृत्युपछिका स्वर्ग, नर्क, पुनर्जन्म जस्ता अवधारणाबिना क्रिश्चियन, इस्लाम वा हिन्दू धर्मको कुनै सार बाँकी रहँदैन।
मानव इतिहासमा सधैँ प्रतिभाशाली चिन्तकहरूले मृत्युको अर्थ खोज्न मिहिनेत गरिरहे तर यसलाई पराजित गर्नेबारे सोचेनन्। चार हजार वर्षअघि मेसोपोटामियाको सभ्यतामा रचिएको गिल्गामेसको महाकाव्य होस् वा अरिफस र युरिडिसको ग्रिक मिथक अथवा बाइबल, कुरान, वेद र अन्य अनगिन्ति धार्मिक किताब र कहानीहरू, सबैले मृत्युलाई टार्न नसकिने दैवी चाहना भनेर सम्झाएका छन्। यसलाई विनम्रताका साथ स्वीकार गर्नुपर्छ। सायद कुनै दिन ईश्वर नयाँ अलौकिक अवतारमा प्रकट भएर मृत्युलाई परास्त गरिदेलान् तर यो मृत्युमाथिको नियन्त्रण मानव क्षमताभन्दा बाहिरको कुरा हो।
यसपछि विज्ञानमा क्रान्तिकारी विकास भयो। वैज्ञानिकहरूले मृत्युलाई कुनै दैवी चाहनाका रूपमा बुझेनन्, बरू प्राविधिक समस्याका रूपमा बुझे। मानिस ईश्वरले भनेर होइन, शरीरमा कुनै प्राविधिक त्रुटी भएर मर्छ। जस्तै, मुटुले रगत प्रवाह गर्न छोड्नु वा क्यान्सरले कलेजोमा असर पार्नु वा फोक्सोमा भाइरसहरू जम्मा हुनु। अनि यस्ता प्राविधिक समस्या किन आउँछन् त ? यसका लागि अरू प्राविधक समस्या जिम्मेवार छन्। मुटुमा पर्याप्त अक्सिजन नपुगेपछि यसले रगत प्रवाह गर्न छोड्छ। आनुवांशिक उत्परिवर्तन (जेनेटिक म्युटेसन)का कारण कलेजोमा ट्युमर बढ्छ। बसमा नजिकै बसेको अर्को बिरामीले हाच्छ्युँ गर्दा भाइरस सर्छ र फोक्सोमा पुग्छ। यहाँ त्यस्तो कुनै अलौकिक शक्तिको भूमिका छैन।
प्राविधिक समस्याको प्राविधिक समाधान पनि हुन्छ भन्ने विश्वास वैज्ञानिकहरूलाई छ। मृत्युबाट पार पाउन क्राइस्टको पुनर्जन्म पर्खिनु पर्दैन। विज्ञान प्रयोगशालामा केही वैज्ञानिकहरूले यसको सुत्र पत्ता लगाउन सक्छन्। पहिले पुरोहित र पादरीहरू मृत्युका विशेषज्ञ थिए भने अहिले वैज्ञानिकहरू। यदि मुटुले धड्कन कम भयो भने हामी पेसमेकर लाएर यसलाई सामान्य बनाउन सक्छौँ। आवश्यक पर्दा मुटु फेरेर नयाँ मुटु नै प्रत्यारोपण गर्न सक्छौँ। क्यान्सरलाई रेडिएसनमार्फत मार्न सकिन्छ। फोक्सोमा भाइरस फैलियो भने नयाँ औषधीले तिनीहरूको संख्या घटाउन सक्छौं।
हामी अहिले नै यी सबै प्राविधिक समस्याहरू समाधान गरेर मृत्युलाई जित्ने अवस्थामा छैनौँ। तर हाम्रो प्रयास जारी छ। अहिलेका सबैभन्दा प्रतिभाशाली मानिसहरू मृत्युको अर्थ पत्ता लगाउन मिहिनेत गरिरहेका छैनन्। बरू उनीहरू जीवन कसरी लम्ब्याउने भनेर खोजी गरिरहेका छन् । उनीहरू बुढ्यौली र रोग निम्त्याउन सक्ने माइक्रोबायोलोजिकल, फिजियोलोजिकल र अनुवंशिक प्रणालीबारे अनुसन्धान गरिरहेका छन्। नयाँ औषधी र उपचारपद्धति विकास गरिरहेका छन्।
०००
आफ्नो आयु बढाउने संघर्षमा मानव जातिले उल्लेख्य सफलता हासिल गरिरहेको छ। गएका दुई शताब्दीमा संसारभरका मानिसको औसत आयु ४० बाट बढेर ७२ पुगेको छ। केही विकसित देशमा ८० वर्षभन्दा पनि माथि छ। खासगरी बालबालिकाको मृत्यु हुने क्रम उल्लेख्य रूपमा घटेको छ। २० औं शताब्दीसम्म प्रत्येक ३ मध्ये १ बालबालिका वयस्क जीवन जिउन पाउँदैन थिए। झाडापखला, दादुरा र बिफरले बालबालिकको ज्यान लिने गर्थ्यो। इङ्ल्यान्डमा १७ औं शताब्दीमा जन्मेका १००० मध्ये १५० शिशु एक वर्षको नहुँदै मर्न पुग्थे र ७ सय मात्रै १५ वर्षको उमेर पार गर्न सक्थे । अहिले इङ्ल्यान्डमा एक हजारमध्ये ९९३ बालबालिकाले १५ औं जन्मोत्सव मनाउँछन्। पुरै विश्वमा बालमृत्युदर ५ प्रतिशतभन्दा कम छ।
मृत्युबाट जोगाएर आफ्नो आयु लम्ब्याउन सफलता मिल्दै गएपछि जीवन र मृत्युप्रतिको हाम्रो दृष्टिकोण पनि बदलिँदै गएको छ। परम्परागत दर्शनहरूले पुनर्जन्मलाई नै जीवनको अर्थको मूल स्रोत मान्थे भने उदारवाद, समाजवाद, नारीवादजस्ता १८ औं शताब्दीयताका दर्शनहरूले पुनर्जन्ममा कुनै रूची देखाएका छैनन्।
त्यसोभए कुनै कम्यनिस्टको मृत्यु भएपछि के हुन्छ त ? एउटा पुँजीवादीको मृत्युपछि के हुन्छ ? अथवा कुनै नारीवादीको मृत्युपछि के हुन्छ ? कार्ल मार्क्स, आदम स्मिथ वा सिमोन दी बुभाका लागि यी महत्त्वहीन प्रश्न थिए।
आधुनिक युगमा मृत्युको भूमिकालाई प्रशंसा गर्ने एकमात्रै विचारधारा राष्ट्रवाद हो। अप्ठ्यारो समयमा काव्यिक भाषामा राष्ट्रवादले देशका लागि बलिदान दिनेहरू जनताको हृदयमा अमर रहने बाचा गर्छ। वास्तवमा यो जाली कुरा हो र अधिकांश राष्ट्रवादीलाई यसरी जनताको हृदयमा बाचेर के हुन्छ भन्ने थाहै हुँदैन। खासमा मानिसको सम्झनामा कसरी बाँच्ने ? आफैं मरिसकेपछि मानिसले मलाई सम्झिन्छन् कि सम्झिँदैनन् भनेर कसरी थाहा हुन्छ ? एकपटक अमेरिकी फिल्म निर्देशक वुडी एलेनलाई सोधिएको थियो, तपाईं आफ्ना दर्शकको हृदयमा सधैँ बाँच्न चाहनुहुन्छ ? उनले जवाफ दिए, बरू म त्यो जीवन मेरै अपार्टमेन्टमा बाँच्न चाहन्छु । अहिले पराम्परागत धर्महरूले पनि आफ्नो प्राथमिकता बदलेका छन्। मृत्युपछि स्वर्ग पुर्याउने बाचा गर्नुभन्दा पनि यही जीवनमा उनीहरूले के दिन सक्छन् भन्ने विषयले महत्त्व पाउन थालेको छ।
के अहिलेको महाव्याधीले मृत्युप्रतिको यो दृष्टिकोण बदलिएला त ? पक्कै पनि बदलिँदैन । बरू मृत्युलाई जित्ने अभियानमा हामी थप अगाडि बढ्ने छौँ। कोरोनाले मानिसलाई मृत्युबाट बचाउने प्रयासलाई दुई गुणा सशक्त बनाउने छ। कोरोनाप्रतिको हाम्रो प्रतिक्रिया समर्पण गर्ने किसिमको छैन। बरू आक्रोश र आशा मिश्रित प्रतिक्रिया अभिव्यक्त भइरहेको छ।
आधुनिक युगभन्दा पहिलेको समाजमा महामारी फैलिएपछि मानिसलाई मृत्युको भयले सताउँथ्यो। प्रियजनको मृत्युले उनीहरूलाई भयानक पीडा दिन्थ्यो। तै पनि उनीहरूसँग महामारीसामु समर्पण गर्नुको विकल्प हुँदैनथ्यो । मनोविज्ञहरू यसलाई ‘लर्न्ड हेल्पलेसनेस’ अर्थात ‘अप्ठ्यारोसँग कसरी जुध्ने भनेर सिक्न नसक्ने अवस्था’ भन्छन्। मानिसहरू यसलाई ईश्वरको चाहना वा मान्छेले गरेको पापको परिणाम मान्थे र औषधीको खोजी गर्दैनथे। ‘भगवानलाई सबैकुरा थाहा छ। दुष्ट मानिसहरूलाई यस्तै हुनु आवश्यक थियो। र, एकदिन यसको अन्त्य हुनेछ र संसार फेरि पहिलेजस्तै हुनेछ। दुखी नहोऊ, असल मानिसहरूले आफ्नो पुरस्कार स्वर्गमा पाउनेछन्। औषधी खोजेर समय बर्वाद नगर। यो रोग हामीलाई सजाय दिन भगवानले पठाउनु भएको हो। जसले यो महामारीबाट पार पाउन सकिन्छ भनेर दिमाग खर्च गरिरहेका छन्, उनीहरूले अरूको भागमा पनि पाप थपिदिइरहेका छन्। भगवानको चाहनालाई चुनौति दिने हामी को हौं?’
आज हाम्रो सोच यसको ठीक विपरीत छ। जब रेल दुर्घटना, हाइ-राइजमा हुने आगलागी वा समुद्री आँधीले धेरै मानिसको मृत्यु हुन्छ, हामी रोकथाम गर्न सकिने कुरामा भएको मानवीय कमजोरी हो भन्ने स्वीकार गर्छौं । यसलाई ईश्वरको सजाय वा हाम्रो नियति मान्न तयार हुँदैनौँ। रेल कम्पनीले सुरक्षा बजेट पठायो भने वा नगरपालिकाले आगलागीसम्बन्धी प्रभावकारी प्रावधान राख्यो भने वा सरकारले उद्धार टोली समयमा पठायो भने यी दुर्घटनाबाट मानिसहरूलाई बचाउन सकिन्छ। एक्काइसौं शताब्दीमा सामुहिक मृत्यु कानुन र अनुसन्धानको क्षेत्रभित्र आउँछ।
विपत्तिलाई हेर्ने हाम्रो दृष्टिकोण पनि यही हो। कुनै धर्म प्रचारकले एड्सलाई समलिङ्गी यौन व्यवहारका लागि ईश्वरले दिएको सजाय भन्यो भने आधुनिक समाजले यसलाई अतिवादी विचार मान्छ। आजकल हामी एड्स, इबोलाजस्ता महामारी संस्थागत असफलताका कारण फैलिएको स्वीकार गर्छौँ।
मानवजातिसँग यस्ता विपदलाई रोक्ने ज्ञान र साधन दुवै छ भन्ने हाम्रो विश्वास छ। यदि कुनै संक्रामक रोग नियन्त्रणबाहिर गइहाल्यो भने त्यो ईश्वरको आक्रोशको कारणले होइन, मानिसको त्रुटीको कारणले हो। कोरोना संक्रमण फैलनुको कारण पनि यही हो।
संकटको समाधान अझै टाढा छ, तर आरोप-प्रत्यारोप सुरू भइसकेको छ। एक देशले अर्को देशलाई आरोप लगाइरहेका छन्। राजनीतिज्ञहरू आफ्ना प्रतिस्पर्धीलाई जिम्मेवार देखाइरहेका छन्।
तर यहाँ आक्रोश मात्रै छैन, आशा पनि उत्तिकै छ। हाम्रा नायक मृत शरीरको दाहसंस्कार गराउने र विपदको लागि माफी माग्ने पुरोहितहरू होइनन्, हाम्रा नायक त स्वास्थ्यकर्मीहरू हुन्, जसले हाम्रो जीवन बचाइरहेका छन् । अनि महानायक प्रयोगशालामा खटिरहेका वैज्ञानिक हुन्।
जसरी फिल्म पारखीलाई स्पाइडरम्यान वा वन्डर वुमनले अन्तिममा खलनायकलाई परास्त गर्छ र संसारलाई बचाउँछ, त्यसरी नै हामी विश्वस्त छौँ केही महिनामा वा वर्षदिनमा प्रयोगशालाबाट वैज्ञानिकहरूले कोरोनाको प्रभावशाली उपचार र खोप पत्ता लगाउने छन्। त्यसपछि दुष्ट कोरोना भाइरसले थाहा पाउने छ। अहिले ह्वाइट हाउस, वालस्ट्रिटदेखि इटालीका बाल्कोनीसम्म सबैको मनमा रहेको प्रश्न हो, ‘भ्याक्सिन कहिले तयार हुन्छ?’
०००
जब खोप तयार हुन्छ र यो विश्वव्याधीको अन्त्य हुन्छ, त्यतिबेला मानव समुदायले के पाठ सिक्ला ? सम्भवत त्यो पाठ मानवजीवन रक्षाका लागि हामीले गर्ने लगानी बढाउनु पर्छ भन्ने नै हो। हाम्रो लागि अझ धेरै अस्पताल बनाउनु पर्छ, हामीलाई अझ धेरै डाक्टर र नर्स चाहिन्छन्। धेरैभन्दा धेरै स्वासप्रश्वास मेसिन, पीपीई, टेस्टिङ किटहरू भण्डारण गरिराख्नु आवश्यक छ। विषाणु अनुसन्धानमा हामीले अझ धेरै लगानी गर्नु आवश्यक छ र नयाँ उपचार प्रणाली विकास गर्नुछ। हामी फेरि यस्ता संकट आउँदा आत्तिनु हुँदैन।
कसैले भन्न सक्छ, यो गतल शिक्षा हो र संकटले हामीलाई विनम्रता सिकाउनु पर्छ। प्रकृतिका शक्तिहरूमाथि नियन्त्रण गर्ने हाम्रो क्षमतामा हामी यति ढुक्क हुनुहुँदैन। यस्तो धारणा राख्ने धेरैमा मध्यकालको धङधङी भएकाहरू हुन्। मानिसलाई विनम्रताको पाठ पढाउने उनीहरू आफूले जानेको कुरामा सतप्रतिशत ढुक्क हुन्छन् र सबै कुरा थाहा छ भन्ने सोच्छन्। धार्मिक कट्टरपन्थीहरू यसबाट बाहिर आउन सक्दैनन् । डोनाल्ड ट्रम्पको क्याबिनेटमा साप्ताहिक बाइबल पाठ गर्ने पादरीले महामारी समलैंगिक यौन आचरणका लागि ईश्वरको सजाय भनेर व्याख्या गरे। तर धेरैजसो अहिले धर्मग्रन्थमा नभएर विज्ञानमा विश्वास गर्छन्।
क्याथोलिक चर्चले धर्मानुरागीलाई चर्च नआउन भनेको छ। इजरायलले सबै यहुदी मन्दिर बन्द गरेको छ। इरानले पनि मानिसहरूलाई मस्जिद नजान सल्लाह दिइरहेको छ। सबै सम्प्रदायका मन्दिरहरूमा सार्वजनिक समारोहमा रोक लगाइएको छ। वैज्ञानिकहरूले नै यी धार्मिक स्थलहरू बन्द गर्न सुझाव दिएका थिए।
पक्कै पनि मानव अभिमानबारे सुझाव दिनेहरू मध्ययुगिन भने होइनन्। वैज्ञानिकहरूले पनि यथार्थ धरातलमा उभिएर अपेक्षा गर्न सुझाइरहेका छन्। जीवनका सबै विपत्तिबाट डाक्टरहरूले जोगाउँछन् भन्ने सोच्नु हुँदैन। समग्रमा मानव समुदाय अझ सशक्त भए पनि व्यक्तिगत रूपमा हामी अझै क्षणभंगुर नै छौँ।
हुनसक्छ एक वा दुई शताब्दीपछि मानव जीवन अनन्तकालसम्म लम्बिन सक्छ, तर अहिले होइन। सम्भवतः अर्बपतिका केही छोराछोरीबाहेक आफ्नो जीवन अरूले भन्दा फरक रूपमा लम्ब्याउन सक्लान्। बाँकी हामी सबै एकदिन मर्ने छौँ र हाम्रा प्रियजनहरू गुमाउने छौँ। हाम्रो जीवन क्षणभंगुर हो भन्ने स्वीकार्नु नै पर्छ।
धेरै शताब्दीसम्म मानिसहरूले मृत्युपछि पनि अनन्त जीवन छ भन्ने विश्वास राख्थे र धर्मले आफ्नो रक्षा गर्छ भन्ने सोच्थे। अहिले मानिसहरू विज्ञानले आफ्नो रक्षा गर्छ र डाक्टरले सधैँ आफूलाई बचाउँछन् भन्ने सोच्छन् । उनीहरू आफू सधैँभरि आफ्नो अपार्टमेन्टमा बाँचिरहने विश्वास गर्छन्। यहाँ हामीलाई सन्तुलित दृष्टिकोण चाहिन्छ। महामारीजस्ता समस्यासँग जुध्न हामीले विज्ञानमा विश्वास गर्नुपर्छ। तर व्यक्तिगत रूपमा मृत्युको अनिवार्यता र क्षणभंगुरतालाई स्वीकार्नु पर्छ।
अहिलेको संकटले व्यक्तिगत रूपमा हामीलाई अस्थायी जीवनबारे थप सजग गराउने छ र मानव जातिको उपलब्धिबारे अवगत पनि गराउने छ। यता आधुनिक सभ्यता भने अर्कै बाटोमा जानेछ। क्षणभंकुरताको आभासले जीवन लम्बयाउन थप सशक्त प्रयास हुनेछ। म यो संकट सकिएपछि दर्शनको अध्ययनमा थप लगानी हुन्छ भन्ने अपेक्षा राख्दिनँ। तर म ठोकुवा गर्न सक्छु, औषधी विज्ञान र जनस्वास्थ्यमा व्यापक मात्रामा बजेट थपिनेछ। अहिले हामीले अपेक्षा गर्ने सबैभन्दा उत्तम कुरा यही नै हो। सरकारले दर्शनमा त्यति दख्खल राख्दैन,यो उनीहरूको कामको क्षेत्र पनि होइन। उनीहरूले ‘हेल्थ केयर’ प्रणालीलाई यो भन्दा राम्रो बनाउन काम गर्नुपर्छ। डाक्टरहरूले हाम्रो अस्तित्वको अर्थ पत्ता लगाउन सक्दैनन् तर यो प्रश्नसँग जुध्नका लागि उनीहरूले हामीलाई थप समय उपलब्ध गराउन सक्छन्। त्यो जीवनमा के गर्ने भन्ने हामीमै भर पर्छ।
(दी गार्जियनमा प्रकाशित लेखलाई रोहेज खतिवडाले अनुवाद गरेका हुन्।)
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...